रमझम
संगीतमा रम्दै प्राश्ना
पपगायक निर्णय श्रेष्ठको हाम्रो गाउँले जीवन, अविनाश
घिसिङको ल्हासाको चिसोले जस्ता गीतबाट युवाहरूमाझ छाएकी गायिका प्राश्ना
शाक्य लोक, आधुनिक र चलचित्रका गीत गायनमा पनि सक्रिय छिन्।
मन छाडे मैच्याङलाई, वनकाली माई, ए दिदी पोई पर्यो
काले जस्ता रिमिक्स गीतमा समेत स्वर दिएकी प्राश्नालाई सबै प्रकारका
गीत गाउन मनपर्छ। उनले कर्तव्य, सन्तान, मेरी आमा लगायतका ८ चलचित्रका
गीतमा स्वर दिएकी छन्। कर्तव्य का लागि आनन्द कार्कीसँग गाएको वादल
वर्षा विजुली बोलको गीत चर्चित छ।
अध्ययन र गायनलाई निरन्तरता दिने चाहनाका साथ २०५६ सालमा
धरानबाट काठमाडौँ आएकी प्राश्ना २०५८ पछि लगातार राजधानीमै रहेर गायन
यात्रालाई डोर्याइरहेकी छन्। धरानमा २०५२ सालमा ९ कक्षा पढ्दै स्टेज
कार्यक्रममा गीत गाउन थालेकी प्राश्नाले २०५४ सालमा हाई हेल्लो नामक
एकल अल्बम नै निकालेकी थिइन्। पप, लोक, आधुनिक र चलचित्र गरी दुई सय
जति गीतहरूमा स्वर दिइसकेकी प्राश्नालाई यो क्षेत्र फापिरहेको छ। गाउनकै
लागि बेलायत, हङकङसम्म पुगिसकेकी उनलाई राजधानी भित्र र बाहिरका विभिन्न
कन्सर्टहरूमा गाउने अफर निरन्तर आइरहेको छ। भन्छिन्, “पहिले घरबाटै
खर्च ल्याउनुपर्थ्यो, दुई वर्षयता यस क्षेत्रकै कमाइले काठमाडौँमा
बस्न, खान पुगेको छ।” दुई वर्षअघि आफ्नो एकल अल्बम आभास निकालेकी प्राश्ना
अहिले नयाँ अल्बमको तयारीमा छिन्।
स्नातक तहमा अध्ययनरत प्राश्नाको चाहना गायन क्षेत्रमै
निरन्तर लागिरहने छ। गायन क्षेत्रमा नलागेको भए उनको अहिले बिहे नै
भइसक्थ्यो रे! भन्छिन्, “अझै यस क्षेत्रमा केही गरेर मात्र बिहे गर्ने
सोच छ।” लभपछिको एरेञ्ज विवाह मनपर्ने बताउने प्राश्ना थप्छिन्, “आफूले
जीवन बिताउने मान्छेलाई पहिल्यै बुझ्न र एकअर्काको विश्वास जित्न सकियो
भने पछि सहज हुन्छ।”
अनुशील
मोडल: प्राश्ना शाक्य
तस्बिरः अनुप प्रकाश
शृङ्गारः चाहना ब्युटिपार्लर, बागबजार
•
अनुशील
रिपोर्ट
पीडादायी प्रेम जीवन
माओवादी छापामारहरुको प्रेमजीवन ‘रोमान्टिक’
हुदाहुदै पनि युद्धमा प्रेमी–प्रेमिका मारिएपछि बाच्नेको पीडा भने
एकदमै दर्दनाक हुने गर्छ।
 |
| रामेश्वर |
| प्रेमवियोगको पीडामा बाँचिरहेकी जीत स्मृति
ब्रिगेडकी कविता। |
हातमा सर्ट मेशिन
गन (एसएमजी) बोकेकी कवितासँग युद्धमा 'दुश्मन'लाई सजिलै पराजित गर्ने
आँट र जोश छ। तर, मनमा भने कहिल्यै पनि नपुरिने घाउ। बेलाबेलामा त्यही
घाउ चस्किन्छ र मनै विरक्तिएर आउँछ। जीत स्मृति ब्रिगेड की छापामार
कविताको यो घाउ उनकै प्रेमीको याद हो। लडाइँको एउटै मोर्चामा लड्दालड्दै
प्रेमी गुमाउँदाको पीडा उनी कहिल्यै भुल्न सक्दिनन्।
आफ्नै ब्रिगेडका बटालियन सहायक कमाण्डर प्रदीपसँग प्रेम
बसेपछि पार्टीको स्वीकृतिमा उनको 'जनवादी' विवाह भएको थियो। बिहेको
केही महिनामै २९ पुस २०६२ मा स्याङ्जाको मनकामनामा भिडन्त हुँदा प्रदीपको
ज्यान गयो। “सात घण्टापछि क्याम्पमा फर्किंदा थाहा पाएँ।” कविता सम्झन्छिन्
“रुँदैरुँदै त्यही झोला र बन्दूक बोकेर आएँ अनि शोकलाई शक्तिमा बदल्नतिर
लागेँ।”
जन्मेपछि मृत्यु जायज हो भन्ने उनलाई थाहा छ, त्यसमाथि
युद्धमा होमिएको जीवन, त्यही सम्झेर कविता मन बुझाउँछिन्। अर्को बिहे
गर भन्ने सल्लाह साथीहरूले नदिएका होइनन्, तर आफ्नै मनले त्यो अनुमति
दिएको छैन। १९ वर्षको कलिलो उमेरमै 'विधवा' बनेकी कविता भन्छिन्, “भविष्यमा
के हुन्छ, तर अहिले दोस्रो बिहे गर्ने मन छैन।”
बटालियन सहायक कमाण्डर समीर अहिले आफू एक्लो भएको महसूस
गर्छन्। उनको आफ्नै टोलीकी आधारसँग प्रेम बस्यो र विवाह भयो। तर यो
सम्बन्ध धेरै दिन टिकेन। आधार भूमिगत राजनीति र उनलाई समेत छाडेर गइन््
त्यसपछि सेक्सन कमाण्डर सवितासँग प्रेम बस्यो र दोस्रो विवाह भयो।
तर, उनको दोस्रो वैवाहिक जीवन पनि लामो चलेन, स्याङ्जाको मनकामना भिडन्तमा
सविता मारिइन्। दुइटै प्रेम विछोडमा बदलिएपछि उनको जीवनमा दर्दनाक
पीडा मात्र थपिएको छ। भन्छन्, “अर्को बिहे गर्ने सोचाइ पनि आउँदैन।”
माओवादीमा ४० प्रतिशत महिला सैन्य छन्। लडाइँको मोर्चामा
महिला पुरुष सँगसँगै हिँड्छन्। लिङ्ग विभेद नहुने भएकाले सँगै बस्ने,
हिँड्ने क्रममा मायाप्रीति बस्न पुग्छ। माया दोहोरो भयो भने पार्टीमा
कुरा राखिन्छ र पार्टीले अनुमति दिए जनवादी विवाह भइहाल्छ। तर, प्रेमविवाहको
यो खुसी लामो समय नरहन सक्छ। किनकि बन्दूकको नाल र खुकुरीको धारमा
चलेको जिन्दगीको केही टुङ्गो हुँदैन, लडाइँको मोर्चामा हिँड्दा एक
मारिएपछि बाँच्नेको लागि यो पीडा कहिल्यै नमेटिने घाउ भएर रहन्छ।
 |
| किरण पाण्डे |
| जनवादी प्रेमविवाह गर्दै कम्पनी सहायक कमाण्डर
'वायु' र प्लाटुन कमाण्डर 'रीता'। |
पीडा बिर्सन कतिले दोस्रो, तेस्रो विवाह पनि गर्छन्।
माओवादीले सैन्य, राजनीतिक दुवै क्षेत्रमा 'आपसी सहमति'मा बिहे गर्ने
छूट दिइएको छ। धेरैले त्यस्तो गरेका पनि छन्। तर, भनिन्छ–पहिलो माया
कहिल्यै पनि भुल्न सकिँंदैन, त्यसैले दोस्रो, तेस्रो बिहे गरेपनि पहिलो
मायासँगको विछोडको पीडाले उनीहरूलाई सधैँ पछ्याइरहन्छ। ब्रिगेड कमाण्डर
रमेशलाई त्यस्तै भएको छ। कलाकार फाँटकी रमासँग उनको प्रेम बस्यो, पार्टीमा
कुरा पुग्यो र बिहे भयो। “पहिला उनैले प्रस्ताव गरेकी थिइन्” रमेश
सम्झन्छन्। तर, सम्बन्ध धेरै दिन रहेन। २९ जेठ २०५९ मा सुर्खेतको कल्याण
गाविसमा सेनाले पक्राउ गरी रमाको हत्या गर्यो। सँगै जिल्ला पार्टी
सदस्य सीमाको पनि हत्या भयो। सीमासँग जीत ब्रिगेड कमिसार सुदीपको प्रेमविवाह
भएको थियो। संयोग पनि कस्तो, रमेश र सुदीपको बिहे पनि सँगै र दुवैका
अर्धाङ्गिनीको हत्या पनि सँगै भयो।
प्रेमिकाको हत्याले विरक्तिएका रमेशले अहिले ब्रिगेड
सहायक कमाण्डर कल्पनासँग दोस्रो प्रेमविवाह गरेका छन्, दुवै अहिले
छैटौँ डिभिजनमा कार्यरत छन्। सुदीपले पनि महिला राजनीतिमा सक्रिय आशासँग
दोस्रो बिहे गरेका छन् तर, पहिलो मायाको यादले अहिले पनि सताइरहन्छ।
भन्छन् “तर पनि मृत्यु जायज छ भन्दै चित्त बुझाउनुपर्छ।” सहायक कमाण्डर
अनुपमाका प्रेमी कम्पनी कमाण्डर रेशमको १७ फागुन २०६१ मा बर्दिया गणेशपुरमा
भएको भिडन्तमा मृत्यु भयो। अहिले उनले माओवादी रेडियोमा कार्यरत प्रभातसँग
दोस्रो बिहे गरेकी छिन्। भन्छिन्, “जिन्दगीलाई सान्त्वना दिने अलग
कुरा हो, तर वियोगको पीडा भुल्न साह्रै गाह्रो हुँदोरहेछ।”
अहिले त युद्धविराम छ, सबै ढुक्कसँग बस्न पाएका छन्।
तर युद्धका वेलामा कतिवेला मरिने हो केही ठेगान हुँदैनथ्यो। त्यसैले
उनीहरू मन पराएकासँग प्रेमविवाह गरिहाल्छन्, भलै त्यो सम्बन्ध छिटै
वियोगमा किन नबदलियोस्। माओवादीले जहाँ आक्रमण गर्छन् वा जहाँजहाँ
भिडन्त हुन्छ, त्यहाँ उनीहरूले 'युद्धको सफलता' त पाउलान् तर त्यहींभित्रका
लडाकुको भने प्रेमवियोग पनि हुन्छ। एउटा लडाइँमा धेरैको व्यक्तिगत
जीवन भताभुङ्ग हुने गर्छ। किनकि माओवादी सेनामा धेरै लडाकु विवाहित
छन्। ब्रिगेड सहायक कमाण्डर कल्पना भन्छिन्, “लडाइँमा प्रेमी मारिएपछि
विवाहित जोडीको वियोग हुन्छ।” कल्पनाको आफ्नै जीवन पनि विरक्तलाग्दो
छ। बटालियन कमाण्डर हुँदा ब्रिगेड सहायक कमाण्डर योद्धासँग उनको प्रेमविवाह
भयो। बेनीमा ७ चैत २०६० मा भएको आक्रमणमा योद्धा मारिए। त्यसपछि विरक्तिएर
एक्लो जीवन बिताएकी कल्पनाले अहिले ब्रिगेड कमाण्डर रमेशसँग दोस्रो
बिहे गरेकी छिन्।
यौनका बारेमा माओवादी पार्टी खुलस्त छैन, तर प्रेम भने
वर्जित छैन। माया बस्यो भने विवाहमा कतैबाट बन्देज हुँदैन। सीधै पार्टीमा
कुरा पुग्छ र स्वीकृति पाएपछि बिहे हुन्छ। अनिश्चित जिन्दगीमा भोलि
के होला भनेर पनि माओवादीमा प्रेमविवाह बढिरहेको भेटिन्छ। एकजना कम्पनी
कमाण्डर भन्छन्, “कहिले मरिने हो केही थाहा हुँदैन, त्यही भएर मन परेकोसँग
मायप्रीति बसेपछि बिहे भइहाल्छ।”
विवाहमा कुनै तडकभडक हुँदैन। कमाण्डरको उपस्थितिमा केटाले
केटीलाई र केटीले केटालाई माला, टीका पहिर्याइदिन्छन्, अनि जनवादी
बिहे सम्पन्न हुन्छ। उनीहरू रातो टीकालाई शहीदको रगत मानेर पहिरिन्छन्।
ब्रिगेड कमाण्डर रमेश भन्छन् “रुढीवादी संस्कार चिर्नलाई हामी खर्च
र तडकभडक विना जनवादी विवाह गर्छौँ।” तर, यसरी गरिएको जनवादी बिहे
कुन दिन टुङ्गिने हो ठेगान हुँदैन। सँगैहुन्जेल त जीवन रमाइलो हुन्छ,
तर पलपल मृत्युसँग हिँडिरहेका उनीहरूलाई सँगै हिँडिरहने मौका शायदै
मिल्छ। लडाइँमा प्रेमी वा प्रेमिका मारिन्छन्, त्यसपछि बाँच्नेले पनि
मृत्यु सरहको पीडा खेप्नुपर्छ।
सङ्गीत
बाबुकै पदचाप पछ्याउदै
कत्ति राम्रो अलिअलि ढल्किएको माया...
वचन तोडे, कसम नि तोडे...
फेरि तिम्रो याद आयो....
 |
| कृष्ण शाह यात्री |
| बाबु भगत सिंहका साथ राजु सिंह। |
अर्चना बाँस्तोला, रामकृष्ण ढकाल र आनन्द कार्कीको यी
गीतका सङ्गीत सर्जक राजु सिंहले आधुनिक र पप दुवै क्षेत्रमा राम्रै
उपस्थिति जनाएका छन्। जगदीश समालको 'काँडा हो माया', को 'वचन तोडे',
रिमा गुरुङ्गको 'नजरको दोषी', नवीन के.भट्टराईको 'मेरो साथ बिताएका',
सुदिप रिजालको 'कहाँ तिम्रो मायालु', जोनको 'रित्तो सडकमा' लगायत उनका
दर्जनौँ लोकप्रिय गीत अहिले पनि चर्चामा छन्।
राजु सिंहले दिएका सङ्गीतहरू टिनएजदेखि पाको श्रोतासम्मले
मन पराउँछन्। त्यसैले उनी नयाँ तथा पुराना गायक/गायिकाहरूको रोजाइका
सङ्गीतकार बनेका छन्। उनको सङ्गीतमा दीप श्रेष्ठ, गुलाम अलि, प्रेमध्वज
प्रधान, प्रकाश श्रेष्ठ, दीपक खरेल जस्ता दिग्गज गायक/ गायिकाहरूले
स्वर दिइसकेका छन्।
राजु रेडियो नेपालका स्थापनाकालका चर्चित बाँसुरीवादक
भगत सिंहका छोरा हुन्। नातीकाजी, अम्बर गुरुङ, गोपालयोञ्जन जस्ता सङ्गीतकर्मीहरूका
अधिकांश गीतहरूमा वाद्यवादन गरेका उही भगतसिंहका पुत्र राजु अहिले
बाबुको पदचाप पछ्याउँदै उम्दा सङ्गीतकारका रूपमा गनिन थालिसकेका छन्।
२०२६ सालमा पुतलीसडकमा जन्मिएका राजु बाबु भगत सिंहले
बाँसुरीमा दौडाएका औँलाहरू हेर्दाहेर्दै पत्तै नपाई सङ्गीतमा रम्न
थालेका थिए। उनी सङ्गीतमा लाग्न चाहन्थे तर भगतसिंह भने त्यो बेला
सङ्गीतमा लागेर बाँच्न सक्ने आधार नभएको भन्दै राजुले अरू नै विधामा
करिअर बनाओस् भन्ने चाहन्थे। भन्छन्, “मैले आफ्नै ढिपीले सङ्गीतको
पढाइ र करिअरलाई अगाडि बढाउँदै लगेँ।” उनले शुरुमा वाद्यवादक र केही
समय एरेन्जरको रूपमा पनि काम गरे।
पहिलो चोटि रत्ना बरालको 'कतै देखेजस्तो लाग्यो' भन्ने
बोलको गीतमा सङ्गीत दिएका राजुसिंहले हालै कुन्ती मोक्तानको 'पहाडको
जीवन' गीतसम्म आइपुग्दा लगभग साढे चार सय गीतमा सङ्गीत दिइसकेका छन्।
उनको एकल सङ्गीतमा 'झुमीझुमी', 'आरम्भ','फेरि तिम्रो याद आयो' लगायतका
बीस अल्बम निस्किसकेका छन्। २०४८ सालतिर 'प्रतिबिम्ब व्याण्ड'सँग पनि
आबद्ध रहेका राजु त्यसअघि पाँचतारे होटलमा ज्याज म्युजिशियनका रूपमा
काम गर्थे। आधा दर्जन चलचित्रमा सङ्गीत दिएका राजु सिंहका अर्चना बाँस्तोला,
रिमा गुरुङ्गका गीतले हिट्स एफएम अवार्ड र रामकृष्ण ढकालको गीतले इमेज
अवार्ड पाएका छन्। अहिले उनी विभिन्न कलेज र स्कूलहरूमा सङ्गीत सिकाउने
गर्छन्। भन्छन्, “सङ्गीत बनाउनुभन्दा सिकाउनुको आनन्द बेग्लै छ।”
इलाहावादबाट सङ्गीतमा विसारद र टि्रनिटी कलेज लण्डनबाट
भायोलिनमा एट लेभलको अध्ययन पूरा गरेका राजु विशेष गरी अम्बर गुरुङ्गको
एरेन्जमेन्ट, नातीकाजीको जस्तो सरलता र गोपाल योञ्जनको जस्तो मौलिकता
रुचाउँछन्। गीत राम्रो हुनुमा शब्दले पनि ठूलो अर्थ राख्ने उनको ठम्याई
छ। आफूलाई शब्दमा चित्त नबुझेसम्म सङ्गीत नभर्ने बताउँदै भन्छन्, “गीतमा
सङ्गीत अलङ्कार हो भने शब्द आयु हो। राम्रो शब्दले गीतलाई अजम्बरी
बनाउन सहयोग गर्छ।”
•
कृष्ण शाह यात्री
सिर्जना
स्पर्श
(शर्मिला वर्देवाका गीतहरू)
शब्दः मुकुन्दराज शर्मा, रमण घिमिरे, एसपी कोइराला,
श्रीपुरुष ढकाल, दिनेश अधिकारी, नवराज लम्साल, श्रवण मुकारुङ।
सङ्गीतः आलोक श्री, शक्ति वल्लभ, सचिन सिंह, शम्भुजीत,
राजु सिंह।
उत्पादनः सुरताल म्युजिक
उडायो सपना
(वेस्ट अफ मुरलीधर)
स्वर तथा सङ्गीतः मुरलीधर
शब्दः मुरलीधर, नारायण आचार्य, राजेन्द्र सारा, काजी
सिंह, मदन घिमिरे, अगमसिंह गिरी, देव बज्राचार्य।
प्रस्तुतिः म्युजिक नेपाल
भन्दे ए चरी
(नेपाली मनका गीतहरू)
स्वर : रामकृष्ण, जगदिश, रुपकुमार, एञ्जल, नीरज,
दिनेश, भानुभक्त, नविन।
शब्दः दिनेश गौतम, प्राथमिक न्यौपाने, कालीप्रसाद
बाँस्कोटा
सङ्गीतः दिनेश गौतम, भानुभक्त ढकाल, कालीप्रसाद
उत्पादकः म्युजिक नेपाल
ढुङ्गा फोड्दै, मूर्ति बनाउदै
•
यात्री
पाँच वर्ष अघि दिल्ली युनिभर्सिटीमा पढ्दा मूर्तिकार ओम खत्रीले जापान
र भारतका कलाकार सम्मिलित बृहत् मूर्तिकला कार्यशालामा सहभागी हुन
पाएका थिए। उनलाई नेपालमा पनि कुनै दिन यस्तै कार्यशालाको आयोजना गर्नुपर्छ
भन्ने लागेको थियो। उनले केही जापानी मूर्तिकारहरूसँग यो विषयमा कुरा
समेत राखेका थिए।
लगत्तै अध्ययन सकेर ओम नेपाल फर्किए। यहाँ रहँदा ललितकला क्याम्पसमा
अध्यापनदेखि देश/विदेशमा मूर्ति बनाउने काममा व्यस्तता बढेपछि उनको
योजना पछि सर्यो। गत वर्ष उनले नेपालका केही मूर्तिकारहरूसँग सामूहिक
रूपमा 'स्टोन आर्ट'को कार्यशाला राख्ने कुरा गरे। उनको योजनालाई कतिले
ज्यादै राम्रो भने त कतिले असम्भव भनेर कुरा पनि काटे। तर ओमको संयोजकत्वमा
गत वर्ष नेपाली मूर्तिकलाको इतिहासमा नै पहिलो चोटि आधुनिक मूर्तिकलातर्फ
२४ मूर्तिकारले ढुङ्गाबाट र ३० मूर्तिकारले काठबाट कलात्मक मूर्तिको
सिर्जना गरेपछि धेरैले उनको प्रयासलाई दिलैदेखि तारिफ गरे।
यसबाट हौसिएका ओमले हालै मात्र जापान र नेपालका २१ कलाकारलाई एकै
थलोमा राखेर सयदेखि तीनसय टनसम्मको मार्बलमा आधुनिक मूर्तिकलाको कार्यशाला
सम्पन्न गरेका छन्। नेपाल–जापान दौत्यसम्बन्धको ५० औं वार्षिकोत्सवका
अवसरमा नेपाल र जापानका ख्यातिप्राप्त मूर्तिकारहरूको सहभागितामा भएको
यो बृहत् कार्यलाई हार्मोनी मूर्तिकला कार्यशाला २००६ नाम दिइएको थियो।
नेपालका तर्फबाट संयोजक खत्रीले जापानको तर्फबाट संयोजक रहेका कलाकार
जुनीचिरो सुगीमोतोलाई भारतमा पढ्दा भेटेका थिए। भन्छन्, “त्यो बेला
नै मैले उहाँलाई नेपालमा पनि यस्तो मूर्तिकलाको कार्यशाला राख्नुपर्ने
प्रस्ताव राखेको थिएँ। धेरै लामो प्रयासपछि यो ऐतिहासिक काम सफल भएको
छ।”
नेपालमा मार्बलको प्रयोग चैत्य निर्माण र परम्परागत मूर्तिहरू बनाउन
प्रयोग भएको देखिन्छ। आधुनिक मूर्तिकलामा मार्बलमा यसरी काम पहिलोचोटि
भएको सहभागीमध्येका ८२ वर्षीय मूर्तिकार प्रा. गोविन्दनारायण ज्यापू
बताउँछन्। मेटल, सिमेन्ट, ढुङ्गा, काठ आदिमा मूर्ति कुँदेका ज्यापूको
अनुभव छ “हामी अझै पनि बढीजसो छिना र मुङ्ग्रोले काम गर्छौँ भने जापानिजहरू
आधुनिक मेसिनरी ज्यावलहरूको प्रयोग गर्छन्। यसको अनुभव पनि नौलो रह्यो।”
गोविन्दनारायणले यो पटक आफ्नो मूर्तिकलामा नेपालको माउन्ट एभरेष्ट
र जापानको माउन्ट फुजीलाई एउटै ढुङ्गामा कुँदेका थिए। उनीजस्तै कार्यशालामा
भाग लिएका जुनीचिरो सुगीमोतो, युचिहिरो टाकिओची, टोचीहिरो हाचेगावा,
नामी हिसिदालगायतका ७ जापानी मूर्तिकारहरू तथा शारदामान श्रेष्ठ, नरेन्द्रबहादुर
श्रेष्ठ, रामकृष्ण भण्डारी, पूर्णकाजी शाक्य, लय मैनालीलगायतका १४
जना नेपाली कलाकारहरूमध्ये अधिकांश मूर्तिकलाका स्थापित र चर्चित नामहरू
हुन्। सहभागी एक कलाकार भन्छन्, “फरक पृष्ठभूमि र शैलीमा काम गर्नेहरूलाई
प्रत्यक्ष र एकै थलोमा काम गर्न पाउँदा अनुभव आदान–प्रदान हुँदोरहेछ।”
साउनको दोस्रो सातादेखि २१ दिन लगाएर नाफा परिसरमा ४४ थान मूर्तिहरू
सिर्जना भएका छन्। यी सबै मार्बलहरू गोदाबरी मार्बलले निःशुल्क उपलब्ध
गराएको हो। आयोजक संस्था 'आरम्भ'का अनुसार यी कुनै पनि मूर्तिहरू बिक्री
गरिने छैनन्। नेपालका विभिन्न इच्छुक सार्वजनिक संस्थाहरूलाई दिइनेछ।
यसरी दिइएका मूर्तिहरू अहिले विश्वभाषा क्याम्पस, काठमाडौँ युनिभर्सिटी,
जापानिज सप्लीमेन्ट्री स्कूल, जापानिज मार्सल आर्ट सेन्टरका प्राङ्गणमा
पुगिसकेका छन्। संयोजक ओम भन्छन्, “बाँकी १७ वटा मूर्तिहरू भृकुटीमण्डपमा
म्युजियमका रूपमा राख्ने निर्णय गरेका छौँ। जसका लागि समाज कल्याण
परिषदले मूर्ति राख्न भृकुटी मण्डपको गार्डेन उपलब्ध गराउने वचन दिइसकेको
छ।”
विविध
रसिकको रस
सङ्गीत र साहित्यमा निरन्तर लागिरहेका सङ्गीतकार तथा
गायक गणेश रसिक आफ्ना लोकप्रिय गीतहरूका साथ पलेँटी शृङ्खला अन्तरगत
आठौँ शृङ्खलामा ९–१० भदौमा प्रस्तुत भए। विगतमा 'राल्फा', 'लेकाली'
जस्ता चर्चित समूहमा आबद्ध सङ्गीतकार रसिकले त्यसबेला सिर्जना गरेका
विविध शैलीका गीतहरू गाए। लोक, आधुनिक र काव्यात्मक शब्दलाई समेत सङ्गीतमा
ढाल्न सिपालु रसिकका गीतहरू निक्कै लोकप्रिय भएका छन्। पलँेटीमा उनले
धेरै सम्झे धेरै हुन्छ, घरबेटी नानी, हुस्सुले छोपेको शहर, नेपालमा
जन्मभइ नेपाली हुनेहरू, नुन जस्तो विल्ने, मसँग एउटा तारा छ मायाको...
आदि गीत गाउँदै आफ्ना अतीतलाई ताजा गरेका थिए।
देउताकी आमा
 |
११–१६ भदौमा गुरुकुलमा मञ्चन भएको देउताकी आमा नाटकबाट
रङ्गकर्मी आशा मगराती आशलाग्दो निर्देशकको रूपमा देखा परेकी छिन्।
बारा निजगढका तपस्वी रामबहादुर बम्जनको कथालाई समेटेर आशाले तयार पारेको
नाटकले राम्रै चर्चा बटुल्न सफल भएको छ। नयाँ बुद्धका रूपमा एकाएक
चर्चामा आएका बम्जनकी आमाको संवेदना र पीडा प्रस्तुत गरिएको नाटकमा
मिश्री थापा, दयाहाङराई, मधुकर दाहाल, राधा श्रेष्ठ, वृहस्पति अधिकारी,
प्रदीप बस्नेत, विकास गिरी, जितेन्द्र थापा, सञ्जु अर्याल, प्रकाश
शर्मा, विष्णु केसी, मोनिका मोक्तानको अभिनय रहेको थियो।
राजधानीमा निहारिका
 |
मिस इण्डिया अर्थ २००५ निहारिका सिंह १० भदौमा राजधानीको
होटल र्याडिसनमा सञ्चारकर्मीमाझ प्रस्तुत भइन्। पहिलो पटक काठमाडौँ
आएकी सिंहले आफू ब्राण्ड एम्बासडर रहेको इन्टरनेसनल इन्स्टिच्युट अफ
फेसन डिजाइनिङको काठमाडौँ शाखाको उद्घाटन गरिन्। भारतका विभिन्न सहरहरूमा
एक सय ८० शाखा रहेको सो इन्स्टिच्युटको नेपाल शाखा लाजिम्पाटमा रहने
भएको छ। सो अवसरमा निहारिकाले आफू अहिले म्युजिक भिडियो र मोडलिङ बाहेक
कत्थक नृत्यको शिक्षण लिँदै गरेको बताइन्। भारतका धेरै मिस इण्डिया
अभिनय क्षेत्रमा छाएका छन् निहारिकाले पनि बलिउड प्रवेश गर्ने आफ्नो
चाहना रहेको बताइन्। सञ्चारकर्मीमाझ भनिन् “राम्रो अफरको प्रतीक्षामा
छु, मेरो रुचि अभिनियतिर पनि छ।”
छानिए मोडल
 |
१० भदौमा विराटनगरमा सम्पन्न लक्स सुपरमोडल हण्टमा पूर्वाञ्चलबाट
सहभागी ४७ मध्ये पाँच छानिएका छन्। युनिलिभर नेपाल लिमिटेडले प्रस्तुत
गरेको सुपरमोडल हण्टमा छनोटमा परेकाहरूमा विराटनगरकी चाँदनी शर्मा,
रिङ्कु अधिकारी र एलिना पौडेललाई मोडलिङको अनुभव छैन। झापाकी एन्जिला
बोहराले क्याटवाकको सामान्य प्रशिक्षण लिएकी छिन् भने विराटनगरकी संयुक्ता
लामिछाने मोडलिङमा अनुभवी हुन्। उनले थुप्रै मोडलिङ प्रतियोगिता र
फेशन शोहरूमा भाग लिइसकेकी छन्। विराटनगर र पोखराबाट छानिएका ५/५ जना
र २४ भदौमा काठमाडौँबाट दस जना छनोट गरी जम्मा २० जनालाई काठमाडौँमा
हुने ग्राण्ड फिनालेमा सहभागी गराइने बताइएको छ।
• कमल, विराटनगर
|