रमझम
उषाको उडान
 |
| तस्बिरः अनुप प्रकाश |
तेह्र वर्षकै
उमेरबाट व्यावसायिक नृत्य शुरु गरेकी उषा पौडेल कुशल नर्तकी मात्र
हैन, नेपाली चलचित्रकी व्यस्त नायिका पनि हुन्। २०५७ सालमा कर्म चलचित्रमा
नायिका छानिँदा उनी १७ वर्षकी थिइन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाको
चर्चित कृति मुनामदन माथि बनेको चलचित्रकी …मुना' उषा सानैदेखि पढेको
साहित्यिक कृतिमाथि बनेको चलचित्रमा मुख्य भूमिका गर्न पाएकोमा गर्व
गर्छिन्।
त्यसो त उषाले हालसम्म क्रोध, बाजी लगायत २५ वटा जति
चलचित्रमा अभिनय गरिसकेकी छन्। ज्वालामुखी र नयाँ नेपाल चलचित्रको
छायाङ्कन र डबिङमा व्यस्त उनका थप दुई चलचित्र अन्त र तेजाब छायाङ्कनको
तयारीमा छन्। भर्खरै महसञ्चारको लेˆट राइट लेˆट सिरियल सकेकी उषालाई
काममा भ्याई नभ्याई नै छ। भन्छिन्, “फुर्सद पाउनै गाह्रो छ, अवसरसँगै
सफलता पनि पाइरहेकी छु।”
भिनयतर्फ टेली चलचित्रमा समेत उषा उत्तिकै सफल छिन्,
उदाहरण हुन् पुष्पाञ्जली, कसलाई आˆनो भनौँ? जस्ता सिरियल। हाल प्रसारण
भइरहेको करुणा मा खलपात्रको भूमिकामा पनि उनी जमेकी छिन्। नृत्यका
लागि बेलायत, जापान, जर्मनी, हल्याण्ड, सिङ्गापुर यूएईलगायतका एक दर्जन
देश पुगिसकेकी उषालाई नृत्य र अभिनय उस्तै लाग्छन्। उनी भन्छिन्, “तर
सानैदेखि गरेकाले नृत्यमा बढी रमाउँछु।”
जन्मथलो जनकपुर भएपनि सानैदेखि काठमाडाँैमा बस्दै आएकी
उषासँग प्रतिस्पर्धा निक्कै भएपनि नेपाली चलचित्र क्षेत्र पहिलेभन्दा
व्यावसायिक बन्दै गएको अनुभव छ। छोटो समयमै कला क्षेत्रमा आफूलाई स्थापित
गर्न सफल उषाले घरजम गर्नेबारे भने सोचेकी छैनन्। भन्छिन्, “उमेर त
भयो तर यतिबेलै बिहे गर्छु भन्ने सोच र तयारी छैन।”
• अनुशील
रमझम
रिपोर्ट
केही छैन असम्भव
आत्मविश्वास, लगनशीलता र मेहनत भएमा गर्न नसकिने काम केही
छैन भन्ने कुरा बैसाखीको सहारामा कठिन जीवन बिताउँदै आएका यी प्रतिभाहरूले
प्रमाणित गरेका छन्।
• अनुशील
 |
| मीन बज्राचार्य |
| एक खुट्टाको भरमा नृत्य गर्दै रोमा। |
अपाङ्गता कसैले चाहेर
हुने हैन। तर, अपाङ्गता भोगिरहेकाहरूलाई हाम्रो समाजले अद्यापि केही
गर्नै नसक्ने वर्गको रूपमा हेर्ने गरेको छ। अपाङ्गपनकै कारण समाज र
घरपरिवारभित्रै अपहेलित जीवन बिताउनेहरू धेरै छन्। तर, यही समाजमा
यस्ता धेरै अपाङ्गहरूले सवलाङ्गहरूका लागि समेत उदाहरणीय काम गरिरहेका
छन्।
• सुनसरीको इटहरीबाट पाँच वर्षअघि काठमाडौँ
आएकी रोमा न्यौपाने (२१) अत्यन्तै राम्रो नृत्य गर्छिन्, त्यो पनि
एउटा खुट्टाले! राजधानी र मोफसलका धेरै मञ्चहरूमा मात्र हैन, उनले
भारत र इजरायलसम्म नृत्य प्रस्तुत गरेकी छन्। उनलाई जापानबाट समेत
नृत्यका लागि निम्तो आइसकेको छ।
• गुल्मी, हर्राचौरका लोकध्वज शाह (२९)
ले हिँड्नलाई बैसाखीको सहारा लिनुपर्छ तर उनले दुई वर्ष लगाएर फिलिङ्गो
नामक सामाजिक चलचित्र निर्माण गरेका छन्। चलचित्रको निर्माणसँगै लेखन,
निर्देशन, छायाङ्कन, सम्पादन जस्ता सबै काम एक्लैले गरेर उनले धेरैलाई
आश्चर्यमा पारेका छन्।
• ापा, सुरुङ्गाका मनीष प्रसाई (३५)
ले पनि हिँड्डुल गर्न बैसाखी नै टेक्नुपर्छ तर उनको गायन प्रतिभा सवलाङ्ग
गायकगायिकाभन्दा कम छैन। उनी गीत लेखन, सङ्गीत सिर्जना पनि गर्छन्।
एक महिनाअघि उत्सर्ग नामक गीति अल्बम बजारमा ल्याएर मनिषले आˆनो अलग्गै
चिनारी दिएका छन्।
सडक दुर्घटनामा परेर ८ वर्षकै उमेरमा रोमाको देब्रे खुट्टा तिघ्रासम्मै
काट्नु परेको थियो। तर अहिले उनमा अपाङ्गताको लघुताभास देखिन्न। लगन
र साहसकै कारण आज उनी उदाहरणीय बनेकी छिन्। बैसाखीको सहारामा हिँड्ने
रोमाले पाँच वर्षयता एउटा खुट्टाको भरमा नृत्य गरेर सबैलाई चकित पार्दै
आएकी छिन्। रोमाको प्रतिभा मञ्चहरूमा मात्रै सीमित छैन। उनले नेपाली
चलचित्र मैदान मा राजेश हमालकी अपाङ्ग बहिनीको भूमिकामा प्रभावशाली
अभिनय गरेकी छन्। मह सञ्चारको टेलिसिरियलमा पनि रोमाले एक खुट्टाकै
भरमा नृत्य सिकाउने प्रशिक्षकको भूमिका गरेकी छिन्। उनकै कथामा अपाङ्गपन
भएका अर्का युवा टीकाराम ढुङ्गानाले नेपाल टेलिभिजनका लागि कदम नामक
सिरियल नै बनाउँदैछन्।
घरमा एउटै खुट्टाले हिँडेर काम गर्ने रोमालाई सानैदेखि नाच्न मन लाग्थ्यो।
काठमाडौँ आएपछि उनले परिवर्तन नेपाल मा एक महिना नृत्य प्रशिक्षण लिएकी
थिइन्। १७'२६ फागुनमा राजधानीको भृकुटीमण्डपमा सम्पन्न टुबोर्ग दोहोरी
प्रतियोगिताको अन्तिम दिन उनले बाह्रहाते पटुकी... बोलको गीतमा नाचेर
पुरस्कारस्वरुप रु.५ हजार पाएकी थिइन्। अभिनयभन्दा नृत्य गर्न बढी
रुचाउँछिन् उनी। भन्छिन्, “एउटा खुट्टाको भरमा भएपनि नृत्य गर्न नै
सजिलो लाग्छ।” दुई वर्षअघि पूर्व इजरायली राजदूत डनविन एलीजरको सहयोगमा
कृत्रिम खुट्टा पाएपछि उनलाई हिँड्डुल गर्न सजिलो भएको छ। चलचित्र
कलाकार संघको एक कार्यक्रममा राजदूत एलीजरले एक खुट्टाले नृत्य गरिरहेकी
रोमालाई देखेपछि इजरायल नै लगेर सहयोग गरेका थिए।
 |
| डम्बरकृष्ण श्रेष्ठ |
| लोकध्वज शाह। |
कलाकारितामा लागेर नयाँ जीवन पाएको महसुस गरिरहेकी रोमा पहिला आफू
एकदम निराश हुने, तर अहिले सन्तुष्ट रहेको र भ्याई नभ्याई कार्यक्रमका
कारण राम्रै आर्जन जुटाउन थालेको बताउँछिन्। भन्छिन्, “इटहरीमा हुँदा
सधैँ आˆनै शरीर देखेर दुःखी हुन्थेँ, काठमाडाँै आएपछि मभन्दा धेरै
अशक्त साथीहरू देखेपछि आत्मविश्वास जाग्यो।” आत्मविश्वास भएमा अवलाङ्गले
पनि सवलाङ्गसरह हरेक काम गर्नसक्ने उनी बताउँछिन्।
भारतको चलचित्र नगरी मुम्बईमा दृश्य सम्पादनमा स्नातक गरेका लोकध्वजको
प्रतिभालाई पनि उनको अपाङ्गताले छेकेन। सानैदेखि साहित्यमा रुचि राख्ने
र तस्बिर खिच्ने सोख राखेका उनले “चलचित्र निर्माण गर्छु” भनेर कस्सिदा
शुरुमा कसैले पत्याएनन्। २०६१ सालतिरैबाट दलितमाथि हुने उत्पीडनको
कथामा चलचित्र बनाउन अघि सरेका लोकध्वजलाई राजधानीका नाम चलेका कलाकार
र प्राविधिकहरूले असहयोग नै गरे। गाउँकै कलाकार लिएर आफूले जाने'बुेको
सीप प्रयोग गरेर डिजिटल प्रविधिको चलचित्र बनाउन बाग्लुङ र गुल्मीको
सीमावर्ती गाउँ हर्राचौर पुगेपछि पनि उनले अनेकौँ सास्ती र अड्चन खेप्नु
पर्यो। भन्छन्, “गाउँलेहरूले त सहयोग गरे तर माओवादीले सरकारी जासूस
र सेनाले माओवादीको मान्छे भनेर दिनुसम्म दुःख दिए।” २०६१ को भदौ र
चैतमा दुई पटक छायाङ्कन गर्न गाउँ गएपनि उनको चलचित्र पूरा भएन। २०६२
कात्तिकमा तेस्रो पटक छायाङ्कनका लागि गाउँ जानुअघि सुरक्षाकर्मी र
माओवादीबाट बच्न राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा गएर
सहयोगका लागि एउटा पत्र बनाइदिन अनुरोध गर्दा नपाएको गुनासो उनको छ।
भन्छन्, “यहाँ त एक जना अपाङ्गले केही गर्न खोज्दा जताततैबाट असहयोग
मात्रै हुने रहेछ।”
राजधानीमा भौँतारिँदै गरेको बेला गायक रामेशलाई भेटेपछि रामेश र
चलचित्रकर्मी श्याम सापकोटाको सहयोग उनले पाएका छन्। लोकध्वजको कामबाट
प्रभावित भएर रामेशले उनको चलचित्रका लागि गीत'सङ्गीत नै तयार गरिदिएका
छन्। उनी हालै मात्र पाँचौँ पटक गाउँ पुगेर चलचित्रको छायाङ्कन सकेका
छन्। ९५ मिनेटको सो चलचित्रमा गाउँकै नव कलाकारहरूले अभिनय गरेका छन्।
कलेज पढन् २०५२ सालमा काठमाडाँै आएका लोकध्वजको साढे ३ वर्षको उमेरमा
लडेर दाहिने खुट्टा काम नलाग्ने भएको हो। दुई वर्षकै उमेरमा बुबा गुमाएका
उनले साढे ७ वर्षको हुँदा आˆनै खुट्टाको उपचारका लागि काठमाडाँै आउँदै
गर्दा सडक दुर्घटनामा आमालाई गुमाएका थिए। आफन्तहरूको हेरचाहमा हुर्किएका
उनको पढाइ खर्च भने हङकङमा रोजगारी गर्ने दाइले जुटाइदिएको लोकध्वज
बताउँछन्। मुम्बईकोे विल्सन कलेजमा दृश्य सम्पादन, मास मिडिया र अङ्ग्रेजी
साहित्यमा स्नातक गरेका लोकध्वज ग्राफिक्स डिजाइन र फोटोग्राफीमा पनि
दख्खल राख्छन्। मुम्बईमा दुःख गरेर आर्जेको सीप नेपालमै उपयोग गर्न
लागिपरेको उनी बताउँछन्। भन्छन्, “चलचित्र क्षेत्रमै लागिरहने चाहना
छ, नसके गाउँ गएर दुःख गर्छु। अरू काम गरेर शहरमा बस्दिनँ।” आˆनो लगन
र मेहनत खेर नजाने कुरामा विश्वस्त उनी भन्छन्, “जीवनमा दुःख र सास्ती
धेरै खाए पनि हरेश खाएको छैन, कसो सफल नभइएला र!”
 |
| मनीष प्रसाई। |
मनीष प्रसाईको देब्रे खुट्टालाई भने दुई वर्षकै उमेरमा पोलियोले खाएको
हो। ९ वर्षको उमेरबाट बैसाखी टेक्दै आएका उनले व्यवस्थापनमा स्नातकोत्तर
गरेका छन्। २०४२ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसको मञ्चमा
आˆनै रचना र सङ्गीतमा पक्कै नेपाल ब्युँन्छ... भन्ने गीत गाएर उनले
गायन क्षेत्रमा पाइला राखेका थिए। २०४७ सालमा साथीहरूसँग मिलेर ापामा
चार महिना जागरण गीतहरूको सांस्कृतिक अभियानमा समेत हिँडेका मनीष रेडियो
नेपालको आधुनिक गीत प्रतियोगिता २०५० मा उत्कृष्ट १० गायकमा परेका
थिए।
त्यसपछि रेडियो नेपालमा सागर सरी यो माया... बोलको गीत गाएका मनीषको
सङ्गीतमा अरू डेढ दर्जन गीत रेकर्ड भइसकेका छन्।
शब्द, सङ्गीत र साहित्य आˆनै दिमागको उपज भएपनि स्वर प्रकृतिले दिएको
बताउँदै उनी भन्छन्, “गायन सङ्गीतको क्षेत्रमा अपाङ्गताले असर गर्दैन,
धेरै अवलाङ्गहरूले यस क्षेत्रमा आˆनो प्रतिभा देखाइसकेका छन्।” राष्ट्रिय
अपाङ्ग महासंघ नेपालका कार्यक्रम संयोजक समेत रहेका मनीष अपाङ्गहरूको
पक्षमा वकालत, क्षमता अभिवृद्धि तथा अपाङ्गता सम्बन्धी चेतना बढाउने
कार्यमा पनि सक्रिय छन्। जनआन्दोलनका वीर शहीदहरूप्रति समर्पण गरेर
उनले निकालेको अल्बम उत्सर्ग का पाँच गीतको शब्द र सङ्गीत पनि उनकै
छ। समाजमा प्रतिभाशाली अवलाङ्गहरू पनि उपेक्षित बन्ने गरेको उनको गुनासो
छ। भन्छन्, “जसले जे भने पनि अपाङ्गता भएकाहरू आत्मविश्वासका साथ आˆनो
प्रतिभा प्रस्फुटनमा लागे असम्भव भन्ने केही छैन।”
रोमा, लोकध्वज र मनीषजस्ता धेरै प्रतिभाहरू हाम्रो समाजमा छन्। उनीहरूलाई
'अपाङ्ग' भनेर हेप्नुको साटो प्रोत्साहन, साथ र सहयोग दिनसके उनीहरूको
जीवनमा पनि यस्तै परिवर्तन नआउने कुरै छैन।
रमझम
विविध
नेपाली शान
 |
| मीन बज्राचार्य |
प्रख्यात चित्रकार
लक्ष्मण श्रेष्ठका केही अमूर्त चित्र काठमाडौँको सिद्धार्थ कलादीर्घामा
अनौपचारिक रूपमा एक साता (१'८ चैत) प्रदर्शित भए। नेपालमा उनको तेस्रो
कला प्रदर्शनी थियो यो, त्यो पनि ३७ वर्षपछि। प्रदर्शनीमा उनका केही
'डिजिटल प्रिन्ट' र काठमाडौँका सङ्ग्रहकर्ताकहाँ रहेका केही पुराना
चित्र ल्याइएका थिए। श्वेत'श्याम 'डिजिटल प्रिन्ट' भने मुम्बईमा चलिरहेको
लक्ष्मणकै अर्को प्रदर्शनीमा राखिएका चित्रका प्रतिकृति थिए। 'ओरिजिनल
पेन्टिङ' का लागि आयोजकहरू जोखिम उठाउन तयार भएनन्, दोस्रो दिनदेखि
ती चित्र हेर्न दर्शकहरू पुनः सङ्कलनकर्ताकहाँ पुग्नुपर्ने स्थिति
बन्यो। उनका चित्र हेर्न नपाएकाहरूका लागि भने उनको नेपाल बसाइँ र
प्रदर्शनी दुवै महवपूर्ण अवसर सावित भए।
लक्ष्मणसँग अन्तर्राष्ट्रिय क्षेत्रमै कहलिएका महङ्गा कलाकारको चिनारी
छ। उनैका भनाइमा पनि उनको एक चित्रको मूल्य हाल आठ 'डिजिट' (रु.१ करोड)
भन्दा माथि हुने गर्दछ। किन्न आउनेहरूलाई आˆनो चित्र बेच्दिनँ भन्न
समेत हिच्किचाउँदैनन् उनी। चित्रमा कसैको गहिरो सामीप्य, लगाव भएकोे
महसूस भएपछि कलाको मर्म, यसको मूल्यमान्यता राम्ररी बुझ्नेलाई मात्र
उनी आˆनो चित्र बेच्छन्।
विश्वकै प्रमुख कला सङ्ग्रहकर्ताहरूमा उनको चित्रप्रति निकै ठूलो
चाख छ। उनको कलामाथि पैसा निवेश गर्न उत्सुक पारखीहरूको संसारभर ठूलो
जमात छ। यो माग कसरी थेग्न सकिन्छ भन्ने कुरामा चिन्तित देखिन्छन्
लक्ष्मण। उनको अनौठो स्वभावको एउटा पक्ष यस्तो पनि छ' हालै मुम्बईमा
आयोजित कला प्रदर्शनीमा राखिएका श्वेतश्याम चित्रहरूको दाम एकातर्फ
रु.६०, ७० लाख राखिएको थियो, अर्कोतिर केही चित्रको भने साहित्यकार,
कलाकारहरूका लागि भनेर प्रति चित्र रु.२ लाख मूल्य निर्धारण गरिएको
थियो। पैसाकै कारण दर्शक र आˆना चित्रबीच गहिरो खाडल नहोस् भन्नाका
खातिर पनि उनले यस्तो व्यवस्था गरेका हुन्।
छिमेकी राष्ट्र भारतमा यस्ता उचाइमा पुगेका कलाकारका कृतिलाई राष्ट्रियकरण
गरी सङ्ग्रहालयमा राख्ने व्यवस्था छ। नेपालमा यस्तो कुनै व्यवस्था
छैन। यहाँका कुनै पनि कला सङ्ग्रहालयमा लक्ष्मण श्रेष्ठजस्ता 'नेपाली
शान' का चित्र सङ्कलित छैनन्। शुरुका दिनदेखि नै समसामयिक कलाको जिम्मा
लिएर बसेको प्रज्ञा'प्रतिष्ठानदेखि कुनै पनि संस्था वा समूहले उनका
कला प्रदर्शनी गर्नु त टाढाको कुरा, अभिलेख राख्ने जमर्को समेत गरेको
देखिँदैन।
लक्ष्मणका थोरै चित्र हेरेर उनका बारेमा धेरै भन्न सकिने अवस्था छैन।
तथापि उनलाई ६० कोे दशकको शुरुतिरका मूर्धन्य नेपाली कलाकारहरू लैनसिंह
बाङ्देल, उत्तम नेपाली र उर्मिला उपाध्याय (गर्ग) कै समकक्षमा राखेर
हेर्नुपर्ने हुन्छ। त्यही सेरोफेरोमा नेपालमा आधुनिक कलाको सुरुआत
भएको मानिन्छ। उनको उदय, शैली, प्रवृत्तिले पनि नेपाली आधुनिक कलाको
विकासमा ठूलो भूमिका निर्वाह गरेको किटान गर्न सकिन्छ। त्यो बेला चन्द्रमानसिंह
मास्के, तेजबहादुर चित्रकार र अलिपछि बालकृष्ण सम, मनोहरमान पुन, अमर
चित्रकारका पश्चिमी प्रवृत्तियुक्त चित्रहरूमा आधुनिकताको बीउ फक्रन
पाइरहेको थिएन। यो पृष्ठभूमिमा श्रेष्ठले नेपालमा नौलो आयाम स्थापित
गरे। नेपालीहरू प्रकृतिको अनुकृत मात्र गर्ने सोचमा ज्यादा रुमल्लिएको
र सिर्जनशीलता वा नवीन प्रवृत्तितिर आकृष्ट नभएको देखेर, अनुकूल वातावरणको
खोजीमा उनी मुम्बई पुगेका थिए।
चित्रमा रंगको मिठास, गहनताको संयोजन, अनुभूतिलाई पस्कने स्वभाव,
ओजपूर्ण वैचारिक पक्ष समेतलाई मिसाएर उनले जेजस्ता चित्रकृतिको निर्माण
गरेका छन्, तिनले उनलाई विश्वकै एक हस्ती बनाइसकेका छन्। उनका चित्रहरूमा
एकातर्फ प्रकृतिका अवयवसँग कलाकारले अनुभूत गरेका खण्डहरू देखिन्छन्,
त्यतिखेरै तरेलीमा बगेका सेता धर्काहरूले चरित्रहरूलाई विविध क्षेत्रमा
विभाजित पनि गर्दछन् अनि दर्शकलाई मीठो स्वाद पस्कने अभीष्ट पनि राख्छन्।
घना अँध्यारा खण्ड र तहहरूमा विभाजित हँुदै अमूर्तताको गहिराइलाई दर्शकसामु
पस्कनु उनको अर्को विशेषता हो।
मुकेश मल्
भाषा प्रेम
सुलिन्द्र शाक्य (२७)
को चिनारी धेरै विधासँग गाँसिएको छ। नेपाल भाषाका गायक, सङ्गीतकार,
रेडियो प्रस्तोता तथा टिभी समाचारवाचकका रूपमा उनी परिचित छन्। इमेज
टिभीमा आरम्भदेखि नै नेपाल भाषाका समाचारवाचक सुलिन्द्र इमेज एफएममा
'बच्छि बच्छि', 'न्ह्यू सवाः' र 'नुगः खँ' कार्यक्रम पनि चलाउँछन्।
अहिलेसम्म १५ वटा संयुक्त अल्बममा नेपाल भाषाका गीत गाएका सुलिन्द्रको
एकल अल्बम 'नुगःया खँ सुचुका तयाग' हो।
गुरुदेव कामतसँग शास्त्रीय सङ्गीत सिकेका उनले आरम्भदेखि नै नेपाल
भाषाको सङ्गीतलाई रोजे। किन त? भन्छन्, “यसमा नियमित काम गर्ने सर्जकहरू
थोरै छन्।” यसलाई अ फराकिलो बनाउन सकिन्छ कि भन्ने प्रयासमा लागिरहेको
उनी बताउँछन्। सुलिन्द्रले हालै मात्र नेपाल भाषाको सङ्गीत गुन्गुनाउन
चाहनेहरूका लागि 'काराओके'को भीसीडी बजारमा ल्याएका छन्। यसमा देवनागरी
र नेपाल भाषाको लिपि, नेपाल भाषाका चर्चित १२ गीतका म्युजिक ट्रयाकसहितको
'भिजुअल' राखिएको छ। पाँच वर्ष भित्रका चर्चित गीतहरू यसमा समेटिएको
बताउँदै सुलिन्द्र भन्छन्, “नेपाल भाषाका गीत घरमै बसेर सिक्न चाहनेहरूका
लागि पनि निकै उपयोगी हुन सक्छ यो।”
नेपालीमा पनि आधा दर्जन गीत गाएका सुलिन्द्र भन्छन्, “सङ्गीतको कुनै
सीमा हुँदैन। तर विशेष लगाव भने नेपाल भाषा'सङ्गीतको उत्थान नै हो।”
कृष्ण शाह यात्री |