खेलकुद
| साग
रमाउन नसकिएको सफलता
केही अनपेक्षित सफलता हात परेपनि समग्रमा १०
औँ साग नेपालका लागि असफलताहरूको पेटारो बन्न पुग्यो।
•
मनोज घिमिरे, कोलम्बोबाट फर्केर
 |
| दशौँ सागका नेपाली नायकः राजेन्द्र भण्डारी। |
२–१२ भदौमा श्रीलङ्काको
राजधानी कोलम्बोमा सम्पन्न दशौँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी
नेपाली टोली ९ स्वर्ण, १५ रजत र ३१ काश्यसहित कुल ५५ पदक लिएर फर्केको
छ। गणितीय रूपमा विदेशी भूमिमा सबैभन्दा धेरै स्वर्ण पदक जिते पनि
आफ्नो अनुकूल मानिएका अत्यधिक खेलहरू समाहित यस सागलाई नेपाली टोलीले
अपेक्षित उपयोग गर्न भने सकेन। तेस्रो स्थानको आकाङ्क्षामा कोलम्बो
पुगे पनि चौथो स्थानमा सीमित नेपाली टोली तृतीय बन्न सफल श्रीलङ्का
भन्दा निक्कै पछि रह्यो भने अन्तर्राष्ट्रिय खेलमा भर्खरै प्रवेश गरेर
पाँचाँै स्थान हासिल गर्न सफल अफगानिस्तानको कडा चुनौतीको सामना गर्नु
पर्यो।
केही अनपेक्षित सफलता
समग्रमा सोचेजस्तो सफलता नपाएपनि केही अनपेक्षित परिणामार्फत् नेपाली
टोली केही इतिहास रच्न भने सफल भएको छ। नेपाली टोलीलाई पहिलो स्वर्ण
दिलाउने भारोत्तोलक कमलबहादुर अधिकारीको सफलता त्यस्तै एउटा अनपेक्षित
र ऐतिहासिक थियो। यो खेलतर्फ नेपालले विगतका दक्षिण एसियाली खेलकुदमा
कुल १०५ पदक हात पारे पनि स्वर्ण भने यसपटक कमलमार्फत् नै प्राप्त
गर्यो।
त्यस्तै एथलेटिक्सका राजेन्द्र भण्डारीको सफलताले नेपाली
एथलेटिक्सलाई यो क्षेत्रमा साँच्चै गर्व गर्न लायक बनायो। नेपाली खेलकुदका
नवनायक भण्डारीले ५ हजार मिटर दौड तथा ३ हजार मिटरको 'स्टीपल चेस'मा
स्वर्ण त जिते नै ५ हजार मिटर दौडमा १४ मिनेट १.१९ सेकेन्डको नयाँ
दक्षिण एसियाली कीर्तिमान समेत कायम गरे। ३ हजार मिटरको 'स्टीपल चेस'
८ मिनेट ५१ सेकेण्डमा पूरा गरेर उनको नाममा नयाँ राष्ट्रिय कीर्तिमान
पनि खडा भयो। सफलता लगत्तै उनको प्रतिक्रिया थियो, “म यहाँ जुन कुराका
लागि आएको थिएँ, त्यो पूरा गरेँ।” १० हजार मिटर दौडमा रजत पदक पाएपनि
कान्छीमाया कोजुले नयाँ राष्ट्रिय कीर्तिमान राख्न सफल भइन्।
 |
| लगनशीलताको प्रतिफलः उसुमा बिनाको पहिलो स्वर्ण।
|
यसपटकको सागमा कायम अर्को ऐतिहासिक सफलता थियो, तेक्वान्दो
खेलाडी दीपक बिष्टको ह्याटि्रक। आठौँदेखि १० औँ दक्षिण एशियाली खेलकुदसम्ममा
लगातार स्वर्ण प्राप्त गरेका बिष्ट म्याराथुन धावक वैकुण्ठ मानन्धरपछिका
अर्का नेपाली खेलाडी भए, ह्याटि्रक गर्ने। त्यस्तै अमेरिकामा उसु प्रशिक्षकमा
कार्यरत विना खड्का (लामा) को आगमन सुखद् नै भयो नेपालका लागि। उनले
उसुतर्फ स्वर्ण दिलाइन्, नेपाललाई।
अविश्वास बन्यो, अतिविश्वास
केही अप्रत्याशित नतिजाहरू प्राप्त भएपनि बढी आश गरिएका तेक्वान्दो
र कराँतेतर्फको प्रदर्शन नेपालका लागि सुखद हुन सकेनन्। तेक्वान्दो,
उसु, कराँते; तीन वटै खेल समावेश भएका कारण सागमा नेपालको दबदबा रहने
आम विश्वास ६ स्वर्णमात्र हात लागेपछि धरमराउन पुग्यो। यी खेलहरूमा
सहभागी ३९ मध्येबाट आधाभन्दा बढी स्वर्ण जित्ने विश्वास राष्ट्रिय
खेलकुद परिषदका गणितज्ञहरूको थियो।
किन हारे नेपालीहरू, अति विश्वास गरिएका खेलहरूमा? यो
प्रश्नले यतिखेर नेपाली खेल रणनीतिकारहरूलाई रन्थनाएको छ। प्रशिक्षक
तथा खेल अधिकारीहरूको भनाइमा रेफ्रीको गलत निर्णय यो पराजयको प्रमुख
कारक थियो। तेक्वान्दो प्रशिक्षक नन्दु राई भन्छन्, “हामी दुई स्पर्धामा
मात्र हारेका हौँ, अरूमा हराइएको हो।” यो आरोप सत्य भए/नभएको खेल क्षेत्रका
विज्ञहरूको खोजीबाट पुष्टि हुने हो। तर समग्रमा नेपालको मार्सल आर्टको
स्तर खस्कँदै गएको भन्ने स्वयं खेलाडीहरूको प्रतिक्रियाले प्रमाणित
गर्छ। “हाम्रोस्तर कहिल्यै पनि बढेन, तर हरेक देशको स्तर दिनदिनै बढ्दो
छ”, तेक्वान्दोका स्वर्ण पदक विजेता दिपक बिष्ट भन्छन्। हुनपनि कम्तीमा
६ महिनाको निरन्तर प्रशिक्षणपश्चात् आएका अन्य मुलुकका खेलाडीहरू भन्दा
निक्कै कम समयको प्रशिक्षणमा पुगेका नेपालीहरूको हारमा निर्णायकको
कमजोरीभन्दा पनि आफ्नै कारण बढी देखिन्छ।
 |
| सागमा ह्याटि्रकः दीपक बिष्ट। |
फेरि पक्षपातकै कुरा गर्ने हो भने कराँतेतर्फ यो नै
पहिलो होइन। यसअघि इस्लामावादमा भएको प्रतियोगितामा पनि पक्षपातकै
पीडा भोगेको थियो नेपालले। तर सतर्कता अपनाइएन। निर्णायकको निर्णय
विरुद्ध 'प्रोटेस्ट' पनि गर्न सकिन्छ भन्ने कुरालाई पूरै लत्याए, नेपाली
खेल अधिकारीहरूले। गलत निर्णय विरुद्ध प्रोटेस्ट गर्नुपर्ने भन्ने
खेलाडीहरूको मागलाई राखेपका सदस्यसचिव जीवनराम श्रेष्ठले त रेफ्री
आफैँले नैतिक रूपमा सही निर्णय गर्नुपर्ने बताउँदै खेल अधिकारीको काम
'प्रोटेस्ट' गर्ने नभएको जवाफ दिएर पन्छिए। “प्रोटेस्ट पछिको छानबिनमा
रेफ्रीकै निर्णय ठीक भएको अवस्थामा राखेपमाथि नै हुनसक्ने कार्वाहीले
आफूहरूको विदेश शयर प्रभावित हुने चिन्तामा अधिकारीहरूले हाम्रो आग्रहलाई
लत्याए”, कराँतेको ६० किलो तौल समूहमा श्रीलङ्काली खेलाडीबाट पक्षपातपूर्ण
तरिकाले हारेको बताउँदै आएका दीपक श्रेष्ठले बताए।
अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने नेपाल
ओलम्पिक कमिटीका हुन् वा राखेपका जिम्मेवार अधिकारीहरू केवल विजयी
खेलाडीहरूको साथमा देखिए, त्यो पनि पदक वितरणका बेला औपचारिकता पूरा
गर्न। हारेका वा खेलको क्रममा त कुनै अधिकारीको उपस्थिति नै रहेन।
विभिन्न बहानामा कोलम्बो पुग्नेहरू त प्रतियोगिता क्षेत्र भन्दा पनि
'सपिङ' तिरै ज्यादा व्यस्त रहे।
बिना तयारी सहभागिता
 |
| पहिलो स्वर्णको खुशीः भारोत्तोलक कमलबहादुर अधिकारी। |
संयोगवश एउटा काश्य पदक जितेको नेपाली पौडी टोलीको हालत
सबैभन्दा लाजमर्दो थियो। कतिपय स्पर्धामा प्रतिस्पर्धीहरूले खेल सक्दासम्म
तीन चौथाई दूरी पनि पार गर्न नसक्ने नेपाली खेलाडीहरू पूरै 'एक्युमेरियम'
भरी दयाका पात्र बनेका थिए। पौडी संघका महासचिव अशोक बज्राचार्य भने
अन्य मुलुकहरूको पूर्वाधार तथा प्रशिक्षणको स्तर अनुसार नेपालको यो
स्तर स्वाभाविक रहेको बताउँछन्। तर त्यसो भन्दैमा पौडीको असक्षमतालाई
ढाकछोप गर्न सकिन्न। यदि प्रतिस्पर्धी मुलुकको तुलनामा आफ्नो स्तर
छैन भने अनावश्यक लगानी गरेर लाजमर्दो सहभागिता किन गराउने। हिजोसम्म
सागमै सहभागिताका लागि अनिवार्य रहेका कारण सामेल हुनै पर्ने यो खेलमा
आजका दिनमा सहभागी नहुँदा पनि हुन्छ। र यस्तो प्रावधानको उपयोग गरिँदा
मात्र नेपालको सहभागिताले पनि रणनीतिक सफलता पाउन सक्थ्यो। पौडीबाहेक
स्क्वास, सुटिङ र साइक्लिङ जस्ता खेलमा नेपालको सहभागिताको कुनै औचित्य
देखिएन। ब्याडमिन्टन, जुडो, टेबुलटेनिस र कुस्तीमा आंशिक सफलता प्राप्त
भयो भने फूटबलमा लामो समयपछि नेपालले पदक पायो। भारतलाई पराजित गरेका
आधारमा सन्तोष गर्ने हो भने पनि पाकिस्तानसँगको पराजयमा खेलाडी र प्रशिक्षकको
कमजोरी नै ठूलो कारण बन्न पुग्यो।
छोटो समय र सीमित बजेटका बीच भएको सागको तयारी कस्तो
थियो भन्ने प्रश्नको जवाफ नेपालले सागमा पाएको न्यून सफलताबाट सजिलै
अनुमान गर्न सकिन्छ। खेलाडीहरूको खेलस्तर वृद्धिभन्दा पनि अन्तिम समयको
'क्लोज क्याम्प' र विदेश शयर सहितको सहभागितामा सीमित रह्यो नेपालको
प्रदर्शन। समग्रमा अन्य मुलुकहरूको तयारी तथा प्रतिस्पर्धी खेलाडीहरूको
स्तरलाई बेवास्ता गरेर आफ्नै गणितमा पदकको ओइरो लाग्ने गफ दिने प्रशिक्षक
तथा खेल पदाधिकारीहरूलाई पनि दशौँ सागको पदक तालिकाले दह्रो झापड दिएको
छ। यो झट्कालाई सकारात्मक रूपमा लिएर नेपाली खेलकुदका बारेमा अहिलेदेखि
नै आवश्यक रणनीति बनाउँदै जाने हो भने यो झापडको रन्थनाहट आगामी सागमा
सुखद् पनि बन्नसक्छ। तर यसका लागि सम्बद्ध निकायहरूले दह्रो इच्छाशक्ति
देखाउन जरुरी छ।
एसीसी क्रिकेटः फेरि गुम्यो अवसर
२९ साउन
देखि १० भदौसम्म मलेशियामा सम्पन्न एसीसी ट्रफीमा नेपालको विजययात्राले
सेमिफाइनलबाट पूर्णविराम पायो। ८ भदौमा युएईसँगको सेमिफाइनल र तेस्रो
स्थानको लागि ९ भदौमा अफगानिस्तानसँगको पराजयले क्रिकेटप्रेमी नेपालीहरूलाई
स्तब्ध बनायो। यस पराजयसँगै नेपालको आगामी एसिया कपमा सहभागी हुने
र सन् २०११ को विश्वकपको छनोट चरणमा प्रतिस्पर्धा गर्ने सम्भावना पनि
अन्त्य भयो। नेपालले २००७ मा हुने विश्वकप क्रिकेटको छनोट चरण खेल्ने
मौका त दुई वर्षअघिको एसीसी ट्रफीमा भएको पराजयबाटै गुमिसकेको थियो।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टीमका लागि मात्र
सो अवसर प्राप्त हुनेहुँदा ८ भदौको म्याच दुवै टोलीका लागि 'गर या
मर' को स्थिति थियो। लिग चरणको प्रदर्शनभन्दा नेपाली खेलाडीहरूले उल्टो
प्रदर्शन गरे, सेमिफाइनलमा। नेपाली ब्याट्सम्यानहरू युएईका बलरहरू
सामु निरीह नै साबित भए, र ३६.४ ओभर पूरा नहुँदै सबै विकेट गुमाएर
मात्र १०३ रन मात्र बनाउन सके। सन् २००० देखि लगातार एसीसी ट्रफी जित्दै
आएको युएईलाई सो लक्ष्य प्राप्त गर्न खासै पसिना बगाउनु परेन। उसले
एक विकेटको क्षतिमा १८ ओभरमै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल
भयो।
घरेलु हिंसाले ग्रस्त भएर पनि अन्तर्राष्ट्रिय खेलक्षेत्रमा
हालैमात्र प्रवेश गरेको अफगानिस्तान सँगको खेलमा पनि नेपालको प्रदर्शन
फितलो रह्यो। निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले नेपाली कमजोर
बलिङ र क्षेत्ररक्षणको फाइदा उठाउँदै २७० रनको विशाल योगफल जोड्न सफल
भयो। तर नेपाली टोलीले ३४.३ ओभरमा ५ विकेट गुमाउँदै ११५ रन मात्र बनाउन
सकेको थियो। वर्षाका कारण खेल अवरुद्ध भएपछि अन्ततः डक वर्थ लुइस नियमका
आधारमा तेस्रो हुने अवसर अफगानिस्तानले प्राप्त गर्यो। विनोद दास,
शरद भेषवाकर, शक्ति गौचन, मेहबुब आलम, ज्ञानेन्द्र चन्द कसैको पनि
पछिल्ला रेकर्ड तथा प्रदर्शनले सही मौकामा साथ दिएन। र, नेपाली टीम
तीतो अनुभवका साथ प्रतियोगिताबाटै बाहिरियो।
सेमिफाइनलमा नवप्रवेशी वर्मा, भुटान र सामान्यस्तरका
बहराइन तथा केही बलियो हङकङलाई पराजित गर्नाले नेपाली टोेलीमा आत्मविश्वास
बढी नै देखिन्थ्यो। त्यसो हुनुमा गत वर्ष काठमाडौँमा सम्पन्न तीन दिवसीय
खेलमा युएईमाथि हात पारेको सहज जीतलाई पनि मान्न सकिन्छ। तर, प्रशिक्षक
तथा खेल पदाधिकारीले बुझ्नुपर्ने हो, एक दिवसीय र तीन दिवसीय खेल बिल्कुलै
भिन्न प्रकृतिका हुन्छन्, हरेक पक्षबाट। युएई र अफगानिस्तानसँगको प्रदर्शनले
सामान्य खेल रणनीतिलाई समेत नकेलाइकन ठूलो हाँक दिने प्रशिक्षक रोय
डायसमाथि पनि ठूलो प्रश्नचिह्न लगाएको छ। जसको परिणामस्वरुप अन्तिम
र 'आइस ब्रेकिङ मोमेन्ट' हरूमा चुक्ने नेपाली खेलाडीहरूको नियति फेरि
दोहोरिन पुग्यो।
यो पराजयले, नेपाली क्रिकेटको सुनौलो भविष्यलाई केही
समयका लागि भए पनि निराशाको बादलमा घचेटेको छ। अण्डर–१७, अण्डर–१९
उमेर वर्गहरूमा पाएको सीमित सफलतालाई नै राष्ट्रिय टोलीको वास्तविक
स्तर ठान्ने नेपाल क्रिकेट संघ (क्यान) को गल्तीको मूल्य वर्षौँसम्म
नेपाली क्रिकेटले तिर्नुपर्नेछ। क्यानले प्रशिक्षण तथा प्रशिक्षकको
स्तर तथा खेलाडीहरूको 'डेप्थ' लाई आकलन र विश्लेषण गर्दै कठोर नै भएपनि
दूरगामी र सकारात्मक कदम उठाउनुपर्ने आवश्यकता टड्कारो देखिएको छ।
त्यसैगरी उमेर वर्गमा पाएको सफलतालाई राष्ट्रिय टोलीसम्म पुर्याउन
नसक्ने कमजोरी अहिले सबैभन्दा ठूलो चुनौतीको रूपमा देखिएको छ। यसबाट
बाहिर आउन क्यानले आफूलाई पारदर्शी ढङ्गले अगाडि बढाउने र प्रशिक्षक
रोय डायसको भूमिकामाथि पनि पुनर्विचार गर्नुपर्ने हुनसक्छ। किनकि,
क्रिकेट जानकारहरू भन्छन्, “डायसले गर्नसक्ने गरिसके, अब अन्य विकल्पहरूतिर
सोच्ने बेला भइसक्यो।”
•
सुरेशराज न्यौपाने
|