आवरण
| रिपोर्ट
'पसिना साटियो, नेपाली भइएन'
 |
| नागरिकता नहुने भाइहरू सुरेश र मदनका बीचमा सोहराई माझी। |
पुसाइ माझी मुसहरको
उमेर ५० वर्ष भयो। पत्नी पन्नादेवी मुसहर ४५ वर्षकी भइन्। नेपाली नागरिकले
नागरिकता पाउन १६ वर्ष उमेर पूरा भए पुग्छ। तर, मुसहर दम्पतीले अझै
नागरिकता पाएका छैनन्। नागरिकता टोली गाउँमा खटिनु अगावै बाबु भगलु
माझी र आमा सुभगियादेवी माझीको मृत्यु भयो। काका दशरथ र उनका छोराहरू
(काकापट्टिका भाइ) मेघु, रवीन्द्र र पुनकाल माझीले वंशजको आधारमा नागरिकता
पाएका छन्। पन्नादेवीका बाबु सखिचन र भाइ चरित्र माझीको पनि नागरिकता
छ।
बाराको तेलकुवा गाविसस्थित मुसहरीटोलमा बाबु–आमा अथवा
दाजु–भाइमध्ये कसैको नागरिकता छ, कसैको छैन। यस्ता परिवार सयौँको सङ्ख्यामा
छन्। सो गाविसको वडा नं. ३ र ७ मा पर्ने मुसहरीटोलमा मात्रै करीब एकसय
घर होलान्, जहाँ नागरिकता भएका २०/२२ जना मात्रै छन्।
४६ वर्षीय सोहराइ माझी मुसहरका चार दाजुभाइ छन्। उनको
नागरिकता छ, तर तीन भाइ सुरेश, मदन र गुलवदन माझीको छैन। चारै भाइका
श्रीमतीको पनि नागरिकता छैन। नागरिकता नभएकोले बच्चाहरूको जन्मदर्ता
छैन। सुरेश, मदन र गुलवदन तीन–तीन पटकसम्म कलैयाको जिल्ला प्रशासन
कार्यालयमा गए। तर, बाबु भारतीय भएको कारण देखाएर तीनैभाइलाई नागरिकता
दिइएन। उनका बाबु हनुमान माझी नागरिकता लिन नपाउँदै परलोक भएका थिए।
दाजु सोहराईको वंशजको नागरिकता छ भने आमासँग पनि नागरिकता थियो। दाजुको
नागरिकता देखाउँदै मदन प्रश्न गर्छन्, “बाबु भारतीय भएका भए दाजुलाई
कसरी दिए नागरिकता?”
त्यही टोलका जामुन माझी मुसहर ४० वर्षका भए। उनको एक
बच्चा पनि छ। बाबु लछु माझी र दाजु भोला माझीको नागरिकता भएर पनि जामुन
माझी नागरिकताविहीन छन्। उनी भन्छन्, “पछिल्लो (२०४५ सालको) टोली आउँदा
बाबु र दाजुले नागरिकता बनाए। मलाई चाहिँ भोलि आइज भने। त्यसदिन म
टोली भेट्न जाँदा अकर् गाविसमा गयो भनेर फर्काइदिए।” टोलका अगुवा मेघु
माझीका अनुसार जिल्लामा इनर्वा, भँवरा, वेतौना, अमरपट्टि, मधुरीजब्दी,
सुखीपथरा, छपकैया, कालावञ्जर, कोतवाली, हरिहरपुर, वँसवरिया, पिपरपाती
र बैरियामा यस्ता पचासौँ मुसहर वस्ती छन्। र, त्यहाँ नागरिकता नलिनेहरूको
सङ्ख्या धेरै छ।
अङ्गीकृत नागरिकताको समस्या पनि उत्तिकै छ। सुखीपथरा–७
की ५५ वर्षीया चम्पादेवी चमार अङ्गीकृत नागरिकता पाउन सक्ने नागरिक
हुन्। चम्पादेवीकै शब्दमा “२०३४ सालमा नागरिकता माग्न जाँदा यो अर्कोसँग
भाग्ने हो कि भन्ने शङ्का गरेर नागरिकता दिइएन।” चम्पाका लोग्ने लखिचनराम
चमारको वंशजको नागरिकता छ। तर, चम्पाको माइती भारत भएकोले उनले विवाहका
आधारमा अङ्गीकृत नागरिकता पाउनुपर्नेमा विवाहको कुनै कागजी प्रमाण
नभएकोले गाउँलेको सरजमिन चाहिन्छ, गाउँलेले बन्नै दिँदैनन्। चम्पा
भन्छिन्, “हरेक काम कुरोमा नागरिकता चाहिन्छ, नहुँदा हेपिएको जस्तो
हुन्छ।” सोही गाउँकी ६० वर्षीया पतियादेवी पासवान पनि अङ्गीकृत नागरिकता
पाउनबाट वञ्चित छिन्। पति उदित पासवानको वंशजको नागरिकता भएर पनि माइती
भारतमा भएकोले उनको नागरिकता बन्न सकेको छैन।
दलित नेटवर्क, बाराका अध्यक्ष रुपनारायण पासवानका अनुसार
बारामा दलित जनसङ्ख्या ९० हजार र नागरिकता पाउनसक्ने उमेरका (वालिग)
५० हजार जति छन्। तर करीब १०–१२ हजार जतिसँग मात्रै नागरिकताको प्रमाणपत्र
छ। दलितलाई नागरिकताप्रति चासो नहुनु, जग्गा जमिन नहुनु, पाएको अस्थायी
निस्सा हराउनु, व्यक्तिगत घटना दर्ता नगराइनु, कुनै पनि कागजमा सही
सनाखत गर्न डराउनु, गाविस सचिवले सिफारिस नगरिदिनु उनीहरूले नागरिकता
नपाउनुका प्रमुख कारण हुन्। पासवान भन्छन्, “समग्रमा आर्थिक विपन्नताका
कारण दलित समुदाय नागरिकता पाउनबाट वञ्चित छ।”
गैर दलित पनि वञ्चित
कलैया नगरपालिका–५ का ३४ वर्षीय रवीन्द्रकुमार साहको चाहना थियो, विदेशमा
गई उच्चशिक्षा हासिल गरेर ठूलो मान्छे बन्ने। तर, पूरा भएन। कारण थियो
नागरिकता नहुनु। जिल्ला प्रशासनले सिफारिस गरेको झण्डै ११ वर्ष पुग्दा
पनि गृहमन्त्रालयले अङ्गीकृत नागरिकता दिएन। रवीन्द्र भन्छन्, “मेरा
ब्याचका साथीहरू कहाँ कहाँ पुगिसके, म जहाँको त्यहीँ छु।” प्राविधिक
कारणले तत्काल नागरिकता दिन नसकिने अवस्थामा विदेश पढ्न ट्राभल डकुमेन्ट
दिने गरिन्छ, तर रवीन्द्रले त्यो पनि पाएनन्। स्नातक तह उत्तीर्ण रवीन्द्र
कम्प्युटर मर्मत गरेर जीविकोपार्जन गरिरहेका छन्। उनका बाबु वंकालाल
साह कलवारको अङ्गीकृत र आमा उर्मिलादेवी साहको वंशजको नागरिकता छ।
कलैया–५ का ७५ वर्षीय चुनिलाल अग्रवालको फाइल त २०३४
सालदेखि नै गृह मन्त्रालयमा छ। भारतको हरियाणाबाट २००२ सालमा कलैया
आएका चुनिलाल त्यहाँका एक प्रतिष्ठित व्यवसायी हुन्। उनले मठमन्दिर
बनाएका छन्, विभिन्न संघसंस्थामा बसेर सामाजिक योगदान गरेका छन्। तर,
नागरिकता नभएका कारण पत्नी सावित्री र तीन छोराहरू रामकिशोर, रमेश
र जगदिशको भविष्य अन्योलमा छ।
जगतनारायण ठाकुर कलैयाको दुर्गा माध्यमिक विद्यालयका
प्रधानाध्यापक हुन्। उनले २०३३ सालमा र पत्नी कान्तीदेवीले २०४५ सालको
टोलीमार्फत् अङ्गीकृत नागरिकता पाए। तर, तीन छोरा प्रदीपकुमार, सन्दीपकुमार
र कुलदीपकुमारको हकमा आठ वर्षअघि गरिएको सिफारिस गृह मन्त्रालयमै थन्किएर
बसेको छ।
कलैया–५ का ३८ वर्षीय हीरालाल साह तेली सबैले चिन्ने
व्यापारी हुन्। उनको तेल उद्योग छ। जेठा दाजु नथुनी साहले टोलीमार्फत्
२०३६ मा अङ्गीकृत र माहिलो दाजु जवाहिर साहले २०४५ मा वंशजका आधारमा
नागरिकता लिए। पत्नी शिवकलीकुमारी साहले बाबुका तर्फबाट वंशजको आधारमा
नागरिकता लिएकी छन्। तर, हीरालालको नागरिकता छैन। बाबु वालदेव र आमा
लखपातोदेवीको नागरिकता नबन्दै मृत्यु भयो। हीरालाल भन्छन्, “यही माटोसँग
पसिना साटियो, नेपाली भइएन।”
•
वीरेन्द्र साह, बारा
|