हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनमार्ग-२०६३

जसले मृत्यु स्वीकारे

निरङ्कुशताको अन्त्यका निम्ति भएको जनआन्दोलनमा डेढ दर्जन होनाहार नेपालीले शहादत प्राप्त गरेका छन्। यही शहादतका कारण पन्ध्र महिना लामो राजाको प्रत्यक्ष शासनको समाप्तिसँगै चार वर्ष पहिले विघटित प्रतिनिधिसभाको पुनःस्थापना पनि सम्भव भएको छ।

सूर्य थापा


तस्बिर सौजन्यः सूर्य थापा/तीर्थ सिग्देल

उमेशचन्द्र थापाः राजाले गराएको नगर चुनावको दिन २६ चैत ०६२ मा दाङको घोराहीमा सेनाको गोली प्रहारबाट मारिएका उमेशचन्द्र थापा पछिल्लो लोकतान्त्रिक आन्दोलनका प्रथम शहीद हुन्। ०११ सालमा प्यूठानको बरौंला गाविसको मलवाङमा जन्मिएका उनले ०३५ सालदेखि दाङको घोराहीमा स्वर्गद्वारी पे्रस सञ्चालन गर्दै आएका थिए। नेकपा (एमाले) दाङ जिल्ला परिषदका सदस्य रहेका थापाको परिवारमा श्रीमती तथा दुई छोरा छन्। उनकोे हत्यापछि परिवार गम्भीर आर्थिक अभावको सामना गरिरहेको छ र छोराहरूको पढाइ सङ्कटमा परेको छ।

दशनलाल यादवः सप्तरीको मलेकपुर गाविसका पूर्व उपाध्यक्ष यादव २३ चैत २०६२ गते साँझ् मशाल जुलुस प्रदर्शनको क्रममा राजविराजमा प्रहरी दमनमा परेका थिए। नेकपा (एमाले) इलाका कमिटी सदस्य ५० वर्षीय यादवको सगरमाथा अञ्चल अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको थियो। चालु जनआन्दोलनमा शहादत गर्ने उनी मधेशी समुदायका पहिलो व्यक्ति हुन्।

भीमसेन दाहालः काभ्रेपलाञ्चोकको उग्रचण्डी नाला गाविसका स्थायी वासिन्दा भीमसेन दाहालमाथि पोखरामा सेनाले गोली हानेको थियो। एक दशकदेखि त्यहाँ साइवर व्यवसाय गरी बसेका ३४ वर्षीय दाहालका दुई श्रीमती र तीन नाबालक छोराछोरी छन्। सेना र पुलिसले उनको शव पोखरामै रहेकी श्रीमतीलाई नबुझ्ाई काभ्रेको बनेपामा ल्याएर सुरक्षा घेराबीच परिवारका सदस्यहरूलाई बुझ्ाएको थियो। जनआन्दोलनका क्रममा गिरफ्तार उनका दाजुलाई बागमती अञ्चल प्रशासन कार्यालयमा लगी आतङ्ककारीको अभियोगमा केरकार गरेर अपमानित गरिएको थियो। एमाले कार्यकर्ता दाहालको २६ चैतमा भएको नृशंस हत्याले काभ्रे र पोखरामा जनआक्रोश चुलिएको थियो।

तुलसी क्षेत्रीः आम हड्तालको तेस्रो दिन २६ चैतमा चितवनको भरतपुरमा घरमै बसिरहेकी गृहिणी तुलसी क्षेत्रीलाई गोली लागेको थियो। सेनाले चलाएको गोली लागेर अन्य दुई पनि घाइते भएकोमा तुलसीको २७ चैतमा निधन भयो। पति अरबबाट फर्केपछि ६ दिनपछि उनको दाहसंस्कार गरिएको थियो। उनका एक नाबालक छोरा छन्।

शिवहरि कुँवरः पोखरामा मारिएका भीमसेन दाहालको अन्त्येष्टिका क्रममा बनेपामा भएको प्रदर्शनमा २७ चैतमा सुरक्षाकर्मीले अन्धाधुन्द गोली चलाउँदा २२ वर्षीय शिवहरि कुँवरको मृत्यु भएको थियो। पशुपति क्याम्पस चावहिलमा अखिलको राजनीति गरेका कुँवर वाल्टिङ ७ का स्थायी वासिन्दा हुन्।

विष्णु पाण्डेः स्वाठी–५, भुमही रामनगरका वासिन्दा विष्णुप्रसाद पाण्डेको सेनाले चलाएको गोली लागी मृत्यु भएको थियो। ३० चैतमा नवलपरासीमा उर्लेको जनप्रदर्शनको क्रममा ३२ वर्षीय पाण्डेको दायाँ कोखा र टाउकोमा गोली लागेको थियो। एमालेका सङ्गठित सदस्य पाण्डेको निधनले उनको परिवार विचल्लीमा परेको छ।

हीरालाल गौतमः ४ बैशाख २०६२ मा बाराको निजगढमा युनिफाइड कमाण्डका सुरक्षाकर्मीहरूले चलाएको गोलीबाट २५ वर्षीय हीरालाल गौतमको निधन भएको थियो। कृषि विकास ब्याङ्कको छतबाट सुरक्षाकर्मीले चलाएको गोली गौतमको कम्मरमा लागेको थियो। एमाले कार्यकर्ता हीरालालका श्रीमती र चार वर्ष मुनिका तीन छोरी छन्। पिताको निधनपछि उनीहरू सहाराविहीन भएका छन्।

सेतु विकः नेपालगञ्ज ज्ञानेन्द्र चोकमा ५ वैशाखमा प्रहरीले हानेको अश्रुग्याँसको सेल लागी ढलेकी सेतु विकलाई उपचारको निम्ति लखनऊ लैजाने क्रममा भारतको नानपारामा मृत्यु भएको थियो। वागेश्वरी गाविस बाँकेकी २५ वर्षीया सेतुको शवयात्रामा करीब एकलाख जनसमुदाय सहभागी भए। एमाले समर्थक सेतु मजदुरी गरेर आफ्ना तीन नाबालकको जीविका चलाउँदै आएकी थिइन्। आन्दोलनकारीले ज्ञानेन्द्र चोकको सेतुविक चोक नामाकरण गरेका छन्।

राजन गिरीः ६ वैशाखमा झ्ापा चन्द्रगढीमा सेनाले चलाएको गोली लागी राजन गिरीको मृत्यु भयो। अर्जुनधारा–६, लक्ष्मीपुरका बासिन्दा गिरी १२ कक्षाका विद्यार्थी हुन्। जनआन्दोलनमा सक्रिय गिरी नेपाल विद्यार्थी संघका कार्यकर्ता थिए।

सुरज विश्वासः सेनाको गोली लागेर ६ वैशाखमा अन्दोलनकारी सुरज विश्वासको चन्द्रगढीमा ज्यान गयो। जनआन्दोलनमा सक्रिय भद्रपुर–९ का स्थायी बासिन्दा २६ वर्षीय विश्वास नेपाली काङ्ग्रेसका कार्यकर्ता थिए।

दीपक कामीः ७ वैशाखमा काठमाडौँ कलङ्कीमा भएको गोली काण्डमा मारिएका दीपक जनमोर्चा नेपालका कार्यकर्ता हुन्। खोटाङ नेचाका स्थायी बासिन्दा कामी नेपाल राष्ट्रिय दलित मुक्ति सङ्गठनका सक्रिय कार्यकर्ता थिए। थानकोटस्थित डेरीमा मजदुरी गर्ने २१ वर्षीय दीपकको मृत्यु सशस्त्र प्रहरीले चलाएको गोलीबाट भएको थियो।

वासुदेव घिमिरेः आम भञ्ज्याङ गाविस–३ मकवानपुरका बासिन्दा वासुदेव घिमिरे काठमाडौँ कलङ्कीका फर्निचर व्यवसायी हुन्। ७ वैशाखमा गोली हानेर हत्या गरिएका घिमिरेको शव समेत परिवारलाई दिइएन। प्रहरीले जबरजस्ती अत्येष्टि गरेको थियो। भनिन्छ, अत्यधिक कुटपिट गर्ने क्रममा मारिएपछि उनको शवमा गोली हानिएको रहस्य खुल्ने डरले गृहमन्त्री कमल थापाको निर्देशनमा जबरजस्ती अन्त्येष्टि गरिएको थियो। घिमिरे नेपाल तरुण दलका कार्यकर्ता हुन्। तर, प्रहरीले उनका आफन्तलाई आतङ्ककारी समर्थक भएको मुचुल्कामा हस्ताक्षर गराउन जोड गरेको थियो।

सगुन ताम्राकारः जनआन्दोलनका सबभन्दा कम उमेरका १८ वर्षीय शहीद सगुन ताम्राकार पनौती–७, काभ्रेका स्याथी बासिन्दा हुन्। आमा जया जोशीसँग धादिङको नौबिसेमा बस्दै आएका सगुनले त्यहीँको महेन्द्र माध्यमिक विद्यालयबाट आठ कक्षा उत्तीर्ण गरेका थिए। ७ वैशाखमा उनको हत्या भएको हो।

यामलाल लामिछानेः ७ वैशाखमा बर्दियाको गुलरियामा घाइते भएका ५५ वर्षीय यामलालको उपचारको क्रममा भारतको लखनउमा ८ वैशाखमा मृत्यु भएको हो। एमालेका सक्रिय कार्यकर्ता लामिछाने अखिल नेपाल किसान संघ गुलरिया नगर कमिटिका सदस्य थिए। उनका चार छोरा र तीन छोरी छन्। गुल्मीको वामिटक्सारमा जन्मेका यामलाल बर्दियाको पण्डितपुरका स्थायी बासिन्दा हुन्।

गोविन्दनाथ शर्माः पर्वतको कुश्मामा ८ वैशाखमा गोली लागी घाइते भएका शर्माको उपचारको क्रममा १२ गते मृत्यु भएको हो। उनी स्थानीय रुपमा स्थापित उद्यमी हुन्। नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रहिसकेका शर्मा धवलागिरि अञ्चलमै यो आन्दोलनका क्रममा शहादत प्राप्त पहिलो आन्दोलनकारी हुन्। ५३ वर्षीय शर्माका पाँच छोरी, एक छोरा र दुई श्रीमती छन्।


यी को हुन्?


शालिग्राम तिवारी/कान्तिपुर

जनआन्दोलनको क्रममा कलङ्कीमा मारिएका यी आन्दोलनकारीको तस्बिर उपलब्ध भएपनि स्थिति अझै अज्ञात छ। उता, झ्ापाको चन्द्रगढी गोली काण्डमा मारिएका दुई जनालाई सेनाले आफ्नो कब्जामा लिएकोमा अहिलेसम्म उनीहरूको स्थिति सार्वजनिक भएको छैन।

२६ माघदेखि १२ वैशाखसम्म जीवन गुमाएका जनआन्दोलनका शहीदहरू।