हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

मीकाको नेपाल मोह

ए कान्छा मलाई सुनको तारा खसाइदेउ न...,
रेशम फिरिरी, रेशम फिरिरी...,
सोई सोईला है हुर्रा हा हा...।

सुन्दरी मीका मोडल

यस्ता ठेट नेपाली गीत गाइरहेकी जापानी युवती ताकागी मीकालाई देख्नेहरू नेपाली सङ्गीतप्रतिको उनको मोह देखेर छक्क पर्छन्। मौलिक लोकभाकाहरूले रिमिक्सको रूप लिँदै गएको अवस्थामा मीका भने नेपाली मौलिकता खोज्दै त्यसको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा तल्लीन छिन्।
सन् १९९३ मा नेपाल घुम्न आउँदा यहाँको सङ्गीतले समेत उनलाई खुबै लोभ्यायो। फर्कँदा उनले झोलाभरि नेपाली लोकसङ्गीतका सीडीहरू लगिन्। सुन्दै, सिक्दै उनले जापानमै नेपाली गीत गाउन थालिन्। अनि, कलेजका क्लबहरूमा रेशम फिरिरी...गाएर निकै प्रशंसा बटुलिन्। त्यसपछि उनका लागि नशाझैँ बन्यो नेपाली सङ्गीत।

त्यसपछि लगातार चार वर्ष नेपाल आएर एक–एक महिना बस्दै उनले नेपाली सङ्गीतलाई नजिकैबाट अध्ययन गरिन्। सन् १९९९ पछि भने वर्षको १० महिना उनको यतै बित्न थालेको छ। भन्छिन् “नेपाली लोकगीतलाई बुझ्न जापान बसेर गाह्रो हुने ठानेर आएँ। बाजा बजाउन, गाउन त दुई महिनामै सिकिन्छ तर मान्छेको बोलीचाली, रहनसहन बुझ्न यतै नबसी हुँदैन।” नौ महिना काठमाडौँको एक नेवार परिवारमा बसेकी उनले नेवारी भाषा र गीतसमेत सिकिसकेकी छन्। काठमाडौँ विश्वविद्यालयमा मादल र धिमे बाजाको अध्ययन नै गरेकी छन् उनले।

अहिले सुन्दरी मीकाको नामबाट चिनिने उनले नेपाली लोकगीत सहितको अल्बम समेत निकालिसकेकी छन्। नेपाली लोकगीतहरूलाई जापानी भाषामा समेत गाउँदै आएकी मीकाको नेपाली सङ्गीतप्रतिको लगाव यतिमैै सीमित छैन। जापानको इण्टरनेट रेडियोका लागि एचबीसी एफएमको सहयोगमा रेडियो कार्यक्रम समेत सञ्चालन गर्दै आएकी छन् उनले। सुन्दरी मीकाको साङ्गीतिक फूलबारी नामक रेडियो कार्यक्रममा उनले जापानीहरूका लागि नेपाली लोकभाकाका बारेमा जानकारी दिने गरेकी छन्।

जापानको कानाकावा शहरकी यी सुन्दरी बुबा–आमाको चाहना विपरीत नेपाली सङ्गीतको मोहमा डुबेकी हुन्। भन्छिन् “यतिसम्म डुबेपछि कहाँ निस्कन सकिन्छ र!” नेपाली मौलिक सङ्गीतको भविष्य राम्रो भएकोे बताउने मीकाले नेपालमा सङ्गीत पर्यटनको सम्भावना समेत देखेकी छन्। नेपालका मौलिक बाजा–गाजा, संस्कृति, गीत–सङ्गीतले विदेशी सङ्गीतप्रेमीहरूलाई आकर्षित गर्न सक्ने उनको ठम्याइ छ। भन्छिन्, “यस्ता मौलिकतालाई समेटेर म्युजिक भिडियोहरू बनाउनुपर्छ, जसले संसारका मान्छेको ध्यान तान्न सक्छन्। गीतको भाषा नबुझे पनि सङ्गीत, बाजा, पहिरन, संस्कृति र दृश्यले उनीहरूलाई यहीँ आएर हेर्न/सुन्न लोभ्याउँछ।” तर अधिकांश नेपाली गायक–सङ्गीतकारले मौलिकता छाडेर विदेशीकै नक्कल गर्ने गरेकाले त्यसले विदेशीमा वितृष्णा जन्माउने र नेपालीपन समेत हराउँदै जाने मूल्याङ्कन छ उनको।

कहिले पर्यटक, कहिले व्यापार त कहिले विद्यार्थी भीसामा नेपाल बस्दै आएकी मीका वर्षमा एकपटक जापान पुग्छिन् र नेपालको सङ्गीत प्रवर्द्धनमा लाग्छिन्। नेपालमा छँदा सुरसुधा र कुटुम्ब ब्याण्डसँग नजिक रहेर साङ्गीतिक गतिविधिमा संलग्न उनी पप र रक पनि गाउँछिन्। तर, उनको माया चाहिँ नेपाली लोकगीतमै बसेको छ। अविवाहित मीकाले 'सुनको तारा खसाइदिने नेपाली कान्छा' पनि भेटेकी छन् कि? भन्छिन्, “अहिलेसम्म छैन।” अझै उम्किने पाराले उनी थप्छिन्, “यतै घरजम गरेर बस्ने मन त छ तर मेरा बुबा–आमाले मान्नुहुन्न। के गर्र्ने?”

तस्बिरः अनुप प्रकाश
शृङ्गारः चाहना ब्युटिपार्लर, बागबजार

अनुशील


सङ्गीत

हङकङमा फैलाउदै नेपाली धुन

'बादलुको घुम्टोले इलाम बजार छोपिँदा...', 'हाम्रो सुन्दर संसार थियो... जस्ता गीतमार्फत् यम बराल र रामकृष्ण ढकाललाई ख्यातिको उचाइ दिलाउने सङ्गीतकार; 'तिम्रो हाम्रो मनको दुरी बढेजस्तो छ...', 'थाहा नपाई माया मेरो तिमीसँग बस्यो है...' गीतका स्वर–संवाहक दिनेश सुब्बा सपरिवार हङकङ बस्न थालेपछि धेरैले आशङ्का गरेका थिए– एउटा राम्रो सङ्गीतकार प्रवासमा हराउने भयो। तर, दिनेशले यो आशङ्कालाई सत्य हुन दिएनन्। तुलनात्मक रूपले थोरै नै सही, नेपाली गीतमा सङ्गीत उन्दै रहे। हिमालयन टोन्स म्युजिक एकेडेमी नामक सङ्गीत विद्यालय नै खोलेर सुब्बा अहिले हङकङमा नेपाली संगीतको जग मजबूत पार्न जुटेका छन्।

तीन महिनाअघि स्थापित सो स्कुलमा ६ वर्षीय गौरव श्रेष्ठदेखि ६५ वर्षका वीरबहादुर थापासहित ३५ भन्दा बढी विद्यार्थीहरू सुब्बासँग स्वर, पियानो, किबोर्ड, तबला, मादल, हार्मोनियम, स्टाफ नोटेशन, किबोर्ड सिक्दैछन्। म्यूजिक एरेञ्जमेण्ट र गीत रेकर्डिङ सेवा समेत प्रदान गर्दै आएको छ उनको म्युजिक एकेडेमीले। सुब्बा भन्छन् “हङकङमा नेपाली सङ्गीतकर्मी उत्पादन गर्न र नेपाली सङ्गीतको जग मजबूत पार्ने उद्देश्यमा लागिपरेको छु।”

चुङकिङ मेन्सनमा सञ्चालन भइरहेको उनको सङ्गीत स्कूलले हङकङमा नेपाली गीतसङ्गीतको समृद्धिमा टेवा पुग्ने आशा गरिएको छ। “नेपाली सङ्गीतका लागि केही गर्ने अभिलाषा थियो” स्कूल खोल्नुको कारण खोतल्दै दिनेश भन्छन्, “धेरैले सिक्ने रुचि समेत देखाए। आवश्यक पनि थियो हङकङमा नेपाली म्युजिक स्कूलको स्थापना।” अहिले उनका छोरा निशाद पनि सङ्गीतमै लागेका छन्। द एशोसिएटेड बोर्ड अफ द रोयल स्कुल्स अफ म्यूजिक मा अध्ययनरत १६ वर्षीय निशादले प्रशिक्षणमा दिनेशलाई सघाउँदै उनको बिँडो थाम्ने सङ्केत देखाएका छन्।

देवराज राई, हङकङ


सिर्जना

बस्ला है माया
(महेश बुढाथोकीका लोक गीतहरू)
भाखाः महेश बुढाथोकी
शब्दः महेश बुढाथोकी, ईश्वर आँशु मगर र राम भट्टराई
स्वरः महेश बुढाथोकी, सिन्धु मल्ल, सत्यकला राई, माण्डवी त्रिपाठी
उत्पादनः म्युजिक नेपाल

बरै
(रोल्पाका लोक गीत)
स्वर तथा सङ्कलनः दिलसरी पुन र दलबहादुर पुन
सङ्गीत संयोजनः बीबी अनुरागी
रेकर्डिङः प्रिज्मा रेकर्डिङ
प्रस्तुतिः प्रेमकुमारी पुन र देवप्रसाद पुन

हुई हुर्रा हा................
(पूर्वेली लोक–दोहोरी गीतहरू)
स्वर: राजशुक्र लिम्बु, आभा मुकारुङ
सङ्गीत: संयोजनः कुन्दन राई
सहयोगी तथा सल्लाहकारः सुरोज लिम्बु
उत्पादकः भिक्टोरिया म्युजिक

 


हँसाउनेहरुलाई भ्याई नभ्याई

कृष्ण शाह यात्री

तस्विरहरूः किरण पाण्डे
प्रचण्ड र राजा ज्ञानेन्द्र को क्यारिकेचर गर्दै कलाकार मनोज गजुरेल।

सङ्गीत यतिबेला नेपालका कनिष्ठदेखि वरिष्ठसम्म प्रायः सबै हास्यकलाकारहरू गाईजात्रे प्रस्तुतिहरूमार्फत् र्शकहरूसँग प्रत्यक्ष साक्षात्कार गरिरहेका छन्। अडियो, भिडियोमार्फत् दर्शकका घर–घर पुगिरहेका कलाकारहरूका लागि समेत गाईजात्राको सन्दर्भ आकर्षक आर्जनको अवसर सावित भएको छ।
यसपल्टका गाईजात्रे कार्यक्रमहरू परिवर्तित राजनीतिक अवस्था र विगतको शाही सरकारका कुशासनका सन्दर्भहरूमा बढी केन्द्रित छन्। नयाँ आकर्षण चाहिँ राजालाई पात्रका रूपमा उभ्याई गरिएका व्यङ्ग्यप्रहारहरू हुन् जुन विगतका वर्षहरूमा देख्न पाइन्नथ्यो। व्यङ्ग्य–कलाकारले समातेका थप विषयहरू हुन् आठ दलका शीर्षस्थ नेता, शाही सरकारका मन्त्री र तिनका विसङ्गत क्रियाकलाप। कलाकार मनोज गजुरेल राजा ज्ञानेन्द्र र प्रचण्डकै रुप र हाउभाउमा मञ्चमा प्रस्तुत भइरहेका छन्।

राजधानीमा यो वर्षका गाईजात्रे कार्यक्रमहरू मूलतः दुई समूहमा देखिए। बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र नेपाल प्रज्ञा–प्रतिष्ठानमा क्रमशः मह गाईजात्रा र तीतेजिरे गाईजात्रा का नाममा अलग–अलग समूहले आफ्नो कौशल देखाइरहेका छन्। ३ भदौसम्म देखाइँदैछन् यी कार्यक्रम। नारद खतिवडालगायतका केही कलाकार भने टेलिभिजनका दर्शक हँसाउँदै झुल्किए।

दुई वर्षपछि 'टुबोर्ग मह गाईजात्रा' लिएर दर्शकसामु प्रस्तुत भएको मह जोडीले प्यारोडी, दोहोरी र प्रहसनमार्फत् दर्शकलाई मनोरञ्जन दिइरहेको छ। निरङ्कुशताले अझै टाउको उठाउन सक्ने सम्भावना जीवित रहेकाले सबैले सजग रहनुपर्ने सन्देश दिनसमेत उनीहरूले भ्याएका छन्। मह जोडीलाई किरण के.सी., नरेन्द्र कंसाकार, शिवहरि पौडेल, सुरेन्द्र के.सी., कमल मैनालीले साथ दिएका छन्।अर्जुन पराजुलीको व्यङ्ग्य कविता र सङ्गीतकार सुरेश अधिकारीको प्यारोडी गीतलाई पनि दर्शकले निकै मन पराए। भर्खरै जापानबाट फर्किएकी अभिनेत्री गौरी मल्लको उद्घोषण कलालाई महले 'क्यास' गरेका छन् यसपल्ट।

प्रज्ञाभवनमा भने नेपाल टेलिभिजनबाट प्रसारण भइरहेका लोकप्रिय हास्यशृङ्खला 'तीतो सत्य', 'जीरेखुर्सानी' र 'मेरी बास्सै' का कलाकारहरूले संयुक्त रूपमा 'तीते–जिरे गाईजात्रा महोत्सव साथमा मेरी बास्सै' मार्फत् दर्शकसँग साक्षात्कार गरिरहेका छन्। दीपकराज गिरीको समूह, जितु नेपाल र दमन रुपाखेतीको समूह र 'मेरी बास्सै'का धुर्मुस (सीताराम कट्टेल) र केदार घिमिरेको जोडी यसका आकर्षणहरू हुन्। यी तीनै समूहले समसामयिक राजनीतिक विषयलाई नै आफ्नो प्रस्तुतिको मूल विषय बनाएका छन्। दीपकराज गिरीले देशको शासनव्यवस्था अस्पतालबाटै सञ्चालन भएको प्रसङ्गलाई प्रहसनमा समेटेका छन्। उनलाई दीपाश्री निरौला, निर्मल शर्मा, गोपाल नेपाल फिस्टे, निराजन सिग्देल आदिले साथ दिएका छन्।

जितु र दमनले नेपाल–भारतको सम्बन्धमाथि व्यङ्ग्य गरेका छन् भने 'तीतो सत्य'का रवि डङ्गोल, पूर्ण थापा, गोपाल अधिकारी र मञ्जु श्रेष्ठ, 'मेरी बास्सै' का सीताराम, केदार र अञ्जना घिमिरे, 'जीरेखुर्सानी'का अञ्जु महर्जन र सविता गुरुङ, हास्यकलाकारद्वय रमेश अधिकारी र शिवहरि वैरागीले विविध तरिकाले दर्शक हँसाउने कोशिश गरेका छन्। शैलेन्द्र सिम्खडा, सोमनाथ सुवेदी र मनोज गजुरेलको क्रेज यसपल्ट पनि उत्तिकै देखियो। यद्यपि, सबै प्रस्तुति हास्यव्यङ्ग्यका दृष्टिले उच्चस्तरका छैनन्। कतिपय प्रस्तुतिलाई ठाडो गाली र चिच्याहट भन्दा फरक पर्दैन। यति हुँदाहुँदै पनि परम्परा निर्वाहका रूपमा दर्शकले यिनलाई तालीको स्वागत दिने गरेका छन्।

मह गाईजात्रामा मह जोडीको प्रस्तुति।

गाईजात्रालाई डबली र चोकहरूबाट उठाएर महोत्सवका रूपमा भने २०३३ सालदेखि मनाउन थालिएको हो। २०४७ सम्म नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रतियोगितात्मक 'गाईजात्रा महोत्सव'को आयोजना गर्दथ्यो। मह, सन्तोष पन्त, शैलेन्द्र सिम्खडा जस्ता उम्दा हास्यकलाकारहरूका प्रस्तुतिहरूले त्यो बेला खुबै चर्चा बटुले। २०४७ सालमा प्रज्ञाले महोत्सव गर्न छाडेपछि रङ्गमञ्चमा गाईजात्रे प्रस्तुतिलाई निरन्तरता दिन 'हास्यकलाकार समूह' गठन भयो। सन्तोष पन्त, साम्दे शेर्पा, शैलेन्द्र सिम्खडा, उज्ज्वल पौडेल, शिवहरि वैरागी, खेम शर्मालगायतका कलाकारहरू रहेको यो समूहले २०६१ सालसम्म अलग्गै गाईजात्रा महोत्सव गर्दै आएको थियो।

हास्यकलाकारहरू गाईजात्रे अडियो र भिडियो निर्माणमा पनि भ्याई नभ्याई लागिपरेका छन्। यीमध्ये जीतु–दमनको 'गणतान्त्रिक खाँडो', कमल गाउँलेको 'नछोड जनता नछोड', केदार घिमिरे र सीताराम कट्टेलको 'श्रीपेचको पेच', रेशम चौधरीको 'भैँसी जात्रा', विनोद थपलियाको 'घरबारदेखि दरबारसम्म', नारायण त्रिपाठीको 'लुरे सरकार', शेखर खनाल र शिवशङ्कर रिजालको 'कर्फ्यू', गोपाल नेपाल फिस्टेको 'नयाँ दुलही'' रहरि कार्कीको 'वार कि पार' चर्चामा रहेका छन्।


जनबोलीका संवाहक अलिमिया

हरिदेवी कोइराला

रुन्छन् मुसा कोही छैन आँटीमा
बित्यो जीवन अँधेरो ठाँटीमा.....

२०४५ सालमा लोककवि अलिमियाँको पहिलो रेकर्डेड यो गीतमा मेरो स्वर छ। उहाँको रेकर्ड भएको दोस्रो गीत आकाशमा 'बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ...' पनि मेरै स्वरमा रहेको छ। अलिमियाँको गीत पहिलो पटक मेरो स्वरमा रेकर्ड भएको घटना मेरा लागि साँच्चै अविस्मरणीय बनेको छ। मैले जीवनमा सयौँ गीत गाइसकेकी छु तर उहाँले लेखेका गीतहरू गाउँदा छुट्टै खाले गर्वको अनुभूति भएको थियो। प्रेमराजा महत, दुर्गा रायमाझी र पुरुषोत्तम न्यौपानेले पनि उहाँका केही गीतहरू गाउनुभएको छ।

२०२९ सालतिर मेरो पहिलो पटक उहाँसँग भेट भएको थियो। त्यतिबेला उहाँ भारतीय पेन्सन क्याम्प रहेको रामबजार (पोखरा) मा चुरा धागोको व्यापार गर्नुहुन्थ्यो। पोखरामा हुने विभिन्न साहित्यिक कार्यक्रमहरूमा उहाँसँग मेरो भेटघाट भइरहन्थ्यो। मलाई सधंैँ छोरीको रूपमा हेर्नुहुन्थ्यो र पिताको माया दिनुहुन्थ्यो। मैले पनि पिता समान मानेँ। निजी सम्बन्धको यो पाटो छोडेर भन्ने हो भने अलिमियाँ एउटा सिङ्गो इतिहास जस्तो लाग्छ मलाई। जुन इतिहासमा जनपक्षीय गीत/कविता, शोषित पीडितका कथा अनि जनबोलीका शब्द पाइन्छन्। स्वाध्यायनबाट साक्षर भएका मियाँलाई एक पटक लेखेका/कथेका गीत कविता सधैँ कण्ठस्थ हुन्थे। पीडा र अभावमा, आमाविहीन छोराछोरीलाई उहाँले मेलापात गरेर हुर्काउनुभयो। अत्यन्तै स्वाभिमानी उहाँले फाइदाका लागि कहिल्यै काम गर्नुभएन। आफ्ना कृतिलाई विनिमयमा राख्नुभएन। बरु उहाँ एक्लै वनमा गएर न्याउली अनि खोलानालासँग रुनुभयो तर कसैको जुठोपुरो खानुभएन।

२४ वर्षको उमेरमा उहाँ भारतीय सेनामा भर्ती हुनुभएको थियो। दोस्रो विश्वयुद्धको लडाइँमा लोककवि बर्मा पुग्नुभएको थियो। पछि राष्ट्रले अन्तस्करणबाट बोलाएपछि २००३ सालमा आफू नेपाल फर्किएको उहाँ बताउनुहुन्थ्यो। मुसलमान समुदायमा जन्मिएपनि उहाँका रचनामा हिन्दू, बौद्ध तथा मुस्लिम समुदायप्रति उत्तिकै सम्मान, सहिष्णुता र एकताका सन्देश झल्कन्छन्। मियाँलाई प्रेम र मानवताका पुजारी भन्दा फरक पर्दैन। जीवनको अन्तिम क्षणसम्म पनि उहाँले लोक संस्कृतिप्रति चिन्ता व्यक्त गरिरहनुभयो। पछिल्लो समयमा नयाँ पुस्ताले नेपाली संस्कृति अनुसरण नगरेकोमा उहाँको चिन्ता थियो। “हाम्रो संस्कृतिलाई बचाइराख्नुपर्छ है”, उहाँको यो भनाइ मेरो कानमा अझै गुञ्जिरहेको छ।

दश वटा पुस्तकाकार कृतिका स्रष्टा अलिमियाँको १८ साउनमा ८८ वर्षको उमेरमा निधन भयो। बिरामी हुँदा उहाँ सधैँ 'छोरीलाई बोलाइदेऊ' भन्दै मलाई सम्झिरहनुहुन्थ्यो रे! उहाँ बित्नुभन्दा दुई दिन अघिमात्रै पनि म उहाँलाई हेर्न पुगेकी थिएँ। उहाँले 'छोरी मलाई नबिर्सनु है' भनेको अझै झलझली याद आइरहेछ। लोककविले जीवनमा ६ वटी जीवनसँगिनी बनाउनुभएको थियो तर मृत्युशैय्यामा रहँदा मुखमा पानी हाल्ने एक जना पनि उहाँका साथमा थिएनन्। उहाँका चार छोरा, तीन छोरी र ७२ नातिनातिना छन्।

उहाँको स्मृतिमा दश वर्षअघि गठन भएको लोककवि अलिमियाँ लोकवाङ्मय प्रतिष्ठानकोे म पनि संस्थापक सदस्य हुँ। हामी त्यही संस्थामार्फत् उहाँका सपनाहरूलाई पूरा गर्ने प्रयत्नमा छौँ। प्रतिष्ठानले स्वर्गीय मियाँको बारेमा करीब दुई घण्टाको वृत्तचित्र बनाउँदैछ। “म सँगै मेरो गला पनि मर्ने भयो” उहाँले सधैँ भन्ने गरेको यो भनाइले मलाई अझ पनि नरमाइलो लाग्ने गर्छ। उहाँको गाउने शैली पनि पृथक् थियो। त्यो शैलीलाई हामीले रेकर्ड गर्न पाएनौँ। दुःखको कुरा, अहिलेसम्म उहाँको त्यो पृथक् गायन–शैलीलाई अनुसरण गर्ने नयाँ पुस्ता देखिएको छैन।

त्रिभुवन पौडेलसँगको कुराकानीमा आधारित


महेन्द्रले खोस्ट्याएका थापा

सुरिलो स्वरमार्फत् अन्यायविरुद्धको आगो ओकल्ने जनप्रिय साहित्यकार धर्मराज थापालाई 'राजावादी कवि' का रुपमा अर्थ्याइनु उनीमाथिको अन्याय हो।

'भानु सेवा समिति' ले भानुजयन्तीका अवसरमा हरेक वर्ष आयोजना गर्ने कवितावाचन कार्यक्रममा सधैँजसो निम्त्याइने व्यक्ति हुन् धर्मराज थापा। २०३५ सालको भानुजयन्तीमा पद्मकन्या क्याम्पसको एउटा हलमा आयोजित त्यस्तै कार्यक्रममा वक्ता थिए आनन्ददेव भट्ट। प्रमुख अतिथि चाहिँ उनै जनप्रिय कवि धर्मराज थापा थिए। कार्यक्रमले अचानक अनौठो मोड लियो। भट्टको भाषण भानुभक्तभन्दा प्रमुख अतिथितिर मोडियो; आँतमा अन्याय विरुद्धको आगो र गलामा स्वरको जादू बोकेको त्यो व्यक्तित्व कसरी निरीह भएर बस्न बाध्य छ भन्ने लामो कहानीतिर।

२०१३ सालको कुरा रहेछ। तत्कालीन राजा महेन्द्र निजी भ्रमणमा हेलिकप्टरबाट धनकुटा गएका रहेछन्। उनले त्यहाँ थुप्रै स्वागतद्वार देखेर प्रश्न गरेछन्, “जनतालाई मेरो निजी भ्रमण कसरी थाहा भयो?” सँगै रहेका सैनिक अधिकृतले बताएछन्, “स्वागतद्वार मौसुफका लागि होइनन्, धर्मराज थापाका लागि हुन्।” यो उदाहरणसहित भट्टले त्यतिबेला धर्मराज थापा भनेपछि गाउँशहरका जनता कसरी झुम्मिन्थे र झुम्थे भन्ने बयान गरे। राजा महेन्द्रले थापालाई क्याम्पमा बोलाएर तारिफ मात्रै गरेनन्, उनको प्रतिभाको कदर गरिने बताएर काठमाडौँमा भेट्ने चाहना समेत व्यक्त गरे। थापा काठमाडौँ नफर्कदै उनलाई 'जनकविकेशरी' उपाधि दिइएको घोषणा गरियो। उनी बिस्तारै जनसांस्कृतिक फाँटका आफ्ना साथीहरू भन्दा राजा महेन्द्रसँग नजिक हुँदै गए। यतिसम्म कि उनले 'महेन्द्रचन्द्रोदय' भन्ने खण्डकाव्य नै लेखे। उनका अगाडि जनता झुम्मिन छाडे। महेन्द्रलाई पनि जनप्रियताको हतियारबाट निरस्त्र भएका थापाको महत्त्व भएन।
थापामाथिकोे भट्टको भाषणपछि श्रोतामा सम्मान, सहानुभूतिको भावसहित असमञ्जसता मडारियो। त्यतिबेला तीनधारा संस्कृत छात्रावासबाट निस्कने अरुणोदय साहित्यिक पत्रिकाको सम्पादन समूहमा म पनि थिएँ। मैले पनि उनलाई संवेगपूर्ण सम्मान देखाएँ र भेट्ने इच्छा व्यक्त गरेँ। “आज अतीतका कुरा लिएर बाबु आउँदा गोकुलप्रसाद जोशीको सम्झना भइरहेछ,” भेट्ने समय निर्धारण गरेपछि उनले भने, “ऊ बाबुजस्तै पातलो र जोशिलो थियो।” थापाले असनका डबलीमा गाएका जागरण गीत साहित्यकार जोशीले छापेर बेचेका रहेछन्।

केही दिनभित्रै म थापाको स्वयम्भूस्थित घरमा पुगेँ। घरको उत्तरतिर रहेको मतानमा बसेर हामीले कुराकानी गर्‍यौँ। वरिपरि असरल्ल किताब र पाण्डुलिपिहरू थिए। तिनले उनको निरीहता झल्काउँथे, निभेको अगुल्टोजस्तै। उनले देशका विभिन्न ठाउँमा गएर टिपेका भाका र रचेका गीत सुनाए। म भोजपुरमा जन्मे–हुर्केको थाहा पाएपछि त्यतातिरका थुप्रै गीतका टुक्रा सुनाए उनले। एउटा चाहिँ अलि रसिक थियो। त्यसको मुखडा सम्झन्छु, “एक पैसाका दुई दाना, क्या हुन् ती सान्साना।” छोरी ज्ञानु राणासँग नारायण गोपालले गाएको 'नबोले पनि हाँसन, सुन मेरो निर्माया...' बोलको गीत उनले निकै उत्साहका साथ सुनाए।

मैले केही दिनअघि भट्टले उठाएको प्रसङ्ग कोट्याएँ। उनले सबै स्वीकारे, “मलाई साथीहरूसँग अलग्गिसकेको पत्तै भएन। जब मैले महसूस गरेँ, त्यतिबेला ढिलो भइसकेको थियो, फर्कने ठाउँ थिएन।” अनि, चस्मा फुकालेर आँसु पुछ्दै उनले भने, “त्यो (महेन्द्रचन्द्रोदय) मेरो पतनको प्रमाण थियो।” थापाले यसै विषयमा लेखुन् भन्ने मेरो चाहना थियो तर लेखेनन्। उनले अरुणोदय लाई दिएको अर्को लामो लेख छाप्न सकिएन। त्यसपछि फेरि भेट भएको छैन। मैले भेटेको बेलामा भन्दा उनका पाण्डुलिपि झनै असरल्ल होलान्। उमेरसँगै निरीहता पनि थपियो होला। तर मैले उनमा सङ्गीतप्रति समर्पित निष्कल्मस आत्मा पाएको थिएँ। त्यसैले राजावादी भएको एकतर्फी दोष दिएर उनको महत्त्व नामेट पार्नु उचित लागेन। कमसेकम उनका सहकर्मीले उनलाई मृत्युअघि दोषमुक्त गरुन् या यसको प्रतिवाद गरुन्। अन्यथा धर्मराज थापा त्यो अभिश्ाप्त इतिहासबाट सधैँ प्रताडित भइरहने छन्। राजाले खोस्टो तुल्याएका ती जनपक्षीय साहित्यकारमाथि अन्याय हुनेछ। थापा सशरीर रहँदै यो कुरा सार्वजनिक गर्नु जरुरी छ।

टीका भट्टराई


विविध

सार्थक कामसगै आगमन

युवा गायक रामकृष्ण ढकाल (३१) ले गीत गाउन थालेको २० वर्ष नाघेपनि धेरै कुरामा उनको आगमन भर्खरै भएको छ। २० साउनमा भक्तपुर क्यान्सर अस्पतालको सहयोगार्थ राजधानीमा एकल कार्यक्रम प्रस्तुत गरेर उनले अर्को सार्थक कामको थालनी गरेका छन्।

यसपटकको आफ्नो आगमन लाई कसरी लिनुभएको छ?
मेरो साङ्गीतिक यात्रामा 'आ' शब्दको बेग्लै महत्त्व छ। २०५० सालको 'आशीर्वाद' देखि यो वर्षको आठौँ अल्बम 'आगमन' सम्म आइपुग्दा मैले 'आ' सँगको सहयात्रा छोडेको छैन। यस पटक अल्बमसँगै मेरो सङ्गीत र जीवनयात्रामा पनि नयाँ आगमनहरूको संयोग जुटेको छ। म यसैपल्ट गायकबाट सङ्गीतकार बनेँ भने मेरो घरमा भदौको पहिलो साताभित्रै नयाँ पुस्ताको आगमन हुँदैछ।

समाजसेवाको सोच कसरी आयो?
म दुःखमा हुर्किएर आएको मान्छे हुँ। दुःख कस्तो हुन्छ मैले भोगेको छु। मलाई जहिले पनि दुःख पाएकाहरूका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो। म्युजिक नेपालका सन्तोष शर्मा रोटरी क्लबसँग आवद्ध हुनुभएकाले 'आगमन' अल्बम सार्वजनिक गर्दा यसलाई सार्थक कामका लागि उपयोग गर्ने सोच बन्यो र “क्यान्सर विरुद्ध रामकृष्ण ढकालको आगमन” नामक एकल कार्यक्रम गर्दै अल्बम सार्वजनिक गरेँ।

कस्तो सहयोग जुट्यो?
टिकट र चन्दाबाट रु.२२ लाख जति सङ्कलन भयो। थप चन्दादाताहरूबाट अरू ५ लाख प्रदान गर्ने घोषणा भएको छ। कार्यक्रम मैले निःशुल्क गरेको हो। 'आगमन'को प्रति सीडी बिक्रीको रु.५ र क्यासेटको रु.२ क्यान्सरकै लागि जानेछ। मैले नामका लागि नभएर आत्मसन्तुष्टिका लागि यसो गरेको हुँ।

गीत गाउँदा–गाउँदा दिक्क भएर संगीत सृजनामा लाग्नुभएको हो?
त्यसो हैन। पहिलेदेखि नै सङ्गीत गर्ने चाहना थियो जुन यसपालि पूरा भयो। मैले सङ्गीत गरेको “दिलको कुरा नगर दिलमाया, धेरै भयो सिसा झैँ फुटेको...” गीत दर्शक/श्रोताले मनपराउन थालेकाले उत्साह बढेको छ।

दुई दशक लामो गायन यात्रालाई फर्केर हेर्दा कस्तो लाग्छ?
समय र सङ्घर्षको अन्तर मात्र हो। राम्रो गायक बनुँला, टी.भी.मा अनुहार देखाउन पाइयोस्, रेडियोको फर्माइसमा गीत बजोस् भन्ने चाहना थियो। सबै चाहना पूरा भएका छन्। सयभन्दा बढी चलचित्रका गीतलाई समेत गन्दा हजार भन्दा बढी गीत गाइयो, गायकबाट नायक पनि भइयो, मन परेको जीवनसाथी पाएँ। तर नमरुञ्जेल यो यात्रा पूरा नहुने रहेछ।

प्रतिस्पर्धा निकै गर्नु परिरहेको होला नि?
प्रतिस्पर्धा त निकै नै छ। मैले रोजेको गायन क्षेत्र सदाबहार भए पनि मेहनत उस्तै गरिरहेछु। पहिले आफूलाई कसरी परिचित गराऊँ भन्ने ध्याउन्न हुन्थ्यो भने अहिले यो क्षेत्रमा सधैँ कसरी टिकिरहने भन्नेछ।

अनुशील


सकियो फेशन सप्ताह

राजधानीको हायात् रिजेन्सीमा आयोजित सनसिल्क फेशन सप्ताह–२००६ (२५–२९ साउन) को रमझम भर्खरै सकिएको छ। इण्डियन एजुकेशन सेण्टर अफ फेशन डिजाइनिङ एण्ड इण्टेरियर डेकोरेशन (आइइसी) को आयोजना र युनिलिवर नेपालको मुख्य प्रायोजनमा १४ नेपाली र ८ भारतीय गरी २२ जना मोडल सात सयभन्दा बढी पहिरनमा पाँच दिनसम्म र्‍याम्पमा प्रस्तुत भएका थिए। सप्ताहमा नयाँ पुराना १३४ डिजाइनर तथा केही बुटिकले समेत सहभागिता जनाएका थिए। भारतीय ग्लाडर्स मोडल हण्ट का विजेता सुपर मोडलहरू समेत सहभागी रहेको सो सप्ताहमा नायक–नायिका, गायक–गायिका, टीभी एङ्कर र डिप्लोम्याटहरूसमेत र्‍याम्पमा प्रस्तुत भएका थिए। आयोजना स्थलमा डिजाइनरका पहिरन, घडी, ज्वेलर्स, कस्मेटिकका ३२ स्टल समेत राखिएका थिए।

जीवनदेखि जीवनसम्म

सम नाटकघर, गुरुकुलमा १७–२६ साउनमा बुद्ध धर्ममा आधारित नारीप्रधान नाटक जीवनदेखि जीवनसम्म को सफल मञ्चन भयो। अभि सुवेदीद्वारा लिखित सो नाटकको परिकल्पना र निर्देशन सुनिल पोखरेलले गरेका हुन्। नाटकमा वीरेन्द्र हमाल, राजन खतिवडाको मञ्च संयोजन र सुनिल पोखरेल तथा राजकुमार पुडासैनीको प्रकाश व्यवस्थापनले समेत निकै प्रशंसा पाएको थियो। हमालले नाटकको गीत संयोजन, सहनिर्देशनसँगै प्रत्यक्ष सङ्गीतमा सरिता मिश्रलाई समेत साथ दिएका थिए। जीवनदेखि जीवनसम्म मा निशा शर्मा पोखरेल, राजकुमार पुडासैनी, सौगात मल्ल, सरिता गिरी, अरुणा कार्की आदिको मुख्य अभिनय रहेको छ।

नेपथ्यसँग रमाउँदै

नेपालयले २२–२३ साउनमा रूसी सांस्कृतिक केन्द्रमा दृष्टिविहीन, अपाङ्ग तथा बहिरा र सुस्तमनस्थितिका दर्शकहरूमाझ नेपथ्य लाई प्रस्तुत गर्‍यो। 'नेपथ्य सबैको लागि' को पाँचौँ र छैटौँ शृङ्खलाअन्तर्गत प्रस्तुत भएको सो साङ्गीतिक कार्यक्रममा गायक अमृत गुरुङले आफ्ना एक दर्जनभन्दा बढी चर्चित गीतहरू गाएका थिए। बहिराहरूका लागि दोभाषेमार्फत् साङ्केतिक भाषासमेतको प्रयोग गरिएको थियो। कार्यक्रमको संयोजन नेपालयकी सैजन मास्केले गरेकी थिइन्।