हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक | परिचय

झेल्ली खेलाडीलाई वात्स्यायनको चेतावनी

किताबः वात्स्यायन एण्ड हिज बार्बस्
संयोजक/प्रस्तुतकर्ताः अजित बराल
प्रकाशक फाइन प्रिन्ट, काठमाडौँ, २०६३
पृष्ठः १४७+, मूल्यः रु.७००

कार्टुनिष्ट वात्स्यायन वर्षेदेखिका (दुर्गा बराल) चालीस वर्षदेखि 'अम्पाएर' को भूमिकामा निरन्तर सिठ्ठी बजाइरहेका छन्। तर राजनीतिका खेलाडीहरू सुध्रनुको साटो 'फल' (झेल्ली) खेलेका खेल्यै छन्।
वात्स्यायनको भर्खरै प्रकाशित कार्टुन सङ्ग्रह वात्स्यायन एण्ड हिज बार्बस् (वात्स्यायन र उनका घोचपेचहरू) पल्टाउँदा हरेकको मनमस्तिष्कमा यही दृश्य उभिन आउँछ।

नेपाली कार्टुन–विधाका अग्रज स्रष्टा वात्स्यायनले समयक्रममा राजनीतिदेखि सामाजिक परिवेशसम्मका अनगिन्ती घटनाक्रमलाई आफ्नो तीखो नजरले हेरेर, केलाएर पाठकसामु पस्किदिएको खुराकहरूको सङ्ग्रह हो यो पुस्तक। एक हिसाबले भन्ने होभने, 'फल' खेल्न माहिर राजनीतिज्ञहरूलाई चेतावनीस्वरुप बजाइएका सिठ्ठीका स्वरहरूको सँगालो होे यो। २०४६ सालपछिका कार्टुनहरूको सङ्ग्रह भनिए पनि मूलतः विगत ४/५ वर्षका कार्टुनहरू यसमा सङ्गृहीत छन्। सङ्ग्रहको पहिलो भागमा राजनीतिक कार्टुन र दोस्रो भागमा सामाजिक कार्टुनहरू समेटिएका छन्।

राजनीतिक कार्टुन

दोस्रो विश्वयुद्धताका ब्रिटेनका कार्टुनिष्ट डेविड लोका व्यङ्ग्यहरू खुबै सशक्त हुन्थे। परिणामस्वरुप, हिट्लरले उर्दी नै जारी गरे, 'या त यो व्यक्तिलाई मारिदिनू नभए यसको मुखमा कपडा कोचिदिनू।' शासकहरू कार्टुनिष्ट देखेर कतिसम्म भयभीत हुन्छन् भन्ने कुराको दृष्टान्त थियो त्यो घटना। नेपालको सन्दर्भमा शासकहरूलाई त्यसै गरी तर्साउन सक्ने एक्लो कार्टुनिष्ट हुन् वात्स्यायन। नेकपा एमालेको नौ महिने शासनकालमा गोरखापत्र मा छापिएको एउटा कार्टुन (पृष्ठ ६२, दोस्रो) लार्ई लिएर तत्कालीन सम्पादक तारा बरालले प्रतिनिधिसभामा दिनुपरेको स्पष्टीकरण र राजाको शासनकालमाकान्तिपुर मा छापिएको कार्टुन (पृ. ७८) लाई लिएर तत्कालीन मन्त्री टङ्क ढकालद्वारा मच्चाइएको वितण्डा यसका उदाहरण हुन्।

२०४६ सालपछिका वात्स्यायनका धेरै राम्रा कार्टुनहरू छुटे पनि 'रचनात्मक भूमिका' (पृ. १९) 'तपाईंहरूलाई कस्तो लाग्छ?' (पृ. ३२) 'प्रधानमन्त्रीलाई खोज्नु भा' हो? म यहाँ छु' (पृ. ३६), 'गाडी फिर्ता गर्ने भइयो...'(पृ. ३७), पृष्ठ ५३ का दुवै कार्टुन, चेजएअर (पृ. ५४), भुटानी शरणार्थीसम्बन्धी कार्टुन (पृ. ५५), सार्क खाद्य भण्डार (पृ. ७३), राष्ट्रवादी शिक्षा (पृ. ७७), प्रधानसम्पादक (पृ. ८२), ह्युमन राइट्स (पृ. ८५) आदि कार्टुनहरू नेपाली व्यङ्ग्यचित्र इतिहासका कोसेढुङ्गा भइसकेका छन्।

जनआन्दोलन–२०४६ का महारथी, नेपाली राजनीतिका एक प्रमुख पात्र गणेशमान सिंहका कार्टुन कतै नदेख्दा भने यो सङ्ग्रहको राजनीतिक भाग अपूर्ण र खल्लो नैे लाग्छ। तत्कालीन वाममोर्चाबारे बनाइएका थुप्रै राम्रा कार्टुनहरू समेटिन नसक्नु पनि यो सङ्ग्रहका कमजोर पक्ष हुन्। हुन त त्यसो हुनुमा प्रकाशक 'फाइन प्रिन्ट' ले (ती कार्टुन राम्रो अवस्थामा उपलव्ध नभएको सङ्केत गर्दै) 'प्राविधिक कारण' भनेको छ।

सामाजिक कार्टुन
राजनीतिक कार्टुनहरूका तुलनामा सामाजिक कार्टुनहरूको खण्ड झनै उत्कृष्ट छ। शहरका समस्या, गाउँघरका कठिनाइ, प्रशासनमा ढिलासुस्ती, डाक्टर–पुलिसका नियत आदि विविध विषयमा बनाइएका सामाजिक कार्टुनहरूले पुष्टि गर्छन्– शहर, गाउँ, बस्ती सबैका कार्टुनिष्ट हुन् वात्स्यायन। उनी कुनै एउटा वर्गमा मात्र सीमित छैैनन्। आम नागरिकका समस्या, खुसी, झगडा, सपना र विद्रोह/विरोधाभासहरू यो खण्डका कार्टुनहरूमा देख्न पाइन्छ। त्यसैले दाबीका साथ भन्न सकिन्छ– यी कार्टुन हँसाउनका लागि मात्र लेखिएका हैनन्, एउटा उन्नत समाज बनाउनका लागि पनि हुन्।

'ऊ देख्यौ हुनेखाने भएपछि...' (पृ. ८९), पृष्ठ १०० को छुवाछूतसम्बन्धी कार्टुन, 'परित्यक्त' (पृ. १०४) 'बा, ए बा बृद्धभत्ता' (पृ.१३२) आदि कार्टुनहरू साँच्चै मार्मिक छन्। पृष्ठ ९२ को कार्टुन, पृ. ९८ वर्षासम्बन्धी कार्टुन, पृ. १०१ को बोर्डिङ स्कूल, पृष्ठ १४४ को 'चश्मा र सपना' जस्ता कार्टुनहरू सङ्ग्रहमा नराखिएको भए राम्रो हुन्थ्यो। बाँकी कार्टुनहरू उत्कृष्ट छन्। सङ्ग्रहको आवरण–सज्जा राम्रो छ। भित्र चाहिँ कार्टुनहरूको रखाइ मिलेको छैन। कार्टुनलाई उत्कृष्टताका आधारमा ठाउँ दिए राम्रो हुन्थ्यो। छपाइ साँच्चै नै अव्वल छ। औसत नेपाली पाठकका लागि भने पुस्तक महँगो छ।

अन्त्यमा, “कार्टुनिष्टको दृष्टि अरूभन्दा फरक हुन्छ। ऊ निष्पक्ष, स्वतन्त्र व्यक्ति हो। ऊ न्यायपालिकाभन्दा पनि बढी निष्पक्ष हुन्छ। ऊ जनता र पाठकको वास्तविक प्रतिनिधि हो। कार्टुनिष्ट एउटा आँखीझ्याल जस्तै हुन्छ जसले लाखौं मान्छेको गुम्साहटलाई भगाउन सफा हावा भित्र पठाउँछ” यो भनाइ भारतीय राजनीतिक पार्टी शिवसेनाका प्रमुख बाल ठाकरेको हो। ठाकरे स्वयं कार्टुनिष्ट हुन्। कार्टुनिष्ट वात्स्यायनले यो सङ्ग्रहमार्फत् त्यो भनाइलाई पुष्टि गरेका छन्।

रविन साय्मि


मधेसलाई हेर्ने दृष्टिकोण

कितावः मधेसः समस्या र सम्भावना
सम्पादकः वसन्त थापा र मोहन मैनाली
प्रकाशकः सोसल साइन्स वहाः
ललितपुर, २००६
पृष्ठः १५३+ मूल्यः रु.१७५

नेपालको कुल जनसङ्ख्याको आधा मानिस मधेसमा बसोबास गर्छन्। यो भू–भागलाई देशको अन्नभण्डार पनि मानिन्छ। तथ्याङ्क विभागले उल्लेख गरेको नेपालका ९२ भाषाभाषिकामध्ये १५ वटा तराई वा मधेसमा बोलिन्छन्। आर्थिक विकासको मेरुदण्ड मानिने धेरैजसो उद्योगधन्दा पनि मधेसमै स्थापित छन्। तर पनि त्यहाँका जनताले राष्ट्र–निर्माणमा आफूहरूलाई समावेश नगरिएको र राज्यबाट उपेक्षित एवं अपहेलित हुनुपरेको ठान्छन्। मधेसमा थुप्रै सम्भावनाहरू भ्ाएपनि राज्यले त्यसमाथि उचित ध्यान दिन सकेको देखिँदैन। यस्तै कुराहरूलाई महत्त्वका साथ उठाएको छ; मधेसः समस्या र संभावना ले। यो कृति सोसल साइन्स वहाः द्वारा मार्च २००५ मा आयोजित 'मधेस समस्या र सम्भावना' विषयक दुईदिने राष्ट्रिय सम्मेलनमा प्रस्तुत कार्यपत्रहरूको सम्पादित रुप हो।

किताबमा रामावतार यादवले मधेसी भएकै कारण भोग्नुपरेका पीडा, एम्. बर्नाडोको 'तराईः मुग्लानको भाग वा गोर्खाको?' शीर्षकको अध्ययन, मृणमोय मजुम्दारको धनी ठाउँ भएर पनि गरीब अर्थतन्त्रमा बाँचिरहेको नेपालको तराई, अर्जुन गुनरत्नेको 'थारू र राज्यः प्रजातन्त्र, राज्य निर्माण र जनजाति पहिचान'; जगन्नाथ अधिकारी, हरि ढुङ्गाना र ओमप्रकाश देवको तराईको वन व्यवस्थापनबारेको रोचक तथा यथार्थपरक अनुसन्धान, योगेन्द्रप्रसाद यादवको 'तराईका भाषाहरूः सन्दर्भ र सम्भावना', बी.सी. उप्रेतीको नागरिकताको राजनीति, के ह्योमेको मधेसीप्रतिको विभेद र समानता आन्दोलन तथा धीरेन्द्र प्रेमर्षिको मधेसलाई साँचो अर्थमा चिन्न र बुझ्न नसक्ने नेपाली मिडियाबारेको टिप्पणी सङ्गृहीत छन्।

किताबमा मधेसको समस्यालाई मात्र केलाइएको छैन, मधेसीहरूलाई समावेशीकरणको माध्यमद्वारा राज्यको मूल प्रवाहमा ल्याउनुपर्ने खाँचो समेत औँल्याइएको छ। तराई एकातिर प्राकृतिक साधन–स्रोत, मानव संशाधन र भाषा–संस्कृतिले समृद्ध छ भने अर्कोतिर गरीबी, विपन्नता र पछौटेपनजस्ता समस्याहरूबाट उत्तिकै ग्रसित छ। यी समस्याहरूको समाधानका लागि राज्यले ध्यान दिनु जरुरी छ। अब हिजोका दिनमा झैँ आरक्षणको बहानामा दुईचार जना उच्च घरानियाँ वा पढेलेखेका मधेसीहरूलाई मन्त्री बनाएर वा अन्य सरकारी निकायहरूमा मनोनीत गरेर समग्र मधेसको समस्या समाधान नहुने निर्क्योलसहित शासकीय स्वरुपमै परिवर्तनको खाँचो महसूस गरिरहेका मधेसवासीको आवाजको प्रतिबिम्ब नै पुस्तकको मूल अन्तर्वस्तु हो।

पुस्तकका सम्पादकद्वयलेे कार्यपत्रहरूको नेपाली रुपान्तर गरेर नेपालीभाषी पाठकहरूलाई ठूलो गुण लगाएका छन्। मुलुकको बदलिँदो परिस्थितिमा राज्य पुनःसंरचनाको कुरा जोडतोडले उठिरहेका बेला समाज विज्ञानमा रुचि भएका पाठकहरूका लागि यो किताब उपयोगी सावित हुनसक्छ।

ध्रुब सिम्खडा


कथामा अर्को शुभारम्भ

किताबः आरम्भ अर्थात् सुरुआत
कथाकारः धीरकुमार श्रेष्ठ
प्रकाशकः विवेक सिर्जनशील प्रालि, काठमाडौँ, २०६३
पृष्ठः १०४+, मूल्य रु.७५

एउटै सङ्ग्रहमा धेरै शैली र प्रकृतिका कथा पाउनु पाठकका लागि रुचिपूर्ण कुरा हो। आरम्भ अर्थात् सुरुआत मा आकारका दृष्टिले मात्र नभएर प्रस्तुति र विषयवस्तुका दृष्टिले समेत फरक–फरक स्वरुप र चरित्रका कथाहरू छन्। सङ्ग्रहका १५ कथामध्ये अधिकांशले पाठकको मन र संवेदना एकैचोटि खिच्ने हैसियत राख्छन्।
विषयगत विविधता सङ्ग्रहको उल्लेख्य पक्ष हो। यसमा बालमनोविज्ञान, युवाचेतना, ग्रामीण परिवेश र शहरी विशृङ्खलताका अनेकौँ आयामहरू भेट्न सकिन्छ। नामजत्तिकै सुखद छ शीर्षक कथा 'आरम्भ अर्थात् सुरुआत'। 'गृहपीडा' ले झण्डैझण्डै लघु–उपन्यासको स्वाद दिन्छ। अरू कथाहरूमा आञ्चलिकता र स्वैरकल्पनाका मीठा प्रयोगहरूको अनुभव गर्न सकिन्छ। कतै–कतै शीर्षक र विषयवस्तुको सोझो तादात्म्य नदेखिए पनि कथाकार मानव–जीवनलाई 'यथार्थ, अनुभूति र चेतनाको त्रिवेणी' का रूपमा प्रस्तुत गर्न सफल देखिन्छन्। लेखकीय ऊर्जा, कल्पनाशीलता अनि प्रयोगमूलक प्रस्तुतिले सङ्ग्रहको उचाइ बढाएका छन्। सङ्ग्रहले लेखकको धीरतासँगै कथा–विधालाई कुशलतापूर्वक डोर्‍याउने उनको सीप र प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ। यसलाई सुखद शुभारम्भ मान्न सकिन्छ।


प्राप्त कृति

मुटुको सेरोफेरो
(मुटु रोगसम्बन्धी जानकारीमूलक पुस्तक)
लेखकः डा. हरिहर खनाल
प्रकाशकः रत्न पुस्तक भण्डार काठमाडौँ, २०६३
पृष्ठः १४५, मूल्यः रु.६५



पहाडी बोलीचाली
(लिम्बू, राई बान्तवा, तामाङ, नेवार, गुरुङ र मगर भाषाका बोली–चालीका शब्दहरूको सँगालो)
सङ्कलक/प्रकाशकः अञ्जु खड्का र केशरजङ्ग मगर, काठमाडौँ, २०६३
पृष्ठः ६१३177, मूल्यः रु.१००

आफैँ आफ्नो साथी भएँ
(गीत–सङ्ग्रह)
गीतकार/प्रकाशकः रमेश क्षितिज, काठमाडौँ, २०६३
पृष्ठः ८८, मूल्यः रु.६०


किराती लोककथा सङ्ग्रह
(४१ छोटा कथाको सँगालो)
सङ्कलक/सम्पादकः राजेश राई
प्रकाशकः प्रा.डा. नोवलकिशोर राई, काठमाडौँ, २०६२
पृष्ठः ९५, मूल्यः रु.५०

जापानमा ६ वर्ष
(यात्रा अनुभूति)
लेखकः केबी महर्जन
प्रकाशकः परिवेश प्रकाशन प्रा.लि., काठमाडौँ, २०६३
पृष्ठः २२९, मूल्यः रु.२५०

कायाकल्प
(कविता सङ्ग्रह)
कविः चंकी श्रेष्ठ
प्रकाशकः विवेक सिर्जनशील प्रकाशन प्रा.लि, काठमाडौँ, २०६२
पृष्ठः ६६, मूल्यः रु.४०

शब्दघोष जिजीविषाको
(कथा–सङ्ग्रह)
कथाकारः 'प्र' द्वय (प्रकाश के.सी., प्रदीप कन्दङ्वा)
प्रकाशकः सृजनशील साहित्य
समाज, हङकङ २०६३
पृष्ठः १४७177, मूल्यः रु.१०५
जीवन मेरो शब्दकोशमा
(कविता–सङ्ग्रह)
कविः नवराज सुब्बा
प्रकाशकः वाणी प्रकाशन, विराटनगर, २०६३
पृष्ठः ५९177, मूल्यः रु.१००
हामी
(साहित्य, सङ्गीत, कला र पत्रकारितामा लागेका मुकारुङ–हरूको परिचयात्मक पुस्तक)
लेखकः शुभ मुकारुङ
प्रकाशकः सम्झना र प्रभु मुकारुङ, काठमाडौँ, २०६३
पृष्ठः ४७, मूल्यः रु.१७५
बानियाँ वंशको नालीबेली
(ऐतिहासिक तथा समाजशास्त्रीय अध्ययन)
लेखक/सम्पादकः कर्णबहादुर बानियाँ क्षत्री
प्रकाशकः बानियाँ बन्धु सहयोग
समिति, काठमाडौँ, २०६२
पृष्ठः ४८८177, मूल्यः रु.५०१
इन लभ अफ अमेरिका एण्ड अदर अब्जरभेसन्स्
(कविता–सङ्ग्रह, अङ्ग्रेजीमा)
कविः हृषीकेश उपाध्याय
प्रकाशकः सोसाइटी अफ नेपाली राइटर्स इन इङ्गलिस, काठमाडौँ, २००६
पृष्ठः ५२, मूल्यः रु.१००
निष्ठुरी फर्केन
(उपन्यास)
उपन्यासकारः मनोज सार्थक
प्रकाशकः रत्न पुस्तक भण्डार २०६३
पृष्ठः १३८177, मूल्यः रु.६५