विशेष रिपोर्ट सीमापार अपराध
सीमादेखि राजधानीसम्म
अचम्म लाग्नसक्छ, राजधानीमा मात्रै पछिल्लो ६ महिनामा
तीन दर्जनभन्दा बढी अपहरणका घटना भएका छन्। अपहरण हुनेहरूमा अधिकांश
मध्यमवर्गका व्यापारीहरू छन्, जो रु.२ लाखदेखि रु.७५ लाखसम्म फिरौती
तिरेर मुक्त भएका छन्। यसबाट देखिन्छ सीमापार अपराधको जालो राजधानीसम्म
फैलिसकेको छ।
• किरण नेपाल
भारतसँगका सीमावर्ती
शहरबजारमा धेरै हुने डकैती, हत्या, अपहरणलगायतका अपराध अब मुलुकका
भित्री शहर र राजधानीमा समेत हुन थालेका छन्। काठमाडौँ उपत्यकामा मात्रै
पछिल्लो ६ महिनामा तीन दर्जनभन्दा बढी अपहरण भए। अपहरणमा पर्नेहरूमा
अधिकांश मध्यमवर्गका व्यापारी छन्। कात्तिकको अन्त्यमा माओवादीले हतियार
छाड्ने सम्ौता गरेलगत्तै अपहरण बढेको अनुभव व्यापारीहरूको छ।
पछिल्लोपटक १० फागुन राति आफन्तलाई छाड्न घरबाहिर निस्केका बेला खिचापोखरीबाट
अपहरित व्यापारी प्रमोद तुलस्यान १६ फागुनमा मुक्त भए। प्रमोदको अपहरण
हुनु करिब आधा घण्टाअघि 'मारुति' भ्यानमा आएका केही मानिसले विशालबजारको
पश्चिम गेट नजिकै रतन शर्मालाई जबर्जस्ती गाडीमा हालेर लैजान खोजेका
थिए, तर उनले फुत्किएर जुद्ध शम्शेरको सालिक नजिकै रहेका प्रहरीलाई
गुहारे पछि अपहरणकारीहरू इन्द्रचोकतिर भागे। एक व्यापारीका अनुसार,
प्रमोदलाई अपहरण गर्ने र रतनको अपहरण प्रयास गर्नेहरूको हुलिया उस्तै
थियो।
अपहरणको त्रासले नयाँसडक, इन्द्रचोक आदि ठाउँ आसपासका व्यापारीहरू
साँ आठ'साढेआठ नबज्दै घर पुग्छन्। मारवाडी सेवा समितिका अध्यक्ष पवन
मित्तल भन्छन्, “हिजोआज नचिनेको फोन कसैले उठाउँदैन। व्यापारिक प्रयोजनका
लागि देश भित्र हुने आवतजावत धेरै कम भएको छ।”
ठाउँ'ठाउँमा प्रहरी एम्बुस
२०६३ साउनदेखि मङ्सिरसम्मका पाँच महिनामा उपत्यका अपराध अनुसन्धान
कार्यालय, हनुमानढोकामा अपहरणका ६ वटा मात्रै उजुरी परेका छन्, जसमध्ये
एक अपहरितको हत्या भएको छ, एक जनाको अवस्था अै अज्ञात छ र चार जना
मुक्त भएका छन्। १९ साउन, ८ असोज, १ मङ्सिर र २१ मङ्सिरमा अपहरणमा
परेका क्रमशः दिलीपकुमार भण्डारी, सहरमान विक, नरेन्द्रराज इधिङ्गो
र सुनित धनावत विभिन्न प्रक्रियाबाट मुक्त भएका छन्। १३ कात्तिकमा
अपहरित नक्सालका समिर विश्वासको अवस्था अै अज्ञात छ। उनलाई भारत पुर्याइएको
प्रहरीको आशङ्का छ। २४ भदौमा अपहरित बालक विवेक लुइँटेलको हत्या भएको
छ। भारतमा लुकेर बसेको विवेक अपहरण काण्डका अपराधीलाई पक्रिन सफल भएपनि
प्रहरीले उनलाई बचाउन सकेन।
अपहरण पीडितहरू आफैँ प्रहरीसम्म पुगेका उदाहरण थोरै छन्। अपहरणकारीको
चर्को दबाब, प्रहरीप्रतिको अविश्वास र आफन्तको सकुशल मुक्तिको चाहनाका
कारण धेरैले प्रहरीमा उजुरी गर्दैनन्, जसका कारण अपराधीहरूको मनोबल
नै बढेको बताउँछन्, उपत्यका अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक
केशव अधिकारी। उनी भन्छन्, “उजुरी नगरिकन खुरुखुरु पैसा दिँदै जाँदा
अपहरणकारीको मनोबल बढ्छ र समाजमा समस्या नै बल्िँदै जान्छ।”
अपहरणमा परेका डा. दीपक कौशलका साढे तीन वर्षका छोरा अरमानलाई प्रहरीको
सक्रियतामा अपहरणकारीहरूले विना फिरौती छाड्न बाध्य भएको घटना पनि
छ। फिरौती दिन बोलाएका बेला प्रहरी निरीक्षक जीवन श्रेष्ठको टोलीले
एभरेष्ट होटलबाट अपहरणकारीहरूलाई पछ्याउन थालेको थियो। पछि उनीहरूले
राति १२ देखि २ बजेको बीचमा अरमानलाई चाबहिलस्थित ओम हस्पिटल अगाडि
छाडिदिए। प्रहरी उपरीक्षक अधिकारी भन्छन्, “यदि प्रहरीको सहयोग लिने
हो भने हामी यस्तो घटनालाई सकुशल डिल गर्न सक्छौँ।”
काठमाडौँमा अपहरणमा परेकाले व्यक्तिगत उजुरी हाल्ने भन्दा पनि तिनको
प्रतिनिधित्व गर्ने विभिन्न संघसंस्थाले प्रहरीको सहयोग माग्ने चलन
बढी छ। जस्तै, मारवाडी समुदायका व्यक्तिहरू अपहरणमा पर्दा प्रहरी प्रशासनसँग
समन्वय गर्ने काम मारवाडी सेवा समितिले गर्छ। समितिका अध्यक्ष मित्तल
भन्छन्, “बढ्दो असुरक्षाका बीच के गर्ने भन्नेबारे छलफल गर्न चाँडै
नै मारवाडी समुदायको सर्वोच्च निकाय नेपाल राष्ट्रिय मारवाडी परिषदको
भेला हुने भएको छ।”
यसैबीच परिषद र समितिको अगुवाईमा १४ फागुनमा व्यापारीहरूको टोलीले
प्रधानमन्त्री कोइरालालाई भेटेर बढ्दो असुरक्षाका बारेमा जानकारी गराएको
थियो। यो भेटको लगत्तै प्रहरीले व्यापक दबाब बढाएकोले हुनसक्छ, त्यसताका
अपहरणकारीकै कब्जामा रहेका प्रमोद तुलस्यानलाई उनीहरूले 'सहज सम्ौता'
मा छाडेको मित्तल बताउँछन्। उनी भन्छन्, “प्रहरीको व्यापक दबाब परेपछि
अपहरणकारीहरूबीच तुरुन्तै छाड्नुपर्ने कुराकानी भएको हामीले समेत थाहा
पाएका थियौँ।”
२५ फागुनमा हिमाल सँग कुरा गर्दै उपरीक्षक अधिकारीले काठमाडौँ महानगरपालिकाभित्र
मात्रै ३० ठाउँमा अपराधी पक्राउ गर्न 'एम्बुस' थापिएको र मोबाइल टोलीको
सङ्ख्या पनि व्यापक बढाइएको बताएका छन्। अधिकारी भन्छन्, “तिनै एम्बुसमा
पारेर हामीले गएको साता एकैरातमा ७५ जना अपराधीलाई पक्राउ गरेका थियौँ।”
तर अधिकारीले भनेका ती 'अपराधी' अपहरणलगायतका गम्भीर आपराधिक मामिलामा
मात्र संलग्न नभई सामान्य अपराधी पनि हुनसक्छन्।
अपहरणका तीन तह
 |
| डम्बरकृष्ण श्रेष्ठ |
सीमामा तैनाथ भारतीय सीमा
बलका एक जवान। |
एक अपहरितका अनुसार समग्र अपहरण प्रक्रिया तीन चरणमा हुने गरेको छ।
पहिलो अपहरण गर्ने, दोस्रो हिरासतमा राख्ने र तेस्रो फिरौतीका लागि
'मोलतोल' गर्ने। यी तीनै चरणमा संलग्न व्यक्तिहरू पनि फरक फरक हुन्छन्।
अपहरण गर्ने काममा स्थानीय अपराधीहरूको संलग्नता देखिन्छ भने हिरासतमा
राख्ने र 'सम्ौता' गर्ने क्रममा मुख्यतया भारतीय अनुहार तथा स्वरहरू
देखिन्छन्/सुनिन्छन्। प्रहरी स्रोतका अनुसार पनि भारत, मलेशिया वा
सिङ्गापुरमा बसेर आपराधिक गतिविधि सञ्चालन गर्नेहरूको प्रत्यक्ष/अप्रत्यक्ष
संलग्नता देखिएको छ, राजधानीमा भइरहेका पछिल्ला आपराधिक घटनाहरूमा।
अपहरण भएलगत्तै त्यसको जानकारी दिन फोन आउँछ, जसमा धेरैजसो अपहरितकै
मोबाइल, कार्डफोन र 'मेरो मोबाइल' का नम्बरहरू प्रयोग भएका देखिन्छ।
फोन गर्नेले शुरुमै तथानाम गाली गर्दै परिवारलाई धम्क्याउँछ र प्रहरीलाई
खबर नगर्न तथा कति पैसाको व्यवस्था गर्नुपर्ने भन्ने कुराको लागि अर्को
फोन पर्खिन भन्छ। अपहरण गरेको केही समयपछि आउने दोस्रो फोनमा फिरौतीको
रकम बताइन्छ र सो रकम कहाँ, कसरी उपलब्ध गराउने भन्ने कुराका लागि
अर्को फोन पर्खिन भनिन्छ। यसरी आउने फोनमा धेरैजसो भारत, सिङ्गापुर
र मलेशियाका मोबाइल वा ल्याण्डलाइन नम्बरहरू हुने गरेका छन्। कतिपय
अवस्थामा कार्डफोन, अपहरितकै मोबाइल तथा 'मेरो मोबाइल' बाट पनि फोन
आउने गरेका छन्। फसिकेवका व्यापारी मदन धनावतका छोराको अपहरणपछि प्रयोग
भएको मोबाइल ५'६ वर्षअघि काठमाडौँ छाडेका एक व्यापारीको भएको पाइएको
थियो।
अपहरणमा परेका एक भुक्तभोगी आफूलाई काठमाडौँबाट अपहरणलगत्तै पट्टी
बाँधेर कुनै ठाउँमा लगेर दुई दिन तथानाम गालीगलौज र कुटपिट गरिएको
बताउँछन्। अपहरणमा परेका एक निम्नवर्गका व्यापारीको त खुट्टा समेत
भाँचिएको थियो। अपहरणकारीले अपहरितकै सामु आˆना बोससँग कुरा गर्छन्।
अधिकांश घटनामा यस्तो कुराकानी नेपालकै पहाडी भेगको कुनै स्थानीय भाषा
र हिन्दी भाषामा हुने गरेको पाइएको छ। राजधानीबाट अपहरित एक व्यक्तिको
भनाइमा, उनलाई थुनिएको स्थानबाट जहाज उडेको/ओर्लेको सुनिन्थ्यो। यसबाट
अपहरणमा परेकामध्ये अधिकांशलाई काठमाडौँकै पूर्वी क्षेत्रमा, त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलको आसपास, राख्ने गरिएको अनुमान गरिएको छ।
 |
| किरण पाण्डे |
| सीमा सुरक्षाको जिम्मा अब सशस्त्र प्रहरीलाई। |
अधिकांश घटनामा फिरौती लिने/दिने क्रममा रकम बुाउन जाने अपहरितका
आफन्तलाई मोबाइल बन्द नगर्नू भन्ने उर्दीसहित अपहरणकारीले करिब दुई'तीन
घण्टासम्म शहरका विभिन्न भागमा घुमाउने र एउटा ठाउँमा पुगेपछि गाडीबाट
ओर्लेर हिँड्न लगाउने अनि पैसासहितको ब्याग खोसेर लिने गरेको पाइएको
छ। एक भुक्तभोगी भन्छन्, “मलाई फोन गरेर शुरुमा एभरेष्ट होटल अगाडि
पुग्न भनियो, त्यसपछि पुरानो बानेश्वर, दरबारमार्गस्थित अन्नपूर्ण
होटेल, कालोपुल, कोटेश्वर पुर्याउँदै बुद्धनगरको ओरालोमा ल्याएपछि
गाडीबाट ओर्लेर हिँड्न भनियो, त्यत्तिकैमा एउटा भ्यान आयो र हातमा
भएको पैसाको ब्याग लुटेर लग्योे। एकछिनपछि फेरि फोन आयो र पैसा पाएको
भनेर आफन्त चाँडै घर पुग्ने बताइयो।” यसरी पैसा लगेको कम्तीमा दुई'तीन
घण्टादेखि बढीमा आठ'नौ घण्टाभित्रमा अपहरित व्यक्ति घर पुग्ने गरेका
छन्। धेरैजसो अपहरितहरू बिहान तीनदेखि पाँच बजेभित्र घर पुगेका छन्।
भारतदेखि मलेशिया र सिङ्गापुरसम्म बस्नेहरूले स्थानीय अपराधीको सहयोगमा
फिरौतीका लागि अपहरण गरेका घटना धेरै छन्। विदेशमा रहेका त्यस्ता अपराधीले
शुरुमा फोन र इमेलबाट रकमको माग गर्ने र पैसा नपाउँदा स्थानीय गुण्डा
लगाई अपहरण गर्ने गरेका छन्। प्रहरी स्रोतको भनाइमा, चिकित्सक, विभिन्न
गैरसरकारी संस्थाका प्रमुख र व्यापारीसँग फोन र इमेलमार्फत् पैसा माग्ने
र नपाएमा अपहरण गर्ने गरेको पाइएको छ।
कतिपय अवस्थामा जसलाई पायो त्यसलाई अपहरण गरेको पनि पाइन्छ। त्यसमा
पनि धेरैजसो व्यापारी जस्ता देखिने मारवाडी अनुहारलाई नै अपहरण गरिएको
छ। इन्द्रचोक आसपासमा कपडा रंगाउने काममा संलग्न दुई मुसलमान व्यापारीको
समेत अपहरण भएको छ। काठमाडौँबाट अपहरणमा परेर छुटेकाहरूको भनाइमा,
अहिलेसम्म धेरैजसो कम्तीमा रु.२ लाखदेखि रु.७५ लाखसम्मको फिरौती तिरेर
मुक्त भएका छन्।
अपहरण कार्यमा सेना, माओवादी र प्रहरीका भगौडालगायत जो पनि हुनसक्ने
अवस्था छ। प्रहरी उपरीक्षक अधिकारी भन्छन्, “अहिलेसम्मको अनुसन्धानबाट
राजधानीमा भएका अपहरणमा वीरगञ्ज आसपासमा अपराध गर्दै आएको छोटेलाल
सहनीकै प्रत्यक्ष संलग्नता नदेखिए पनि कतिपय भारतीय अपराधीहरू संलग्न
रहेको पाइएको छ।” प्रहरीकै भनाइले पनि हिजोसम्म सीमा क्षेत्रमा मात्र
सीमित आपराधिक क्रियाकलापको सञ्जाल अब राजधानीसम्म आइपुगेको छ। यो
यथार्थ बुेर पनि सीमापार अपराध नियन्त्रण गर्ने प्रभावकारी संयन्त्रको
निर्माण नहुनु चाहिँ बुझ्न नसकिने कुरा हो।
यसैबीच सरकारले २१ फागुनमा सीमा सुरक्षा र ती क्षेत्रमा बढ्दो आपराधिक
क्रियाकलापमा नियन्त्रणका लागि सीमा सुरक्षा बलको काम गर्न सशस्त्र
प्रहरीलाई जिम्मा दिने निर्णय गरेको छ। यो निर्णयसँगै भारतसँग सीमा
जोडिएका २० जिल्लामा सीमा सुरक्षा बल तैनाथ हुनेछ। प्रत्येक जिल्लाका
प्रहरी उपरीक्षकको कमाण्डमा रहने यो फोर्समा कुल ४२ सय सुरक्षाकर्मी
रहनेछन्।
|