हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट दण्डहीनता

हरेक पाँच दिनमा चक्काजाम

गएको साउनदेखि फागुनसम्म आठ महिनामा चितवन र यस आसपासमा पर्ने राजमार्गमा ४४ पटक चक्काजाम र बन्द भएको छ। देशको राजधानीलगायत पूर्व र पश्चिमका धेरै भेगलाई जोड्ने राजमार्ग बन्द गर्ने कसैमाथि कुनै कारबाही भएको छैन।

जनक अर्याल, चितवनमा

किरण पाण्डे
नारायणगढ चोक।

शान्तिपूर्ण आन्दोलनको माथिल्लो तहको कार्यक्रम भनेर बुिने बन्द र चक्काजाम अहिले सामान्य हुनथालेका छन्। यस्ता कार्यक्रमको बढी मार खप्ने उद्योगी'व्यवसायीहरू समेत बन्दकै आह्वान गरिरहेका छन्। अहिले जसले जुनसुकै माग पूरा गर्न पनि सडक जाम गर्ने प्रवृत्ति मुलुकव्यापी बनेको छ। यसले तराई र भित्रीमधेशलाई बढी गाँजेको छ। तराई आन्दोलनसँग प्रत्यक्ष नजोडिएको चितवन समेत बन्द र चक्काजामबाट उत्तिकै पीडित छ।

मधेशी जनअधिकार फोरमलगायतका आन्दोलनकारीले होलीका लागि १९, २० र २१ फागुनको विरोध कार्यक्रम फिर्ता लिएको खबर पाउनेबित्तिकै पूर्वाञ्चलका यातायात व्यवसायी र मजदुरले तराई आन्दोलनमा भएको क्षतिको विरोधमा चक्काजाम घोषणा गरे। यातायात व्यवसायीकै बन्द भएकोले क्षति त नपुर्‍याउलान् भन्ने ठान्दै ग १ ख २३९४ नम्बरको बस ४४ सिटमा ९० जना यात्रु राखेर काँकडभिट्टाबाट मध्यरातमा पोखराका लागि निस्कियो। तर ापाकै चारआली नपुग्दै बन्द आह्वानकर्ताहरूले बस तोडफोड गरिदिए।

गाडी मालिक नारायण रुवाली क्षतिग्रस्त बस लिएर चितवन, पिप्लेको गड्यौली आइपुगे। त्यसपछि उनले २३ र २४ फागुनमा मेची बस व्यवसायी संघले सञ्चालन गरेको मुनाल यातायातका आठ र अरू तीन वटा बस कब्जामा लिए। २५ फागुनमा मेची बस व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय, चितवनमा उजुरी गर्‍यो। कार्यालयले २७ गते जिल्ला प्रहरी कार्यालयमा सर्वपक्षीय बैठक बोलाएर छलफल चलायो। तर बस कब्जा गर्ने रुवाली बैठकमा आएनन्। प्रहरीले बल प्रयोग गरेर गाडी छुटाउने प्रयत्न गर्दा उनले …क्षतिपूर्ति नपाएसम्म गाडी लैजान दिन्न' भनेर रोके। पृथ्वी राजमार्ग यातायात व्यवसायी संघ र मेची बस व्यवसायी संघले क्षतिग्रस्त बस मर्मत गरिदिने बाचा गरेपछि मात्र ३ चैतमा ती ११ वटा बस छुटे।

६ माघ बिहान भरतपुरको चौबीसकोठीमा केही हट्टाकट्टा मानिसले राजमार्गमा गुडिरहेका गाडीमाथि जथाभावी ढुङ्गामुढा गरेर आधाघण्टाभित्र २३ वटा गाडी तोडफोड गरे। जिल्ला प्रहरी कार्यालयबाट पुगेका प्रहरीले १३ जनालाई पक्राउ गर्‍यो। त्यसलगत्तै यातायात व्यवसायीले गाडी तोडफोडको विरोधमा गरेको चक्काजाम प्रशासनले पक्राउ परेकालाई कारबाही गर्ने र उचित क्षतिपूर्तिका लागि पहल गर्ने वचन दिएपछि १० घण्टापछि साँ ६ बजे खुल्यो। तोडफोडमा संलग्न द्वन्द्वका बेला जागिर छाडेका सुरक्षाकर्मी रहेछन् र उनीहरू आफूलाई पुरानै पदमा पुनर्स्थापना गर्न माग गर्दै …आन्दोलन' गरिरहेका थिए।

१० मङ्सिरमा चितवनको मङ्गलपुर'रामपुर सडक मर्मतको माग राखेर स्थानीय बासिन्दाले र २७ फागुनमा राप्ती कुलो मर्मतका लागि बजेट माग गरेर जलउपभोक्ता समितिले सडक बन्द गरे। केही महिनाअघि दिपायलको शैलेश्वरी मन्दिरमा दलितहरूलाई प्रवेश नदिइएको विरोधमा माओवादी निकट विद्यार्थी र दलित मोर्चाले नारायणगढमा चक्काजाम गरेका थिए। चितवन भण्डाराका मइते लामालाई भारतको रक्सौलमा कुटपिट गरी मारिएको विरोधमा २८ र २९ भदौमा पीडित परिवार र यातायात मजदुरले राजमार्गमा गाडी चल्न दिएनन्।

चितवन राष्ट्रिय निकुञ्जको हिरासतमा आत्महत्या गरेका जगतपुरका लालबहादुर तमाङका परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तहरूले २ र ५ मङ्सिरमा दुई दिन चक्काजाम गरे। १४ मङ्सिरमा चितवनपोष्ट दैनिकको एउटा विज्ञापनमा भूलवश अर्कैको फोटो छापिएकोमा पूर्वी चितवनको रत्ननगरमा केही युवा विद्यार्थीले चक्काजाम र तोडफोड गरे। प्रहरीले तोडफोडमा संलग्न एकजनालाई पक्राउ गरेको विरोधमा त्यही समूहले २० मङ्सिरमा फेरि चक्काजाम गर्‍यो। चितवनमै विभिन्न मितिमा भएका सवारी दुर्घटनामा मारिएका कमल सुवेदी, सोमबहादुर लामा, ललिता पर्वत र सरिता अर्यालका परिवारले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै ६ पटक चक्काजाम आयोजना गरेका थिए।

यी त केही उदाहरण मात्रै हुन्। जिल्ला प्रहरी कार्यालय, चितवनको तथ्याङ्क अनुसार २०६३ साउनदेखि फागुनसम्म आठ महिनामा ४४ पटक यातायात अवरुद्ध र एक दर्जनभन्दा बढी बन्द भयो। साउन यता उद्योगी'व्यवसायीहरूकै सङ्गठन नेपाल उद्योग बाणिज्य महासंघले दुईपटक गरेर तीन दिन नेपाल बन्द गर्‍यो। यातायात व्यवसायी र मजदुरले पटकपटक गरेर नौ पटक चक्काजाम गरे। तराई आन्दोलन, भावर तथा चुरे प्रदेशका बासिन्दा, चितवनका थारू, चेपाङ र आदिवासी जनजाति महासंघका नेपाल बन्द कार्यक्रमले पनि चितवनलाई छोएका छन्।

१० दिनसम्म कब्जामा राखिएका गाडी।

जसले जे उद्देश्यले बन्द गरेपनि त्यसको ठूलो मारचाहिँ उद्योगी'व्यवसायीले नै व्यहोर्नुपर्छ। उत्पादन हुन पाउँदैन, उत्पादित वस्तु बजार पुर्‍याउन सकिँदैन, बजार बन्द भएपछि वस्तु उपभोक्ता कहाँ पुग्दैनन् र त्यसको सोो असर पुनः उत्पादनमै पर्छ। उत्पादन'उपभोगको यो चक्र टुटेपछि व्यवसायमा असर पर्ने नै भयो। उद्योग बाणिज्य संघ, नारायणगढका प्रथम उपाध्यक्ष मित्रराज दवाडी भन्छन्, “बन्दका कारण हिजो दूध खान नपाएको भनेर कसैले पनि भोलिपल्ट थपेर दूध खाँदैन। तरकारी, माछामासु पनि त्यही हो। तर बन्द थियो भनेर कामदारको तलब, ब्याङ्क'ब्याज र सरकारी राजस्व नतिरी सुख पाइँदैन।”

उद्योग वाणिज्य संघ, नारायणगढका अध्यक्ष उदय श्रेष्ठ बन्द र चक्का जामलाई व्यवसायी विरुद्धको ज्यादती तथा उद्योगी'व्यवसायी आफैँले बन्द गर्नुलाई न् आत्मघाती कदम भन्छन्। नेपाल उद्योग वाणिज्य महासंघले यही १९ फागुनमा …बन्द सदाका लागि बन्द हुनुपर्छ' भनेर विरोध गरेको स्मरण गर्दै उनले भने, “तर, त्यसको दुई हप्ता नबित्दै महासंघले फेरि बन्द आयोजना गर्‍यो। त्यो गलत थियो, गल्ती स्वीकार गर्नुपर्छ।”

मानवअधिकारकर्मी बालकृष्ण पौडेलका विचारमा अराजकता र दण्डहीनता यति बढेको छ, जसले जे गरेपनि भएको छ र प्रहरी'प्रशासन कसैले केही गर्दैन। तर, चितवनका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद रावलले अै हिम्मत हारेका छैनन्। प्रजिअ रावल भन्छन्, “जिम्मेवार राजनीतिक पार्टी र नागरिक समाज सबैको सहयोग भए, हामी स्थिति नियन्त्रणमा लिन सक्छौँ। हामी हतास भएका छैनौँ।”

८ महिना, ४४ चक्काजाम
आयोजकहरू
पटक
स्थान
गर्नुको कारण
यातायात व्यवसायी/मजदुर
जिल्लाभर
सवारी तोडफोड
विद्यार्थी सङ्गठन
१२
जिल्लाभर
माग पूरा गराउन
स्थानीय बासिन्दा
१४
विमिन्न स्थानमा
माग पूरा गराउन
जनजाति संघसंस्था
जिल्लाभर
स्वायत्त शासन
राष्ट्रिय जनमुक्ति पार्टी
विमिन्न स्थानमा
माग पूरा गराउन
नेकपा माओवादी
जिल्लाभर
माग पूरा गराउन
भूपू नेपाली सेना
जिल्लाभर
कल्याणकोषमा भ्रष्टाचार
जम्मा
४४ पटक
 

जिल्ला प्रहरी कार्यालय, चितवन

करको नाममा मनपरी

विभिन्न ठाउँमा तगारो राखेर जबर्जस्ती पैसा असुल्ने प्रवृत्ति राजमार्गमा हुने अर्को ज्यादती हो। ४ चैतमा सुनसरीको इटहरीबाट मकै लिएर नारायणगढ आएको ना २ ख ७६०० नम्बरको एउटा ट्रकले विभिन्न करको नाममा जिविस सुनसरीलाई रु.५००, सप्तरी, महोत्तरी र रौतहट प्रत्येकलाई रु.१ हजार ३००, सर्लाही र मकवानपुरलाई रु.१'१ हजार, बारालाई रु.७०० तथा सिरहाको माओवादी …जनसरकार' लाई रु.५०० गरी रु.७ हजार ६०० बुाएको थियो। ट्रकले चितवन आइपुग्दा बाटामा पर्ने आठ जिल्लामा तिरेको रसिद (हे. तस्बिर) देखाउँदै कुखुरा व्यवसायी मञ्च, चितवनका पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराई भन्छन्, “यो लुट नभए के हो? हामीले यस्तो समस्या छ भनेर प्रधानमन्त्री, अर्थमन्त्री र स्थानीय विकास मन्त्रीलाई मन्त्रालयमै पुगेर जानकारी गरायौँ। उहाँहरूले नियन्त्रण गर्ने जवाफ दिएपनि सडकमा जबर्जस्ती रोकिएको छैन।”

मकैजस्तो जिल्लाबाट निकासी'पैठारी दुवै कर नलाग्ने खाद्यान्नमा समेत विभिन्न जिविसले र माओवादीले अनधिकृत कर असुलेका छन्। त्यसबाहेक सडक कर र प्रहरीले विभिन्न बहानामा लिने रकम छँदैछ। एक भुक्तभोगी चालक भन्छन्, “बोल्यो भने पिटाइ खानुपर्छ, गाडी तोडफोड हुने खतरा त्यत्तिकै हुन्छ। जति माग्छन् खुरुक्क दियो, हिँड्यो।”