हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

सबैको दायित्व

''गाउँगाउँमा नागरिकता' (आवरण/रिपोर्ट, १–१५ भदौ) र सम्वद्ध विश्लेषणहरूले विगतका सरकारहरू यो समस्याप्रति कति उदासीन थिए भन्ने कुराको स्पष्ट आकलन गरेका छन्। जनआन्दोलनद्वारा स्थापित प्रतिनिधिसभाले आमाको नामबाट समेत नागरिकता लिन पाउने प्रस्ताव पारित गरे पनि यसनिम्ति हालसम्म ठोस गृहकार्य हुन नसक्नु सरकार, संसद दुवैको निरीहता हो।

नेपालीले यहाँको नागरिक भएको प्रमाण नपाउनुजस्तो ठूलो विडम्बना अरू केही हुँदैन। विभिन्न शैक्षिक कार्यक्रम र रोजगारीका निम्ति समेत नागरिकतालाई अनिवार्य बनाइएको छ। तर पुर्ख्यौली पहिचानको आधार नभएको भन्दै थुप्रै नागरिक नागरिकताबाट वञ्चित गराइएका छन्। यो पृष्ठभूमिमा प्रतिनिधिसभा वा पार्टीहरूका घोषणा मात्र ठूलो कुरा होइनन्, कार्यान्वयन मुख्य कुरा हो। अतः सम्पूर्ण नेपालीले आफू नेपाली भएको परिचयपत्र सहजै पाउने अवस्थाको सिर्जना गर्नु सबैको दायित्व हो। नत्र अर्को विद्रोह जन्मिन सक्छ।

भुमराज तिवारी
बेल्कोट–६, नुवाकोट


विरोधाभास!

माओवादी जनसेनाका डेपुटी कमाण्डर प्रभाकरको 'माओवादी सेना समस्या होइन' शीर्षकको आलेख (टिप्पणी, १–१५ भदौ) ले समसामयिक राजनीतिमा विरोधाभास जन्माएको छ। अहिलेको सन्दर्भमा पनि उहाँको दाबी पत्याउन सकिन्न किनकि आम ग्रामीण जनतालाई माओवादीले तिनै बन्दूक र सेनाका भरमा मुठीभित्र कसेर आफ्ना योजना अघि बढाएका हुन्। यो कुरा जगजाहेर छ। चन्दा असुली, अपहरण, जनकारबाही आदि त्यही सेनाकै भरमा गरिएको हो। त्यो सेना र ती हतियार जनताका निम्ति सहज, सहयोगी थिए भनेर कसले भन्न सक्छ? यथार्थमा ती हतियार विगतमा पनि समस्या थिए, अहिले पनि छन्।

माओवादीे जनसत्ता पनि जनहितमा छैन। भोलि अरू पार्टीले पनि आ–आफ्नो स्वार्थका निम्ति आ–आफ्नो जनसत्ता बनाउँदै गए भने त्यसको परिणाम कस्तो होला? लेखकको दाबी कुनै हिसाबले पनि यथार्थसम्मत छैन। शान्ति प्रक्रियाका निम्ति माओवादी सेना र हतियार बाधक हुन सक्छन्। प्रभाकरले “तत्कालै जनसेना विघटन भएमा २००७ सालको जस्तो स्थिति वा निर्वाचन नै भए पनि २०३७ सालको जनमत सङ्ग्रह जस्तो नहोला भन्ने के ग्यारेन्टी?” भन्ने प्रश्न उठाउनुभएको रहेछ। त्यसो भए माओवादी सेनाको दम्भका अगाडि संविधानसभा पूर्ण रूपमा सफल हुन्छ, जनताले निर्वाध मताधिकारको उपयोग गर्न पाउँछन् भन्ने कुराको पनि के ग्यारेन्टी? माओवादीका क्रियाकलाप र बोलीबीचको विरोधाभासले नै यी संशय जन्माउँछन्।

राजीव गौतम
खनदह–३, अर्घाखाँची


अनुपयुक्त कदम

'हवाई सेवासम्बन्धी रिपोर्ट 'पाइलट उड्दै विमान थन्किँदै' (१–१५ भदौ) पढेपछि निकै नमज्जा लाग्यो। विमान चालकको अभावमा एक दर्जन जति आन्तरिक उडानहरू स्थगित भएको यथार्थ बेलैमा सार्वजनिक गरेकोमा हिमाल लाई धन्यवाद!

आज हो कि भोलि, जागिर जाने स्थितिमा पाइलटहरूलाई राख्नु र पाइलटहरूले पनि निगमले करोडौँ रुपैयाँ लगानी गरेको बिर्सेर विदेश पलायन हुने सोच बनाउनु– यी दुवै कदम अनुपयुक्त छन्। विदेशमा भन्दा थोरै पारिश्रमिकमा स्वदेशको सेवा गर्ने सोचाइ पाइलटहरूमा पनि हुनुपर्छ। र, निगमले पनि उनीहरूको जागिरको ग्यारेन्टी गर्नुपर्छ।

समीर लामा,
भरतपुर, चितवन


उपयोगी सुझाव

'कहाँ छ बाँड्ने जग्गा?' (अर्थ/विश्लेषण, १–१५ भदौ) मा उपयोगी सुझाव दिइएको छ। हुन पनि जग्गा बाँडेर मात्र समस्याको समाधान हुँदैन। यो त डोकोमा पानी भरिदिनु जस्तो मात्र हो। केही शर्तमा कबुलियती वन उपलव्ध गराएजस्तै उत्पादन वृद्धिका लागि जग्गा दिनु पनि उचित नै हो। तर नेपालमा जग्गाधनीलाई शोषकका रूपमा हेर्ने परम्परा नै बसेको छ, जुन सधैँ सत्य हुँदैन।

सुव्रत स्वार, सुयश स्वार
पो.ब.नं. ५०३, काठमाडौं


नक्कली प्रचण्ड!

'हँसाउनेहरूलाई भ्याई नभ्याई' (रमझम–रिपोर्ट, १–१५ भदौ) मा छापिएका प्रचण्ड त हास्यकलाकार मनोज गजुरेल पो रहेछन्। शुरुमा मजैले झुक्किएँ। विगतमा आतङ्कको पर्याय मानिएका प्रचण्डलाई हास्यव्यङ्ग्यको विषयवस्तु बनाएर माओवादीको विसङ्गत पक्षलाई घोचपेच गर्ने उत्साहलाई साधुवाद भन्नैपर्छ। यस्ता घोचपेचले समेत माओवादीलाई सच्चिन सघाउँछन्।

कमल अधिकारी,
विर्तामोड, झापा


दृष्टान्त हुन् अञ्जना

अञ्जना राजवंशीको मेहनत (जनता, १–१५ साउन) ले करोडौँको कारोबार हुने शहरमुखी निजी शिक्षण संस्थालाई समेत चुनौती दिएको छ। आफूमा खुबी छ भने साधनस्रोतको अभाव वा विपन्नता बाधक बन्दैन भन्ने कुराकी दृष्टान्त हुन् अञ्जना।

टाँटीमा टिनको छाना हालेर सञ्चालन गरिएको नमुना माविको तस्बिरले अध्ययनका लागि चम्किला कार्पेट ओछ्याइएका ठूल्ठूलाभवनहरू चाहिँदो रहेनछ भन्ने पुष्टि गर्दछ। यस्ता विद्यार्थीको पढाइमा टेवा पुर्‍याई दक्ष व्यक्ति उत्पादन गर्ने कुरामा सबै पक्षले ध्यान पुर्‍याउनु जरुरी छ। त्यसनिम्ति नेपालका कुनाकाप्चामा लुकेर रहेका अरू अञ्जनाहरूलाई अगाडि ल्याइनुपर्छ, सबै पक्षबाट।

केशव कुलुङ
छेस्काम–८, सोलुखुम्बु


गजल

अकस्मात् नसा नसा खुन हरायो
हेर्दा हेर्दै ढुकुटीको सुन हरायो

आसेपासे चम्चे सबै लाखापाखा लागे
कुन्नि किन बाँसुरीको धुन हरायो

कोपिलामै फूल चुडेँ घाम बिर्सेँ हिजो
औँसी पर्‍यो आज फेरि जून हरायो

यश सुख श्री गयो बल धाक गयो
हुँदा हुँदा आजभोलि नून हरायो।

शिवप्रसाद पराजुली
फेदीखोला–९, स्याङ्जा


स्पष्टीकरण

'अजय पी. नाथ र सेनाको भविष्य' (उकालो लाग्दा, १–१५ भदौ) मा उल्लिखित 'संयुक्त राष्ट्रसंघमा कार्यरत रथी बालानन्द शर्माले बोलावट हुँदा पनि “लामो इमेल” मार्फत् आफू नआउने सूचना दिएको' सन्दर्भमा रथी शर्माले डमास्कसबाट सम्पर्क राख्दै परिवर्तित राष्ट्रिय सन्दर्भमा उनलाई आजसम्म कुनै खालको बोलावट नभएको र नेपाली सेनामा लामो सेवा गरेको 'प्रोफेशनल सोल्जर' का हैसियतले तोकिएको कुनै पनि कार्यभार बहन गर्नु आफ्नो दायित्व र कर्तव्य भएको स्पष्ट गरेका छन्। –सं.