| रिपोर्ट | तन्नेरीका कुरा
सडकबाट टाढा अर्कै जमात
•
अनुशील श्रेष्ठ/शैली बस्नेत

डम्बरकृष्ण श्रेष्ठ |
| ५ वैशाखमा ह्वाइट हाउस कलेजमा
निरंकुशता विरुद्ध निजी कलेजका विद्यार्थीहरू। |
वर्ष दिनदेखि
राजधानीका लैनचौर, रत्नपार्क, न्यूरोड, बानेश्वर आदि ठाउँमा सरकारी
कलेजका विद्यार्थीहरूले शाही कदम विरोधी प्रदर्शन गरिरहँदा निजी कलेजका
विद्यार्थीहरू बाटो काटेर पल्लो छेउतिर लाग्दथे, तर यस पटकको जनआन्दोलनमा
भने निजी शिक्षण संस्थाका विद्यार्थीहरू पनि केही सङ्ख्यामा सडकमा
देखिए। काठमाडौँ विश्वविद्यालयका छात्र शितल शर्मा कमाएर खान नपाउने
अवस्था आएको देखेर आन्दोलनमा लागेको बताउँछन्। उनी भन्छन्, “त्यो कुनै
पार्टीको मात्र आन्दोलन रहेन, मेरो आन्दोलन पनि बन्यो।” आन्दोलनको
शुरुमा घरै बसेका लिटिल एञ्जल्स स्कूलका छात्र राजा तिमिल्सिना आफ्नो
भविष्यका लागि आफैँ अग्रसर हुनुपर्ने ठानेर चक्रपथ घेराउमा सक्रिय
भएका थिए।
शान्तिपूर्ण र सिर्जनात्मक सहयोग
सामान्य अवस्थामा राजनीतिमा खासै रुचि नराख्ने निजी कलेजका धेरै विद्यार्थीहरू
सडक आन्दोलन र ढुङ्गामुढाबाट परै रहन चाहन्छन्। आईएससीए कलेजकी छात्रा
प्रतिक्षा रेग्मी भन्छिन्, “शान्तिपूर्ण आन्दोलनमा अग्रसर हुनु राम्रो
हो, तर तोडफोड र ध्वंस ठीक होइन।” विगतमा सडकमा रेलिङ भाँच्ने, आगजनी
गर्ने आन्दोलनमा समेत सहभागी भएका विद्यार्थी नेता गगन थापा पनि शान्तिपूर्ण
आन्दोलनकै पक्षमा छन्। भन्छन्, “हामीले ढुङ्गा हान्ने, पुत्ला जलाउने
भन्दा भिन्न शैलीले आन्दोलन गर्नुपर्छ। एउटा पनि टायर नबाली आन्दोलन
सफल पार्न सकिन्छ।”

आर्यश्री पौड्याल |
तर निजी शिक्षण संस्थाका धेरै विद्यार्थीहरू आन्दोलनमा
तोडफोड र ध्वंस हुनेगरेकोले नै आफुहरू राजनीतिबाट टाढा रहेको बताउँछन्।
काठमाडौँ भ्याली स्कूलमा १२ कक्षामा पढ्ने आर्यश्री पौड्याल भन्छिन्,
“आन्दोलनलाई समर्थन गर्दागर्दै पनि सडकमै उत्रिने विकल्प मात्र देखिन्छ,
जुन म चाहन्न।” यस्तै विद्यार्थीका आवाज समेट्न 'युथ इनिसिएटिभ' र
'समुदाय डट ओआरजी'ले ५ वैशाखमा काठमाडौँको हिमालयन ह्वाइट हाउस कलेजमा
एउटा कार्यक्रम आयोजना गरेका थिए। आन्दोलनसँग सम्बन्धित तस्बिर प्रदर्शनीबाट
शुरु भएको १८ वटा कलेजका विद्यार्थीहरूले भाग लिएका सो कार्यक्रममा
आन्दोलनका घाइतेहरूका लागि रक्तदान पनि गरिएको थियो। त्यस कार्यक्रमबाट
नयाँ अनुभव हासिल गरेका प्रज्ज्वल गड्तौला भन्छन्, “सडकमा नगएर पनि
आन्दोलनमा सहभागी हुन पाएँ।”
आन्दोलनमा यस्तै सिर्जनात्मक सहयोगका उदाहरण अरू पनि
छन्। १९ माघको शाही कदमको विरोधमा काठमाडौँकी सराहना श्रेष्ठले अमेरिकाबाट
समुदाय डट ओआरजी अनलाइन शुरु गरिन्। 'नयाँ नेपाल सम्भव छ' नारा अङ्कित
टी–सर्ट निकालेकी सराहनासँगै समुदाय मा संलग्न कैयौँ युवाहरूले वेबसाइटमा
आन्दोलनको समाचार, तस्बिर र ब्लग राखेर फरक तर सशक्त ढङ्गले आन्दोलनमा
समर्थन जनाएका छन्।
शिक्षा क्षेत्र राज्य र माओवादीको मारमा पर्न थालेपछि
तीन वर्षअघि विद्यार्थी हितका लागि भनेर अलायन्स फर पिस (एएफपी) स्थापना
भएको थियो। त्यसले १९ माघ ०६१ पछि गिरफ्तार विद्यार्थीहरूको रेकर्ड
राख्नुका साथै उनीहरूलाई मुक्त गराउन अदालतमा बन्दी प्रत्यक्षीकरण
रिट हाल्ने, संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगलाई जानकारी गराउने
जस्ता काम गर्दै आएका थिए। एएफपीका निर्देशक सन्देश अधिकारी भन्छन्,
“आन्दोलनलाई सहयोग गर्न हामीले यो काम थालेका हौँ।”

डम्बरकृष्ण श्रेष्ठ |
| यसरी सरकारी कलेजका विद्यार्थीजस्तो गरी सडकमा
त्यति उत्रिएनन् निजी कलेजका विद्यार्थीहरु। |
किन सक्रिय छैनन्
२००४ सालको जयतु संस्कृतम् आन्दोलनदेखि २०१७ सालको शाही 'कु' विरुद्ध
विद्रोह, २०३६ सालको विद्यार्थी आन्दोलन होस् वा २०४६ सालको जनआन्दोलन217
युवाहरूको उल्लेख्य भूमिका थियो। यस पटकको लोकतान्त्रिक जनआन्दोलनमा
पनि युवाहरूले यस्तै भूमिका निर्बाह गरे। तर आन्दोलनको बेलामा घरमा
'हाई' काढ्दै दिन बिताउने युवा पनि प्रशस्तै छन्। दलहरूको १२ वर्षे
शासन देखेका यी युवाहरूमा पार्टी र नेताहरूमा व्याप्त विकृति, आन्दोलनका
क्रममा भएको सार्वजनिक सम्पत्ति तोडफोड तथा अनावश्यक हडताल र बन्दको
श्रृङ्खलाले गर्दा पनि राजनीतिप्रति वितृष्णा जागेको पाइन्छ। सानैदेखि
'नेता र पार्टीहरू खत्तम छन्, राजनीतिमा नलाग्नू,' भन्ने परिवारका
कुरा सुनेर पनि युवापुस्तामा त्यस्तो छाप परेको एएफपीको बुझाई छ। अनेरास्ववियुकी
नेतृ रामकुमारी झाँक्री भन्छिन्, “लोकतन्त्र ठीक भन्नेहरूले पनि आफ्ना
छोराछोरी आन्दोलनमा नजाउन् भन्ने चाहन्छन्।”
मध्यम र उच्चवर्गका तन्नेरीका आवश्यकता घरबाटै पूरा
हुने र राजनीतिक उथलपुथलले उनीहरूलाई प्रत्यक्ष प्रभावित नगर्ने हुनाले
पनि उनीहरू जनअधिकारको निम्ति संघर्ष गर्ने खाँचो देख्दैनन्। होप इन्टरनेशनलमा
नर्सिङ अध्ययन गरिरहेकी एक छात्राले आफू र आफ्ना साथीहरू कसैलाई पनि
राजनीतिमा चासो नभएको बताइन्। केही निजी शिक्षण संस्थाहरूले राजनीति
र आन्दोलनबारे गर्ने नकारात्मक प्रचारले पनि विद्यार्थीहरूलाई यसबाट
टाढा पुर्याएको छ। पार्टीले पैसा दिने गरेकोले बेरोजगार युवाहरू ढुङ्गा
हान्न आन्दोलनमा जाने गरेको भन्ने हल्ला प्रतीक्षा रेग्मीले पनि सुनेकी
छन्।
निजी कलेजले राजनीतिक तथा सङ्गठनात्मक गतिविधिमा अप्रत्यक्ष
रोक पनि लगाएका हुन्छन्। कतिपय शिक्षण संस्थाले त भर्ना लिँदै 'राजनीतिक
गतिविधिमा नलाग्ने' सर्तनामामा विद्यार्थी र अभिभावकलाई हस्ताक्षर
गराउँछन्। नेविसंघका केन्द्रीय उपाध्यक्ष प्रदीप पौडेलको बुझ्ाइमा
पनि निजी क्याम्पसहरू विद्यार्थी राजनीतिप्रति अनुदार भएकाले नै त्यहाँका
विद्यार्थीहरू सरकारी कलेजका जस्तो सक्रिय हुन नसकेका हुन्। सरकारी
कलेजकै विद्यार्थीहरू पनि सबै आन्दोलनमा ओर्लिँदैनन्। त्रिविवि अन्तर्गतका
क्याम्पसमा दुई लाख जति विद्यार्थी सङ्गठनहरूमा आबद्ध छन्, तर तीमध्ये
पनि सबै आन्दोलनमा जाँदैनन्। विद्यार्थी नेता गगन थापाका अनुसार, २४
चैतअघिको लोकतान्त्रिक आन्दोलनमा देशभर सक्रिय युवाहरूको सङ्ख्या २०
हजार जति मात्र थियो।

सुरेशराज न्यौपाने |
सङ्गठन र सचेतताको कमी
निजी शिक्षण संस्थाहरूमा राजनीतिक दलनिकट विद्यार्थी सङ्गठनहरूको पहुँच
नरहनु पनि विद्यार्थी नेताहरूको भनाइ छ। प्रदीप पौडेल भन्छन्, “जनअधिकारका
कुरा समग्र युवाहरूलाई बुझ्ाउन नसक्नु विद्यार्थी सङ्गठनहरूको कमजोरी
हो भने, आफैँलाई सक्षम ठान्ने युवा पुस्ताले नबुझनु र बुझन नचाहनु
उसको पनि कमजोरी हो।” सङ्गठित हुन नपाएको कारणले सामुहिक उपस्थिति
जनाउन नसकिएको महसूस गरेर ह्वाइट हाउसमा सम्पन्न कार्यक्रमका सहभागी
युवाहरूले पनि 'असंलग्न विद्यार्थी तथा युवा गठबन्धन (नेसा)' को स्थापना
गरेका छन्। यसका संस्थापक सदस्य रविन सिटौला भन्छन्, “जनआन्दोलनमा
ऐक्यबद्धता जनाएको यो गठबन्धनले अव तटस्थ रहेर राष्ट्रिय सरोकारका
विषयहरूमा 'वाचडग'को काम गर्नेछ।”
 |
नेसाले निजी कलेजका विद्यार्थीहरू आन्दोलनमा सक्रिय
नहुनुको कारण उनीहरूले राजनीति नबुझनु हो भन्ने पनि बुझेको छ। गगन
थापा भन्छन्, “हामीले बोल्ने अग्रगामी कदम, प्रतिगमन जस्ता राजनीतिक
शब्दावली नै उनीहरू बुझदैनन्।” त्यसैले नेसाले लोकतन्त्र, संविधानसभा
जस्ता कुराको अर्थ बुझ्ाउन कलेजहरूमा अन्तरक्रिया कार्यक्रम गर्ने
योजना बनाएको छ। आन्दोलनको क्रममा नेसाले 'म परिवर्तन चाहन्छु र म
एक्लो छैन' भन्ने नारा लेखिएको टी–सर्ट पनि निकालेको थियो।
सिनामङ्गलका दीपेन्द्र भट्ट र बसुन्धराका प्रवेश पोखरेलले
आन्दोलनका क्रममा आ–आफ्नो टोलमा निजी कलेजका विद्यार्थीहरूको सङ्गठन
बनाउन छलफल गरेका थिए। यस्ता संगठनहरू बनेमा विद्यार्थीहरूमा राजनीतिक
चेतना जगाउन, राष्ट्रिय विषयहरूमाथिको छलफलमा उनीहरूलाई सहभागी गराउन
र निजी शैक्षिक संस्थामा भएका समस्या समाधान गर्न सहयोग पुग्ने उनीहरूको
अनुभव छ। सरकारी सरह निजी शिक्षण संस्थाका विद्यार्थीहरू पनि राजनीतिप्रति
सचेत र सङ्गठित हुन सके लोकतान्त्रिक आन्दोलनका सकारात्मक प्रतिफलमध्ये
त्यो पनि एक हुनेछ।
|