हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्मि

मुहूर्त

 

 


भनेको/सुनेको

““प्रहरीका निलम्बित उच्च अधिकृतहरू र शाही सरकारका गृहमन्त्री कमल थापाबीच अहिले पनि दिनमा एकपटक बैठक हुने गरेको कुरा आइरहेको छ। यस्ता घटनाक्रमले के देखाउँछ भने शाही सत्तासँग निकट व्यक्तिहरू अराजक स्थिति सिर्जना गर्न चाहन्छन्।”

ओमविक्रम राणा
कामु प्रहरी महानिरीक्षक
समय राष्ट्रिय साप्ताहिक, २५ साउन २०६३


अङ्क र अर्थ

५०० जना वैदेशिक रोजगारका लागि हरेक दिन विदेशिने नेपालीहरूको औसत सङ्ख्या। आ.व. २०६२–०६३ मा १,७७,५७६ जना नेपालीहरूले रोजगारीको खोजीमा देश छाडेका थिए।

२२ लाख विश्वभरि हरेक वर्ष झाडा पखालाबाट मृत्यु हुने बाल–बालिकाहरूको सङ्ख्या।

१.४२ लाख किमि विश्व साइकल यात्री पुष्कर शाहले साउन २०६३ सम्ममा १०० राष्ट्रको यात्रा गर्दा तय गरेको दूरी।

श्रम तथा रोजगार विभाग/डिएफआईडी–२००६


हिँड्दा-हिँड्दै

चार वर्षअघि सिक्किमबाट काठमाडौँ छिरेकी 'स्विटी' (रञ्जु लामिछाने) अभिनयमा दार्जीलिङ्गे लवज मिसाएर टेली–दर्शकहरूको मन जित्न खप्पीस छिन्। भन्छिन्, “समयले साथ दिए कलाकारितामै निरन्तर सक्रिय रहन्छु।”


किरण पाण्डे

आजभोलि के गर्दै हो 'स्विटी'?
के हुनु हउ, उही त हो नि! 'तीतो–सत्य' मा छ नि हउ, सुब्बा दाजुको कविता सुन्यो अनि 'कसलाई आफ्नो भनूँ' टेलिसिरियलमा अभिनय गर्‍यो। आब्बै, त्यत्तिमै दिन बितिहाल्छ नि हउ।

'तीतो–सत्य' मा कसरी आइपुगियो?
दीपा दिदी र दीपक दाजुलाई यस्तो भूमिका खेल्ने कलाकार चाहिएको रहेछ। मैले त्यो भूमिका गर्न सक्छु भनेपछि उहाँहरूले 'अफर' गर्नु'भो।

तपाइँलाई भेट्दा मानिसहरू 'स्विटी' भन्छन् कि रञ्जु?
'स्विटी' नै भन्छन्। वास्तविक नाउँ त ओझेलमा परिसक्यो।

'स्विटी' सुन्दा–सुन्दा दिक्क लाग्दैन?
किन दिक्क मान्नु? खुशी नै लाग्छ। दर्शकहरूले मेरो कामका आधारमा मलाई माया गरेर नै त्यो नाउँले बोलाउनुभएको त हो नि! तर उहाँहरूले रञ्जु भनिदिए म अझै खुशी हुनेथिएँ।

'तीतो–सत्य' र 'कसलाई आफ्नो भनूँ' कुनमा अभिनय गर्दा मज्जा आउँछ?
दुवैमा आ–आफ्नै किसिमको मज्जा छ। 'बसाइँ' फिल्ममा झुमा (नायिका) को भूमिका निर्वाह गर्दाको चुनौती र मज्जा चाहिँ म कहिल्यै बिर्सन सक्तिनँ।

हिरोइन बनिसकेको मान्छे 'क्यारिकेचर रोल' गर्दा तल पुगिएन र?
'कमेडी रोल' गर्ने मलाई शुरुदेखि नै इच्छा थियो। फेरि अभिनय भनेको माथि जान र तल झर्नका लागि होइन। क्षमता छ भने एउटा कलाकारले जुन भूमिका पनि गर्न सक्छ र गर्नु पनि पर्छ।