| •
ऋतुराज |
 |
ऋतुविचार
जनआन्दोलनका झाँकी
जुन ठाउँमा
यस पङ्क्तिकारको सानो ओत छ, त्यसको एकदम नजिक चक्रपथमा गोङ्गबु चोक
छ। लोकतन्त्रको आन्दोलनमा गोङ्गबुले समाचारको अग्रपङ्क्तिमा ठाउँ बनायो।
यसले आफ्नो पुरानो नाम मिल्काएर 'गणतन्त्र चोक' को नयाँ नाम धारण गर्यो।
जनआन्दोलनको यस्तै रणभूमि बनेको अर्को चोक कलङ्कीले 'लोकतन्त्र चोक'
को नाम रोज्यो।

किरण पाण्डे |
नामअनुसारको काम। आन्दोलन थालिएदेखि नै त्यहाँ नित्य
बिहानदेखि बेलुकीसम्मै नारा, जुलुस र प्रदर्शन भइरहे। कर्फ्यु लागेको
होस् वा हटेको होस्, हजारौँ हजारका सङ्ख्यामा मानवसमुद्र उर्लियो।
घरै बसीबसी सिठी बजेको, नारा लागेको, गोली पड्केको, अश्रुग्यासको सेल
फुटेको आवाज सुन्न सक्थेँ। चोकको दृश्य नसही टायर बाल्नाले आकाशतिर
उठेको कालो मुस्लो धूवाँ आरामले देख्न सक्थेँ। कहिले आफूभित्रको जिज्ञासाले
सडक र चोकसम्म डोर्याउँथ्यो। कहिले पुलिसको आक्रमणले भित्री गल्लीमा
पुर्याउँथ्यो। कहिले भावावेशले प्रदर्शनकारीहरूको भीडमा मिसाउँथ्यो।
कहिले कर्फ्युको घोषणाले घरकै कोठामा थन्क्याउँथ्यो। उत्साह, आशा,
अपेक्षा, भय, निरासा, आतङ्क, त्रास, क्रोध, आक्रोस, संशय, अठोट, खिन्नता,
जुगुप्सा, घृणा, हर्ष आदि अनेक भावको सञ्चार मनमा छिनछिन भइरहन्थ्यो।
विशृङ्खलित विचार तरङ्गहरू आइरहन्थे। सोच्थेँ :
• आन्दोलन चर्किने छाँट आयो कि कर्फ्यु लगाइदियो। सरकारको
जिम्मेवारी सकियो। कर्फ्यु लगाउने पनि नियम हुन्छ, परिस्थिति हुन्छ।
सत्तामा टिकिरहनलाई कर्फ्यु लगाइँदैन। यो त शक्तिको निर्र्लज्ज दुरुपयोग
हो। बोक्रैसित खाएको केरा जस्तो भयो कर्फ्यु।
• मोबाइल फोन चल्न फेरि बन्द भयो। अस्ति भर्खर मोबाइलमै
एस.एम.एस. आएको थियो गृह मन्त्रालयको। मोबाइल फोन बन्द गरेबाट असुविधा
भएकोमा ग्राहकवर्गसित क्षमा मागेको थियो। कसैले जिम्मा त लियो यस बदमासीको।
तर के गर्नु, लाज छैन, फेरि बन्द गर्यो। यसपालि चाहिँ कसले बन्द गर्न
लगाएको थियो कुन्नि? गृहले हो कि सेनाले?
• यसअघि मोबाइल फोन काटिँदा टावरसितको सम्पर्क देखाउने
चिनो पनि हराउँथ्यो। यसपालि भने फोनको लाइन काटिए पनि त्यो चिनोचाहिँ
यथावत् थियो। नेपाल टेलिकमले फोनको लाइन काटेर दुःख दिने नयाँनयाँ
सीप हासिल गरेको छ। यस्तो खुराफात त मोबाइल फोनको प्रविधि उपलब्ध गराउने
अन्तर्राष्ट्रिय उत्पादकलाई पनि थाहा नहोला। ती कम्पनीहरूले हाम्रो
नेपाल टेलिकमका विलक्षण प्रतिभाले युक्त प्राविधिकहरूलाई जागिर पो
देलान् कि?
• एक जना जर्नेल रेडियोमा बोल्दै जुलुसमा देखिने मानिसहरू
सबै काठमाडौँबाहिरका हुन् भन्ने दाबी गरिरहेका थिए। ठीक छ, बाहिरबाटै
आएका हुन् रे। के ती नेपालका नागरिक होइनन्? के ती जर्नेललाई जुलुसमा
उनलाई सामुन्ने देख्नासाथ दर्शन प्रभो भनेर लुत्रुक्क पर्ने मान्छे
चाहिएको थियो? कहिले कहिले मानिसको अनुहारले पनि उसको विचार बताउँदो
रहेछ। कस्ता बाङ्गा कुरा गरेका ती जर्साहेबले?
• कस्तो विपत्ति पर्यो होला ती परिवारलाई जसले आफ्ना
प्रियजन गुमाउनुपर्यो। पुलिस दमनका कारण कतिले दृष्टि गुमाए, कति
अपाङ्ग बने कति अस्पतालमा मृत्युसँग लडिरहेछन्। ढ्याङ ढ्याङ गोली हान्ने
अधिकार कसले दियो तिनीहरूलाई? अझ् आकाशमा हवाईगस्ती छ, त्यो पनि हाम्रै
पैसाले किनेको तेल जलाएर। मिलोसेभिचले कठघरामा खडा हुनुपरेको थियो।
लाइबेरियाका चार्ल्स टेलरको अब पालो छ। नेपालका कसैलाई त्यसरी कठघरामा
उभ्याउन सकिएला?
• विदेशी राजदूतहरू नेताहरूलाई यो गर त्यो भनेर सिकाउन
जान्छन्। के बुझेका छन् तिनले नेपालीको मर्का? बहुलाहा रणबहादुर शाहका
सन्तानको शासन धान्न कति गाह्रो छ तिनलाई के थाहा? च्याउ खावोस् न
च्याउको स्वाद जानोस्। तर जुन हिसाबले बात बातमा उनीहरू टाङ घुसार्न
लागेका छन् त्यसका लागि संविधानसभा भन्दा पनि सबैभन्दा पहिले त 'राजदूत
सभा' बनाउनुपर्ला जस्तो पो छ।
• उता भारत दुई खम्बाको राग अलाप्न छाड्दैन। के हो
त्यो दुई खम्बा भनेको? दुई खम्बाले त केही बन्दैन। एउटा पालि गाँस्न
पनि काम लाग्दैन। कि त एउटै खम्बा काम लाग्छ जस्तो विस्केट जात्राको
लिङ्गो वा इन्द्रजात्राको लिङ्गो। दुई खम्बाको त अमेरिकी फूटबलको गोलपोस्ट
मात्र हुन्छ। त्यसलाई पनि माझ्मा तेर्सो घोंचा चाहिन्छ। दुइटा खम्बा
भनेर भारतको चाहिँ त्यस्तै गोलपोस्टमा चुच्चे भकुण्डो हानिरहने विचार
छ कि क्या हो?
• मान्नुपर्छ नेपाली जनतालाई अलिकति निधार नखुम्चाई
उथलपुथलका २० दिन कटाए।
• एउटा दैनिक अखबारमा राजदरबारलाई इटलीभित्रको भ्याटिकन
बनाउने एक जना पाठकले दिएको सुझ्ाव बडो घतलाग्दो लाग्यो। राजा त चाहिन्छ।
जर्नेलहरूलाई चाहिन्छ। धर्माधिकारीहरूलाई चाहिन्छ। अशोक सिङ्घललाई
चाहिन्छ। विश्व हिन्दू महासङ्घलाई चाहिन्छ। खड्कुलामा गोडा धुनेहरूका
लागि चाहिन्छ। तरबार साट्नलाई चाहिन्छ। आखिर हिन्दू संसारलाई पनि एउटा
पोप त चाहिन्छ। पोपलाई झ्ैँ दरबारलाई भ्याटिकन बनाएर राजालाई राख्ने
कुरा नराम्रो होइन।
• कस्तो फूर्ति थियो राजाका गृहमन्त्रीको। झ्न् सञ्चारको
जिम्मा सम्हालेका राणा सन्ततिको त कुरै नगरौँ। मेरो राजाबाट गल्ती
नै हुँदैन भन्थे। के गर्दै होलान् ती मन्त्रीहरू? ब्याङ्गलोरबाट फर्केका
पञ्चायतका सुडेनीको हालत के होला? घोडाको पछाडि र राजाको अगाडि नबस्नु
भन्ने आहान त्यसै कहाँ बनेको हो र?
• पहिले राजाले ठेङ्गा दिए, आफूले पनि ठेङ्गा पाए।
पछि सच्याएर संसद् ब्यूँताए। सबै चिनेकै बराजु हुन्। कतै नरिवल त हुँदैन
यो अवसर कपिगणहरूको हातमा? कतै गणतन्त्र नेपालको साझ्ा सपना एउटा चोकको
नामकरणमा मात्रै सीमित पो हुने हो कि?
हरिश वमजनले उहिले 'रूपरेखा' मा लेख्ने 'बेटुङ्गोका कुराहरू' जस्तै
भयो यसपालिको ऋतुविचार। तर 'गणतन्त्र चोक' छेउ बसेर यस घडीमा यसभन्दा
अर्थोक के सोच्न सकिन्छ र?
|