रिपोर्ट
| प्रहरी
“राजमार्गमा दश दिनभित्रै प्रहरी
बस्छ”
ओमविक्रम राणा
कामु प्रहरी महानिरीक्षक
 |
| किरण पाण्डे |
प्रहरी चौकी पुनःस्थापनालाई
कुन प्राथमिकतामा राख्नुभएको छ?
पहिलो प्राथमिकता नै प्रहरी इकाईहरूको पुनःस्थापना हो। यसका लागि स्थानीय
तहमा सहमति बनाउँदै जान मातहतमा भनिसकिएको छ। माओवादीसँग वार्ता भएयता
५३ वटा प्रहरी इकाई पुनःस्थापित भइसकेको छ।
तर माओवादीहरूले पुनःस्थापना
गर्न दिइरहेका छैनन्, हो?
अहिले कसैलाई चिढ्याउने भन्दा पनि सहमतिमा जाने नीति हाम्रो छ। माओवादीसहित
सबैको चाहना त जनताले दुःख नपाउन् भन्ने नै हो। प्रहरी इकाई पुनःस्थापना
हुँदा कसैलाई नोक्सानी गर्दैन। राजमार्गका प्रहरी चौकी पुनःस्थापना
हाम्रो पहिलो प्राथमिकता हो।
तर राजमार्ग त अझै प्रहरीविहीन
नै छ नि!
राजमार्गमा दश दिन भित्रै पुनःस्थापना गर्नु भनेर सर्कुलर गरिएको छ,
परिणाम आउन बाँकी छ। मातहतका निकायलाई के–कति रकमको आवश्यकता पर्छ,
माग गर्नु भनिएको छ।
शान्ति वार्तामा पुनःस्थापनाको
कुराले प्राथमिकता पाएको छ?
वार्तामा यो कुरा आएको हुनुपर्छ। हामीले त राय माग्दा मात्र दिने हो।
पुनःस्थापना गर्न स्रोतसाधनको आवश्यकता पर्छ। माओवादीको कारणले मात्र
ढिलो भएको भन्न मिल्दैन।
खस्केको प्रहरी मनोबल
उकास्ने कुनै योजना ल्याउनुभएको छ?
हिजो हतियारको अभावमा हामीले ठूलो क्षति व्यहोरेका हौँ भन्ने खुलिसकेको
छ। त्यसले केही हदसम्म मनोबल खस्काएको हो, अरू कारणले होइन। अहिले
माओवादीले हिजोको जस्तो व्यवहार गरेको छैन र गर्नु पनि हुँदैन। प्रहरीले
पनि आफ्नो हिसाबले काम गरिरहेको छ।
निलम्बित प्रहरी अधिकारीहरू
नै शान्तिसुरक्षा बिगार्न प्रयासरत रहेको भन्ने ठीक हो?
पत्रपत्रिकाले लेखेको कुरा मैले पढेको भनेको हुँ। पत्रिकाका सूचनालाई
पनि 'इण्टेलिजेन्स'का रूपमा लिनसक्ने भएकाले त्यसको सत्यता जाँच्ने
काम भइरहेको छ। तर, एउटा कुरा सत्य के हो भने परिवर्तनलाई नरुचाएकाहरूले
स्थिति चर्काउने काम गरिरहेको भेटिएको छ। स–साना घटनाहरूलाई जसरी चर्काइएको
छ, त्यसबाटै प्रमाणित भएको छ, घुसपैठ।
जनयुद्धका क्रममा व्यहोरेको
क्षतिका कारण प्रहरी संयन्त्रभित्रको असन्तोष भोलिका दिनमा तपाईका
लागि चुनौती बन्दैन?
द्वन्द्वका क्रममा मृत्यु भएका तथा घाइतेहरूलाई आर्थिक सहयोग, उपचार,
तिनका सन्तानको पठनपाठनलगायतका व्यवस्था गरी असन्तोष कम गर्ने काम
हुँदै आएको छ। प्रहरी सङ्गठनले व्यहोरेको क्षति दुःखदायी नै हो। तर
बदलाको भावनामा जानुहुँदैन। आतङ्ककारी भनिञ्जेल एक तरिकाले लिने हो
भने विद्रोही भनेर स्वीकारेर सरकारले वार्ता गर्ने र विद्रोही पनि
मूलधारमा आउने भनिसकेपछि कसैले पनि बदलाको भावना राख्न मिल्दैन। असन्तोषलाई
घटाउँदै लैजानुपर्छ, हिजोको कुरालाई बिर्सनुपर्छ। नत्र मुलुक नै अघि
बढ्न सक्दैन। बदलाको भावना आउनै दिनुहुँदैन, हामी उच्च अधिकारीहरूले
हेर्ने नै त्यही हो। |