हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट विस्थापित

विश्वास छैन प्रचण्डको भनाइमा

माओवादी अध्यक्ष प्रचण्डले जति भनेपनि कब्जा गरेको जग्गा कमाएर खाइरहेकाहरूले सजिलै छाड्छन् भन्ने विश्वास बाँके र बर्दियाका विस्थापितलाई छैन। रामेश्वर बोहराको रिपोर्टः

अनिश कुरेशी (४८)
बर्दिया'महम्मदपुर

सबै तस्बिर रामेश्वर
अनिश कुरेशी र उनका तीन भाइ छोरा।

“६ जनाको परिवार र सात विघा जग्गा थियो हाम्रो। खानलाउन, घरखर्च चलाउन र छोराछोरी पढाउन पुगेको थियो। परिवार गाउँमा खेतीपाती गर्थे, म बाँकेको जयसपुरमा एमाले पार्टीको काम गर्थेँ। २०५७ सालमा माओवादीले घरजग्गा कब्जा गरे। एमालेको राजनीति गर्ने? घरजग्गा हाम्रो भयो, गाउँ छाडेर गइहाल् भन्दै परिवारलाई लखेटे। जयसपुरमा भाइको घरमा बास त मिल्यो, तर खानेलाउने र गुजारा गर्ने खर्च भएन। छोराहरू पढ्दै थिए, जागिर थिएन। आम्दानीको स्रोत भनेकै त्यही खेतीपाती थियो।

त्यसपछि यति दुःख पाइयो, भनेर साध्य छैन। गाउँमा हुनेखाने परिवारमै गनिन्थ्यौँ, यता बसेपछि छाक टार्नै गाह्रो भो। काम खोज्दै धेरै ठाउँ भौँतारिएँ, तर कतै केही पाइनँ। भन्सारले समातेका खुद्रा सामान लिलाममा किनेर बेच्दै दुईचार पैसा कमाउँथँे। त्यसले के गुजारा चल्थ्यो र, कति दिन त भोकभोकै बस्नुपर्‍यो। बी.कम. र आई.कम. पढिरहेका छोराहरूलाई पढाइ छुटाएर मजदुरी गर्न लगाएँ। जसोतसो जेठा छोराको बिहे गरेँ, बच्चाबच्ची जन्मिएका र खाने मुख बढेका छन्।

सातदल'माओवादी समदारीपछि कब्जा भएको घरजग्गा फिर्ता हुने खबर सुनेर गाउँ फर्किन पाइने आश लागेको थियो। माओवादी नेतालाई भेटेर धेरैपल्ट अनुरोध पनि गरेँ। तर मुखले हुन्छ भनेपनि घरजग्गा फिर्ता गर्नेमा चासो देखाएनन्। मन थाम्न नसकेर ६ वर्षपछि असारमा गाउँ गएँ' जग्गामा अर्कैले खेती लगाएको रहेछ। घरको ढोकामा ताल्चा फोरेर चुकुल मात्र लगाइएको थियो,खोलेर भित्र हेरेँ' भाँडाकुँडा र सरसामान केही थिएनन्, भुइँमा घाँस उम्रेको थियो। त्यही भएपनि फिर्ता देलान् भन्ने आश छ, तर माओवादी व्यवहार हेर्दा विश्वास चाहिँ छैन। गुहार्दा गुहार्दा थाकिसकेँ।” यो दुःखेसो सुनाएको एकसातापछि गएको असोजमा हृदयघातबाट अनिश कुरेशीको मृत्यु भयो। कात्तिकमा माओवादीले घरका ईंटा र काठ पनि भत्काएर लगे। अहिले उनको घर पूरै ध्वस्त छ।

भर्खरै कब्जा गरिएको घरजग्गा फिर्ता गर्ने माओवादी अध्यक्ष प्रचण्डको निर्देशन सुनेका अनिश कुरेशीका छोरा रहिस अहमद भन्छन्, “फिर्ता गरिदिए त हुन्थ्यो। तर, गर्लान्जस्तो लाग्दैन। नेताले देऊ भनेपनि कार्यकर्ताले मान्दैनन्। उनीहरूलाई अर्काको सम्पत्तिमा मोज गर्ने बानी लागिसक्यो।”


हिमबहादुर विष्ट (६२)
मनाऊ'बर्दिया

दुईपल्ट गाविस अध्यक्ष भइसकेकोले केही समस्या परे सबैले मेरै मुख ताक्थे। ६ विघा जग्गा थियो, जहानबच्चा पाल्न समस्या थिएन। छोराछोरी नेपालगञ्ज बसेर पढ्थे, हामी गाउँमै खेतीपाती गर्थ्यौँ। २२ वैशाख २०५८ राति साढे आठबजे खाना खान लागेको बेला ८'१० जनाले समातेर घिसार्दै छिमेकी विष्णुमान र सुवर्णमान श्रेष्ठको घर पुर्‍याए। उनीहरूलाई हातखुट्टा बाँधेर पिट्दै रहेछन्, मलाई पनि पिटेर 'अब घर नजा, कहीँ उजुरी गर्ने होइन' भन्दै घाइते अवस्थामा छाडिदिए। मलाई गाउँमा प्रहरीचौकी ल्याएको आरोप लगाइएको थियो।

रातारात गाउँ छाडेर हिँडेँ। नेपालगञ्जमा सानो घर मात्रै छ, नोकरी'व्यवसाय केही छैन। गुजारा चलाउन यही घर पनि ब्याङ्कमा धितो राखेर साढे पाँचलाख ऋण पुर्‍याइसकेँ। २०६४ असारसम्म ऋण नतिरे घरै लिलाम हुन्छ, त्यसपछि त ओतलाग्ने ठाउँ पनि हुने छैन। जग्गा फिर्ता भए त्यही बेचेर तिर्नेथिएँ।

अहिलेसम्म गाउँ जान सकेको छैन। घरगोठ भत्काएर माओवादीले काठजति लगिसके, बारीका सिसौ, सिमल र बाँस पनि काटिसके रे। सरकारले विस्थापितलाई घर फर्काउन आर्थिक सहयोग गर्ने भनेको सुन्छु। मलाई त सरकारले गाउँ जाने वातावरण मात्रै बनाइदिए पुग्थ्यो। माओवादी नेताहरूले जग्गा फिर्ता गर्ने वक्तव्य दिएपनि तत्कालै होला भन्ने विश्वास छैन।


नन्दलाल सिजापति (४५)
बैजापुर'बाँक

चारभाइको १४ जनाको परिवार ३ विघा १२ कट्ठा जग्ग्ााको उब्जनीबाट चलेको थियो, बच्चाबच्ची पढाएकै थियौँ। २०५५ मङ्सिरमा धान भियाउने बेला माओवादीले 'जग्गा हाम्रो भयो, २४ घण्टाभित्र गाउँ छाडेर गइहाल्' भने। त्यसपछि गाउँमा बस्न सकिएन।
नेपालगञ्जमा ओतलाग्ने सानो घर छ। १४ जनाको परिवार त्यसैमा अटाएका छौँ। आम्दानी केही छैन। दाजुभाइ मिलेर केही काम खोज्छौँ, मुस्किलले गुजारा चल्छ। आˆनो जग्गा हुँदाहुँदै किनेर खानुपर्दा मन रुन्छ। छोराछोरीलाई राम्रो स्कूलमा पढाउन मन लाग्छ। उनीहरूको बिजोग देखेर एक मित्रले एउटा छोरालाई निःशुल्क पढाइदिएका छन्। अर्को छोराको कापीकिताब किन्न पनि मुस्किल छ।
माओवादीले जमिन्दारका जग्गा कब्जा गर्छन् भन्ने सुनेको थिएँ, तर चारभाइमा भाग लाग्ने साढेतीन विघा जग्गा कब्जा गरेपछि थाहा भो, उनीहरूको …जमिन्दार' को परिभाषा। कब्जा गरेको जग्गा फिर्ता गर्ने भनेकै एक वर्ष बितिसक्यो, अब त फिर्ता गर्छन् जस्तो लाग्नै छाड्यो। प्रचण्डले जति भनेपनि कब्जा गरेको जग्गा कमाएर खाइरहेकाले सजिलै छाड्छन् जस्तो लागेको छैन।


सुशीला शर्मा (६५)
ढोढरी'बर्दिया

२०५६ सालको चुनावमा काङ्ग्रेसको उम्मेदवार भएको बेला श्रीमान् (ज्ञानराज शर्मा) बितेपछि गाउँमा माओवादीको दबदबा बढ्यो, म नेपालगञ्ज बस्न थालेँ। गाउँको घरजग्गा कब्जा नै गरेको भनेका छैनन्, तैपनि उनैको हालीमुहाली छ, उब्जनी पाउँदैनौँ।

बेलाबेलामा गाउँ जान्छु तर डरले बस्न सक्दिनँ। घरका भाँडाकुँडा र लत्ताकपडा मात्र होइन, झ्यालढोका पनि उक्काएर लगेका छन्। बारीमा एउटै रूख छैन। १२ फागुनमा जाँदा घरै भत्काएर लगेको देखेँ, नलैजाऊ भन्ने आँट आएन। कति दुःख गरेर जोडेको घरबारको यो हालत देख्दा मनै थाम्न सकिनँ। ढुक्कले बाँच्न पाइन्छ र घरजग्गा जोगिन्छ भने बरु म माओवादीकै सदस्य बन्थेँ।


कपिल ज्ञवाली
मोतिपुर'बर्दिया

अहिलेसम्म गाउँ नफर्किएका कपिल ज्ञवाली २६ फागुनमा हिमालको आग्रहमा त्यहाँ पुगेर घर अघिल्तिर माओवादीले हातेपम्प उखेलेर लगेको ठाउँ देखाउँदै छन्।

६ विघा जग्गाको उब्जनीले खानलाउन मज्जाले पुगेको थियो। ६ पुस २०५८ मा आएर माओवादीले घर घेरा हाले, मोटरसाइकल आँगनमै जलाइदिए र अन्नपात, लत्ताकपडा सबै लगे। जनसरकारले घरजग्गा कब्जा गरेको घोषणा गरी गाउँ छाडेर नगए राम्रो नहुने धम्की दियो। अटेर गरेर बस्न सक्ने अवस्था थिएन, घर छाड्यौँ। नेपालगञ्जमा बसेका छौँ। सानो जागिरले परिवार पाल्न मुस्किल छ। आमा दमको रोगी हुनुहुन्छ, औषधि'उपचार गर्ने पैसा छैन। आˆनो जग्गा हुँदाहुँदै यहाँ किनेर खानुपर्दा मन रोएको छ।

अब त घरजग्गा फिर्ता होला र गाउँ गएर बस्न पाइएला भन्ने आश थियो, तर त्यो दिन आएन। यही साउनमा गाउँमै बस्न भनेर गएका दाइ सुशीलको दुईसातापछि नै हत्या भयो। म दाजुको दाहसंस्कार गर्न मोतिपुरको बाँसगढीसम्म मात्रै पुगेँ घर पुग्न सकिनँ। धान भियाउने बेलामा केही देलान् कि भनेर परिवारलाई गाउँ पठाएको थिएँ, उल्टै धम्क्याएर पठाए छन्। अहिले त घरगोठ पनि सद्दे छैनन् रे। खानेपानीको हातेपम्प पनि छाडेन छन्।

घरजग्गा फिर्ता हुने आशले ठाउँठाउँमा निवेदन हालेँ, तर कसैले सुनेन। कहिलेकाहीँ लाग्छ, “बरु गोली हानेर मारिदिए यो बिजोग त भोग्नु पर्दैनथ्यो।” अहिले माओवादीले जग्गा फिर्ता गर्ने प्रचार भइरहेको छ। त्यो प्रचार मात्रै हो, तत्कालै जग्गा फिर्ता भइहाल्ला भन्ने विश्वास छैन।


विष्णु रिजाल (३४),
मनाऊ'बर्दिया

आमाबुबा र परिवार गाउँमा थिए, म नेपालगञ्जमा सानोतिनो व्यापार गर्थेँ। जसोतसो गुजारा चलेको थियो। २०५७ सालको कुरा हो, एकदिन मध्यरातमा माओवादीले घर घेरेर २० हजार चन्दा मागे। म घरमा थिइनँ, ज्यान जोगाउन बुबाले घरखर्च चलाउन राखेको सात हजार दिएर भोलिपल्टै आमालाई समेत लिई गाउँ छाड्नुपर्‍यो। आमाको मानसिक सन्तुलन ठीक हुन दुई वर्ष लाग्यो।

चार वर्षपछि एकपटक घरजग्गाको हालत बुझ्न गाउँ गएको थिएँ, ११ माघ २०६१ का दिन िसमिसे अँध्यारोमा चार'पाँच जना मान्छेले आँखामा कालोपट्टी बाँधेर घरभित्र लगी कञ्चटमा पेस्तोल तेर्स्याए। र, घर बाहिर निकालेर …तिम्रा पुर्खाले गरिबमाथि शोषण गरेकाले कारबाही गरेका हौँ। पार्टीको निर्णय हो, आजदेखि सर्वस्वहरणसहित गाउँ निकाला गरेका छौँ' भनेर सुनाए। मध्यरातमा कहाँ जाने भोलिसम्म बस्न देऊ भन्दा पनि सुनेनन्। घर बस्दा लगाउने एकसरो लुगा र चप्पलका भरमा रातारात गाउँ छाडेर भाग्यौँ।

गएको वर्ष …सेती'महाकाली जनसरकार' ले कब्जा गरेको सम्पत्तिको लगत लिन थालेको थाहा पाएर कैलालीको पथलैया पुगी विवरण टिपाएर गाउँ गएँ। त्यहाँ घरको नामोनिशान थिएन, घर भएको ठाउँमा घाँस उम्रेको थियो। हामीलाई लखेटेपछि माओवादीले घर भत्काइदिएछन्। आफूले हाडछाला खियाएर जोडेको घरको हालत देख्दा आँसु थामिएन। जग्ग्ाा कसले कमाइरहेको छ भनेर सोध्नेसम्म आँट नगरी फर्किएँ। भर्खरै माओवादी अध्यक्ष प्रचण्डले कब्जा गरिएको जग्गा फिर्ता गर्ने भनेको सुनेको छु। तर तत्कालै गर्लान् भन्ने विश्वास लाग्दैन।

 

 

घरजग्गा फिर्ता गर्नेबारे हिमाल ले माओवादीका बर्दिया जिल्ला सेक्रेटरी संजीवलाई सोद्धा उनले भने, “कब्जा भएको सम्पत्ति फिर्ता गर्ने पार्टीको केन्द्रीय नीति छ। सबै ठाउँमा निर्देशन पुगिसकेको छ। अब सबैले आˆनो सम्पत्ति प्रयोग गर्न सक्छन्। कहीँ अवरोध भए पार्टीलाई खबर गरे हुन्छ।” तर, विस्थापितका कथाव्यथाले माओवादी नेताका भनाइ र तिनका स्थानीय कार्यकर्ताको व्यवहार फरक छ भन्ने बुझ्न गाह्रो हुन्न।