हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | मिडिया व्यवस्थापन

लगानीको मात्रै चिन्ता गर्नुहोस्

स्नेह साय्मि

अब मिडियाको सञ्चालन चालीसको दशकको जस्तो रहेन, जुनबेला एकैजना व्यक्ति लगानीकर्ता, सम्पादक, प्रुफरिडर, वितरक र स्थिति अनुसार कम्पोजिटर र हकर पनि हुने गर्थे। पचासको दशकमा आइपुगुञ्जेल मिडियामा लगानी ह्वात्तै बढ्यो। चालीसको दशकमा कल्पनै गर्न नसकिने मिडिया उद्योगहरू, जस्तै ब्रोडशिट, पाक्षिक, मासिक, रेडियो, टेलिभिजन च्यानलहरू निजी क्षेत्रबाट स्थापित भए। उद्योगपति, पूँजीपति, लगानीकर्ता र ब्याङ्कहरूले मिडियालाई लगानीको क्षेत्रका रूपमा लिए। मिडिया उद्योग अरू व्यवसायभन्दा 'ग्लेमोरस' उद्योग भएको हुनाले पनि धेरै मानिसहरू यस क्षेत्रमा आकर्षित भए। पत्रकारिता नै नपढी, मिडिया के हो भन्ने नै थाहा नपाई कहीँ काम नपाएपछि पत्रकारितामा लाग्ने परम्परा हरायो। पत्रकारिताको पेशा आकर्षित भयो। पुराना पत्रकारहरूले पनि पत्रकारिताका नयाँ कुराहरूसित आफू जानकार भइरहन बाध्य भए। प्रतिस्पर्धा र सिर्जनशीलताले नयाँ अवसर र चुनौतीहरूको सिर्जना गर्‍यो।

त्यस्तै विज्ञापन एजेन्सीहरू बढे, विज्ञापनमा नयाँपन आयो। मिडियाले कसैको 'राजनीतिक मुखपत्र', लहड र रहरको थलो, 'कहीँ काम नपाएपछि गर्ने काम'को सट्टा, अर्बौँ लगानी भएको बृहत्तर उद्योगको आकार लियो। हिजो जस्तो सबैले सबै काम वा एक्लैले सबै काम गर्छु भन्ने जमाना गयो। नेपाली मिडियाले छिमेकी मुलुक भारतका मिडिया उद्योगको तुलनामा काम गर्नुपर्ने भयो। यसरी आज मिडिया उद्योगले १५ वर्षको इतिहासमा धेरै हण्डर खाएर यहाँसम्म आइपुगेको छ। कति दैनिक खुल्दै बन्द भए, कति मासिक, साप्ताहिक अझै छाप्ताछाप्तै बन्द हुन्छन्। टेलिभिजन च्यानलहरू घिसीपिटी चलिरहेका छन्। बजारमा नाम भएका र लामो इतिहास भएकै मिडिया हाउसहरू पनि सङ्कटमा छन्। हुन त यो सङ्कटका विभिन्न कारणहरू छन्– मिडियालाई कुनै पनि सरकारले विशेष उद्योगको रूपमा ग्रहण नगर्नु, १८ असोजको घटनापछि मिडियाप्रति सरकार नकारात्मक हुनु, मिडिया उद्योगहरू सङ्गठित नहुनु, अन्य उद्योग क्षेत्रका मानिसहरूले मिडिया उद्योगलाई उनीहरूको कामबारे 'रिपोर्ट' गर्ने निकाय मात्र भन्ठान्नु आदि। खुल्ला मिडियाको इतिहास त्यति लामो नभएको परिप्रेक्ष्यमा यस्ता समस्याहरू आउनु स्वाभाविक छ। त्यसमा पनि सरकारी रवैया नै मिडियालाई निरुत्साहित गर्ने खालको हुँदा त अझै समस्या त थपिने नै भयो। तर जुनसुकै क्षेत्रमा पनि समस्याको मूल जरो आन्तरिक नै हुने गर्छ। यदि आन्तरिक रूपमा आफू मजबूत र उत्साही छन् भने बाह्य समस्याहरूसँग जुध्ने हौसला प्राप्त हुन्छ। र, आन्तरिक समस्या भनेको मानिस र संस्थालाई भित्रैदेखि कमजोर मात्र होइन 'जर्जर' बनाइदिने 'रोग' हो।

नेपाली उद्योग बाणिज्य क्षेत्रमा एउटा ठूलो 'रोग' छ र त्यो रोग विशेषतः लगानीकर्ताहरूमा छ। कुनै व्यक्ति विशेषसँग नगद छ र कुनै उद्योग व्यवसायमा लगानी गर्न सक्छ भने उसलाई के लाग्छ भने, त्यो उद्योगको सबभन्दा जानकार व्यक्ति ऊ आफू मात्रै हो। त्यो उद्योग उसले स्थापना गरेछ भने उसले सोच्छ– यस उद्योगको सबभन्दा ठूलो चिन्तक मै हुँ, किनभने यसमा मेरो लगानी परेको छ, अरूलाई त्यति चिन्ता हुनै सक्तैन। अझ त्योभन्दा खतरनाक र उद्योग डुबाउने सोच के पालेका हुन्छन् भने यो उद्योगको कुशल व्यवस्थापक म र मेरा परिवारका सदस्यहरू मात्र हुन सक्छन् अरू हुनै सक्दैनन्। यो 'रोग' को कारणले नेपालमा ठूला व्यावसायिक घरानाहरू आफ्नै परिवारभित्र मात्र सीमित भएर व्यापार बढाइरहेछन्। आफ्नै छोराछोरीहरूलाई व्यवस्थापक बनाइरहेछन्। यसले लगानीकर्ताको व्यवसाय गर्नसक्ने क्षितिजलाई सीमित गर्दछ।

अहिलेको समय भनेको विशेषज्ञस्तरको सेवा लिने र दिने समय हो। सबै मानिस सबै कुरामा पारङ्गत हुन सक्दैनन्। यसका लागि सम्बन्धित विशेषज्ञ वा जानकार व्यक्ति वा समूहको सेवा लिनुपर्ने हुन्छ। मिडिया उद्योग पनि यो रोगबाट मुक्त छैन। ठूला मिडिया हाउस भनेर गनिएका मिडिया उद्योगहरूमा साहुजीहरू आफैँले व्यवस्थापनको बागडोर सम्हालिरहेका छन् र अधिकांश मिडिया उद्योगहरू साहुजीहरूको आफ्नै 'सोच र दृष्टिकोण' को शिकार भएका छन्। लगानी र जोखिमको हिसाबले लगानीकर्ताको कदम ठीक छ तर त्यसलाई सञ्चालन गर्ने बेलामा हुने त्रुटि र कमजोरीका कारण अधिकांश मिडिया उद्योग डुबेका र सङ्कटग्रस्त छन्। साहुजीहरू कुनै कर्मचारीले बिगारेको कुरामा सचेत छन् तर आफ्नै क्षितिज फराकिलो नभएको कारणले संस्थाले लिन नसकेको गति र आकारप्रति सचेत छैनन्। मैले यो आलोचना गरेको होइन, म आफैँ पनि मिडियाजीवी भएको हुनाले मैले यी कुराहरू औंल्याएको हुँ। मिडिया उद्योग फस्टाए मात्र म र मजस्ता धेरै साथीहरू रोजगार हुनेछन्। मिडिया उद्योगभित्रको एकजना कर्मचारी वा पत्रकारको कारणले भन्दा पनि लगानीकर्ताको सानो गल्तीले पर्ने प्रभाव ठूलो हुन्छ।

मिडिया उद्योग भनेको लगानीकर्ता, मिडिया व्यवस्थापक र पत्रकारहरूको संयुक्त सहकार्यको थलो हो जहाँ तीनवटै पक्षले आ–आफ्नो स्तरको भूमिका निर्वाह गर्छन्। लगानीकर्तासँग रकम छ जोखिम उठाउन सक्ने क्षमता छ भने कुशल व्यवस्थापकसँग त्यस उद्योगलाई सञ्चालन गर्ने विधि र क्षमता छ। पत्रकारहरूसँग, कुन सूचना कसरी जनमानसमा पुर्‍याउने सीप छ। यसमा जोखिम पनि छ, मज्जा पनि छ। मिडिया उद्योग अरू उद्योगजस्तो 'जसरी पनि पैसा कमाउने' उद्योग हुन सक्दैन, र पैसा नकमाई टिक्न पनि सक्दैन। यो उद्योगले धेरै कुराहरू पारदर्शी बनाउँछ र आफैँ पनि पारदर्शी हुन बाध्य छ।

यतिखेर मिडियामा लगानीको समस्या छैन, केही सफल मिडियाहरू देखा पर्नासाथ लगानी बढ्छ नै। समस्या मिडिया व्यवस्थापनको हो। व्यवस्थापनकै कमजोरीका कारण भएका मिडिया उद्योगहरूको स्थिति धर्मराउँदै गइरहेको छ। लगानीकर्ताका आफ्नै सम्भावना र सीमाहरू छन्। कम्तीमा अधिकांश लगानीकर्ताहरू मिडिया सञ्चालन र पत्रकारितामा अभ्यस्त छैनन्, जसको परिणामले मिडिया उद्योग फस्टाउन सकिरहेको छैन। त्यसैले साहुजीहरूमा विनम्र अनुरोध के छ भने आफ्नो लगानीको चिन्ता गर्नुहोस्। फुर्सदमा नाफा नोक्सान र वासस्थानको विवरण हेर्नुहोस्। मुनाफाको सीमा किटान गर्नुहोस्। तर मिडिया कसरी चलाउने भन्ने विषय चैँ व्यवस्थापक र पत्रकारहरूलाई स्वतन्त्ररूपमा छोडिदिनुहोस्।

यो कुनै नयाँ कुरा होइन, आज विश्वभर साम्राज्य फैलाउने बहुराष्ट्रिय कम्पनीहरूले गरिरहेको प्रक्रिया यही हो।