हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

गर्विलो जीत

राष्ट्रिय फोटो पत्रकार समुह

नाम जस्तै काम। कुशल श्रेष्ठ (२४) ले दसौँ दक्षिण एसियाली खेलकुद (साग) मा कराँते–कुमुतेमा त्यस्तै कुशलता देखाए र ६५ केजी तौल समूहमा स्वर्ण पदक जिते। यो खबरले धनकुटा–५, बालमन्दिर टोलको एक सुकुम्वासी परिवारमा ल्याएको खुसी एथलेटिक्सका खेलाडी राजेन्द्र भण्डारीको दोहोरो स्वर्ण र तेक्वान्दोका दीपक बिष्टको ह्याटि्रक (आठौँ, नवौँ र दसौँ सागमा लगातार स्वर्ण) ले भित्र्याएको उल्लासभन्दा कम थिएन। “सुकुम्वासीको छोराले पनि देशको नाम राखेको छ। यसमा म किन गर्व नगरुँ?” कुशलका ६५ वर्षीय पिता दीपक श्रेष्ठको यो भनाइले नै सङ्केत गर्छ कुशलको पृष्ठभूमि, सङ्घर्ष र उपलब्धिको उदाहरणीय पाटो।

जग्गाजमिन नै नभएको, आश्रयका नाममा भाडाको फुसको छाप्रो मात्र भएको परिवारका थुप्रै बाध्यताहरूका अघि कान्छो छोरा कुशलको जिद्दीले कहिलेकाहीँ अत्याउँथ्यो पनि। तर उनी जिद्दीवाल मात्र हैन, पढाइ र खेल दुवैतिर चतुर र सिपालु समेत देखिए। अभिभावकले “भोको पेटले खेल्न सकिँदैन, नखेल् बाबु” भन्दा पनि उनले मानेनन्। बरु, दाजुलाई पछ्याउँदै सानै उमेरदेखि कराँते सिक्न थाले।

कुशलका पिता दीपक श्रेष्ठ

विपन्नताको अवरोध हार्दै गयो, कुशलको अठोटले जित्दै गयो। नवौँ सागमा रजत पदक जितेका कुशलले यसपल्ट आफ्ना प्रतिस्पर्द्धीहरूलाई ठूलो अन्तरले हराउँदै कौशल र हिम्मतको संयुक्त उदाहरण देखाए। कुशलले कोलम्बो (श्रीलङ्का) मा “देशका लागि स्वर्ण जित्ने धोको पूरा भएको छ, धैर्य नै मेरो सफलताको कारण हो” भनिरहेकै बेला धनकुटामा दीपक र हरिमाया हिमाल सँग “छोराले विपन्न आमाबाबुको स्वाभिमान बढाएको छ” भन्दैथिए। गरीब भएर पनि छोरालाई राम्रो काममा लगाउन पाएकोमा दङ्गदास श्रेष्ठ दम्पतीको खुसी यतिखेर हजारौँ आमाबाबुको खुसी बनेको छ। र, पुनर्पुष्टि भएको छ– धनसम्पत्ति मात्रै ठूलो कुरा होइन।