विशेष रिपोर्ट सीमापार अपराध
प्रताडित छ वीरगञ्ज
फिरौतीका लागि कुटपिट, धम्की, अपहरण र हत्या
भइरहेका बारा, पर्सा, रौतहटका सीमावर्ती क्षेत्रमा हिजोआज टेलिफोन
र इमेलबाट समेत रकम माग्न थालिएको छ। र, यसबाट सबैभन्दा बढी प्रताडित
छ' व्यापारिक नगर वीरगञ्ज।
• वीरेन्द
साह, बारा
पचास लाख रुपैयाँ कभी देखे हो? यहाँ इस तरह पैसे नही
दी जाति”, अघिल्लो दिन यसो भनेर टेलिफोन राखिदिएका बाराका अभिमन्युकुमार
साह भोलिपल्ट गोलीको शिकार भए। उनलाई १६ कात्तिक २०६३ मा मोटरसाइकल
चढेर आएका तीन अपरिचितले गोली हानेका थिए। त्यसैदिन राति १० बजे बाराकै
ब्ाग्गा आयल स्टोर्सका मालिक अमरजित सिंहको पनि हत्या भयो। अभिमन्युको
हत्या छोटेलाल सहनीको चर्चित भारतीय अपराधी गिरोहले गराएको थियो भने
अमरजितको हत्याको रहस्य अै खुलेको छैन। दुवै हत्या फिरौती रकम नदिएकोले
भएको थियो।
मध्यतराईका बारा, पर्सा र रौतहटका सीमावर्ती क्षेत्रमा
फिरौतीका लागि कुटपिट, धम्की, अपहरण र हत्या हुनु अनौठो मानिँदैन।
हिजोआज टेलिफोन र इमेलबाट समेत रकम माग्न थालिएको छ। यस्ता धेरैजसो
काम सीमाबाट ५० किलोमिटर पर भारतको मोतिहारी जेलभित्रबाट छोटेलाल सहनीद्वारा
परिचालित समूहले गर्ने गरेको छ।
कात्तिकमा भएको अभिमन्यु र अमरजितको हत्यापछि सदरमुकाम
कलैयासँगैको प्रस्टोका गाविसमा मात्रै लगातार चार अपहरण भएका छन्।
१५ माघमा दानी साह तेली र २३ माघमा कलैयाको चन्द्र माविमा कक्षा'१०
मा अध्ययनरत् मुस्तुफा अन्सारी अपहरणमा परे। ६ फागुन बेलुकी पसल बन्द
गरेर घर जान लागेका राजेश र प्रमोद साहको अपहरण भयो, जसको अहिलेसम्म
अत्तोपत्तो छैन। साथै लगिएका राजेश र प्रमोदका बाबु क्रमशः भिखमलाल
र बद्रीनारायण साहलाई 'फिरौतीको व्यवस्था मिलाउनू' भनेर केही पर छाडिएको
थियो। कृषि विकास ब्याङ्कका सेवानिवृत्त शाखा प्रबन्धक गम्हरियाका
६५ वर्षीय मुक्तिनारायण साह कलैयाबाट घर जान लागिरहेको बेला ९ फागुनमा
अपहरणमा परेका छन्। यसअघि १ फागुनमा पिपरपाती पचरौता माविमा एसएलसी
टेष्ट परीक्षा दिएर घर फर्किरहेका श्रीनगर बैरिया, रामनगरटोलका धर्मेशकुमार
प्रजापतिको अपहरण भएको थियो।
अपहरणपछि कोही पैसा तिरेर मुक्त भएका छन् भने कोही
पैसा तिरेर पनि छाडिएका छैनन्। ४ फागुनमा सिम्रौनगढ बजारबाट घर फर्किँदा
अपहरित व्यापारी गम्भिरा साह तेली मोलतोल मिलाएर १० फागुनमा मुक्त
भए। तर, तेलकुवाका छोटेलाल साहले रु.१ लाख ७५ हजार खर्च गर्दा पनि
१७ भदौ २०५९ मा अपहरण गरिएका वीरगञ्जको हरिखेतान क्याम्पसमा आइएस्सी
पढिरहेका उनका छोरा सन्तोष फर्किएका छैनन्।
पीडित पक्ष प्रायः उजुर गर्न नआउने हुनाले अपहरणविरुद्ध
कारबाही गर्न अप्ठेरो परेको प्रहरीको कथन छ। बाराका प्रहरी उपरीक्षक
मधुप्रसाद पुडासैनी भन्छन्, “घटनालगत्तै उजुरी आउने हो भने भारतको
जुनसुकै कुनाबाट पनि पीडितको उद्धार गर्न सकिन्छ।” नारायणी अञ्चल प्रहरी
कार्यालय, वीरगञ्जका अनुसार बारा, पर्सा र रौतहटमा २०६१ साउनदेखि २०६३
पुससम्म करिब सय जनाको अपहरण भएको अनुमान गरिए पनि ३६ वटाको मात्र
उजुरी प्रहरीमा दर्ता भएको थियो।
कतिपय घटनामा नेपाल प्रहरीकै संलग्नता पनि देखिने गरेको
छ। १८ चैत २०६२ मा केडिया आँखा अस्पतालबाट फर्किरहेको बेला रमेश केडियामाथि
बम हानेको आशङ्कामा वीरगञ्जमा पक्राउ परेका भारतीय नागरिक हितलाल भनिने
रुदल सहनी प्रहरीकै मिलेमतोमा भाग्न सफल भएका छन्। उनलाई उपचारको नाममा
प्रहरी सहायक निरीक्षक दिनेश सहनीले सीमापारि पुर्याएका थिए। दिनेशलाई
प्रहरी सेवाबाट हटाइएको छ, तर उनलाई त्यसो गर्न आदेश दिने प्रहरी नायव
उपरीक्षक रामचन्द्र भण्डारीलाई 'कारबाही' का नाउँमा सरुवा मात्र गरिएको
छ।
बारा जिल्ला प्रहरी कार्यालय, मुद्दा फाँटका अनुसन्धान
अधिकृत प्रहरी निरीक्षक दयानन्द मल्लिकको अनुभवमा अपहरणकारीका तीन
समूह हुन्छन्' एउटा, सुराकीको आधारमा योजना बनाउने; अर्को, अपहरण गर्ने
र तेस्रो, अपहरितलाई सेल्टरमा राखेर फिरौती रकम लिने। वीरगञ्जका सुनचाँदी
व्यवसायी वीरहर्ष शाक्यलाई अपहरण गरेर एउटा समूहले बाराको बकुलहर गाउँमा
चार दिन राखेको, पछि अर्कोले सीमापारि पुर्याएको र १६ दिनपछि बाराकै
फेटा गाउँको एउटा मन्दिरमा ल्याएर छाडेको थियो। शाक्य परिवारले उनको
रिहाइका लागि रु.२० लाख फिरौती दिएको बताइएको छ।
'पैसा दिएर पल्काइयो'
अभिमन्युका दाजु विनोदप्रसाद साह मागेजति पैसा दिने प्रवृत्तिले भारतीय
अपराधीको मनोबल बढेको बताउँदै भन्छन्, “वीरगञ्जका ठूला व्यापारीले
लाखौँ रुपैयाँ दिएर अपराधीलाई पल्काएका छन्।” गएको २६ पुसमा काठमाडौँमा
टेकुको एउटा पिसिओबाट आˆनो मोबाइलमा मागे जति रकम नदिए सिध्याइदिने
धम्की आएपछि उनी हतारहतार प्रहरी लिएर पिसिओ पुग्दा उनीहरू भागिसकेका
थिए। पिसिओ सञ्चालकले फोन गर्नेमध्ये एक पहाडी र अर्को भारतीय मूलका
जस्तो देखिएका बताएका थिए। यसरी फोन गर्नेहरू आफूलाई छोटेलाल सहनी
गिरोहको सदस्य दाबी गर्ने गर्छन्। विनोद भन्छन्, “म वीरगञ्जका व्यापारी
जस्तो नामर्द होइन, ज्यान गएपनि पैसा दिन्न।”
भारतीय अपराधी समूहलाई कसले कति पैसा दिएका छन् भन्ने जानकारी पनि
प्रहरी वा अरू कुनै सरकारी निकायसँग हुँदैन, उनीहरूका आफन्त वा विश्वासमा
रहेकाहरूकै भनाइ पत्याउनुपर्दछ। केडिया अर्गनाइजेसनले रमेशमाथि आक्रमण
गर्ने सहनीलाई रु.५० लाख दिएको बताइएको छ। एक प्रहरीको भनाइमा, अनुसन्धान
गर्न भारतको मोतिहारी जेल पुगेको नेपाल प्रहरीको टोलीलाई सहनीले नै
त्यति रुपैयाँ पाएको बताएका थिए।
गएको २९ वैशाखमा घण्टाघरस्थित आˆनो निवासबाट गोपाल मण्डली धर्मशालातिर
गइरहेका वीरगञ्जका उद्योगपति रतन अग्रवाल पनि एकाबिहानै बम हमलामा
परे। त्यस्तै, १९ साउनमा मर्निङवाक्मा निस्केका दिल्ली पब्लिक स्कूलका
सञ्चालक एवं उद्योगी भिखमचन्द्र अग्रवालमाथि गोली प्रहार भयो। यस्ता
घटनापछि छोटेलाल सहनी गिरोहले पर्चा वा टेलिफोनमार्फत् जिम्मेवारी
लिने र विभिन्न उद्योगपति, व्यापारीलाई धम्क्याउने गर्दछ। हमलाबाट
तर्सिएका पवन वजाज र ढुवानी व्यवसायी राजेन्द्र गुप्ताले ठूलै रकम
दिएर कुरा मिलाएको भनिए पनि आधिकारिक जानकारी आएको छैन। कुन्दन सिंहको
अर्को भारतीय अपराधी गिरोहले गुप्तासँग भारु १ करोड मागेको थाहा भएपनि
दिए'नदिएको स्पष्ट छैन। चाचान समूहसँग भारु १ करोड मागिएकोमा दुई किस्तामा
गरेर ४० लाख दिएको बुिएको छ। कलैयाका व्यापारी सोनालाल साहले भारु
१० लाख दिएर सहनीलाई रिाएको स्थानीय सुरक्षा निकायलाई थाहा छ। कलैयाकै
नारायणी प्लास्टिक उद्योगका मालिक राधेश्याम अग्रवालसँग भारु ५० लाख
मागिएको छ। सख्खर व्यापारी गोपाल अग्रवाललाई १५ लाखको धम्की आउने गरेको
छ। उद्योगी'व्यवसायीका अनुमानमा, बारा र पर्साका व्यवसायीले भारतीय
अपराधी गिरोहहरूलाई भारु ५ करोड बुाइसकेका छन्।
धम्की'पत्र खुद्रा व्यापारी र वित्तीय क्षेत्रले पनि पाउन थालेका
छन्। ६ मङ्सिरमा वीरगञ्जका महालक्ष्मी फाइनान्स, नबिल, नेपाल इन्भेष्टमेन्ट
र हिमालयन ब्याङ्कमा भारु ४'४ लाख मागिएको इमेल आयो। उद्योग वाणिज्य
संघ वीरगञ्जका अध्यक्ष विजय सरावगीका अनुसार वीरगञ्जका दुई सयभन्दा
बढी व्यापारिक समूह 'फोन'धम्की' बाट प्रभावित छन्।
पक्राउ र फरार
बरियारपुरका १३ वर्षीय किशोर दीपेन्द्र पटेललाई बाराकै पिप्राढीमा
६ दिन राखेर भारु ५२ हजार लेनदेन गरिरहेका बेला अपहरणकारी जोगी धरिकार
पक्राउ परे। धरिकार अहिले पुर्पक्षका क्रममा जेलमा र घटनामा संलग्न
राजदेव नुनिया, दसई पटेल, उगन हजार र दिनेश सहनी फरार छन्। छोटेलाल
सहनी गिरोहका एक सहयोगी लाले मियाँलाई भारतीय प्रहरीले १३ मङ्सिर २०६३
मा पूर्वी चम्पारण, पिपराकोठीको बाटगञ्ज गाउँमा छापा मारेर समातेको
छ। वीरगञ्जका उद्योगपति घनश्यामदास चाचानको अपहरणबाट रु.१ करोड ६८
लाख फिरौती हात पारेको खुलासा लाले मियाँले नै गरेका थिए। श्रीनगरका
मियाँ डाँक सहायक सुशीलकुमार मिश्रसँग भारु ३ लाख लिनेदिने क्रममा
पक्राउ परेका हुन्। जेलबाट फरार पूर्वी चम्पारणका ललन सहनीलगायत तीन
जना १४ मङ्सिरमा भारतीय प्रहरीसँगको भिडन्तमा मारिएका छन्।
बिहारमा नितीश सरकार बनेपछि अपराधीमाथि हुनथालेको तीब्र प्रहरी कारबाहीका
कारण उनीहरूले नेपालमा आˆना गतिविधि बढाएका भारतीयहरूको भनाइ छ। वीरगञ्जस्थित
भारतीय दूतावासका एक अधिकृत भन्छन्, “बिहारमा सुरक्षा निकायमाथि राजनीतिक
हस्तक्षेप रोकिएको छ। लालुकालमा सुरक्षा अधिकारीलाई एक ठाउँमा ६ महिना
मात्रै बस्न दिइन्थ्योभने अहिले कम्तीमा तीन वर्ष राखिने ग्यारेन्टी
दिइएको छ।”
वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुशील मित्तलका अनुसार,
नितीश सरकार बन्नुअघि असुरक्षाका कारण बिहारमा उद्यमीहरू पलायन हुन
थालेका थिए, जुन अहिले वीरगञ्जमा शुरु भएको छ। वीरगञ्ज उद्योग वाणिज्य
संघका वरिष्ठ उपाध्यक्ष सुशील धुरकाको विचारमा, आर्थिक राजधानीको विशेषणले
पनि वीरगञ्जमा बढी आँखा लागेको हो।
बढ्दो पलायन
सीमापारिबाट हुनेगरेको अपराधका कारण वीरगञ्जका ठूला व्यापारी पूँजीसहित
पलायन हुन थालेका छन्। छोटेलाल सहनी गिरोहले भारु २ करोड मागेपछि त्रिवेणी
समूहका सञ्चालक वीरेन्द्र संघाईले वीरगञ्ज छाडे। भारतको दिल्ली, उत्तराञ्चल
र श्रीलङ्कामा उनका वनस्पति घ्यू, धागो, प्लास्टिकका बोरा र टेक्सटाइल
उद्योग खुलेका छन्। श्रीकृष्णा समूहले भारतको हरियाणामा र केडिया समूहले
श्रीलङ्कामा वनस्पति घ्यू प्लान्ट खोलेकाले यी समूहका मनोज अग्रवाल
र रतन केडिया अहिले वीरगञ्जमा देखिँदैनन्।
रारा समूहका घनश्याम वाहेती, पटवारी समूहका अनिल पटवारी, साह समूहका
विनय साह, वीएसटी समूहका शशि अग्रवाल र भिखमचन्द्र अग्रवाल पनि काठमाडौँ'दिल्ली
गर्न थालेका छन्। शङ्कर गोल्यानको शङ्कर समूह भारतको उत्तराञ्चलमा
फलाम उद्योग खोल्ने तयारीमा छ। चौधरी समूहले सिक्किममा चाउचाउ प्लान्ट
शुरु गरिसकेको छ। सनराइज ग्रुपका रतन अग्रवाल आफूमाथि भएको आक्रमणपछि
उद्योग'व्यवसाय आफन्तको जिम्मा लगाएर सपरिवार दिल्लीमा बस्न थालेका
छन्। सख्खर व्यवसायी गोपाल कलैया र ढुवानी व्यवसायी राजेन्द्र गुप्ता
र एमसी ग्रुपका अनुप अग्रवाल वीरगञ्जमा बस्न छाडेका छन्। चाचान समूहले
दिल्लीमा औषधि उद्योग शुरु गरेको छ। उद्योगपति बाबुलाल चाचान वीरगञ्जमै
बसेर पनि टेलिफोन सम्पर्क बाहिर रहने गरेका छन्।
सरकारीस्तरबाट अपेक्षित कारबाही भएको छैन। स्थानीय प्रहरी'प्रशासनदेखि
प्रधानमन्त्रीसम्म गुहार्दा पनि सुनुवाई नभएपछि निरास भएका वीरगञ्ज
उद्योग वाणिज्य संघका अध्यक्ष विजय सरावगी भन्छन्, “शृङ्खलाबद्ध अपराध
बढेपछि स्थानीय निकाय हुँदै प्रधानमन्त्रीसम्म पुग्याँै। भारतीय दूतावासदेखि
गृहसचिवसम्म गुहार्यौँ। रकम मागको धम्की आउने सयौँ टेलिफोन नम्बर
दिएका छौँ। तर कसैले सुनेनन्। राज्य नै जिम्मेवार छैन।” आफूहरूसँग
भारु ४'४ लाखको मागपत्र आएपछि त्रसित इन्भेष्टमेन्ट ब्याङ्कका वीरगञ्ज
शाखा प्रमुख श्रीचन्द्र भट्टको आशङ्का छ, “छोटेलालका नाममा स्थानीय
अपराधीकै चलखेल जस्तो पनि लाग्छ।”
प्रमुख भट्टको आशङ्कालाई वीरगञ्जका एक व्यवसायीसँग रकम लिनेदिने
क्रममा भएको बारा, रघुनाथपुरका जाफर मियाँ र पुरैनियाका सिकन्दर मियाँ
ठकुराइको गिरˆतारीले पनि पुष्टि गर्दछ। जाफरले फोनबाट भारु २ लाख मागेर
२५ हजार बुझ्न २७ मङ्सिर २०६३ अपराह्न चार बजे वीरगञ्जको भिस्वामा
गएका बेला र उनको जानकारीअनुसार सिकन्दर पक्राउ परेका हुन्। यी दुवैले
यसअघि कैयौँसँग रकम लिएको थाहा भएको छ।
को हुन् छोटेलाल?
३२ व्ार्षीय छोटेलाल सहनी (हे. सँगैको तस्बिर, बीचमा) भारत, बिहारको
पूर्वीचम्पारण, पिप्राकोठी वाटगञ्जका हुन्। किशोरावस्थामा बाबु शिवमङ्गलको
अपहरण हुँदा घरजग्गा बेचेर छुटाइएको प्रभावले हुनसक्छ उनी यही धन्दामा
लागे। शुरुमा साइकल, मोटरसाइकल चोरीमा संलग्न सहनी सन् १९९७ मा पटनाका
एक व्यापारीको अपहरण गरेर र १९९८'९९ मा दुई पटक ब्याङ्क लुटेर बिहारमा
नामूद भए। भारतीय अखबार आज दैनिकका सुगौलीक्षेत्र सम्वाददाता हीरालालप्रसाद
भन्छन्, “२९ अक्टोबर २००२ मा आˆनै गिरोहका नाइके विनोद सिंहको हत्या
गरेपछि उनी डन कहलिएका हुन्।” हाल मोतिहारी जेलभित्रैबाट गिरोह चलाउने
सहनीलाई राजनीतिक संरक्षण प्राप्त छ।
भारत सरकारले सहनीलाई पक्राउ गर्न भारु २५ हजार पुरस्कार तोकेको
थियो, तर अन्ततः उनकै सहमतिमा गिरˆतारी भयो। इन्काउन्टर नगरिने शर्तमा
पैसा ख्वाएर गिरˆतारी दिएका सहनी ३० मे २००६ मा राजेश सिंहको नाममा
रेल्वे सीट रिजर्भेशन गरेर रायबरेली जाने रेलमा चढेको बेला पक्राउ
परेका थिए। सहनीविरुद्ध हत्या, अपहरण, डकैती र लुटपाटका ३२ वटा मुद्दा
छन्। |