हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | संक्षेप

हराउँदैछ रुम्जाटारको चिनो

कुनै बेला वैदेशिक मुद्राआर्जनको प्रमुख स्रोत रहेको ऊनी गलैँचाको निर्यात घटेको समाचारले अखबारहरूमा ठूलो ठाउँ ओगट्ने गरेका छन्। तर त्यसरी आर्जन हुने विदेशी मुद्राको झण्डै ८० प्रतिशत अंश विदेशबाट कच्चा ऊन आयात गर्दा विदेशतिरै फर्कने गर्छ र नेपालको भेडापालन दिनप्रतिदिन लोपोन्मुख छ भन्ने तथ्यले चाहिँ विरलै चर्चा पाउने गरेको छ। कच्चा ऊनको प्रमुख स्रोत मानिने भेडीखर्कहरू नेपालबाट कसरी लोप हुन थालेका छन् भन्ने तथ्यलाई राडी–पाखीका निम्ति कहलिएको रुम्जाटार (ओखलढुङ्गा) र आसपासको स्थितिले उजागर गर्छ। रुम्जाटारे गुरुङहरूलाई अहिले 'रुम्जाटारको चिनो' मानिने राडी–पाखीको अस्तित्व जोगाउन समेत धौ–धौ परेको छ। भेडा, भेडीखर्क र भेडाको ऊन नै नभएपछि राडी–पाखीको रवाफ बँच्न सक्ने कुरै भएन।

उदयपुर र सिन्धुलीदेखि सोलुखुुम्बुको पिके र दूधकुण्डसम्म घुम्ती चरनखर्कको रूपमा दर्ता भएका वनजङ्गल र पर्ती जग्गाहरू अतिक्रमणको चपेटामा परेका तथा कतिपय चरनखर्क र वनक्षेत्र सामुदायिक वन उपभोक्ता समूहहरूलाई हस्तान्तरण गरिएपछि यस भेगका भेडा चर्ने चरन र ओहोरदोहोर गर्ने बाटो साँघुरिएका छन्। युवाहरू वैदेशिक वा अन्य रोजगारीतर्फ आकर्षित हुँदै गएकाले भेडीगोठाला पाइन छाडेका छन्। परम्परागत राडीपाखीको गुणस्तरमा सुधार ल्याउने र उत्पादन विविधीकरण गर्ने, ऊन र मासुको गुणस्तर एवं उत्पादन बढाउने दृष्टिले भेडाको नश्लसुधार गर्ने कामहरू हुनसकेका छैनन्। परिणामतः क्रमशः हराउन थालेका छन् भेडा पालन र राडीपाखी बुन्ने रुम्जाटार र त्यसवरपरका वासिन्दाको यो व्यवसाय।

घट्दो गोठ र भेडा
रुम्जाटार–३ का सन्तबहादुर गुरुङका दुई सय भेडा छन्। छोराहरूले यो काम गर्न नमानेका र गोठाला नपाएकोले ६० वर्षीय गुरुङ आफैँ साथीसँग मिलेर गोठ बस्छन्। हजुरबाका पालामा एक हजार भेडा रहने गरेका यो गोठमा अहिले साथीहरूका समेत गरेर पाँच सय मात्रै छन्। भीमबहादुर गुरुङका नौ सय भेडामध्ये ८० वटा मात्र बाँकी छन्। २० वर्षअघिसम्म एक हजार भेडा पाल्ने दीर्घबहादुर गुरुङ र ६ सय भेडा भएका उदिम गुरुङसँग अहिले एउटै छैनन्। २०१६ सालसम्म करीब सय वटा गोठ भएको यो भेगमा अहिले १० वटा मात्रै छन्। रुम्जाटार वरपर मुश्किलले १५ जना छन् यो पेशा धानिरहेकाहरू। यिनैसँग पनि ऊन र मासुका लागि त्यति राम्रा नमानिने बरुवाल जातिका भेडा मात्रै छन्।

रुम्जाटारमा मात्र होइन, भेडाहरूको सङ्ख्या देशव्यापी रूपमै घट्दै गइरहेको छ। एक दशकअघिसम्म नेपालमा करीब नौ लाख रहेको भेडाको सङ्ख्या अहिले आठ लाखमा झरेको सरकारी तथ्याङ्कले देखाएको छ।

खर्चिला चरन र गोठाला
भेडाहरूलाई ठूलो चरनक्षेत्र चाहिन्छ र मौसमअनुसार चरन फेर्दै जानुपर्दछ। रुम्जाटारका भेडालाई गर्मीयाममा हिमाली क्षेत्र र हिउँदमा पहाडको तल्लो भेगमा गरी वर्षैभरि तलमाथि गरेर चराउन लगिन्छ। यहाँका भेडा नागपञ्चमी (साउन) देखि हिमाली खोँचहरूबाट उधौली (तल्तिर) र श्रीपञ्चमी (माघ–फागुन) देखि सिन्धुली र उदयपुरका खोँचहरूबाट उभौली (मास्तिर) लाग्छन्।

घुम्ती चरनमा जाने–आउने क्रममा व्यवसायीले ठाउँ–ठाउँमा पैसा तिर्नुपर्दछ। २०३५ सालमा पञ्चायती तथा पञ्चायत संरक्षित वनसम्बन्धी कानूनले गाउँ पञ्चायतलाई कर तिर्नुपर्ने व्यवस्था गरेको थियो। १०–१२ वर्षअघि सामुदायिक वन उपभोक्ता समूहहरूलाई तिर्नुपर्ने स्थिति आयो। यीबाहेक गाविस, विद्यालय, युवा क्लब आदिले पनि आ–आफ्नै किसिमले पैसा लिने गरेका थिए। माओवादीले 'जनयुद्ध' शुरु गरेपछि चाहिँ उदयपुरको लागि एउटा भेडाको रु.५ र त्यसमाथिका लागि एउटा गोठको रु.१ हजार लिन थाले। “अब अझै के हुने हो, थाहा छैन” सन्तबहादुर भन्छन्।

उदयपुरमा पुस–माघ र सोलुखुम्बुको जुनवेसीमा भदौमा तीन महिना भेडा चराएर आफ्नो खेतवारी मलिलो पारिदिएबापत किसानले गोठालाहरूलाई सित्तैँमा खाना खुवाउने गरेका छन् (१८–२० वर्षअघिसम्म मङ्सिरदेखि फागुन र भदौ–असोज गरी ६ महिना खुवाउने चलन थियो)। बाँकी महिनाको रासनपानी, वर्षभरिलाई लुगाफाटो, जुत्ता, बर्सादी र अन्य सामान तथा पारिश्रमिकको रूपमा भेडाधनीले प्रतिगोठाला रु.१७ हजार भन्दा बढी खर्च व्यहोर्नुपर्दछ। भीमबहादुर गुरुङ २० वर्षअघि यो खर्च रु.३७ सय हुनेगरेेको बताउँछन्। भेडाको पछिपछि बाह्रै महिना हिँड्नुपर्ने र अनेकन् झञ्झट व्यहोर्नुपर्ने यो पेशालाई युवापुस्ताले 'दुख्याहा पेशा' भन्ने गरेको छ। त्यसैले उनीहरू बाउबाजेका पालाका भेडा बेचेर विदेशिन वा शहरबजारतिर हिँड्न हतारिएका छन्।

सरकारले नश्ल सुधार, रोग रोकथाम, ऋण सहयोग र चरनखर्कहरूको संरक्षण–व्यवस्थापन गरिदिनुपर्ने व्यवसायीहरूको माग छ। उदयपुर, सिन्धुली, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा भेडा चराउन पाउने इजाजतपत्र लिन कृषि मन्त्रालयसम्म पुग्दा पनि केही सुनुवाई नभएको स्थानीय भेडापालन समूहका अध्यक्ष भीमबहादुर गुरुङको गुनासो छ। पशुसेवा विभागका महानिर्देशक दलराम प्रधान घुम्ती चरनमा चराउँदा काँडाले ऊन तान्ने हुँदा थोरै पालेर बढी फाइदा लिन सकिने जातका नश्लसुधार गरिएका भेडा घरघरमै पाल्नु उचित हुने बताउँछन्। तर, भेडाको नश्लसुधार गरेर भेडापालनको स्तर वृद्धि गर्ने उद्देश्यले मकवानपुरको चित्लाङमा स्थापना गरिएको सरकारी भेडा फार्म भने अहिले बाख्रा फार्ममा परिणत भएको छ।

राडीपाखीमा असर
पहिले–पहिले रुम्जाटार क्षेत्रका सबै घरका गुरुङसेनीहरू राडीपाखी बुनेर बेच्ने गर्दथे। पाँच–सात वर्षअघिसम्म रु.८–१० लाखको व्यापार गर्ने यहाँको राडीपाखी उद्योग संघका अध्यक्ष प्रेम गुरुङ अहिले मुश्किलले वर्षको रु.४–५ लाखको व्यापार गर्छन्। पहिले–पहिले झापादेखि जनकपुरसम्मका मेलाहरूमा राडीपाखी पठाउने उनी अहिले ओखलढुङ्गामै एउटा बिक्री केन्द्र खोलेर हटिया लाग्ने दिन मात्रै बेच्न थालेका छन्। अन्य उद्यमीहरूले ओखलढुङ्गालगायत दोलखा, रामेछाप, खोटाङ, सोलुखुम्बु जिल्लाहरूबाट ल्याइने ऊन खरीद गरेर स–सानो स्तरमा बुन्दै जेनतेन व्यवसाय धानेका छन्।

एउटा वयस्क भेडाबाट भदौमा दुई किलो र चैतमा एक किलोसम्म ऊन सङ्कलन गर्न सकिन्छ। त्यसको प्रतिधार्नी मूल्य भदौमा सरदर रु.५०० र चैतमा रु.४०० हुन्छ। ६ महिनासम्मका पाठापाठीको ऊनको चाहिँ रु.७०० पर्छ। किसानको लगानी र परिश्रमको तुलनामा ऊनको यो मूल्य एकदमै कम हो। यता राडीपाखीको बजार प्रबर्द्धन र विस्तार गर्न कुनै पनि निकायले काम गर्ने गरेको पाइँदैन। तत्काल कम्तीमा सरकारी–गैरसरकारी कार्यालयहरूमा मात्रै पनि राडी–पाखी उपयोग गर्न प्रोत्साहित गर्न सके यो व्यवसाय नै हराउने स्थिति नआउने किसान तथा व्यवसायीहरू बताउँछन्।

कुनबेला कहाँ हुन्छन् भेडाहरू?

साउन (नागपञ्चमी)–१० भदौ
सोलुखुम्बु पिकेबाट तल झर्दै पामु, लाङ्गदीप, कोइलीम, कलपडाँडा, कम्दास, च्यापू, पाडेफड्के, भासाखोला, चैन चोकाप, टोसडाँडा, छिपु पोडे, लौखोला, चोकर्मा, इला गोल्ची, च्याथोक, घाम्ताङ, लुजाडा, छोरे र मदुम्खासा।

१० भदौ–असोज
जुनवेसी, खाम्जे, रिमु, गोन्वा, तोङनासा, सालुङ, दम्वु, च्याउ, वेनी सुर्के, लेखानी, लोदिङ, गोरारपानी र पातीखर्क तथा ओखलढुङ्गाको गुन्सा भदौरे।

कात्तिक
चित्रे, बिब्लाटे, कमेरे, लगलगे, केतुके, मानेभन्ज्याङ र टोक्सेलघाट तथा उदयपुरको महाभारत उत्तरी क्षेत्र।

मङ्सिर–माघ
उदयपुर र सिन्धुलीको महाभारत दक्षिणी भेगबाट मास्तिर लाग्दै खोँचका पटना भञ्ज्याङ, नेप्टे भन्ज्याङ, गोल्मारासी।

फागुन
उदयपुरको महाभारत उत्तरी भेग।

चैत
खोटाङको रौताहा, खोटाङ–ओखलढुङ्गा सीमामा पर्ने तीनचौके, वराह, ताम्लेसा, टेकेनपुर, लैकुघाट र दूधकोशी–सुनकोशी दोभान।

वैशाख
ओखलढुङ्गाको नयाँवन, फाक्से, पातले, थोले देम्बा र रावा दोलु।

जेठ
सोलुका गोराखानी, चादिङ्ग, दिम्हेठ, लोदिङ, छोपाताल, जुनवेसी, मिन्दुपाके, सुर्के, कोटडाँडा, गम्टार, मूलखर्क।

असार
लाम्वेडाँडा, खाम्लम्ज, छिलिम, कञ्जेम्वाङ, क्याङ्मु, वुरमुसे, छिन्सिरी, गोन्वा, तोङनासा, टाकसिन्धु, रकसिन्धु, काम्डाँडा।

तुलसी गौतम