हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

विशेष रिपोर्ट सीमापार अपराध

सुरक्षा संयन्त्र समन्वय छैन

नेपाल प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेका अपराधीहरू सीमापारि बसेर डकैती र लुटपाट गरिरहेको देख्दादेख्दै पनि नेपाली अधिकारीहरू भारतीय सुरक्षा निकायसँग समन्वय नभएको बताएर पन्छिन खोज्छन्।

रामेश्वर बोहरा, नेपालगञ्ज

२ कात्तिक २०६२ मा बाँकेको सीमावर्ती क्षेत्रमा पक्राउ परेका डकैतीमा संलग्न व्यक्तिहरू।

नेपालगञ्जका सुनव्यापारी, न्यू दीप ज्वेलर्सका दीपक हेमकारसहित उनको परिवारका पाँचै जनाको हत्या भएको एकवर्ष बितिसक्दा पनि हत्यारा पत्ता लागेको छैन। २३ फागुन २०६२ मा उनीहरूको सामूहिक हत्या गरेर करिब एक करोड रुपैयाँ बराबरको धनमाल लुटिएको थियो। हत्यालगत्तै प्रहरी प्रधान कार्यालयबाट खटाइएका नायब उपरीक्षक अख्तर अली अन्सारीको अनुसन्धान टोलीले एक महिनाको अनुसन्धानपछि प्रारम्भिक रिपोर्टमा 'भारतबाट आएको समूहले हत्या गरेको' जनाउ दिएको थियो। त्यसपछि भारतीय प्रहरीसँगको सहकार्यमा अनुसन्धान भइरहेको बताएको प्रहरीले अहिलेसम्म हत्याबारे कुनै सुराक फेला पार्न सकेको छैन।

नेपाल'भारत खुला सीमाको फाइदा उठाउँदै भइरहेको जघन्य प्रकृतिका अपराधको एउटा दृष्टान्त हो, हेमकार परिवार हत्याकाण्ड। पश्चिम तराईका जिल्लामा भइरहेका यस्ता अपराधको सूची लामो छ। तर, अहिलेसम्म ती अपराध र अपराधी कानूनी दायरामा आएका छैनन्।

बाँकेको हिरिमिनिया'४, महन्तापूर्वाका रामनिवास मौर्यलाई ९ साउन राति भारतबाट आएका बन्दुकधारीले घरमै गोली हानेर हत्या गरेका थिए। परिवारका सबैलाई कुटपिट गरी धनमाल लुट्न थालेपछि प्रतिवाद गर्दा उनको ज्यान गयो। त्यस रात गाउँका एकदर्जन घरमा त्यसरी नै कुटपिट र लुटपाट भएको थियो। यो घटनामा भारतको बहराइच, नानपाराका जाहिर खाँ, नानपारा, कटराका बच्छराम यादव र बाँके, रनियापुर घर भएपनि भारतमै बसी सीमा क्षेत्रमा आपराधिक गतिविधि गर्दै आएका तथा एकदर्जनभन्दा बढी घटनामा संलग्न सिकन्दर साहीविरुद्ध प्रहरीले मुद्दा त चलाएको छ, तर अहिलेसम्म कोही पक्राउ परेका छैनन्। साहीले सीमापारि पनि थुप्रै हत्या र डकैती गरेकाले उनी भारतीय प्रहरीको समेत 'मोस्ट वान्टेड' सूचीमा छन्। एक प्रहरी अधिकृत भन्छन्, “दुवै देशको वान्टेड सूचीमा भएपनि उनी पक्राउ पर्न सकेका छैनन्।”

१३ असारमा बाँकेको खजुरा'धौलागिरीमा लाखौँ रुपैयाँको धनसम्पत्ति लुटपाट गरी शिक्षक दिलबहादुर कुँवरको हत्या गर्ने सशस्त्र समूह अहिलेसम्म 'गोप्य' छ। स्थानीय बासिन्दाका भनाइमा त्यसमा भारतीय अनुहारका डाँकाहरूको बाहुल्य थियो। सीमा क्षेत्रका केही हत्या र थुप्रै डकैतीमा संलग्न बाँके हिरिमिनिया'६ का सरनामसिंह सरदार र मुनिया लोध अहिलेसम्म पक्राउ परेका छैनन्। नेपाल प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेका सरदार र लोध अहिले पनि सीमापारि बसेर सीमा क्षेत्रमा डकैती र लुटपाट गर्छन्। उनीहरूले डकैती गर्ने क्षेत्र बाँके, दाङ र बर्दियाको सीमा क्षेत्रसम्म फैलिएको छ। २३ माघ २०६१ मा नेपालगञ्ज'१७, बुलबुलियाका मदन केसीलाई गोली हानी हत्या गर्ने भारतीय डाँका समूहको पनि अहिलेसम्म परिचय खुलेको छैन।

अपराधीहरू सीमापारिका गाउँमा सुरक्षित बस्छन्। दुई वर्षअघि बाँके, जयसपुर'९ का नैन जोलाहाको हत्या गर्ने अयोध्या वर्मा, पुनती वर्मा र मनवा वर्मा, नेपालगञ्ज'५ का अरुण श्रीवास्तवको हत्या गर्ने रइस हलवाई, हिरिमिनिया'६ का राधेश्याम कुर्मीको हत्यामा संलग्न आत्माराम अहिर र नेपालगञ्ज'३ की अनारादेवी गोडियाको हत्या गरेका बहराइचका गोब्रे गोडिया भारततिर भागेका छन्। बहराइच, कालोनीका विजय बढाइ पनि नेपालगञ्जमा आˆनै पत्नीको हत्या गरेर फरार भएका छन्।

बाँके प्रहरीको तथ्याङ्क अनुसार हत्या, डकैती जस्ता अपराधमा धेरै भारतीयहरू संलग्न हुने गरेको या घटनापछि अपराधीहरू भारतीय भूमिमा आश्रय लिएर बसेको पाइएको छ। १ भदौमा बर्दिया, मोतिपुरका काङ्ग्रेस कार्यकर्ता सुशील ज्ञवालीको हत्यामा संलग्न पाँचमध्ये तीनजना पक्राउ परेपनि दुई जना भारततिरै भागे। भारतबाटै आएको एक समूहले गत वर्ष बर्दियाको कालिकामा डकैतीपछि बलात्कार गरेर एक महिलाको हत्या गरेको थियो। अपराध नियन्त्रणका लागि नेपाल र भारतका प्रहरी'प्रशासन प्रमुखको नियमितजसो संयुक्त बैठक बसेर दुवै पक्षबाट 'अभियुक्त' को विवरण एकअर्कालाई बुाउने काम भएपनि अहिलेसम्म कोही पनि समातिएका छैनन्। बर्दियाका प्रमुख प्रहरी उपरीक्षक श्याम खड्का 'समन्वय, गुप्तचरलगायत अभावले कोही पक्राउ पर्न नसकेको' बताउँछन्।

सीमा क्षेत्रमा मान्छे अपहरण गरी ठूलो रकम असुल्ने गिरोह पनि सक्रिय छ। नेपालगञ्ज'१४ का राजु हलवाई, बहराइचका मुमताज अलि र यासिन धोबी तथा बलरामपुरका रमेश वेलवार संलग्न समूहले नेपालगञ्ज'७, फुल्टेक्राका ६ वर्षे बालक टङ्क बुढाथोकीलाई २५ साउन २०६२ मा अपहरण गरी मोटो रकम फिरौती माग्यो। लखनउ पुर्‍याइएका बालकको भारतीय प्रहरीको सहयोगमा एकसातापछि सकुशल उद्धार त भयो, तर अभियुक्तहरू उम्किए। हिरिमिनिया'६ की १५ वर्षीया किशोरी कलावती सोनकरलाई सोही ठाउँका रमेश मौर्यले ५ जेठ २०६२ मा अपहरण गरी बहराइच, अलिनगरका सुन्दरलाल मौर्यलाई भारु १० हजारमा बेचे। रमेश पक्राउ परे, तर सुन्दरलाल अहिलेसम्म फरार छन्।

तराईमा प्रहरी अहिलेसम्म पनि हिंसा नियन्त्रणमै खट्नु परेकाले साधन'मानवस्रोतको अभावमा सामाजिक अपराधका घटना ओेलमा परेको र अभियुक्तसम्म पुग्न नसकेको प्रहरी अधिकृतको भनाइ छ। बाँकेका प्रहरी उपरीक्षक उत्तम कार्की आफूले सामाजिक अपराधको फाइलसमेत राम्ररी हेर्न नपाएको बताउँछन्। “अनुसन्धान अधिकृतसमेत दङ्गामा खट्नुपर्ने अवस्था छ, भारतीय सुरक्षा निकायसँग पनि राम्रो समन्वय हुनसकेको छैन”, कार्की भन्छन्, “अब सामाजिक अपराधका मुद्दामा केन्द्रित हुँदैछौँ, उताका सुरक्षा निकायसँग पनि समन्वय र सहकार्य बढाउने काम हुनेछ।”

सीमाक्षेत्रमा डकैती गर्दै बाँके'बर्दियासम्म आइपुगेको सर्लाही, नेत्रगञ्जका घनश्याम पासवान र धनुषा, हाडीमिसिनका नगेन्द्र पासवानसहित ११ जनाको समूहले १९ वटा डकैती र हत्या गरेको सूची प्रहरीसँग छ, तर कसैलाई पक्रिन सकेको छैन। अपराधको यति ठूलो सूची हुँदाहुँदै पनि अपराधी कानूनी दायरामा नआउनुले अपराधीको मनोबल बढाउनुका साथै सीमाक्षेत्रका बासिन्दामा थप भय र त्रास थपेको छ। बाँकेको मनिकापुर'७ मा हतियारधारी डाँकाले धनमाल लुटेपछि प्रहरीमा जाहेरी लेखाउन आएका मुन्ना खाँले प्रहरीले डाँकाको हुलिया बताउन भन्दा जवाफ दिएका थिए, “तपाईँहरू आफैँ खोज्नुस्, हुलिया भनेर किन ज्यान खतरामा पार्नु?”