हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

सार्थक सङ्कल्प

शब्द/तस्बिरः कमल आरएल
विराटनगरस्थित डेरामा बहिनी र आमाका साथ सुनिता।

कामः जुद्ध म्याच ˆयाक्ट्रीबाट कच्चा पदार्थ ल्याएर घरमै सलाईको बट्टा बनाउने। उद्देश्यः बाबुबाट परित्यक्त आमालाई घरखर्च धान्न सघाउने। रुचिः बालश्रमिक क्लवमार्फत् चेतना×'विस्तार। विराटनगर'२१ की बालश्रमिक सुनिता तामाङ (१५) को यस्तै सक्रियता उनलाई अन्तर्राष्ट्रिय चिनारी दिलाउने माध्यम बन्यो। बालश्रमिकपक्षीय चेतनामूलक काममा लाग्दालाग्दै उनले अमेरिकाको न्युयोर्कमा हालै सम्पन्न महिलासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको एउटा छलफल सत्रमा श्रमिक बालबालिकाबारे मन्तव्य दिने मौका पाइन्। गरिबीका कारण आठ वर्षको उमेरसम्म कखरा चिन्न नपाएकी सुनिताले सो कार्यक्रममा नेपालका श्रमिक बालिकाहरूको अवस्थाको चिरफार गरेर धेरैलाई आश्चर्यमा पारिन्।

सुनितालाई न्युयोर्क पुर्‍याउने माध्यम बनेको थियो, गएको पुसमा राष्ट्रिय योजना आयोगद्वारा काठमाडौँमा आयोजित एउटा कार्यक्रम, जहाँ उनले विराटनगरका बालश्रमिक क्लवहरूको सञ्जालका तर्फबाट श्रमिक बालबालिकाका पक्षमा बलिया तर्क राखेकी थिइन्। नीतिनिर्माणमा श्रमिक बालबालिकालाई राहत हुने कुरा समावेश गर्नुपर्ने उनको दृष्टिकोणबाट प्रभावित भएर युनिसेफले अमेरिकामा हुने कार्यक्रमका निम्ति उनलाई पठाउने निर्णय गरेको थियो। अमेरिकामा सुनिताको प्रस्तुति (बक्समा त्यसको संक्षिप्त रुप) र त्यसको प्रभाव सुनेका युनिसेफकर्मीहरू अहिले आˆनो छनौटप्रति गौरवान्वित छन्।

श्रमिक बालबालिकाका मुद्दा प्रतिबिम्बित भएका धेरै नाटकमा सहभागी भइसकेकी सुनिताले विराटनगरका १५ वटा सरकारी विद्यालयमा माध्यमिक तहका विद्यार्थीलाई कक्षाकोठामै गएर एचआईभी/एड्ससम्बन्धी प्रशिक्षण दिइसकेकी छन्। रघुपति जुटमिलमा मजदुरी गरिरहेकी आमा कल्याणी नसाको समस्याले पहिलेैँ हिँडडुल गर्न नसक्ने भएपछि सुनिताले 'अब काम छोड्नु, म पाल्छु' भन्न थालेकी छन्। मानवअधिकार तथा वातावरण मञ्च (फरेन) को सहायक प्रशिक्षकका रूपमा धेरथोर कमाउन थालेपछि थप उत्साही बनेकी छन् सुनिता। बालश्रमिक खोजीखोजी अनौपचारिक शिक्षा दिलाउने अभियानमा जुटेकी कक्षा १० मा अध्ययनरत सुनिता भन्छिन्, “सबै श्रमिक बालबालिकालाई शिक्षित बनाउने लक्ष्य लिएकी छु।”

नेपालदेखि न्युयोर्कसम्म आएर श्रमिक बाल'बालिकाहरूको अनुभव सुनाउन पाएकोमा मलाई खुसी लागेको छ। नेपालमा केटाकेटी शिक्षामा धेरै पछि परेका छन्। आर्थिक समस्याले पनि उनीहरूले स्कुल जान पाएका छैनन्। म पनि शुरुमा स्कुल जान पाएकी थिइनँ। पछि युनिसेफको सहयोगमा सञ्चालित अनौपचारिक शिक्षामार्फत् मैले आˆनो पहिलो शिक्षा हासिल गरेँ। अहिले म बिहान स्कुल जान्छु र दिउँसो सलाई बनाउँछु।

म र मेरा साथीहरू मिलेर क्लव गठन गरेका छौँ। यसमार्फत् हामी विभिन्न कार्यक्रम गर्छौँ। सडक नाटक, हाजिरीजवाफ, सांस्कृतिक कार्यक्रम पनि गर्छौँ। एचआईभी/एड्ससम्बन्धी जनचेतना, छोरीहरूले शिक्षा पाउनुपर्छ भन्ने विषय राखेर हामी काम गर्छौँ। भर्खरैको एउटा घटना तपाईंहरूसामु प्रस्तुत गर्दैछु। एक डीएसपीको घरमा घरायसी कामका लागि राखिएकी एक बालिकामाथि यातनापूर्ण व्यवहार भइरहेको थाहा पाएपछि ती डीएसपीसँग कुराकानी गरेर हामीले ती बालिकालाई अनौपचारिक शिक्षामा भर्ना गर्न बाध्य पारेका थियौँ। यो घटना उदाहरण मात्र हो। यसभन्दा पनि ठूलो उपलब्धि हासिल गर्न सरकारले श्रमिक बालबालिकाका निम्ति उचित शिक्षाको व्यवस्था र हकहितका निम्ति नीतिनियम बनाउनुपर्छ। श्रमिक बालबालिकाका निम्ति सीपमूलक शिक्षा निःशुल्क दिइनुपर्छ। आˆनै अनुभवका आधारमा म भन्न चाहन्छु' हामी सबै मिलेर बालश्रम शोषणविरुद्ध आवाज उठायौँ भने पक्कै पनि भोलिको हाम्रो समाज हामी जस्ता श्रमिक बालबालिकाका निम्ति एउटा राम्रो ठाउँ हुनेछ। मौका पाए के नहुने रै'छ र? अलिकति टेवा चाहिन्छ। मलाई नै हेर्नोस्। म सलाई ˆयाक्ट्रीमा काम गर्छु र आज तपाईंका सामुन्ने आˆनो अनुभव बाँड्न सफल भएकी छु।