खेलकुद फूटबल
दर्शक 'क्रेज'
शहीद स्मारक लिगमा दर्शकहरूको उल्लेख्य उपस्थितिले
राजनीतिक प्रभाव र विवादका बाबजुद नेपाली फूटबल व्यावसायिकतातिर उन्मुख
रहेको संकेत गर्दछ।
• सुरेशराज न्यौपाने
 |
| किरण पाण्डे |
२४ फागुनमा काठमाडौँमा
सम्पन्न शहीद स्मारक सानमिगल ए'डिभिजन लिग (२०६३) को अन्तिम तथा निर्णायक
खेलको परिणामले महेन्द्र पुलिस क्लबलाई पहिलो पटक लिग विजेता बनायो।
लिगमा पुलिस क्लबको विजय मात्र नभई दशरथ रङ्गशालामा देखिएको करिब २०
हजार दर्शकको उपस्थिति नेपाली खेल क्षेत्रका लागि पनि ऐतिहासिक र उत्साहजनक
मान्न सकिन्छ। यसबाट खेल क्षेत्रमा बढ्दै गएको राजनीतिक प्रभाव र गुटबन्दीका
समाचारहरूबाट निराश बनेका खेलप्रेमीहरूमा अै पनि उत्कृष्ट खेल हेर्न
रङ्गशाला धाउने जोश र उत्साह यथावत् रहेको प्रस्ट हुन्छ। १५ कात्तिकमा
शुरु भएर तीन महिनाभित्रै सक्ने लक्ष्य राखिए पनि खेलकुद परिषद र सम्बन्धित
निकायहरूमा देखिएका विवादहरूका कारण प्रतियोगिता'अवधि लम्बिएर २४ फागुनसम्म
पुगेको थियो। लिगका अन्य खेलहरूमा दर्शकहरूको उपस्थिति २४ फागुनको
जस्तो नरहे पनि फूटबलप्रेमी र सञ्चारमाध्यमहरूमा राम्रो प्रभाव जमाएका
थ्रीस्टार र मनाङमर्स्याङ्दी क्लबका हरेक जसो स्पर्धामा दर्शकहरूको
राम्रै घुइँचो लागिरह्यो। २०६२ को थ्रीस्टार र मनाङमर्स्याङ्दीबीचको
निर्णायक खेलमा उपस्थित करिब १५ हजार दर्शकको हुटिङ धेरैको स्मरणमा
अै ताजा छ।
दर्शकहरूको गतिलो उपस्थितिले आयोजकहरूलाई हौसला दिनुका साथै विज्ञापनदाता
तथा प्रायोजकहरूलाई खेल क्षेत्रमा थप लगानीका लागि पनि प्रोत्साहित
गर्ने विश्वास एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठको छ। उनी भन्छन्,
“दर्शकहरूको वृद्धिसँगै प्रायोजकहरूमा पनि खेलप्रति आकर्षण बढ्न जान्छ।
जसको फाइदा अन्ततः क्लब र खेलाडीहरूलाई नै हुने हो।” रु.५१ लाखको आकर्षक
धनराशि, विभिन्न विधामा उत्कृष्ट ठहरिएका खेलाडीलाई यामाहा मोटरसाइकलका
साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले टोयटा यारिस कार पाउने हुँदा
लिगले खेलाडीहरूमा उत्साह त बढाएको छ नै, दर्शकहरूको उपस्थिति पनि
अघिल्ला वर्षहरूभन्दा क्रमशः बढ्दै गइरहेको दाबी श्रेष्ठको छ। यस्तै
उपस्थितिबाट उत्साहित बनेका प्रायोजकहरूले यो वर्ष ९ क्लबहरूका निम्ति
लगानी गरे, यस्तो प्रायोजन गत वर्ष ४ क्लबका निम्ति मात्र जुटेको थियो।
यसलाई समेत फूटबलमा भित्रिएको व्यावसायिकताको सङ्केत मान्न सकिन्छ।
यस वर्षदेखि आयोजक एन्फाले टिकट बिक्रीबाट उठेको रकम क्लबहरूलाई
नै दिने नीति लिएका कारण पनि आˆना समर्थकलाई रङ्गशाला भियाउन क्लबहरू
कम्मर कसेर लागेका थिए। पछि गएर क्लबहरूकै सहमतिमा टिकट बिक्रीको ठेक्का
टु इन वान सेक्टुरिटिजका हरिबोल पराजुलीलाई दिइएको थियो। सहमतिअनुरुप
सहभागी १४ क्लबले साढे दुई लाख रुपैयाँ पाइसकेको पराजुली बताउँछन्।
जसबाट क्लबहरूमाथि लिगले थप्ने आर्थिक भारलाई केही हदसम्म कम गर्न
मद्दत पुगेको थियो। पराजुलीको भनाइमा लिगको अन्तिम म्याचमा मात्र करिब
रु.७ लाख उठेको थियो। प्रतियोगिताभर टिकट बिक्रीबाट करिब रु.४५ लाख
उठेको दाबी पराजुलीको छ।
मोफसलः दर्शककै भर
 |
| सुदर्शन रञ्जित |
| १३ फागुनमा फूटबल हेरिरहेका पोखरेली दर्शक |
फूटबलमा दर्शकहरूको आकर्षण राजधानीमा मात्र नभई मोफसलका प्रतियोगिताहरूमा
पनि क्रमशः वृद्धि हुँदै गएको देखिन्छ। राजधानी बाहिर धरान र पोखरामा
हुने दुई ठूला खेल स्पर्द्धा बूढासुब्बा र आहा गोल्डकप टिकट बिक्रीकै
आम्दानीको भरमा बर्सेनि हुदै आएका छन्। ती आयोजनाको कुल बजेटको ६०'७०
प्रतिशत रकम दर्शकबाटै उठ्ने गरेको छ।
धरानमा हरेक वर्ष आयोजना गरिने बूढासुब्बा टुवोर्ग गोल्डकपले पनि
दर्शकहरूको सङ्ख्या बढाउँदै लगेको छ। आयोजक धरान फूटबल क्लबका अध्यक्ष
सुवास राई यस पटक कुल बजेटको ६० प्रतिशत दर्शक'टिकटबाटै उठाउने लक्ष्य
राखिएको बताउँछन्। भन्छन्, “१८ लाखको बजेटमा १० लाख रुपैयाँ दर्शकबाटै
उठाउने तयारीमा छौँ।” प्रतियोगितामा दर्शकहरूको बढ्दो उपस्थितिलाई
ध्यानमा राख्दै आयोजकहरूले यस वर्ष पनि बाँसका थप प्यारापिट निर्माण
गरेका छन्। नेपाल, भारत र भुटानका १२ टिमको सहभागितामा २९ फागुनदेखि
१० चैतसम्म चल्ने बूढासुब्बा गोल्डकपको नवौँ संस्करणलाई ८० हजार दर्शकले
प्रत्यक्ष हेर्ने क्लबका उपाध्यक्ष इन्दु रसाइलीको अनुमान छ। भन्छन्,
“गत वर्ष ६० हजारले हेरेका थिए यस पटक ण्डै डेढी पुग्नेे अपेक्षा छ।”
 |
| सोहन श्रेष्ठ |
| बूढासुब्बा टुबोर्ग गोल्डकपका लागि बाँसको
थप प्यारापिट निर्माण गरिंदै। |
उता पोखरामा पनि दर्शक क्रेज उस्तै छ। १३ फागुनमा पाँचौँ आहा गोल्डकपको
क्वाटरफाइनल खेल मम पानी परे पनि दर्शकले छाता ओढ्दै र रुझ्दै हेरे।
१९ फागुनको फाइनलमा दर्शक ह्वात्तै बढ्दा मैदान वरिपरि बनाइएको बारले
छेक्न सकेन। आयोजक सहारा क्लबका अध्यक्ष विक्रम थकाली भन्छन्, “यति
दर्शक त कहिल्यै देखिएका थिएनन्। त्यो दिन १६ हजार दर्शक आए छन्।”
गत वर्ष ४५ हजार दर्शक रहेकोमा यसपटक प्रतियोगिता अवधिभर ६० हजारले
खेल हेरेको थकालीले बताए। गतवर्ष भएको २६ लाख आम्दानीमध्ये टिकट बिक्रीबाट
१४ लाख रुपैयाँ उठेको थियो। यसपटक त्यो बढेर १९ लाख पुगेको छ। प्रतियोगिता
आयोजना गर्दा लाग्ने पूरै खर्चको करिब सत्तरी प्रतिशतसम्म दर्शकको
टिकटले धान्ने गरेको थकाली बताउँछन्। दर्शकको बढ्दो सहभागिताबाट उत्साहित
सहारा क्लबले करिब २९ लाखको लागतमा पोखरामै २६ रोपनी जग्गा किनेर आˆनै
खेल मैदान र फूटबल एकेडेमी बनाउने तयारी पनि शुरु गरिसकेको छ।
साथमा त्रिभुवन पौडेल, पोखरा र सोहन श्रेष्ठ, धरान
|