हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

तन्नेरी

कलिलो मस्तिष्कमा निराशाको भारी

ठूलो भएर 'शिर उँचो पार्लान्' भन्ने आशामा बसेका अभिभावकले थाहै नपाई होनहार सन्तानहरू 'डिप्रेसन' को शिकार भइरहेका छन्।

शैली बस्नेत

विवेकराज मौयर्

हाँसो–ठट्टा गर्दै रमाइलो गर्ने उमेरमा १३ वर्षीया कविता भने दिनदिनै एकोहोरिन थालेकी थिइन्। आनीबानी र बोलिचाली मात्र फेरिएको थिएन, उनको पढाइको स्तर पनि खस्किँदो थियो। रामको त झर्केर बोल्ने, कुरैपिच्छे रिसाउने, खाना नखाने र नपढ्ने स्वभाव नै बनिसकेको थियो। त्यस्तै, कलिलो उमेरमै रविको मन–मस्तिष्कभरि तनाव र असन्तुष्टि सिवाय सन्तुष्टि र प्रसन्नता रत्ति थिएन। २१ वर्षीया रञ्जनाले त पीर र समस्याहरूको सामना गर्न नसकेर घरको कौसीबाट हाम फालेर आत्महत्याको प्रयास समेत गरिन्।
समाजमा नियमित देखिने यस्ता घटनाहरू मानसिक रोग 'डिप्रेसन' (उच्च निराशा) का लक्षणहरू हुन्। समयमै उपचार र परामर्शको सहयोग लिएमा बिरामी सामान्य अवस्थामा फर्किन सक्छन्, अन्यथा जीवन बर्बाद हुन पनि सक्छ।

अभिभावकले पढाइ सुधार्न 'ट्युसन' थपी दिए पनि कुनै असर नदेखिएको कविताको जीवनमा परामर्शदाताको सहयोग पछि भने ठूलै परिवर्तन आएको छ। विद्यालयमा साथीहरूले जिस्क्याउने र होच्याउने हुनाले आत्मविश्वास र स्वाभिमान हराउँदै गएपछि कविताको त्यो हालत भएको रहेछ। परामर्शदाताले पत्ता लगाए अनुसार, रामको समस्याको कारण भने अभिभावकहरू बीचको झै–झगडा रहेछ।
त्यस्तै रविको नैराश्यको कारण अरू केही नभएर 'जीवनमा ठूलो उपलव्धि हासिल गर्नुपर्छ' भन्ने उनकै उच्च आकाङ्क्षा थियो। जीवनमा पाइरहेको सफलताबाट उनी सन्तुष्ट थिएनन्। आफैँले थोपरेको मानसिक बोझले उनले अन्ततः मानसिक शान्तिको खोजी गर्दै मनोचिकित्सक कहाँ पुग्नु परेको थियो। अनि, रञ्जना भने पढाइमा असफलता, परिवारको असहयोग र प्रेमीसँगको बढ्दो तनावका कारण आत्महत्या गर्ने अवस्थासम्म पुगेकी रहिछन्।

बालकदेखि वृद्धसम्म जोसुकैलाई हुने गरेपनि अस्पतालका मानसिक रोग विभाग र परामर्श केन्द्रहरूमा 'डिप्रेसन' को समस्या लिएर पुग्ने युवाहरूको सङ्ख्या बढी छ। किशोर तथा युवा अवस्थामा शारीरिक परिवर्तनसँगै मानसिक तनाव बढी हुने चिकित्सकहरू बताउँछन्। आफूले सम्हाल्न सक्ने भन्दा बढी मानसिक तनावले निरन्तर पछ्याइरहेमा परामर्शदाता वा मनोचिकित्सकको सल्लाह लिनुपर्छ।
उमेरका कारण शिक्षा, रोजगार, प्रेम आदिसँग सम्बन्धित तनाव बढी हुने भएकाले तन्नेरीहरूलाई परामर्श चाहिन्छ। काठमाडौँ मेडिकल कलेजका मानसिक विभागका प्रमुख डा. सुदर्शन नरसिंह प्रधानका अनुसार डिप्रेसनका विरामीहरूमध्ये ९० प्रतिशत युवा हुन्छन्। तीमध्ये पनि महिलामा यो समस्या दोब्बर देखिने गरेको छ।

डिप्रेसन बढे आत्महत्या!

डिप्रेसन हुनेहरूमा लगभग ३० प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१० सम्ममा डिप्रेसन विश्वकै दोस्रो प्रमुख र सन् २०२० सम्ममा पहिलो स्वास्थ्य समस्या हुनेछ। विज्ञहरूका अनुसार, बढ्दो शहरीकरण, प्रतिस्पर्धा, द्वन्द्व, आर्थिक समस्या तथा अन्य पारिवारिक–सामाजिक समस्या डिप्रेसनका प्रमुख कारण हुन्।

मेडिकेयर अस्पतालका मनोचिकित्सक विश्ववन्धु शर्माका अनुसार, मस्तिष्कमै कमजोरी भएकालाई डिप्रेसनको सम्भावना बढी हुन्छ। प्राकृतिक, सामाजिक र भौतिक जस्ता बाह्य वातावरणले पनि डिप्रेसन हुनसक्छ। सेन्ट जेभिएर्स कलेजको 'साथ र सहयोग' विभाग (सारस) प्रमुख फादर एलभी ब्रुक्सको अनुभवमा परामर्शको आवश्यकता पर्ने युवाहरूमध्ये ८० प्रतिशतमा अभिभावक, शिक्षक–शिक्षिका र साथीभाइसँगको समस्या कारण बन्ने गरेको पाइन्छ। “बाँकी २० प्रतिशत लाज मान्ने, असफलताको डर, असफलता, समलिङ्गी पो हुँ कि भन्ने शङ्का, मोटो या दुब्लो, यौन तथा शारीरिक सुन्दरता जस्ता समस्याले पिरोलिएका हुन्छन्” ३७ वर्षदेखि नेपालमा मनोपरामर्श दिँदै आएका ब्रुक्स भन्छन्, “म को हँु, मेरो उद्देश्य के हो जस्ता आफ्नो अस्तित्वसँग सम्बन्धित प्रश्नहरूको घेरामा परेकाहरू पनि हुन्छन्।”

पढ्न इच्छा नलाग्ने, ध्यान केन्द्रित गर्न नसक्ने, पेशा–व्यवसाय बारे अन्योलमा परेका युवाहरूले पनि परामर्श लिने गरेका छन्। पारिवारिक वातावरणले पनि तनाव बढाउन मद्दत गर्दछ। 'आधुनिकतासँगै बढेको व्यस्तताको कारण अभिभावकले सन्तानलाई समय र ध्यान दिन नसकिरहेको' परामर्श केन्द्र अन्तरङ्गकी हेमा प्रधान बताउँछिन्। अन्तरदृष्टिकी बीना अधिकारी त्यसलाई 'बढ्दो मनोवैज्ञानिक समस्याको मुख्य स्रोत' ठान्छिन्।

विज्ञहरूका अनुसार, आमसञ्चारका विभिन्न माध्यमका कारण किशोर–किशोरी र युवाहरूमा महत्वाकाङ्क्षाका साथै परिपक्वता पनि वृद्धि भएको छ। तर, छोराछोरीलाई सधँै बच्चाकै व्यवहार गर्ने अभिभावकको मानसिकताले उनीहरूबीच दूरी बढ्दो छ। “अभिभावकले छोराछोरीलाई दिनमा आधा घण्टा मात्र 'क्वालिटी टाइम' दिनसक्यो भने पुग्छ”, प्रधान भन्छिन्, “कामबाट थाकेर घर पुग्दा 'थाकेको छु' भन्यो भने केटाकेटीले बुझ्छन्। तर अभिभावकले बच्चा ठानेर त्यति पनि भन्दैनन्।”

अभिभावकको यस्तै बेवास्ताले साथीहरूसँग मात्र रमाउने केटाकेटीहरू तनाव र कुलतको झन् ठूलो खतरामा पुग्दछन्। साथीभाइलाई 'नाइँ' भन्न नसकेर चुरोट, गाँजादेखि लागूऔषधसम्मको कुलतमा फसेका तन्नेरीहरू पनि छन्। अग्रजले दाजुभाइ–दिदीबहिनी र समकक्षी विद्यार्थीबीच पढाइ, सौन्दर्य र बौद्धिकता लगायतका विषयमा गर्ने तुलनाले पनि तरूणहरूमा नकारात्मक प्रभाव पार्दछ। काम र पढाइको बोझ, फरक वातावरण, रहनसहन, संस्कार र संस्कृतिका कारण व्यहोर्नुपर्ने एक्लोपनले गर्दा विदेशिने युवाहरूमा पनि डिप्रेसन देखिएको छ। यस्ता कारणहरूले पनि विदेशमा नेपाली युवाले आत्महत्या गरेका हुनसक्ने मनोचिकित्सकहरूको अनुमान छ।

डिप्रेसन भएपछि मात्रै परामर्श आवश्यक ठान्नुहुँदैन। डिप्रेसनको प्रारम्भिक सङ्केत देखिने बित्तिकै परामर्श लिनुपर्छ। बेलैमा समाधान नगर्दा सामान्य डिप्रेसन गम्भीर बन्नसक्छ। सामान्यदेखि मध्यम डिप्रेसनमा साधारणतया परामर्श पर्याप्त हुन्छ। “परामर्श वा घरमै औषधि खाँदा पनि डिप्रेसनको उपचार हुनसक्छ”, ललितपुरस्थित मानसिक अस्पतालका निर्देशक डा. कपिलदेव उपाध्याय भन्छन्, “तर, दिमाग बिग्रेका मात्र अस्पताल जानुपर्छ भन्ने गलत धारणा धेरैमा पाइन्छ।” डिप्रेसनलाई अन्य रोग झैँ सामान्य रूपमा लिनुपर्ने चिकित्सकहरू सुझाउँछन्। तर सबै मानसिक रोग भने डिप्रेसन होइनन्।

युवाहरूलाई डिप्रेसनबाट जोगाउन घर, स्कूल र समाजमा स्वस्थ र सहज वातावरण आवश्यक हुन्छ। सेन्ट जेभियर्स, रातोबङ्गला जस्ता केही शैक्षिक संस्थाले परामर्शदाता उपलव्ध गराइरहेका छन्। असफलता, पीर–मर्का जीवनका स्वाभाविक पक्ष हुन् भनेर त्यसको सामना गर्न सानैबाट सक्षम बनाएमा डिप्रेसनबाट जोगाउन सकिने बताउँदै सहारा परामर्श केन्द्रकी अनिता श्रेष्ठ भन्छिन्, “यसप्रति अभिभावक सदैव सचेत हुनुपर्छ।”


के हो 'डिप्रेसन'?

प्रमुख लक्षण
१. दिक्क लाग्ने
२. रमाइलो लाग्ने क्रियाकलापहरूमा कमी
थकान महसूस र शक्तिहीनता
सामान्य लक्षण
१. निराशाजनक विचारहरू (जस्तै मेरो कुनै महत्त्व/अर्थ छैन, आशाहीन, मलाई बुझ्ने/सहयोग गर्ने कोही छैन आदि)
२. अनिद्रा
३. खानामा रुचि हराउनु
४. यौन–इच्छा हराउनु
५. भुलक्कडपन
६. चिढचिढोपन
७. आत्महत्याको विचार र प्रयास

यीमध्ये क वर्गको एउटा र ख वर्गको २/३ लक्षण देखिएमा हल्का (माइल्ड) डिप्रेसन, क वर्गको दुई र ख वर्गको ४ लक्षण देखिएमा मध्यम (मोडरेट) डिप्रेसन र त्योभन्दा बढी लक्षणहरू देखापरेमा 'सिभिएर' डिप्रेसन हुनसक्छ। १५ दिनभन्दा बढी यस्ता लक्षणले निरन्तरता पाएमा अवस्था अनुसार परामर्शदाता अथवा मनोचिकित्सकको सहयोग लिनु आवश्यक हुन्छ।

इन्टरनेशनल क्लासिफिकेसन अफ डिजिजेज