हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनमार्ग-२०६३

हाम्रो आन्दोलन जारी छ

स्नेह साय्मि


किरण पाण्डे
संविधान सभाका लागि धर्ना।

भोटाहिटीबाट रत्नपार्कतिरको निषेधित क्षेत्र तोड्ने प्रयासबाट शुरु भएको लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले सात पार्टीका शीर्षस्थ नेताहरूलाई अगाडि राखेर बानेश्वरमा अर्को नागरिक सभा गरेका थिए। एकअर्काप्रति शङ्का, डर र अविश्वास हुँदाहुँदै पनि कुनै औपचारिक कमिटिबिना नागरिक आन्दोलनका कार्यक्रमहरू काठमाडौँलगायत जिल्ला–जिल्लामा फैलिए। सात पार्टीभन्दा अलग नागरिक, पेशाकर्मी, साहित्यकार, सञ्चारकर्मी र कलाकारहरूले यो आन्दोलनलाई अगाडि बढाए। विद्यार्थी र मानवअधिकारवादीहरूले यसमा ठूलो सहयोग गरे।

सात पार्टीको आम हड्तालमा अपार जनसहभागिताले संसद पुनःस्थापना गरायो। सात पार्टीका नेताहरू संसद सञ्चालन र सरकार निर्माणमा लागेका छन्। कैयौँ जनताले विजय जुलुस निकाले, जनसभाहरू भए। नेताहरूले आन्दोलनको भावनालाई कायमै राख्ने बाचा गरे। तर पनि जनसाधारण सात पार्टीप्रति विश्वस्त छैनन्। राज्य सञ्चालनका प्रक्रियामा, भ्रष्टलाई कारबाही हुन्छ र प्रतिगामी निर्णयहरू हुँदैनन् भन्ने कुरामा जनता ढुक्क छैनन्। सात पार्टीका प्रत्येक पाइलाहरूलाई जनताले तिखो आँखा र चनाखो दिमाग लगाएर शङ्काको दृष्टिले हेरिरहेका छन्। आन्दोलनमा पूर्ण रूपमा खटेर लागेका पेशाकर्मीहरू पनि चिन्तित छन्। एकथरी मान्छे व्यापार, ठेकेदारी, नियुक्तिका दौडमा लागेका होलान्, तर नागरिक आन्दोलनका अगुवा र सहकर्मीहरू सत्तासञ्चालनमा चुक्लान् कि भनेर पार्टीका नेताहरूलाई निरन्तर भेट्ने र नागरिकका कुराहरू राख्ने गरिरहेका छन्। शम्भु थापा र विष्णु निष्ठुरीका भाषण, कृष्ण खनाल र श्याम श्रेष्ठका अन्तर्वार्ता, कनकमणि दीक्षित, डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीका भनाइहरूले नागरिक आन्दोलन टुङ्गिनसकेको जनाउँछ। १२ वर्षका गल्ती कमजोरीहरूलाई कोट्याउँदै पुराना गल्ती दोहोरिन नदिन नागरिक आन्दोलन सक्रिय छ। जसरी राजा ज्ञानेन्द्रले सनक र स्वार्थका निम्ति मुलुकलाई चार वर्षमा ४० वर्ष पछाडि धकेले त्यस्तै सनकी काम सात पार्टीले नगरुन् भन्ने जनचाहना नेताहरूलाई सुनाइरहन नागरिकहरू लागिपरेका छन्।

माओवादीहरू सात पार्टीका झ्ण्डा बोकेर आन्दोलनमा सहभागी भए। अलिकति चित्त नबुझ्ेपछि आफ्नै सहयोगीलाई 'जन–कारबाही' गरेर तह लगाउन र उनीहरूको घरमा आगो लगाउन पछि नपर्ने माओवादीहरू अहिंसात्मक लोकतान्त्रिक आन्दोलनमा राम्रैसँग लागे र उपलब्धि उनीहरूको इच्छाअनुसार नभए पनि, त्यसले ल्याएको जनउभारको प्रत्यक्ष अनुभव गरे। यसर्थ अबको लोकतान्त्रिक अभियानमा माओवादीलाई तुरुन्त साथ लिनुपर्छ र इज्जतपूर्ण ढङ्गले खुला राजनीतिमा आउने बाटो खोलिदिनुपर्छ भन्ने कुरामा नागरिक आन्दोलन स्पष्ट देखिन्छ।

सकेसम्म लोकतान्त्रिक सरकारलाई सहयोग नगर्ने, देशमा अव्यवस्था उत्पन्न गराउने, परम्परागत ढर्रामा चल्ने र पुरानो सामन्ती व्यवस्थाकै कार्यशैली अपनाएर जनसाधारणलाई लोकतन्त्रको अनुभव गर्न नदिने सैनिक जर्नेल, प्रशासक, न्यायाधीशहरूको निरङ्कुशतन्त्रप्रतिको झ्ुकाव र समर्थनका कारण धेरै जनाको हत्या भएको, मानवअधिकार हनन भएको, मानसिक यातना दिइएको, प्रेसमाथि सेन्सरसीप लगाइएको, बलात्कार भएको कुरा जनसाधारणले बिर्सिसकेका छैनन्। सात दलका नेताहरूलाई उनीहरूको 'स्यालूट' र 'सेवा'मा नफस्न र जनआन्दोलन विरोधी 'जर्साबहरू'देखिरुपरङ्ग फेरिरहने दमनकारी 'कमल थापाहरू'लाई कारबाही गर्नका लागि नागरिक आन्दोलन नेताहरूको दह्रो खुट्टा बनेर उभिन तत्पर देखिन्छ।

शान्तिपूर्ण र समावेशी लोकतान्त्रिक राजनीति निश्चय पनि सजिलो छैन। जनसाधारणलाई काल्पनिक योजना बताएर उत्तेजनापूर्ण नारा लगाउन जति सजिलो छ, जिम्मेवारीपूर्वक सबै पक्षलाई समेटेर सत्ता सञ्चालन गर्नु त्यत्तिकै गाह्रो छ। त्यसैले नेताहरूलाई संयमित शब्द र भाषा प्रयोग गर्न, हुनै नसक्ने आश्वासन नदिन र गर्नुपर्ने काममा अत्यन्तै दृढ हुनका लागि नागरिक आन्दोलन समर्पित देखिन्छ। जनता जहिले पनि नेताहरूभन्दा अग्रगामी देखिएको छ। ती अग्रगामी सोच र विचारहरू सरकारमा पुगेका पार्टी र नेताहरू समक्ष पुर्‍याइरहनु र खबरदारी गरिरहनु नागरिक आन्दोलनले आफ्नो कर्तव्य ठानेको छ। त्यसैले हाम्रो आन्दोलन जारी छ।