अर्थ
| संक्षेप
चितवनको कृषि उद्यम द्वन्द्वले सातो लियो
द्वन्द्व र राजनीतिक
अस्थिरताका पछिल्ला चार–पाँच वर्षयता सातो हराएको
चितवनको कृषिउद्यम लोकतन्त्र बहाली र युद्धविरामको अवधिमा पनि बौरिन
सकेको छैन। बन्द, हड्ताल, नाकाबन्दी र चक्काजाम, रात्रिकर्फ्यु र सुरक्षाजाँचका
साथै विस्फोट, ध्वंस, भिडन्त र सैन्य कारबाहीहरूले गर्दा चितवनको कृषि
क्षेत्र थलिएको हो। नारायणगढ उद्योग बाणिज्य संघका उपाध्यक्ष मित्रराज
दवाडी भन्छन्, “एकदिन बन्द हुँदा चितवनमा रु.६० लाखको कुखुराजन्य,
रु.२० लाखको दूध, रु.१५ लाखको तरकारी र रु.१० लाखको अन्य कृषि उत्पादन
खेर जान्छ।”
मङ्सिर २०५८ यता मात्रै माओवादी र दलहरूले २११ दिन चितवन
बन्द गरेका थिए। यहाँको ८० प्रतिशतभन्दा बढी कृषिउपज खपत हुने काठमाडौँ
उपत्यका र राजमार्ग (धादिङ) बन्दले पुर्याएको असर बेग्लै थियो। एकदिन
लाग्ने भरतपुर–काठमाडौँ टिपलाई दुईदिन लाग्न थालेपछि भाडा पनि दोब्बर
भएको थियो। यीबाहेक, दैवीप्रकोप र दुग्ध विकास संस्थान (डीडीसी) को
नियमित 'मिल्क होलिडे' छँदै थिए। उद्योग बाणिज्य संघका अनुसार २०५८
सालसम्म प्रतिदिन १५ लाख अण्डा उत्पादन हुन्थ्यो, अहिले आठ लाख पुग्न
हम्मे–हम्मे छ। कुखुराको मासु ७० बाट ३५ टन, तरकारी २०० बाट १५० टन
र दूध १ लाख २० हजारबाट १ लाख लिटरमा झरेको छ।
चितवनको कुखुरा व्यवसायमा करीब रु.८ अर्ब, दुग्ध व्यवसायमा
रु.२ अर्ब र तरकारी–अन्नपातको खेतीमा रु.१ अर्ब लगानी भएको विज्ञहरूको
आकलन छ। त्यसमध्ये रु.३ अर्ब जति डेढदर्जन ब्याङ्क र वित्तीय संस्थाहरूको
ऋणको रूपमा छ। कृषि विकास ब्याङ्कको मात्र कुखुरापालनमा रु.५० करोड,
पशुपालनमा रु.१६ करोड र कृषि उपजमा रु.१० करोड लगानी छ र यसले अहिलेसम्म
ऋण तिर्न नसकेका तीनसय उद्यमीको घरजग्गा लिलामीको सूचीमा चढाएको छ।
जिल्ला गैरसरकारी संघसंस्था समन्वय समितिका अध्यक्ष रविकिरण पौडेलका
अनुसार, तीन हजार युवा किसानहरू ब्याङ्कको ऋण तिर्न विदेशिएका छन्।
चार्टर एकाउन्टेन्ट दिनेशकुमार चुके भन्छन्, “अहिलेको अवस्थामा ब्याङ्क
र वित्तीय संस्थाहरूले अप्ठेरोमा परेका व्यवसायीहरूको ब्याज र हर्जाना
मिनाहा गर्नु तथा व्यवसाय चलाउन पुग्ने लगानी थपिदिनुपर्दछ। नत्र थप
व्यवसायी डुब्नेछन् र त्यसको असर ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई
पनि पर्नेछ।”
खोर भत्काएर सागपात
२०५८ सम्म चितवनमा ६ हजार किसानले कुखुरा पालेका थिए भने अहिले ८००
मात्र छन्। पटिहानी, गङ्गानगरमा कुखुरा पाल्ने ५० जनामध्ये चार जना
मात्र बाँकी छन्। अधिकांशले खोर भत्काइसके। गत वर्ष खोर भत्काएर सागपात
रोपेकाकृष्णप्रसाद सापकोटा भन्छन्, “महँगा चल्ला, दाना र औषधि खर्च
गरेर पाल्यो, श्रमको मूल्य पाउनु त परै जाओस् लगानीमै घाटा लाग्न थाल्यो।”
२०५६ सालमा कुखुरा पाल्न थालेका भरतपुरका ईश्वरराज तिवारी दुईवर्षमै
टाट पल्टिए। कुनैबेला कुखुरा पालेर राम्रै उन्नति गरिरहेका महेन्द्र
लामा एक वर्ष मलेसिया बसे र अहिले फर्केर राँगा–भैँसीको मासु व्यापार
गर्दैछन्।
धेरै लगानी गर्न र पैसा थप्न सक्ने केही उद्यमीहरू मात्रै
जेनतेन चलेका छन्। कुखुरा व्यवसायी पहिलेको तुलनामा १३ प्रतिशत मात्रै
बाँकी रहे पनि तिनले कुल उत्पादन ५० प्रतिशतभन्दा घट्न दिएका छैनन्।
दूधः लागतसम्म उठ्दैछ
केही समयअघिसम्म ४० वटा गाई पालिरहेकी भण्डाराकी शान्ति उप्रेतीका
गोठमा अहिले एक–एक वटा गाई र भैँसी मात्र छन्। जगतपुरका देवनारायण
पौडेलले रु.३० हजारमा किनेको गाई १० हजारमा बेचेर पेशा नै छाडे। चैनपुर,
ज्यामिरेका नवराज भुषाल र भरतपुरकी वसुन्धरा रेग्मीले पनि त्यसै गरे।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष शङ्करराज राजभण्डारी
भन्छन्, “वर्षमा १०० दिन मात्र दूध बिक्थ्यो, कसरी टिक्ने?”
१०–१२ लिटरसम्म दूध दिने एउटा गाई वा भैँसीको मूल्य
करीब रु.२५ हजार पर्दछ। त्यसलाई घाँस–पराल, दाना–चोकर र अन्य कुराका
लागि प्रतिदिन रु.१५० खर्च हुन्छ। दूध बिक्रीबाट रु.१५०–१७० सम्म उठ्छ,
जुन सामान्य खर्च धान्न मात्र ठिक्क छ।
बारीमै जोतिए तरकारी
गत माघदेखि वैशाखसम्म ३५ दिन बन्द हुँदा चितवनका किसानहरूले रु.५ करोडको
तरकारी बजार पुर्याउन सकेनन्। भाडामा जग्गा लिई तरकारी खेती गरिरहेकी
भारत, बेतियाकी अख्तरी खानले गत माघको एकहप्ते माओवादी बन्दमा डेढ
विगाहा जग्गाको काउली बारीमै जोतिन्। त्यसपछि लगाएको साग र लौका गत
चैत–वैशाखको आमहडतालको मारमा पर्यो। १० बिगाहा जग्गामा तरकारी लगाएका
वीरेन्द्रनगरका बोधप्रसाद रिजालले ३ बिगाहाको गोलभेँडा र डेढ बिगाहाको
लौका बारीमै जोते। उनी भन्छन्, “यस वर्ष मात्रै सात लाख घाटा पर्यो।
देशमा शान्ति भयो भने आगामी वर्ष राम्रो हुन्छ भन्ने आश छ।”
जिल्ला कृषि विकास कार्यालयका अनुसार चितवनमा ३ हजार
हेक्टर जग्गामा व्यावसायिक तरकारी खेती गरिन्छ। ८०० समूहमा सङ्गठित
करीब १५ हजार किसानले वर्षमा ५० हजार मेटि्रक टन तरकारी उत्पादन र
रु.५० करोड जति आम्दानी गर्छन्। नेपाल ताजा तरकारी तथा फलफूल उत्पादक
संघका अध्यक्ष पूर्णदत्त भुषालका अनुसार, चितवनबाट माघ–असारमा दैनिक
१५–२० ट्रक र असोज–पुसमा ८–१० ट्रक तरकारी निकासी हुने गर्दछ।
चितवनको मौरीपालन र फलफूल खेतीमा पनि द्वन्द्वले उत्तिकै
असर पारेको छ। नेपाल मौरीपालक संघका अध्यक्ष ध्रुवतारा लामिछाने भन्छन्,
“मौरीका घार दिउँसो लिएर हिँड्न मिल्दैनथ्यो अनि राति कर्फ्युले लान
सकिँदैनथ्यो। तैपनि एकचोटि २७ घण्टा लगाएर दाङ पुर्याउँदा ६० वटा
गोला बाटैमा मरेछन्।” व्यावसायिक मौरीपालन गर्ने चितवनका करीब आठसय
परिवारले वार्षिक करीब चारसय टन मह उत्पादन गर्छन्।
•
जनक अर्याल
रोपियो
काँक्रो, फल्यो सुन!
अहिले फर्पिङका
बारीहरू काँक्रो र मकैको मिश्रित खेतीले भरिएको छ। मकै मात्र लगाउँदा
ज्याला र खाजा खर्च पनि उठाउन धौ–धौ भएपछि मिश्रित बाली शुरु गरेका
यहाँका किसानहरूलाई उन्नत जातका काँक्रोले पहिलेको भन्दा २० गुणासम्म
बढी फाइदा दिएको छ।
सात वर्षअघि भक्तपुरे 'लोकल' बीउबाट तीन
रोपनीमा शुरु गरेका सोखेल, फर्पिङका श्यामकृष्ण बस्नेतले यो वर्ष १८
रोपनीमा काँक्रो लगाए। दैनिक ४ देखि ६ सय किलोसम्म काँक्रो निस्कने
उनको खेतीमा चार जनाले काम पाएका छन् भने घर व्यवहारका थुप्रै समस्या
यसकै आम्दानीले टरेको छ। भन्छन्, “शुरुमा दैनिक रु.१५ देखि रु.१८ हजारसम्म
दिलाएको काँक्रोको अहिले भाउ खस्केका कारण आम्दानी घटेपनि यो चार महिनामा
चार लाख रुपैयाँ त कसो नआउला!”
बस्नेतको हर–हिसाबमा १८ रोपनीको खेतीमा
बीउ, विषादी, जालो बनाउने प्लाष्टिक, थाँक्राका लागि चाहिने बाँस,
कम्पोष्ट मल र चार जनालाई ६ महिनाको ज्याला गरी करीब रु.२ लाख ४० हजार
खर्च लाग्छ भने झण्डै रु.७ लाखको काँक्रो फल्छ।
माटोमा सुन फल्ने भएपछि बस्नेतले जस्तै
फर्पिङ क्षेत्रका सेतीदेवी, सतिखेल, छैमले, राम्चे, खार्पा, हुुडु,
लामागाउँ, टल्कुका करीब ५८० हेक्टर जमिनमा कृषकहरूले मकैसँगै काँक्रो
लगाउन थालेका छन्। चार वर्ष अघिदेखि व्यावसायिक काँक्रोखेती गर्दै
आएका टल्कुका अशोक बलामी भन्छन् “हामीले फलामको सहायताले माटोमा सुन
फलायौँ।”
वैशाखको पहिलो हप्ता मकैसँगै वा मकै उमि्रएपछि
काँक्रो लगाइन्छ। दुई मिटर लम्बाइ र ५ मिटर चौडाइको फरकमा करीब एक
फिट जति प्वाल पारी मलसहित काँक्रो रोपिन्छ। त्यतिकै फरकमा गाडेको
बाँसको खम्बाहरू बीचमा प्लाष्टिकको जालीले पूरै बारी ढाकिन्छ। यसरी
जाली लगाउँदा विषादी र भिटामिन राख्न तथा फल टिप्न सहज हुने कृषकहरू
बताउँछन्। बीउ रोपेको करीब दुई महिनामै उत्पादन दिन थाल्छ।
यस क्षेत्रमा उत्पादित काँक्रो खपत हुने
भनेको कालीमाटीस्थित तरकारी बजार नै हो। कालीमाटीमै लगेर बेच्दा प्रति
किलो रु.१०/१२ सम्म पाउँछन् भने व्यापारीहरूले घरदैलोमा आउँदा रु.६–८
मात्र दिने गरेको छैमलेका मदन तामाङ बताउँछन्।
मेनुका कार्की, फर्पिङमा
राजधानीमा
अर्को क्यासिनो
पर्यटकका
लागि राजधानीमा मनोरञ्जनको अर्को एउटा आकर्षण थपिएको
छ, क्यासिनोका रूपमा। होटल साङ्ग्रिलाले क्यासिनो सेवा शुरु गरेपछि
पाहुनालाई छनोटको यो नयाँ अवसर मिलेको हो।
नेपाल आउने विशेषगरी भारतीय पर्यटकहरूका
लागि क्यासिनो एउटा प्रमुख आकर्षण रहेको छ। आकर्षक सजावट र अत्याधुनिक
खेल सुविधा, लाइभ म्युजिक ब्याण्ड तथा स्तरीय खाद्य परिकार उपलब्ध
गराइएको साङ्ग्रि्रला क्यासिनोको सेवा जुवाका लागि विश्व चर्चित मकाओ,
लसभेगासका जुवाघरहरूकै स्तरमा रहेको दाबी बजार निर्देशक मिला राईले
बताइन्।
हालैमात्र पर्यटन मन्त्रालयले पाँचतारे
स्तरको होटल प्रमाणित गरेपछि साङ्ग्रिलालाई क्यासिनो सञ्चालनको बाटो
खुलेको हो। पाँचतारे बाहेक अन्य होटलमा क्यासिनो सञ्चालन गर्न पाइँदैन।
२०३२ सालमा होटल सोल्टीमा क्यासिनो नेपाल
खोलिएयता मुलुकमा क्यासिनोको सङ्ख्या आठ पुगिसकेको छ। अहिले यो बाहेक
राजधानीस्थित एभरेष्ट, याक एण्ड यति, अन्नपूर्ण, र्याडिसन, हायात
तथा पोखरास्थित होटल फूलबारी लगायतका सबै पाँचतारे होटलमा विभिन्न
नाममा क्यासिनोहरू सञ्चालन भइरहेको छ। फरक फरक नाम भएपनि लामो समयदेखि
नेपाल बस्दै आएका विदेशी नागरिक आर.डी. टटलको स्वामित्वको नेपाल रिक्रियसन
सेण्टरले सबै क्यासिनो सञ्चालन गर्दै आएको छ। पछिल्लो साङ्ग्रिला क्यासिनोको
व्यवस्थापकीय जिम्मेवारी शालिनी वाधवाले लिएकी छन्। शालिनीको व्यवस्थापनमा
यसअघि कुलीन वर्गलाई लक्षित गरेर ल्याइएको बोस र भाउ नामक दुई अङ्ग्रेजी
मासिक म्याग्जिनहरू प्रकाशन भइरहेका छन्।
क्यासिनोलाई मुलुकको पर्यटन, रोजगारी तथा
राजस्वमा उल्लेख्य योगदान दिने उद्योगका रूपमा चिनाउँछन्, यसका सञ्चालकहरू।
क्यासिनो साङ्ग्रिलाद्वारा वितरित विज्ञप्ति अनुसार मुलुकका सबै क्यासिनोमा
गरी करीब पाँच हजारले प्रत्यक्ष तथा दुई हजारले अप्रत्यक्ष रोजगारी
पाएका छन्। अघिल्लो आर्थिक वर्षमा सबै क्यासिनो गरेर सरकारलाई रु.९
करोड रोयल्टी बुझाएका थिए भने अन्य कर बापत करीब रु.६ करोड।
|