जनता
सुदूरपश्चिमकी कृष्णा
 |
| डम्बरकृष्ण श्रेष्ठ |
बैतडी
जिल्ला सदरमुकामबाट पनि एक दिन टाढाको कटोजपानी गाविस'२ बस्ने कृष्णा
विष्टलाई देख्ने जो'कोहीको मुखबाट निस्कन्छ, “यो उमेरमा पनि यति सक्रिय?”
६ दशक पार गरेर चाउरी परेको अनुहारमा कहिले राजधानी त कहिले कटोजपानी
दौडिरहने तन्नेरी जोश भएकी, स्थानीय महिला उत्थान समाजकी अध्यक्ष कृष्णा
सुदूरपश्चिममा महिलामाथि हुने संस्कारगत र सांस्कृतिक विभेदविरुद्ध
क्रियाशील अगुवा महिला हुन्।
६२ वर्षको उमेरमा कसरी आइरहेको छ यो जोश? गएको नारी
दिवसमा राजधानी आएकी कृष्णा भन्छिन्, “सन् १९९५ मा वेइजिङ्ग महिला
सम्मेलनमा जाने मौका पाएँ, त्यसपछि मलाई लाग्यो संसारभरि हामीलाई सहयोग
गर्ने मान्छे त रहेछन्। अब काम किन नथाल्ने? त्यसपछि त म रातदिन नभनी
काम गर्छु।”
वेइजिङ्गबाट फर्किएपछि गाउँमा अलिक जान्नेबुझ्ने महिला
भेला गरेर उनले महिला उत्थान समाज नै गठन गरिन्। अनि भन्न थालिन्'
सुत्केरीलाई सन्तुलित खाना दिनुपर्छ, महिलालाई छाउपडीमा पठाउनुहुन्न,
बेहुली किन्ने चलन ठीक होइन, धामी‰ाँक्री प्रथाले उपचार हुन्न। यस्तो
चेतनासँगै उनले सुदूरपश्चिमका गाउँमा महिला सशक्तीकरणको अभियान नै
चलाइन्। छोरी स्कूल पठाउन चाहने आमालाई बाख्रापालन गर्न सहयोग गर्ने
उनको अभियान बैतडीका दूर गाउँमा पनि धेरै चर्चित छ। हुँदाहुँदा अहिले
आएर कृष्णा अध्यक्ष रहेको संस्थाले …टेवा' को सहयोगमा १० वटा पूर्व
प्राथमिक विद्यालय नै चलाउन थाल्यो।
आफैँ एउटा गैरसरकारी संस्थाको अध्यक्ष हुँदाहुँदै पनि
गैससप्रति कृष्णाको गुनासो छ। उनी भन्छिन्, “जहाज, गाडी र टेलिफोन
भएको ठाउँमात्रै रोज्नुभएन, सहयोग त गाउँमा पो पुर्याउनुपर्छ।”
डम्बरकृष्ण श्रेष्ठ
संरक्षणका युवा सारथि
केही वर्ष अघिसम्म
उनी चौँरीगोठाला थिए। घरगोठमै सीमित थियो उनको काम। ताप्लेजुङ, लेलेप'९
का तिनै युवा अहिले थुप्रै जिम्मेवारीसहित कञ्चनजंघा संरक्षण क्षेत्र
(केक्याप) व्यवस्थापन परिषदका अध्यक्ष छन्। भएभरका चौँरी बेची केक्यापअन्तर्गतको
सेकाथुम'घुन्सा उपभोक्ता समितिबाट संरक्षण क्षेत्रमा लागेका थिए उनी।
हिमचितुवा संरक्षण उपभोक्ता उपसमितिका संस्थापक अध्यक्ष हुँदै केक्याप
व्यवस्थापन परिषदको जिम्मेवारी सम्हाल्न आइपुगेका छेतेनडण्डु शेर्पा
(३२) संरक्षणमा कहलिएका पूर्वअध्यक्ष दावाछिरिङ शेर्पाको आशलाग्दो
उत्तराधिकारी बनेका छन्।
एउटा ठूलो विपत्तिपछि परिषदका अध्यक्ष चुनिएका हुन् छेतेन। गएको ६
असोजमा केक्याप परिषदले व्यवस्थापनको जिम्मा लिएको भोलिपल्टै ताप्लेजुङ'घुन्साको
हेलिकप्टर दुर्घटनामा देशका दिग्गज संरक्षणविद्हरूसँगै परिषदका तत्कालीन
अध्यक्ष दावाछिरिङको मृत्यु भएपछि परिषद हाँक्ने जिम्मेवारी पाएका
छेतेन केक्यापलाई आर्थिक तथा प्राविधिक रूपले सक्षम बनाई विश्वमै नमुनाका
रुपमा चिनाउने अभियानमा पनि निकै सक्रिय छन्। युवाशक्ति परिचालनलाई
त्यसको माध्यम बनाउने छेतेनको कार्यशैलीसमेत प्रभावशाली देखिएको छ।
दुई वर्षअघि संरक्षण क्षेत्रका पशुहरूको समेत जीवनबीमा गर्नुपर्छ भन्ने
अवधारणा अघि सारेर सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गर्न सफल छेतेनले
केक्याप क्षेत्रभित्र १,२२८ पशुको जीवनबीमा गराइसकेका छन्। छेतेनका
दृष्टिमा विश्वमै पहिलोपल्ट स्थानीय समुदायलाई हस्तान्तरण गरिएको,
वार्षिक ण्डै तीन करोड रुपैयाँ खर्च गर्ने केक्याप व्यवस्थापन परिषदका
अघि समस्याका डङ्गुरहरू छन्। उनी भन्छन्, “ती समस्यालाई समेत अवसरका
रूपमा उपयोग गर्ने, परिषदलाई पारदर्शिता र जवाफदेहिताको नमूना बनाउने
योजना छ।”
शब्द/तस्बिरः राजेन्द्र श्रेष्ठ
|