हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद | साग सहभागिता

नयाँ निर्णय, पुरानै प्रवृत्ति

राष्ट्रिय खेलकुद परिषदले १० औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडीहरूको भत्ता तथा पुरस्कार रकममा वृद्धि गर्ने घोषणा गरेको छ। गत २२ भदौमा परिषदद्वारा आयोजित सागका सहभागीहरूको विदाई कार्यक्रममा बताइएअनुसार १० औँ सागका खेलाडीहरूलाई दैनिक २० अमेरिकी डलर भत्ता दिइने भएको छ। यसअघि पाकिस्तानमा भएको ९ औँ दक्षिण एसियाली खेलमा दैनिक १६ अमेरिकी डलर भत्ता दिइएको थियो। नेपाली तेक्वान्दो टोलीका कप्तान दीपक विष्ट परिषदको पछिल्लो निर्णयबाट आफू निक्कै उत्साहित भएको बताउँछन्। भन्छन्, “यस्तो निर्णयले खेलाडीलाई पदकका लागि उत्प्रेरित समेत गर्छ।”

भत्ताबाहेक सागका पदक विजेताहरूले सरकारबाट पाउँदै आएको नगद पुरस्कारमा समेत वृद्धि हुने आश्वासन पाएका छन्। सोही कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवालीले 'परिषदको प्रस्ताव बमोजीम पुरस्कार राशीमा वृद्धि हुने आश्वासन दिएका थिए।'

हाल शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको परिषदको उक्त प्रस्तावमा सागका स्वर्ण, रजत र कास्य पदक विजेताहरूलाई क्रमशः रु.२ लाख, रु.१ लाख र रु.६५ हजार दिन सिफारिस गरिएको छ। यसअघि क्रमशः रु.१ लाख ५० हजार (स्वर्ण), रु.७५ हजार (रजत) र रु.५० हजार (कास्य) दिइँदै आएको थियो।

एसियाली तथा विश्वस्तरमा पदक दिलाउने खेलाडी तथा प्रशिक्षकलाई दिने पुरस्कार राशीमा पनि वृद्धि गर्ने प्रस्ताव परिषदले गरेको छ। एसियाली र विश्वस्तरका पदक विजेताहरूलाई नगदबाहेक अधिकृतस्तरको जागिर र घर–जग्गा दिने महत्त्वाकांक्षी योजना परिषदको छ। सुटिङ प्रशिक्षक प्रदीप खाती यो प्रस्तावले आफूहरूलाई हौस्याएको बताउँछन्।

यससँगै परिषदले केही महत्त्वपूर्ण राजनीतिक निर्णयहरू पनि गरेको छ। जसमध्ये यस सागमा नेपालको राष्ट्रिय धुनको रूपमा खेलकुद धुन बजाइने छ। यसअघिको राष्ट्रिय गानलाई सरकारले खारेज गरिसकेको र नयाँ निर्माण भइनसकेको अवस्थामा यो व्यवस्था गरिएको हो। कवि दुर्गालाल श्रेष्ठको रचना र न्ह्यू बज्राचार्यको सङ्गीत रहेको 'हामी खेलाडी...' शीर्षकको यस धुनलाई नेपाली खेलको नयाँ गान बनाइएको छ (हे.तस्बिर)। यस अघिको पञ्चायतकालमै बनेको 'खेलाडी हो, खेलाडी हो...' ले नयाँ व्यवस्थाको प्रतिनिधित्व गर्न नसक्ने भएकाले परिषदले यसलाई खारेज गरेको हो। यसबाहेक परिषदले श्रीपेच अङ्कित आफ्नो पुरानो लोगो परिवर्तन गरेर राष्ट्रिय झण्डा, राष्ट्र र खेलकुद जनाउन 'एनएस' शब्द र एथलेटको आकृतिसहितको लोगो सार्वजनिक गरिएको छ। परिषदको लोगोमा परिवर्तन भएपनि साग खेलमा भने नेपालको आधिकारिक प्रतिनिधित्व चाहिँ श्रीपेच अङ्कित नेपाल ओलम्पिक कमिटी (एनओसी)को लोगोले नै गर्नेछ।
यी घोषणाहरूका बाबजूद केही पुराना खराब प्रवृत्तिबाट यसपटक पनि अछुतो रहेन, परिषद। खेल अनुसारको विशेषज्ञता र विशिष्टतालाई बेवास्ता गर्ने र अनावश्यक व्यक्तिलाई महत्त्व दिने प्रचलन यसपालि पनि दोहोरियो। परिषदमा नियुक्त हुने वित्तिकै भर्ना गरिएका कर्मचारीहरूलाई साग खेलको नाममा विदेश भ्रमण गराउन सदस्यसचिव जीवनराम श्रेष्ठले आफ्ना पूर्वाधिकारीहरूलाई पछ्याएका छन्।

घिअघिझैँ खेल क्षेत्रसँग कुनै सरोकार नभएका ती व्यक्तिहरूलाई पद दिइएको छ, 'व्यवस्थापक' को। बक्सिङको व्यवस्थापकका रूपमा एमालेको भातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका कार्यकर्ता पिताम्बर तिमिल्सिना र सुटिङतर्फको व्यवस्थापक बनाएर शिक्षा तथा खेलकुद मन्त्री मङ्गलसिद्धि मानन्धरका निजी सहायक प्रकाश श्रेष्ठलाई लगिएको छ। कराँतेका प्रशिक्षक रवि महर्जन जुडोको व्यवस्थापकको रूपमा लगिएका छन्।

पुरानै प्रवृत्ति र चरित्रको पुनरावृत्ति गरेर नेपाली खेलकुदमा कायापलट गर्ने भन्ने आफ्नै घोषणालाई लत्याएका छन्, सदस्यसचिव श्रेष्ठले। श्रेष्ठको निजी सहायकका रूपमा भर्ना गरिएका गोविन्द भट्टराई र स्वास्थ्य परिचारिकाको रूपमा भर्ना भएकी सुशीला खड्कालाई समेत विदेश शयरको मौका दिइएको छ। परिषदका सदस्य लक्ष्मण श्रेष्ठ भने मन्त्री र अन्य सरकारी व्यक्तिको भ्रमणमा केही सहयोगी जानु स्वाभाविक ठान्छन्। भन्छन्, “विगतका विकृतिहरूमा धेरै सुधार आइसकेको छ।”

मनोज घिमिरे