हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक | परिचय

पानी व्यवस्थापनमा समुदाय

नेपाल पानी सदुपयोग फाउण्डेसन (एनडब्ल्यूसीएफ) ले पहाडी क्षेत्रमा पानी इन्तजाम र पन्यालो फूलबारी तथा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सँगको सह–प्रकाशनमा सामुदायिक ग्रामीण खानेपानी प्रणाली चल्दो राखौँ शीर्षकका तीन वटा किताबमार्फत् समुदायमा आधारित पानी व्यवस्थापनका उपायहरू प्रस्तुत गरेको छ।

अजय दीक्षित, मधुकर उपाध्या र अलिना ताम्राकारले लेखेका पहाडी क्षेत्रमा पानी इन्तजाम नेपालको पहाडी भेगमा समन्यायिक, पारदर्शी र समुदायको सहभागितामा आधारित व्यवस्थापनका माध्यमबाट पानीको दिगो र सुलभ आपूर्ति गर्न तथा पानीसँग सम्बन्धित प्रदूषण, बाढी–पहिरोजस्ता समस्या कम गर्न सघाउ पुर्‍याउने उद्देश्यले तयार पारिएको निर्देशिका हो। किताबले आधुनिक पानी व्यवस्थापन प्रणालीबाट उत्पन्न समस्याहरूमा सुधार ल्याउन प्राकृतिक, सामाजिक र वैज्ञानिक–प्राविधिक पक्षको संयोजन भएको, स्थानीय भौगोलिक अवस्था र त्यहाँको समुदायको रहनसहन सुहाउँदो नयाँ प्रणालीको कुरा उठाएको छ।

नेपालका धेरै पहाडी क्षेत्रमा पानीको परम्परागत स्रोतमा ह्रास, असमान वितरणजस्ता समस्या छन्। कति ठाउँको पानी स्थानीय आवश्यकतामा असर पर्ने गरी अन्त लगिएको छ। पानीसँग सम्बन्धित समस्याहरूको समाधानार्थ किताबले 'एकीकृत पानी इन्तजाम' को अवधारणा अघि सारेको छ, जसमा पानीको समतामूलक वितरण, दुरुपयोगमा कटौती, प्राकृतिक बहावमा निरन्तरता र घरपरिवारदेखि क्षेत्रीय तहसम्ममा गरिने व्यवस्थापनका उपायहरू छन्। यस्तो प्रणालीमा पानी व्यवस्थापनका परम्परागत र नयाँ मान्यताका सबै राम्रा पक्षहरूलाई अँगालिनेछ, जसमा 'पानीको स्रोतमा फोहोर गर्नाले पाप लाग्छ' भन्नेदेखि 'शत्रुलाई पनि पानी रोक्नुहुन्न' भन्नेसम्मका कुरा छन्। किताबको एउटा खण्डमा समुदायमा काम गर्ने तरिकासम्बन्धी जानकारी समेत समेटिएको छ। यस हिसाबले यो किताब समुदायमा काम गर्ने अन्य क्षेत्रका विकास कार्यकर्तालाई पनि उपयोगी हुनेछ।

किताबमा पानीको सैद्धान्तिक–व्यावहारिक पक्षदेखि राष्ट्रिय–विश्व–ब्रह्माण्डसम्मको जानकारी पाइन्छ। यसमा प्रस्तुत तथ्यविवरण र जानकारीहरू एकदमै सरल छन्। चित्रसामग्री, तालिका र बक्सहरूको प्रयोगले सामग्रीको उपयोगलाई निकै व्यावहारिक बनाएको छ। धेरै जसो विकासे प्रकाशनहरूको नेपाली भाषा अङ्ग्रेजीको नबुझिने अनुवाद हुनेगरेको पृष्ठभूमिमा यो किताबको भाषालाई सजिलो र सक्दो नेपाली बनाउन खोजिएको छ। यद्यपि त्यसो गर्ने क्रममा चलाइएका कतिपय शब्दहरू चलनचल्तीको नेपालीमा अलि असामान्य पनि लाग्दछन्। किताबको नामदेखि भित्र धेरै ठाउँमा चलाइएको 'इन्तजाम' शब्दले पनि त्यस्तै अनुभव गराउँछ। व्यवस्थापनको अर्थमा प्रयोग गरिएको यो शब्दले त्यति गहिरो अर्थ बोक्दैन।

पन्यालो फूलबारी अमेरिकाको इन्स्टिच्यूट फर सोसियल एण्ड इन्भायरोन्मेन्टल ट्रान्जिसन (आइसेट) को संयोजनमा एनडब्ल्यूसीएफसहित नेपाल र भारतका चारवटा संस्थाले दुई देशका चार जलाधार तथा तीन शहरी क्षेत्रमा गरेका पानी व्यवस्थापनका स्थानीय तौरतरिकाको अध्ययन प्रतिवेदनको नेपाली अनुवाद हो। यो अध्ययन नेपालका तिनाउ जलाधार क्षेत्र र काठमाडौँमा पनि गरिएको थियो। अध्ययनका नतिजाहरू नेपालको पानी व्यवस्थापनका समस्या समाधानमा उपयोगी मानिएका छन्।

सामुदायिक ग्रामीण खानेपानी प्रणाली चल्दो राखौँ नेदरल्याण्डस्को इण्टरनेशनल रिसर्च सेण्टर (आइआरसी) को अग्रसरतामा नेपाल, केन्या, क्यामरुन, ग्वाटेमाला, कोलम्बिया र पाकिस्तान ६ देशका २२ समुदायमा चार वर्षसम्म गरिएको सहकार्य र अनुसन्धानको नतिजा हो। यसमा नेपालका गजेडी, रङ्गपुर, याम्पाफाँट र लेलेका अनुभवहरू पनि समेटिएका छन्। किताबमा दिगो खानेपानी व्यवस्थापनसँग सम्बन्धित कानूनी विषय, सम्भाव्य प्राविधिक अड्चन, सामाजिक सम्बन्ध, लैङ्गिक समानता र अनुगमनजस्ता विषयका तथ्यपत्र, सामुदायिक सहभागितात्मक विधि र समुदायसँगको सहकार्यमा उपयोगी चेकलिष्टहरू पनि छन्।

बद्री पौड्याल


प्राप्त कृति

नेपाली नाटकमा नारी समस्या
(समालोचना)
लेखकः डा. नन्दमाया नकर्मी
प्रकाशकः रत्न पुस्तक भण्डार काठमाडौँ, २०६३
पृष्ठः २०५, मूल्यः रु.१७५


लभ इन टेरर
(उपन्यास, अङ्ग्रेजीमा)
उपन्यासकारः नारायण नेपाल,
प्रकाशकः एसिया पब्लिकेसन्स काठमाडौँ, २००५
पृष्ठः ६६, मूल्यः रु.३५

आगोमा उमि्रएको दूबो
(कविता–सङ्ग्रह)
कविः
मनोज न्यौपाने
प्रकाशकः
वनिता प्रकाशन
विराटनगर, २०६२
पृष्ठः
७२, मूल्यः रु.१००

संविधानसभाः
सिद्धान्त र व्यवहार
(संविधानसभासम्बन्धी विश्लेषणात्मक पुस्तक)
लेखक/प्रकाशकः विष्णुप्रसाद भुषाल र वसन्तलाल महर्जन, काठमाडौँ, २०६३
पृष्ठः ६८, मूल्यः रु.५०

पद्मसिंह विश्वकर्माको अविछिन्न जीवनगाथा
(जीवनी)
लेखकः सरोज दिलु
प्रकाशकः जनउत्थान प्रतिष्ठान काठमाडौँ, २०६३
पृष्ठः ७०+, मूल्यः रु.५०

पदार्थहरूको गीत
(विज्ञान कथा–सङ्ग्रह)
लेखकः सरुभक्त
प्रकाशकः रत्न पुस्तक भण्डार काठमाडौँ, २०६३
पृष्ठः ६९+, मूल्यः रु.९५