हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

सालिक र घनबल

कसैको पनि मूर्ति भञ्जन गर्नु किमार्थ राम्रो काम होइन, चाहे त्यो देउताको होस् चाहे मानिसको। यस्तो विचार राख्दाराख्दै पनि एउटा मूर्ति भञ्जनको समाचार पढेर ऋतुराज खुसी नभई रहन सकेन। खुसी भइनँ भनी कुरा लुकाउनु इमानदारी ठहर्दैन। अ यस कुराका लागि उसका विचार बुझ्ने केही साथीहरूबाट उसलाई बधाईसमेत मिलेको थियो। यसै हुनाले यस खुसीलाई लुकाउनुभन्दा जगजाहेर गर्नु नै उपयुक्त होला भनेर यो प्रसङ्ग यहाँ कोट्याइएको हो।

मूर्ति भञ्जन भएको हो पूर्वी नेपालको धरान'विराटनगर राजपथको दुहबी बजारनजिक केही वर्षअघि खडा गरिएको भूपालमानसिंह कार्कीको। उनलाई राजपरिषद्को भूतपूर्व अध्यक्ष भनेर पनि चिन्न सकिन्छ। नियमकानुन, सामाजिक मर्यादा, लोकलाज सबैलाई कुल्चेर धनशक्तिको भरमा त्यो मूर्तिलाई अति चल्तीको सडकमा उभ्याइएको थियो। आˆनै जीवनकालमा यस्तरी सालिक कि त राणा प्रधानमन्त्रीहरूको बने होलान्, कि त राजा वीरेन्द्रको कि त प्रजामा तिनै भूपालमानजीको। त्यसो गरेर जनसम्मान पाउने र परन्तुसम्म कीर्ति राख्ने मनोवाञ्छा राखेका थिए होलान् तिनले। तर त्यो प्रयास दुष्कीर्तिमा परिणत भयो।

आˆनो मूर्ति बनाउन लाउनु आफैँमा नराम्रो कुरा होइन। मानिस फोटो खिचाएर ठूलो पारी फ्रेममा सजाउँछन्। चित्रकारबाट 'पोटे्रट' गराउँछन् र कोही मूर्ति पनि कुदाउन लाउँछन्। त्यसमा केही बिगार छैन। आपत्ति भूपालजीको मूर्ति बनाइएकामा होइन, त्यसलाई ठड्याउने जुन ठाउँ रोजियो आपत्ति त्यसमा हो। 'ठाउँ न ठहर बूढाको रहर' थियो त्यो। चल्तीको राजपथलाई मामा घेरेर पनि कतै सालिक राख्न मिल्छ? तर मिल्यो। पावर थियो, पहुँच थियो, धन थियो। विरोध हुँदाहुँदै पनि त्यसको वास्ता नगरी त्यसलाई त्यहाँ ठड्याइकन छाडियो।

त्यो सडक भएर गुज्रने सबैलाई त्यो देख्दा आँखा बिाउने, दिक्दार लाग्ने। किनभने त्यसले सडकलाई छेकेर साँघुरो बनाइदिएको थियो। अरूको दोबाटो या चौराहामा राखिन्छ यिनको सालिक त सडकलाई चिरेर बीचमा खडा गरिएको थियो।

हुन त सालिक दोबाटो वा चौराहामा खडा गर्ने कुरै होइन। सवारी नचल्ने ठाउँ जस्तै; पार्क वा उद्यानमा, ठूलाठूला भवनअघिल्तिर, भवनको हातामा, कलेज, स्कुल, लाइब्रेरी, अस्पताल, जहाँजहाँ जसको सान्दर्भिक हुन्छ त्यहाँ राख्ने हो मूर्तिहरू। नेपाल वायुसेवा निगमले आˆनो हाताभित्र हिममानव यतीको प्रतिमा राखेकोमा कसलाई टाउको दुखेको छ र?

तर एक्ला कार्कीजी होइनन् त्यसरी सडक ओगटेर उभिनेमा। राजा महाराजाका मूर्तिहरू ठडिएका छन् दोबाटा, चौबाटामा। 'जननेता' का सालिकहरू पनि उभ्याइएका छन् त्यसरी नै। कुनै सहर कुनै नगर त्यसको अपवादमा छैनन्। चौराहा देख्यो कि कसैको मूर्ति ठड्याइहाल्ने चलन बसेको छ।

देउता त मानिस एउटै मान्दैनन्, सबैका आ'आˆना हुन्छन्। मानिसलाई देउतातुल्य बनाएर जबर्जस्ती सबैलाई मनाउन खोज्ने कामलाई कसरी उचित भन्नु! कुन दिन कुन समूहको आक्रोसको सिकार बन्दछ, कार्कीजीको सालिक जस्तो।

कार्कीजीको सालिक त्यहाँ त्यस प्रकारले राखिएको बारे गुनासो गरेर धेरैले नलेखेका होइनन्। यही स्तम्भकारले पनि त्यस विषयमा एकदुई पाना खर्चेको छ। खुरुक्क क्रेनले उठाएर कुनै अर्को ठाउँमा पुनःस्थापित गरेको भए टन्टै साफ हुने थियो। अहिलेको जस्तो हबिगत पनि हुने थिएन। तर पेलेको पेल्यै, नसुन्या नसुन्यै। त्यो सालिक 'धनबल' का भरमा खडा भएको थियो।

त्यसलाई 'घनबल' ले भत्काइदियो। आखिर त्यसलाई हटाउन गैँती र घन चाहिएको रहेछ। अनि सभ्य र शिष्ट तरिकाले गरेको अनुरोध कसले सुन्थ्यो र?

उस्! उस्!! उस्!!!
“जापानको हिटलर त हाम्रो जङ्गबहादुरको नीति पो रै छ।”
“संसारमा सबभन्दा ठूलो मानिस सार्की हो किनभने ऊ नहुँदो त मानिसहरूले जुत्ता लगाउन पाउँदैनथे र त्यसरी नाङ्गो गोडाले हिँड्नु पर्दा त तिनीहरूको पैतालादेखि माथिको भाग घिर्सिंदा घिर्सिंदा जगत्भरि खाली टुपी मात्र हिँडिरहेका हुन्थे।”

माथिका हरफहरू पाका पत्रकार तथा राजनीतिक विश्लेषक अरविन्द रिमालद्वारा लिखित '१९९७ देखि २०१७ सालः एक अवलोकन' नामक पुस्तकबाट उद्धृत गरिएका हुन्। पुस्तकमा सन्दर्भ थियो शिवबुटी सेवनको र सेवनपछि 'शिवभक्त' हरूबाट लेखक सानो छँदा डिल्लीबजारमा गरिने वार्तालापको। सबैले बुझ्ने भाषामा भन्दा यसलाई गाँजा खाएर गरिने 'गँजडी गफ' पनि भन्न सकिन्छ।

नेपाल भनेको पशुपतिनाथद्वारा रक्षित देश हो। अनि पशुका पतिको प्रिय अम्मल गाँजा हो। उनका भक्तहरू त्यसलाई शिवबुटी मानेर प्रसादका रूपमा ग्रहण गर्दछन्, कोही कोही शिवरात्रिको अवसरमा मात्र र कोही कोही बाह्रै मास। भर्खर मनाइएको शिवरात्रि पर्वमा अनगिन्ती भक्तजनले शिवबुटीको सेवन गरे भनेर समाचारै आएको थियो अखबारहरूमा। उसो त गाँजाको नसा निर्दिष्ट समयपछि हराउँछ भन्छन्, तर लाग्छ केही मानिसहरूमा शिवरात्रिमा तानेको सर्कोको असर अै बाँकी छ। अथवा उनीहरू सधैँ त्यसैको सेवनमा मस्त रहन्छन्।

राजा ज्ञानेन्द्रलाई प्रत्यक्ष शाही शासनकालमा भएका ज्यादतीका लागि कारबाही नगरी नछाड्ने 'रे। रायमाी आयोगले उनलाई दोषी ठहर्‍याएको छ 'रे। मौजुदा कानुन नभए नयाँ कानुन बनाएर भए पनि उनलाई सजाय दिइछाड्ने 'रे।

यी सबै कुरा माथिका गँजडी गफभन्दा फरक छैनन्। कैद सजाय पाएर ज्ञानेन्द्र भद्रगोल वा नख्खु जेलमा थुनिएको कल्पना गरौँ। त्यो हुन सक्ला? कार्बाही गर्ने, त्यो पनि अहिलेको सरकारले? राजाका मन्त्रीहरूलाई पक्रेर देखाइहाल्यो सरकारले कति कार्बाही गर्न सक्छ भनेर। यी सबै सुनेर हरिवंश आचार्यले एउटा टेलिफिल्ममा गरेैँ उस् उस् उस् भन्न मन लाग्छ।

संसद अगाडि व्यवस्थापिका थपेर नाम जरुर लामो पारिएको छ, तर महामना हो तपाईंहरूको कामको ढाँचा उही छ। खुरुक्क चाहिँदो काम गर्नु नि! गरिहाल्नुपर्ने काम कति छन् कति! हुने कुरा पो गर्नु! ठिमीतिर जाने काममा किन लाग्नु? यहाँहरू महान् विदूषकहरू हुनुहुन्छ भन्ने जगजाहेर छ। आˆनो विदूषकपनको प्रदर्शन घरिघरि किन गरिरहनु?