हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

सुन्दरीहरूकी गुरुआमा

तस्बिरः अनुप प्रकाश

गुरुआमा, त्यो पनि मिस नेपालहरूकी! हो, मिस नेपालका सबै सुन्दरीहरूले उनलाई 'रचना म्याम' भन्छन्। त्यसो त सौन्दर्य क्षेत्रमा रचना गुरुङ (शर्मा) को अलग्गै पहिचान छ। हङकङमा हेयर ड्रेसर र डान्स कोरियोग्राफीको अध्ययन र काम गरेर आएकी उनी मिस नेपाल प्रतियोगितामा सुरुआतदेखि नै कोरियोग्राफरका रूपमा आवद्ध छिन्। हङकङमा जन्मी, हुर्की उतै २३ वर्ष बिताएर १२ वर्षअघि एक महिनाको बिदा लिएर आएकी रचनालाई त्यसपछि हङकङ फर्कन मन लागेन। भन्छिन्, “नेपाल नै मन पर्‍यो। आएपछि फर्कन मनै लागेन।”

रचनालाई काठमाडौं जेसिजले सन् १९९४ मा पहिलो मिस नेपाल प्रतियोगिताको कोरियोग्राफीको जिम्मा दिएको थियो। त्यसपछि उनी हरेक वर्ष मिस नेपाल आयोजनाको तयारी र कार्यान्वयनमा तल्लीन रहन्छिन्। सहभागीहरूमा आत्मविश्वास जगाउने, बोलीचाली, हाउभाउ, लवाई'खुवाई, मञ्च प्रस्तुतिदेखि ध्वनि, प्रकाश, सङ्गीत छनौट र मञ्च सजावटसम्मको काम उनैले हेर्छिन्। भन्छिन्, “हामी नेपाल चिनाउने तौरतरिकादेखि संस्कृति, संस्कारका बारेमा पनि प्रशिक्षण दिन्छौँ।”

कहिलेकाहीँ प्रतियोगिताविरुद्ध हल बाहिर नाराबाजी हुँदा रचनालाई कस्तो लाग्छ? भन्छिन्, “मिस नेपालको विरोध गर्नु महिलाले महिलाको खुट्टा तान्नु हो। यो स्पर्धा महिला उत्थानकै लागि हो भनेर बुिदिनु पर्‍यो। कुनै 'भल्गर' किसिमको प्रतियोगिता हैन।” उत्तेजक दृश्यहरू राखेर बनेका चलचित्र, म्युजिक भिडियोको विरोधमा कसैले केही नभन्ने तर मिस नेपालको विरोध हुने गरेकोमा उनी दुःख व्यक्त गर्छिन्।

तर, अहिले आएर आयोजनाको महव र मिस नेपालहरूको सामाजिक छविका कारण धेरै सकारात्मक बन्दै गएको उनी बताउँछिन्।
तीन छोरीकी आमा रचना गत दुई वर्षदेखि श्रीमान अमूल्य शर्माको शर्मा सन्स मूभर्स प्रा.लि.मा निर्देशकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी छन्। मिस नेपालकी गुरुआमा बन्न पाउँदा गर्व महसूस गर्ने रचना भन्छिन्, “सबै सहभागी र मिस नेपालहरूले सम्मान गर्छन्, आˆना छोरीमा आएको परिवर्तन देखेर अभिभावकबाट समेत धन्यवाद पाउँदा सफल भएको ठान्छु।”

अनुशील


रमझम रिपोर्ट

किसानदेखि नेता'पुत्रीसम्म

फरक'फरक पृष्ठभूमि र परिवेशबाट आएका प्रतिस्पर्धीहरूमध्ये धेरैले मिस नेपाल प्रतियोगितालाई सपनाको रमाइलो संसार ठानेका छन्।

अनुशील

डाबर बाटिका मिस नेपाल २००७ मा सहभागिता जनाएका १९ सुन्दरीमा किसान'पुत्री पनि छन्, पूर्व मन्त्रीकी छोरी पनि। व्यापारी, शिक्षक, पूर्व सेना, प्रहरी, कर्मचारीदेखि वैदेशिक रोजगार गरिरहेका बाबुआमाका छोरीहरूसम्म मिस नेपाल बन्ने होडमा सामेल छन्। तिनैमध्येकी एक काठमाडौँ, स्वयम्भूकी जानी बज्राचार्य (२२) लाई सानैदेखि भारतीय नायिका ऐश्वर्या रायैँ बन्न मन लाग्थ्यो। यही चाहनाले दुई वर्षयता फेशन मोडलिङबारे प्रशिक्षण समेत लिइरहेको उनी बताउँछिन्। भन्छिन्, “ऐश्वर्यालाई देख्दा त्यस्तै मिस वर्ल्ड बन्न मन लाग्थ्यो। त्यही चाहनाले मलाई यता तानेको हो।” जानीले मिस नेपालको उत्कृष्ट २५ जनामा छनौट नहुञ्जेल एक निजी संस्थामा कार्यरत आˆनो बुबालाई थाहै दिएकी थिइनन्। भन्छिन्, “भाग लिएकोमा बुबाले गाली नै गर्नुभयो।”

ललितपुर, एकान्तकुनाकी शिताष्मा चन्द (२३) भने आˆनी आमाको करले मिस नेपालको फर्म भरेको बताउँछिन्। “मेरो भन्दा आमाको कर र रहरले आएकी थिएँ तर अहिले राम्रै गरिछु भन्ने लाग्दैछ।” प्रशिक्षणमा दुई हप्ता बिताउँदा धेरै कुरा सिक्न पाएकोमा उनी दङ्ग छिन्। बास्केटबल भनेपछि हुरुक्कै हुने, पूर्व प्रहरी नायव उपरीक्षककी छोरी शिताष्मालाई फेशन, मोडलिङ, चलचित्र जस्ता ग्ल्यामरसम्बद्ध क्षेत्रमा निकै रुचि छ तर भविष्यमा के गर्ने भन्ने उनले सोचेकी छैनन्। भन्छिन्, “भोलि जता पनि जान सकिन्छ।”

काठमाडौँ, नयाँबानेश्वरकी वन्दना शर्मा (२२) लाई पनि परिवारले नै मिस नेपालमा भाग लिन हौस्याए। भन्छिन्, “घरबाटै सबैले जाऊ, कोशिश गर, आत्मविश्वास बढ्छ भन्नुभयो।” नभन्दै, घरमा र साथीभाइहरूसँग त्यति नबोल्ने उनी दुई हप्तामै आफूमा परिवर्तन महसूस गर्न थालेकी छिन्। “यहाँ आएर केही गर्ने, बन्ने चाहना थपिएको छ, अलि बोलक्कड पनि भएकी छु।” अभिभावकले पोल्ट्री फर्मको व्यवसाय अँगाले पनि वन्दना भने ग्ल्यामर क्षेत्रमा करिअरको नयाँ सम्भावना देख्न थालिसकेकी छन्।

ललितपुर, कोपुण्डोलकी श्वेता शाह चाहिँ मिस नेपाल प्रतियोगिताका फाइनल इभेन्टहरू टेलिभिजनमा हेर्न प्रायः छुटाउन्नथिन्। भन्छिन्, “टिभीमा हेर्दा पनि त्यो ठाउँमा हुन्छु भन्ने सपना देख्थेँ।” नेपाली सेनाका भूतपूर्व कर्णेलकी छोरी श्वेता फ्रेञ्च राजदूतावासकी कर्मचारी पनि हुन्। बुबाले “राम्रै जागिर छ, पढाइ गर, त्यता नजाऊ” भनेपनि उनको भित्री चाहनाले प्रतियोगितामा डोर्‍याइछाड्यो। समाजशास्त्रमा स्नातकोत्तर गरिरहेकी श्वेता भन्छिन्, “आईए सकेर मिस नेपालमा आउने सोचे पनि ग्य्राजुएट भएर जाउँ्क भन्ने लागेर अहिले भाग लिएकी हुँ।” त्यसो त, यसपटक मिस नेपालमा सहभागीमध्ये धेरै 'प्लस टु' तथा स्नातक अध्ययनरत् छन् भने केहीले स्नातकको अध्ययन सकेका छन्।

तस्बिर सौजन्यः हिडन ट्रेजर

मध्यपश्चिमको बाँके, कोहलपुरकी रोजी वर्णावल (२२) मिस नेपालकै लागि अहिले राजधानीमा छिन्। २००५ को प्रतियोगिताका लागि छानिए पनि उनी बन्दका कारण प्रतियोगिताको प्रारम्भिक चरणमा आउन पाएकी थिइनन्। यस पटक १९ सुन्दरीभित्रै परिन् उनी। सानैदेखिको मोहका कारण रोजीले मिस भेरी २०६१ मा सहभागी भएर मिस क्याटवाक को उपाधि समेत जितेकी थिइन्। जागिरबाट अवकाश प्राप्त बुबाले निक्कै प्रोत्साहन दिएको र ६५ वर्षकी हजुरआमाको समेत आशीर्वाद पाएको उनी बताउँछिन्।

पूर्वाञ्चलको सुनसरी, इटहरीबाट आएकी नानीमाया खड्का (२५) का अभिभावक भने सौन्दर्य प्रतियोगितामा छोरीले भाग लिने कुराको विरोधमा थिए। उनी भन्छिन्, “उहाँहरूलाई यसका राम्रा पक्षबारे बुाएँ, अै बुाउँदैछु।” एक वर्ष अघिदेखि काठमाडौँमा दाजु'भाउजूका साथ रहँदै आएकी, किसानकी छोरी नानीमायासँग एक उद्योगमा काम गरेको अनुभव पनि छ। भन्छिन्, “प्रतिस्पर्धा गर्नसक्छु भन्ने आत्मविश्वास पलाएर यहाँ आइपुगेकी हुँ। हेरुँ के हुन्छ!”

काठमाडौँ, सिनामङ्गलकी ऋचा शर्मा (१९) र भक्तपुर, गठ्ठाघरकी मानवी ढकाल (२०) भने मिडियाकै क्षेत्रमा कार्यरत छन्। दुई वर्षयता मोडलिङमा सक्रिय ऋचाले आठ म्युजिक भिडियो, तीन टिभी विज्ञापनमा काम गरेकी छन् भने उनीसँग हाउसफुल र घरबेटी बा सिरियलमा अभिनय गरेको अनुभव पनि छ। आठ वर्षअघि धनगढीबाट राजधानी आएकी ऋचाको परिवार उतै छ। धनगढीमा काठ मिल सञ्चालन गरेर बस्ने अभिभावकले यस क्षेत्रमा लाग्न उनलाई हौसला दिएका छन्। उनी भन्छिन्, “मिस नेपालको क्राउनबारे यसै भन्न सकिन्न।

उत्कृष्ट तीनमा पुग्ने लक्ष्य छ।” मानवी ढकाल कान्तिपुर एफएमकी कार्यक्रम सञ्चालक पनि हुन्। पूर्व वनमन्त्रीसमेत रहिसकेका राजनीतिज्ञ बाबुकी कान्छी छोरी मानवी सानैदेखिको इच्छाले मिस नेपालमा डोर्‍याएको बताउँछिन्। भन्छिन्, “नेपालमा भर्खरै फस्टाउँदै गएको ग्ल्यामर क्षेत्रमा आˆनो तर्फबाट केही योगदान दिने चाहना छ।”

काठमाडौँ, ताहाचलकी सृष्टि मानन्धर (२२) भने साथीहरूको कर र परिवारको 'सपोर्ट' भएकाले मिस नेपालमा भाग लिन आइपुगेको बताउँछिन्। फेशन मोडलिङमा रुचि नराख्ने भएपनि म्युजिक भिडियोमा अभिनय गर्ने चाहना उनमा छ। मिस नेपालको दौडमा किन त? रेस्टुरेण्ट व्यवसायी परिवारकी छोरी सृष्टि भन्छिन्, “धेरै नेपालीले चिन्छन् र करिअरको नयाँ ढोका खुल्छ।” मिस नेपालसम्बद्ध नकारात्मक कुरा पनि सुन्दै आएको तर बुझ्दै जाँदा यसको प्रभाव एकदम राम्रो पाएको उनी बताउँछिन्।

काठमाडौँ, बालाजुकी बबिता मानन्धर (२१) ले चाहिँ टिभीमा मिस नेपालका इभेन्टहरू हेर्दा एकदिन भाग लिएरै छाड्छु भन्ने अठोट गरेकी थिइन्। सानैछँदा प्रतियोगी सुन्दरीहरूले सेतो गाउन लगाएर हिँडेको देख्दा त्यसको नक्कल गर्ने उनी अहिले आफैँ त्यो स्थानमा पुग्दा खुसी देखिन्छिन्। दुबईमा वैदेशिक रोजगारमा रहेका बुबा र व्यापारी आमाकी छोरी बबिता भन्छिन्, “म पूरै नेपाल र नेपालीको प्रतिनिधित्व गर्न चाहन्छु। भविष्यमा सामाजिक क्षेत्रमा सक्रिय रहने इच्छा छ।”

बबिताैँ बुबा कुवेतमा र आमा नेपालमै व्यापारमा संलग्न बताउने चाबहिल, काठमाडाँैकी लक्ष्मी लामा (२१) लाई उत्कृष्ट १९ भित्र पर्नु नै ठूलो उपलब्धि लागिरहेको छ। दाइको साथीको सल्लाहअनुरुप सहभागी बन्न पुगेकी लक्ष्मी भन्छिन्, “प्रशिक्षणका क्रममा धेरै कुरा सिक्न पाएँ। यो प्रशिक्षण भविष्यका लागि मार्गनिर्देशन बन्ने ठानेकी छु।”

रुपन्देही, बुटवलकी रश्मि केसी (१९) लाई भने बुबा र आफन्तको करले मिस नेपालमा सहभागी बनायो। आफूलाई खासै रुचि नभए पनि म्याद सकिने अघिल्लो दिन मात्र फर्म भरेको उनी बताउँछिन्। भन्छिन्, “यसरी सहभागी भइएला भन्ने लागेकै थिएन। उचाइ र खुबी पनि छ, भाग लेऊ भनेर सबैले कर गरेकाले मात्र आएकी हुँ। तर, अहिले ठीक गरँे भन्ने लाग्दैछ।” इण्टरनेटबाट फर्म भरेर भाग लिन आइपुगेकी बुटवलकै सावित्रा श्रेष्ठ (२०) लाई पनि फेशन मोडलिङको त्यति ज्ञान छैन। भन्छिन्, “तर पनि चाहना पहिल्यैदेखि थियो।”

आˆनो करिअरका लागि यो प्रतियोगिता भरपर्दो 'प्लेटफर्म' हुने आशा राखेकी सावित्राका अभिभावक बुटवलमा पसल चलाउँछन्।
स्नातकोत्तर पढ्दै गरेकी काठमाडाँै, डल्लुकी भूमिका श्रेष्ठ (२४) ले मिस नेपालको सहभागितालाई 'राम्रो अवसर'का रूपमा लिएकी छन्। ब्याङ्कका अवकाशप्राप्त बुबा'आमाकी छोरी भूमिकाको लक्ष्य मिस नेपालको क्राउन जित्ने र भविष्यमा अङ्ग्रेजी विषयको प्रोफेसर बन्ने रहेको छ। भन्छिन्, “व्यक्तित्व निखार्ने प्रतियोगिता होयो। पछि चलचित्र, फेशन, मोडलिङकै क्षेत्रमा पनि लाग्ने सम्भावना देख्न थालेकी छु।”

काठमाडौँ, ठमेलकी निशा खातुन (२०) लाई ग्ल्यामर क्षेत्रमा निरन्तर लाग्ने मन छैन। आˆनो अहिलेसम्मकै ठूलो काम मिस नेपालमा भाग लिनु भएको उनी बताउँछिन्। प्रशिक्षणका क्रममा धेरै कुराको ज्ञान लिन पाएकोमा सन्तुष्ट छिन् निशा। उनी भन्छिन्, “क्राउन जित्नु मात्रै मेरा लागि ठूलो कुरा हैन, अहिले सिकेको कुरा भविष्यमा उपयोगी हुने महसूस गरिरहेकी छु।”

शिक्षण पेशामा संलग्न बुबा र आमाले भाग लिन प्रोत्साहित गरेपछि काठमाडौं, बूढानीलकण्ठकी विभा प्रजापति (२३) मिस नेपालमा प्रतिस्पर्धामा सामेल भइन्। उनलाई क्याम्पसका एक शिक्षकले 'तिमीमा क्षमता छ, जाऊ' भनेर सहभागी बन्न हौस्याएका थिए। भन्छिन्, “प्रतिस्पर्धा त निक्कै चर्को छ तर पनि आत्मविश्वास बढिरहेको छ।”

काठमाडौँ, भीमसेनस्थानकी नीलिमा रञ्जित (१९) लाई भने आमा र दिदीले भाग लिन जोड गरे। उनकी दिदी निरजा मिस नेपाल २००५ मा सहभागी भइसकेकी थिइन्। सानैदेखिको रुचि पूरा गर्न नीलिमाले यसअघि मिस्टर एण्ड मिस क्रियटिभ प्रतियोगितामा भाग लिएर मिस क्याटवाक को उपाधि जितेकी थिइन्। व्यापारी बाबुकी छोरी नीलिमाको यसै क्षेत्रमा निरन्तर लागिरहने चाहना छ।

कानून पढिरहेकी काठमाडौँ, न्यूरोडकी पुनम शाही (२२) लाई प्रतियोगितामार्फत् समाजमा पाइने स्थान र नामसँगै आउने दामले आकर्षित गरे। प्रतियोगितामा प्रतिस्पर्धा गर्न कानून पढ्न जत्तिकै गाह्रो लागिरहेको उनी बताउँछिन्। भन्छिन्, “टिभीमा हेरेर भाग लिन मन लाग्थ्यो, त्यसैले परिवारबाट सपोर्ट नभए पनि फर्म भरेँ।” उनको घरमा शुरुमा फुपूले मात्र प्रोत्साहन गरे पनि भाग लिन रोक लगाउने ट्रान्सपोर्ट व्यवसायी बुबा अहिले सकारात्मक बनेको उनी बताउँछिन्। भन्छिन्, “अहिले मेरो नाम र फोटो छापिएको पत्रिका देखेमा बुबा आफैँले किनेर ल्याउन थाल्नुभएको छ।”

विराटनगरबाट आएकी ममता प्रधान (२२) सँग दुई म्युजिक भिडियो र केही फेशन शोमा सहभागी भएको अनुभव छ। मिस्टर एण्ड मिस पूर्वाञ्चल २००६ की सेकेण्ड रनरअप ममता महवाकाङ्क्षी देखिन्छिन्। भारतमा काम गर्ने बुबालाई नसोधी मिस नेपालमा सहभागी हुन आएकी ममताले लामो समय कोलकातामै बिताएकी छन्। भन्छिन्, “त्यहाँ हुँदा मलाई बलिउडबाट समेत फिल्म खेल्ने अफर आएको थियो।” फेशन मोडलिङको क्षेत्रमा आˆनो भविष्य राम्रो देख्ने उनलाई मिस नेपाल प्रतियोगिताले अवसरको ढोका खोलिदिने विश्वास छ।


रमझम सङ्गीत

रन्को लोक'दोहोरीको

बसाइँ सर्‍यौ नि,
सङ्लो पानी धमिलो गर्‍यौ नि
माया मार्‍यौ नि...

मीन बज्राचार्य

अन्तिम चरणमा यही गीतमा प्रतिस्पर्धा गर्दै राजधानीको भृकुटीमण्डपमा १७'२६ फागुनमा सम्पन्न टुबोर्ग दोहोरी प्रतियोगिताको उपाधि हात पार्दै गोदावरी रोधी क्लबले रु.१ लाख जितेको छ।

आयोजक नेपाल लोकदोहोरी सांस्कृतिक व्यवसायी संघका महासचिव यम श्रेष्ठका अनुसार प्रतियोगिता अवधिभर एक लाखभन्दा बढी दर्शकको जमघट भएको थियो। भन्छन्, “अन्तिम प्रतिस्पर्धाको दिन मात्र २० हजार दर्शक थिए।” कार्यक्रम हेर्न तन्नेरीदेखि बूढासम्मका दर्शकको घुइँचो लागेको थियो, दोहोरीको रन्कोमा कम्मर मर्काउँदै नाच्ने पनि निक्कै थिए।

देशभरका पचास समूह सहभागी भएको दश दिने सो प्रतियोगिता जित्न सफल गोदावरी समूहमा देवी घर्ती, रेवती पौड्याल, टीका गुरुङ, राजु ढकाल, जय विक र अमर धिताल रहेका थिए।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा न्यू गामबेसी रोधी क्लब, सालीभेना दोहोरी साँ, धौलागिरि सालैजो दोहोरी साँलाई गोदावरी रोधी बारले उछिनेको थियो। दोस्रो हुने न्यू गामबेसी र तेस्रो हुने सालीभेनाले क्रमशः रु.५० हजार र रु.२५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए। धौलागिरिले भने सान्त्वनाबापत रु.१० हजार पाएको थियो।

गोरखा ब्रुअरीकोे प्रायोजनमा सम्पन्न प्रतियोगितामा नमस्ते रोधी क्लबका गायक वामदेव भाट र गण्डकी रोधी क्लबकी गायिका ज्योति मगरले उत्कृष्ट गायक'गायिकाको उपाधिसहित रु.५/५ हजारको पुरस्कार पाएका थिए। एउटा खुट्टाले नाचेकी अवलाङ्ग प्रतिभा रोमा न्यौपानेले पनि प्रोत्साहनस्वरुप रु.५ हजार पाइन्। कार्यक्रममा विजेता समूह तथा उत्कृष्ट गायकगायिकालाई नेकपा एमालेका नेता वामदेव गौतमले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताको निर्णायकमा बमबहादुर कार्की, तेजबहादुर केसी, शुभराम भारी, ओम जिसी र शिवु गिरी रहेका थिए।