हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | कृषि

सिराहा–सप्तरीका नहरमा पानी हैन पैसा बग्छ

सरकारको थुप्रै पैसा बगिसके पनि सिरहा–सप्तरीका नहरहरूमा पानी बग्न नसकेर किसानहरूको खेतमा धाँजा फाटेको छ।

विजयप्रसाद मिश्र, सिरहा/शिवहरिप्रसाद भट्टराई, राजविराजमा

समयमा वर्षा हुन नसकेपछि अन्नको भण्डार मानिएको तराईमा यसवर्ष धानको उत्पादनमा उल्लेख्य कमी आउने सम्भावना बढेको छ। साउन आधासम्म रोपाइँ सक्ने सप्तरी–सिरहाका किसानहरूको खेत भदौ लाग्ने बेलासम्म पनि बाँझै भएपछि यस्तो आकलन गरिएको हो। सप्तरीमा बर्खे धान हुने कुल ७५ हजार हेक्टर खेतमध्ये ३० प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख अनुपलाल बताउँछन्।

उता करीब ७० हजार हेक्टर जमिनमा धान खेती हुने गरेको सिरहा जिल्लामा पनि करीब ६५ प्रतिशतमा मात्रै धान रोपिएको छ। सप्तरीको तुलनामा बढी खेती भएपनि पानीको अभावमा भएको रोपाइँमध्ये ४० प्रतिशत सुक्ने अवस्थामा पुगेको जिल्ला कृषि विकास कार्यालय सिरहाका बाली विकास अधिकृत रामप्रकाश सिंह बताउँछन्।

वर्षा र सिंचाईको वैकल्पिक व्यवस्था समेत नहुँदा वर्षभरिको गर्जो कसरी टार्ने भन्ने चिन्ताले यस क्षेत्रका किसानहरूलाई पिरोलेको छ। “खेतमा बीउ राखेर वर्षाको प्रतीक्षामा दुई महिना बित्यो तर पानी परेन बीउ बूढो भयो, अब भैँसीलाई ख्वाउनुपर्ला”, सप्तरीको रौतहट गाविसका किसान राजेन्द्र यादव दुःखेसो गर्छन्। यादवको करीब तीन विघा खेत रोप्न राखेको बीउ सुकेको छ।

पम्पिङसेट लगाएर रोपो गाडेका खेतहरू पनि थप पानी पटाउन नसक्दा धाँजा परेको छ। महँगो डिजेल किनेर पम्पिङसेटबाट रोपाइँ गरेको साता दिन नबित्दै खेत सुखेर धाँजा फाट्न थालेपछि मल्हनियाका किसान लक्ष्मण यादवले बाँकी खेत बाँझै छाडिदिए। पम्पिङसेट लगाएर रोपेको धानले आकाशे पानी नपाए पनि नहरको पानी पाउला भन्ने आश समेत मरेपछि बाँकी खेतमा थप लगानी उनले नगरेका हुन्। भन्छन्, “खेत माथिबाट नहर गएपनि खेत बाँझै छ।”

मुलुककै पहिलो सप्तरी–उदयपुरको सीमा नदी त्रियुगाबाट निकालिएको चन्द्र नहरको मुहानमा पानी कम भएपछि क्षमताअनुरुप वितरण गर्न नसकिएको सिंचाई डिभिजन नम्बर ५ का प्रमुख रामचरित्र महतो बताउँछन्। महतोका अनुसार पानी नपरेर नदीको सतह घटेका कारण करीब ४५ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्‍याउने चन्द्रनहरबाट यसपटक २० हजार हेक्टरमा मात्रै सिंचाई गर्न सकिएको छ। चन्द्र नहर जल उपभोक्ता समितिका उपाध्यक्ष रामदेव साह भन्छन्, “पानीको अभावले नहरका उपभोक्ताहरू आपसमा पानीका लागि मारामार गरिरहेका छन्।”

सप्तरीमा मात्र नभई सिरहाका नहरहरूमा पनि पानी छैन। जिल्लाका दुई वटा सिंचाई सेक्टर आयोजनाले रु.३ करोड ६६ लाख र सगरमाथा एकीकृत ग्रामीण विकास परियोजनाले रु.८७ लाख खर्च गरेर निर्माण गरेका १४ वटा नहरमध्ये ११ वटा पानी बग्नै नपाई, एक–दुई वर्ष चलेर वा स्रोतमा पानी नपुगेर काम नलाग्ने भएका छन्।

मैनावती सिंचाई, सिरहा।

नहरमा पानी हैन पैसा बग्छ
जेठ २०५८ को एक दिन सिरहाको सीतापुर र राधोपुरका किसानहरू बताहा नहरको मुहानको फाटक खोलेर भोलिपल्ट बिहान मक्ख हुँदै आ–आफ्नो खेतमा पुग्दासम्म त्यहाँ पानी चाहिँ पुगेको थिएन। स्थानीय किसान घुरन यादव भन्छन्, “राति नै दुवै किनाराका भित्ता भत्केर नहर पुरिएछ र पानी खोलातिरै फर्केछ।”

नहर उपभोक्ता समितिका अध्यक्ष सीताराम यादवलगायत दुई गाउँका ४२६ घरधुरी किसानहरूको ६ वर्षदेखिको सपना एकैरातमा भत्कियो। यी दुई गाउँको २५० हेक्टर जमिन सिंचाई गर्न निर्मित बताहा नहरको लागि सरकारले रु.५५ लाख खर्चेको थियो भने किसानहरूले रु.९ लाख बराबरको श्रमदान गरेका थिए।

बताहा मात्र होइन, सिरहामा जिल्ला सिंचाई कार्यालयका पहिलो र दोस्रो सिंचाई सेक्टर आयोजनाले २०५१ देखि २०५८ सम्म निर्माण गरेका ११ मध्ये आठ वटा नहरमा पानी छैन। कमला उत्तर वाहिनी, झिरहरी र बाबुराम खोलाका तीन वटा नहर मात्र आंशिक रूपमा चलेका छन्। सगरमाथा एकीकृत ग्रामीण विकास परियोजना र खुट्टीखोला सिंचाई आयोजनाले २०५१ सालअघि बनाएका खुट्टीखोला, जीव्ााखोला र मैनावती नहरमा पनि पानी छैन। ११ सय परिवारको १८ सय हेक्टर जग्गा सिंचाई गर्नुपर्ने यी तीन नहरमध्ये खुट्टीखोलाको पानी छेक्ने बाँध आयोजना उद्घाटन हुनुअघि नै फुटेको थियो, जीवाखोलामा बाढीले नहरको मुहान भत्काएको ६ वर्ष भएको छ र मैनावती रु.१६ लाख ५० हजार खर्च गरेर मर्मत गरे पनि बाँध भत्किएर चार वर्षदेखि बेकम्मा भएको छ। पानी नबग्ने यी नहरहरूमा पैसा चाहिँ मनग्गे बगेको र मर्मतको नाममा अझै बगिरहेको छ।

किसानलाई समृद्ध बनाउने उद्देश्यले निर्माण गरिएका र जिल्लाका करीब पाँच हजार किसान परिवारको झण्डै पाँचै हजार हेक्टर जमिन सिंचाई गर्नुपर्ने यी नहरहरू तिनका लागि उल्टो अभिशाप बनेका छन्। झाडी–बुट्यानले ढाकिएका नहर स्थानीय बासिन्दाको दिसा–पिसाब गर्ने ठाउँ भएका छन्। चन्द्रलालपुरमा निर्मित मैनावती नहरको फाटक खियाले बाङ्गिएको छ र पानीको सतह भन्दा आठ फीट माथि छ।

सिंचाई सेक्टर आयोजना, सगरमाथा ग्रामीण एकीकृत विकास परियोजना र खुट्टी प्रोजेक्टले सिरहामा बनाएका नहरमा परेर किसानहरूको ५१ विघा जग्गा व्यर्थमा खेर गएको छ। नहर बनाउन अधिग्रहण गरिएको जमिनको मुआब्जा समेत नपाएका किसानहरू कतैकतै नहर पुरेर फेरि खेत बनाउन थालेका छन्। महेशपुरका केही किसानहरूले रु.१० हजारसम्म खर्च गरेर बताहा नहर पुर्दै अधिग्रहण गरिएको आफ्नो जग्गा उकासेका छन्। १० कट्ठा जग्गा मात्र भएकी महेशपुरकी आश्मा खातुनको चार कट्ठा जमिन नहरमा परेको छ। यसले गर्दा घरखर्च पुर्‍याउन गाह्रो भएको गुनासो गर्दै उनी भन्छिन्, “नहरले जग्गा छोडिदिए मडुवा (कोदो) र मुसुरी उब्जाएर त खानेथिएँ!”

सुख्खा खोलामा नहर!
पूर्वाञ्चल सिंचाई विकास डिभिजन कार्यालय नं.४, राजविराजको तथ्याङ्कमा, प्रतिसेकेण्ड सरदर १०० लिटर पानी बग्ने सरस्वती दुमाहाना खोलाबाट प्रतिसेकेण्ड ९०० लिटर पानी बग्ने क्षमताको नहर बनाइएको छ। उता सन् १९९१ को नोभेम्बरमा प्रतिसेकेण्ड ३७८ लिटर पानीको बहाव रेकर्ड गरिएको सहजा खोलामा निर्मित नहरको क्षमता प्रतिसेकेण्ड १२०० लिटर छ।

स्पष्ट छ, खोलामै नभएको पानी नौ गुनासम्म बढाएर नहरमा लैजाने बुद्धि भएका सिंचाई इञ्जिनियरहरू कति हचुवा ढङ्गले खोलाको पानी मापन र नहरको डिजाइन गर्दा रहेछन् भन्ने। सिरहाका अरू चार–पाँच वटा नहरको मुहान रहेका खोलामा सुख्खायाममा प्रतिसेकेण्ड ११ देखि ३८४.५ लिटरसम्म पानी बग्दछ। तर यिनै खोलालाई मुहान बनाएर प्रतिसेकेण्ड ३०० देखि १२ सय लिटरसम्म क्षमताका नहरहरू बनाइएको छ।

पूर्वाञ्चल क्षेत्रीय सिंचाई निर्देशनालय, विराटनगरका सिनियर डिभिजनल इञ्जिनियर सुभाषचन्द्र बर्मा भने 'वन विनाशले गर्दा नदीको बाटो परिवर्तन तथा यसको सतह बढेका कारण पानीको स्रोत कम भई यो समस्या आएको' बताउँछन्। तर गाविस महासंघ, सिरहाका अध्यक्ष जीवछ साह यो कुरासँग सहमत छैनन्। भन्छन्, “बाह्रैमास पानी बग्ने खोलाको साटो बर्खे खोलामा नहर बनाइएकाले यो समस्या आएको होे।” जिल्ला सिंचाई कार्यालय, सिरहाले बाह्रैमास पानी बग्ने भनेर नहर बनाएको नौ वटा नदीमध्ये चारवटा मात्र बाह्रैमास पानी बग्ने श्रेणीमा पर्दछन्।

उता बताहा नहर उपभोक्ता समितिका अध्यक्ष सीताराम यादव नहर बिग्रनुमा सिंचाई कार्यालयका प्राविधिक तथा कर्मचारीहरूलाई दोष दिन्छन्। नहर बनाउँदा जिल्ला विकास समितिका इलाका सदस्य समेत रहेका यादव भन्छन्, “मुहानको ५०० मिटर खण्डलाई पक्की नगरी ढुङ्गा ओच्छ्याई काम चलाएका कारण पिँधबाट पानी रसाएर पानी छाडेको पहिलो रातमै माटोको भित्ता भत्कियो।”
तर राधोपुरका किसानहरू चाहिँ यादवले पदको दुरुपयोग गर्दै आफ्नो गाउँ सीतापुरबाट पानी लग्न पानी नै नचढ्ने ठाउँमा नहर बनाउन लगाएको आरोप लगाउँछन्। तिनको भनाइ छ, “नहरको मुहान अहिले भन्दा तीन किलोमिटर दक्षिण–पश्चिम, जहाँबाट राधोपुरका किसानहरूले बीसौँ वर्षदेखि पानी चलाइआएका छन्, मा बनाएको भए यस्तो समस्या आउँदैन थियो।”

पूर्वाञ्चल सिंचाई विकास डिभिजन कार्यालय नं.४, राजविराजका प्रमुख जागेश्वरलाल कर्ण प्राविधिक सर्भेपछि जिल्ला सिंचाई, कृषि विकास कार्यालय र कृषि विकास ब्याङ्कका प्रतिनिधि रहेको छनोट समितिले निर्माणस्थलको चयन गर्ने गरिएको बताउँछन्। तर उनकै अनुसार, सिंचाईका मानिसहरू सर्भे हुनुअघि चाहिँ नहर कहाँ बनाउने भनेर हेर्न जाँदैनन् बरु उपभोक्ता समितिको माग र छनोट समितिको सिफारिसका आधारमा ठाउँ चयन गर्दछन्। नियमित पानी आउने खोला भएपनि उपभोक्ताहरूले माग नगरे त्यहाँ सर्भे हुँदैन। वर्षैभरि राम्रो पानी बग्ने गागन खोलामा त्यस्तै भएको हो। कर्ण भन्छन्, “गागन खोलामा नहर बनाउन जनताले माग नगरेपछि त्यहाँ कसरी बनाउने?”

ठाउँको छनोटमा उपभोक्ता समितिका हर्ताकर्ता तथा भनसुनका लागि सदरमुकाममा धाउन सक्नेहरूको इच्छाले काम गर्ने हुनाले यस्ता समस्या आउने गरेको कर्णको कथन छ। बताहामा पनि त्यही भएको थियो।

उपभोक्ता समितिहरूले पनि जनसहभागिता परिचालन गरेर नहर मर्मतसम्भार र त्यसमा थप संरचना निर्माण गर्न सक्छन्। तर, नहरहरूको हालत देखेर सिरहाका उपभोक्ता समितिहरू निराश छन्। गत वर्ष कार्यरत १६ वटा सिंचाई जल उपभोक्ता समितिमध्ये यस वर्ष दुई वटाले मात्र नवीकरण गरेबाट यो स्पष्ट छ। उपभोक्ता समिति नवीकरण नभएकाले कतिपयको मर्मतको प्रक्रिया चलाउन अप्ठेरो भएको डीई कर्णको कथन छ। भन्छन्, “लाग्छ, अब किसानलाई सिंचाईको आवश्यकता छैन।” तर, किसानहरू सिंचाई होइन, पानी नआउने नहरहरू चाहिँ नचाहिएको बताउँछन्।

यस क्षेत्रमा बरु किसानहरूले नै चलाएका स–साना कुलाहरूमा पानी आउँछ, सरकारले लाखौँ खर्च गरेर बनाएका नहरमा कमिला हिँड्छन्। किसानका कुलाहरूमा पानी नचढ्ने, मर्मतसम्भार नहुने र विवाद एवं झै–झमेला जस्ता समस्या आउँदैनन्। आइहाले पनि तिनले सरकार संलग्न आयोजनामा जस्तो जटिल रुप लिँदैनन्। मिर्चैयाका राजनीतिक कार्यकर्ता भरतकान्त अर्याल भन्छन्, “सरकारले हात हालेपछि नहरलाई दशा लाग्दो रहेछ।”