रमझम | जनमार्ग-२०६३
विद्रोही नवीना
शब्दः अनुशील

किरण पाण्डे/डम्बरकृष्ण |
'यसो हेर्दा राजनीति गर्ली जस्ती छैन, किन हिँडेकी होली!'
उनलाई देख्नेहरू यसै भन्छन्। तर, काठमाडाँै शान्तिनगरकी नवीना लामा
१९ माघपछिको लोकतान्त्रिक आन्दोलनमा कहिले एक हातमा मशाल र अर्को हातमा
झ्ण्डा लिएर सडकमा निस्किन् त कहिले टाउकोमा कात्रो बाँधेर निरङ्कुशताको
पुत्ला दहन गर्न अघि सरिन्। २४ चैतपछिको 'कर्फ्यू' तोडेर सुरक्षाकर्मीको
लाठी–गोली थाप्दै प्रदर्शनको अग्रपंक्तिमा निडर भएर उभिइन्। भन्छिन्,
“आन्दोलनमा हिँडेपछि पक्राउ परिन्छ, लाठी र गोली खाइन्छ भनेर डराएर
कहाँ हुन्छ र? समाज, देश र जनताको लागि लडेकाले मलाई मृत्युसँग डर
छैन।” १९ माघ ०६१ को शाही घोषणापछि दुई पटक गरी झ्ण्डै दुई महिना थुनिएकी
नवीनाले सुरक्षाकर्मीको दुर्व्यवहार र पिटाइ पनि झ्ेल्नु पर्यो। शाही
घोषणाको विरोध गरेबापत गत वर्ष २६ दिन थुनिएकी नवीनालाई गएको माघको
पहिलो साता घर घेरेर पक्राउ गरी २८ दिन थुनेका थिए। तर उनले हरेस खाइनन्,
झ्नै सशक्त भएर लोकतन्त्र स्थापनाका निम्ति खटिइरहिन्।
काभ्रे, मादेनकुडारीको महेन्द्र माविमा ७ कक्षा पढ्दैदेखि
विद्यार्थी राजनीतिमा लागेकी नवीना १० कक्षामा पुग्दा अखिलको जिल्ला
कमिटि उपाध्यक्ष भइसकेकी थिइन्। उनका बाबु मानिक लामा गाविसका पूर्व
अध्यक्ष भएकाले पनि उनलाई राजनीति बुझन गाह्रो भएन। २०५६ सालमा राजधानी
छिरेकी नवीना विद्यार्थी सङ्गठनहरूले अघि सारेको ३३ प्रतिशत शुल्क
घटाउ आन्दोलनमा सक्रिय भइन्। बानेश्वर क्याम्पसमा समाजशास्त्रमा स्नातक
गरिरहेकी यी छात्रा स्ववियु सभापति तथा अखिलकी वैकल्पिक केन्द्रीय
सदस्य हुन्। राजनीतिको माध्यमबाट समाज रुपान्तरण गर्न सकिने बताउँदै
नवीना भन्छिन्, “राजाको निरङ्कुश कदमकै कारण जनता यसरी जागेका हुन्।
देशमा राजा राख्ने कि नराख्ने भन्ने निर्णय जनताले नै गर्नेछन्।”
रिपोर्ट
कवि, कलाकार र स्रष्टा जनतासँगै
जनआन्दोलनमा
•
डम्बरकृष्ण श्रेष्ठ
आन्दोलनमा गायक
रामेशदेखि बालगायक रुविन गन्धर्व, देउडागायक नन्दकृष्ण जोशीदेखि लोकगायक
बद्री पँगेनी, चलचित्र निर्देशक नविन सुब्बादेखि नायिका विपना थापासम्म
धेरै कलाकारहरू सडकमा उत्रिए। साहित्यकर्मी र अन्य स्रष्टाहरूको ठूलो
जमात पनि बाहिर निस्क्यो। यो पटक स्रष्टाहरूको सहभागिता २०४६ सालको
भन्दा उल्लेख्य थियो।
राजधानीमा मात्रै हैन बनेपा, धरान, विराटनगर, पोखरा,
नारायणगढ, नेपालगञ्ज, बुटबललगायतका शहर तथा गाउँघरमा पनि कलाकार र
स्रष्टाहरू लोकतन्त्रको लागि जनआन्दोलनमा सरिक भए। कर्फ्यू तोडेर सडकमा
उत्रिएका कवि–कलाकारहरू कविता वाचन गर्दागर्दै र गीत गाउँदागाउँदै
पक्राउ परेका थिए, कतिले लाठी र टियरग्याँस खाए। १४ वैशाखमा खुलामञ्चमा
आयोजित विजय सभामा पनि उनीहरू फेरि जनअधिकार खोसिन नपाओस् भनेर पूर्ण
लोकतन्त्र नआउञ्जेल सजग रहनुपर्ने बताउँदै प्रस्तुत भएका थिए।
रामेशदेखि रुविनसम्म
जीत उसको निश्चित छ, जसले
लड्ने साहस गर्छ
शिखरमा उही पुग्छ जसले चढ्ने साहस गर्छ....

'गाउँ–गाउँबाट उठे...' गीत गाउँदै,
रामेश, रामकृष्ण र रायन। |
१२ वैशाखमा गुरुकुलमा आयोजित स्रष्टाहरूको जमघटमा यी
हरफ सुनाउँदै रामेशले गाउँगाउँबाट उठेको यस्तो जनलहर कहिल्यै नदेखेको
बताए। उनको भनाइ थियो, “नेपाली समाजमा भइरहेको यो परिवर्तनको क्षणमा
उभिन पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु।” २०३६ र २०४६ का आन्दोलनहरूमा
झैँ योपल्ट पनि जनगायक रामेश र श्याम तमोटको गीत गाउँ गाउँबाट उठ...
ले देशभरका लाखौँ जनतालाई जगायो। कैयौँ जुलुस र सभाका प्रदर्शनकारीहरूको
मुख–मुखमा उनीहरूका गीत गुञ्जिएका थिए। रामेश भन्छन्, “हामीले ३२ वर्षदेखि
गाउँदै आएको यो गीत अहिले मात्र सार्थक भएको छ।” खुलामञ्चमा उनले यो
गीत कलाकारहरूको समूह तथा गुरुकुलमा सहयात्री रायन र रामकृष्ण दुवालका
साथ एक स्वरमा गाएका थिएः
गाउँ गाउँबाट उठे, वस्ती
वस्तीबाट उठे
यो देशको मुहार फेर्नलाई उठे...
जनता, पार्टी र नेताहरूलाई सचेत पार्दै उनले नयाँ गीतका दुई हरफ पनि
सुनाएः
शहीदहरूको सपना अझै मधुरो छ,
होसियार नेपाली हो क्रान्ति अधुरो छ...।
रामेशहरूले गाएका जनताका गीतहरू २०४६ सालपछि बनेका
कतिपय सरकारको समेत निशानामा परेका थिए। तिनले सञ्चारमाध्यमहरूमा प्राथमिकता
पाएका थिएनन्। एकताका रेडियो नेपालको बोर्ड सदस्य समेत भएका रामेशका
गीतहरू पछि रेडियो नेपालमै बज्न छाडे। उनका यस्तै गीत समेटेर २०४६
को जनआन्दोलनको कथामा बनेको बलिदान चलचित्रलाई १९ माघ पछिको सरकारले
अधिराज्यभर प्रदर्शन गर्न वर्जित गरेको थियो। त्यसैले त धरानको बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूले यस पटकको
जनआन्दोलनमा बलिदान कै सार्वजनिक प्रदर्शन गरे।

रुविन गन्धर्व। |
लोकतान्त्रिक स्रष्टा मञ्चका हरिगोविन्द लुइँटेल फेरि
पनि लोकतन्त्र खोसिने खतरा उत्तिकै रहेकाले नेता र पार्टीहरूलाई कवि,
कलाकारले सचेत बनाइरहनुपर्ने बताउँछन्। लुइँटेलले जनताका गीत र जनगायकहरू
जहिले पनि उपेक्षित बन्ने गरेको स्पष्ट गर्दै भने, “रामेश र रायनका
गीतहरू आन्दोलनमा जनता ब्यूँझाउन मात्र बजाउने हो भने फेरिफेरि पनि
जनअधिकारहरू खोसिन्छन् र तानाशाहहरू जन्मिन्छन्।”
यस पटक राजधानी र आसपासका क्षेत्रमा रामेशसँगै रायन
र रामकृष्ण दुवालहरू सक्रिय भए। वीरप्रसाद भन्सारी, गुजे मालाकारदेखि
जनसांस्कृतिक मञ्चका धेरै कलाकारहरू जनतामाझ् आए। कुनै समय रामेशहरू
सँगै जनताका गीत गाउँदै हिँडेका आभास पनि त्यसै बसेनन्। १९ माघदेखि
नै लोकतान्त्रिक आन्दोलनमा निरङ्कुशता विरुद्ध निरन्तर सारङ्गी रेटेर
गीत गाउँदै हिँडेका रुविन गन्धर्व यति लोकप्रिय भए कि राजधानी र बाहिरका
शहरमा समेत हुने आन्दोलनका हरेक कार्यक्रममा उनको उपस्थिति अनिवार्य
हुन थालिसकेको थियो। हजारौँको भीडमा गाउँदै रुविन भन्ने गर्दथेः
निरङ्कुशता दुई दिनको भए
नि,
लोकतन्त्र जुनीभरीलाई....।
नन्दकृष्णको देउडा र बद्रीको दोहोरी
लोकतन्त्रको शासन बाहेक
हामी केही जान्दैनौँ
नेपाली जनता अब निरङ्कुशता मान्दैनौँ
झयाम्म झयाम्म....

तस्बिरहरु: अनुशील |
| देउडा गायक नन्दकृष्ण जोशी |
देउडा भाकालाई निरङ्कुशताविरुद्ध गुञ्जाएर गायक नन्दकृष्ण
जोशी जनतामाझ् छाए। मौलिक संस्कृतिमाथि लादिएको निरङ्कुशतालाई अन्त्य
गर्न आफूजस्ता कलाकर्मी र स्रष्टाहरू पनि आन्दोलनमा उत्रनु परेको उनी
बताउँछन्। भन्छन्, “दुई करोड ७१ लाख जनताका अनगिन्ती धर्म–संस्कृति
र कलालाई निरङ्कुशताले छोपेर राखेको थियो। पश्चिमको देउडादेखि पूर्वको
धाननाचसम्मले मौलाउने अवसर पाएका थिएनन्।” जनआन्दोलनकै क्रममा १५ दिन
थुनामा परेका जोशी लोकतान्त्रिक आन्दोलनको सिलसिलामा यसअघि पनि समातिएका
थिए।
लोक तथा दोहोरी गायक बद्री पँगेनीको गीत सुन्न थालेपछि
कर्फ्यू लागेको सडकमा तैनाथ सुरक्षाकर्मी समेत एकोहोरिन्थे। उनले देश
बिग्रेको छ छैन भन त? मिल्नुपर्छ पुलिस र जनता... भनेर गाउँदा एक प्रहरी
उनीसँग हातै मिलाउन आए। उनी भन्छन्, “कुनै–कुनै ठाउँमा त सुरक्षाकर्मीले
नै थप गीत गाउन फर्माइस गरे।” सानैदेखि राजनीतिप्रति रुचि भए पनि नेताहरूको
स्वार्थीपनबाट वितृष्णा भएर निष्त्रि्कय बसेका पँगेनी जनअधिकार नै
खोसिएपछि आन्दोलनमा उत्रिएका हुन्।
पँगेनी आवद्ध राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले
सङ्गठित रूपमा लोकतान्त्रिक आन्दोलनमा लाग्ने घोषणा गरेको थियो। यसरी
जनताका पक्षमा भगवान भण्डारी, तुलसी पराजुली, दुर्गा रायमाझ्ी, कृष्ण
देवकोटा, चन्द्र शर्मा, बद्री पराजुली, तुलाराम विरहीलगायतका लोकगायकहरू
उत्रिए। पहिलो पटक बानेश्वरमा गीत गाउँदा पँगेनीसहित केही लोकगायक
पक्राउ पनि परेका थिए।
स्रष्टाहरूको सक्रियता
यसपटक साहित्य, कला र रङ्गकर्मसँग सम्बन्धित चार दर्जन
संघसंस्थाहरू एक भएर सडकमा उत्रिए। लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त
मञ्च स्थापना गरेर आन्दोलनमा लागेका स्रष्टाहरूको जमघटस्थल बन्यो गुरुकुल।
सुरक्षाकर्मीको तारो बनेको गुरुकुलमा ३० चैतमा आयोजित लोकतान्त्रिक
सृजना यात्रापछि कर्फ्यू तोडेर सडकमा उत्रिएका १० सर्जक तथा कलाकर्मी
पुरानो बानेश्वरमा पक्राउ परेका थिए। आरोहणका सुनिल पोख्रेल गुरुकुलमा
धरपकड, लाठीचार्ज र गोली समेत चलाइएको सम्झँदै भन्छन्, “निकै तनाव
झ्ेल्नु पर्यो। ३० चैतपछि प्रहरीहरू नै तैनाथ गरियो।” जनआन्दोलनमा
रङ्गकर्मीहरू सुनिल पोख्रेल, निशा शर्मा पोख्रेललगायत समस्त गुरुकुल
परिवारले निरङ्कुशता विरुद्ध सडक नाटक प्रदर्शन गर्यो। वीरेन्द्र
हमाल, बद्री अधिकारी लगायतका रङ्गकर्मीहरूसँगै सर्वनाम, मण्डपिका,
डबली र सात्विक नाट्य समूह समेत सडकमा उत्रिएका थिए।
संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृति नीतिको अभाव
हटाउन अब सांस्कृतिक रोडम्याप बनाउनुपर्ने कुरा उठाएका छन्। उनी भन्छन्,
“जनलहर उर्लिएपछि बल्ल निरङ्कुशताको घैँटोमा घाम लाग्यो।” जोशीसँगै
बैरागी काइँला, आनन्ददेव भट्ट, खगेन्द्र सङ्ग्रौला, विमल निभा, विक्रम
सुब्बा, निनु चापागाई, बसन्त थापा, स्नेह साय्मि, विष्णुविभु घिमिरे,
तुलसी भट्टराई, डा. अभि सुवेदी, डा. दुर्गाप्रसाद भण्डारी, डा. अरुण
साय्मि, नारायण ढकाल, गोविन्द वर्तमान, हरिगोविन्द लुइँटेल, केदार
शर्मा, लक्ष्मण गाम्नाङ्गे, लक्ष्मी माली, बेञ्जु शर्मा, बुद्ध साय्मि,
विप्लव प्रतीक, विप्लव ढकाल, चङ्की श्रेष्ठ, सुरेश किरण, डा. सञ्जीव
उप्रेती, पदम गौतम, राजकुमार के.सी., आर.एम. डङ्गोल, ठाकुर बेल्वासेलगायतका
धेरै स्रष्टाहरू सडकमा उत्रिएका थिए।
कीर्तिपुरको प्रदर्शनमा घण्टौँसम्म धाराप्रवाह कविता
र मुक्तक सुनाउने मणि काफ्ले आन्दोलनका आशुकविका रूपमा चिनिए। कवि
अर्जुन पराजुलीका कविता उत्तिकै लोकप्रिय भए। युवा कवि श्रवण मुकारुङको
कवितासहित फोटो पत्रकार मीन बज्राचार्यको २०४६ सालको जनआन्दोलनको दुर्गा
थापाको तस्बिर र गाउँ गाउँबाट उठ... गीत लेखिएको जनगायक रामेशको तस्बिर
अङ्कित टि–सर्टहरूले पनि आन्दोलनमा उर्जा थपेका थिए। चित्रकार किरण
मानन्धर, राजन काफ्ले आदिसँगै ललितकला क्याम्पसका विद्यार्थीहरूको
सक्रियता उस्तै थियो। उनीहरूले निरङ्कुशताविरुद्ध चित्र कोरेका र प्रतिस्थापन
कला प्रस्तुत गरेका थिए।
१२ वैशाखमा गुरुकुलमा भेला भएका कलाकार र स्रष्टाहरूले
अझ्ै पूर्ण रूपमा लोकतन्त्र नआइसकेकोले दबाब सिर्जना गर्न एकताबद्ध
रहँदै कलाकर्मीले स्थायी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनीहरूले राष्ट्रिय गान परिवर्तन गर्नुपर्ने माग पनि गरेका छन्। त्यस
दिन गुरुकुलमा १२ वैशाखअघि जनअधिकारका पक्षमा कहिल्यै सडकमा नदेखिएकाहरूको
समेत भीड लागेको थियो। सुनिल पोख्रेल यसलाई सचेतनाको कमी र सत्तासँग
नजिक भएर फाइदा उठाउन पाइने लोभले पनि धेरै आन्दोलनमा नआएका बताउँछन्।
उनी भन्छन्, “तर हिजोको अप्ठ्यारोमा सडकमा उत्रन नचाहनेहरू आज सजिलो
अवस्थामा लोकतन्त्रवादी भएर देखा पर्न थालेका छन्!।” लोकतन्त्रका लागि
सबैलाई घच्घच्याउन केही महिनादेखि मेरो मदल्याण्ड नामक हास्य कार्यक्रम
प्रस्तुत गर्दै आएका कलाकार मनोज गजुरेल छेपारो जस्तै रङ बदलेर आउनेहरूका
हिजोदेखिकै गतिविधि सबैले नियालिरहेको बताउँछन्। १४ वैशाखमा खुलामञ्चमा
मनोजले राजा ज्ञानेन्द्रकै आवाजको नक्कल गरेर जनपताको पक्षमा घोषणाहरु
गरेका थिए।
सडकमा चलचित्रकर्मी

सुन्दर श्रेष्ठ |
| ३० चैतमा कर्फ्यू उल्लङ्घन गर्दै निशा
शर्मासहितका कलाकर्मी। |
यस पटक केही चलचित्रकर्मीहरू पनि खुलेर सडकमा उत्रिए।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)ले जनआन्दोलनका घाइतेहरूको उपचारका
लागि मोडल अस्पतालमा कोष खडा गरेर उदाहरणीय काम गरे। सो कोषमा अहिलेसम्म
रु.१ करोड ६० लाख जम्मा भएको छ।
यसपटकको जनआन्दोलनमा वास्तविक जनशक्ति देखिएको मह जोडी
बताउँछन्। उनीहरू भन्छन्, “जनताले शान्तिपूर्ण रूपमा छाती फुकाएर बन्दुकलाई
झ्ुकाए। राजाले मात्र हैन, माओवादी र पार्टीले समेत जनशक्तिको वास्तविक
झ्ड्का पाए। यसले विश्वसामु नै नेपालीहरूको अलग्गै पहिचान बनाएको छ।
अहिले त ०४६ को जनआन्दोलनबाट प्राप्त अधिकार मात्र फिर्ता भएको छ।
लोकतन्त्रको स्थायित्व एवं विकासका लागि अब संविधानसभामा जानुपर्छ।”
नायिका विपना थापा र नायक निखिल उप्रेतीले पनि जनअधिकारको
लागि आवाज उठाए। यसरी जनताका पक्षमा लाग्दा आफूले अभिनय गरेको चलचित्रका
गीत नेपाल टेलिभिजनमा प्रसारण गर्न रोक लगाइएको विपनाले महसूस गरिन्।
लोकतन्त्र र जनअधिकारका पक्षमा खुलेर बोल्न थालेपछि केही चलचित्रकर्मीहरूले
'कलाकारको काम राजनीति गर्ने हैन' भनेर उनीहरूलाई हतोत्साहित गर्न
खोजे। आफ्नै र आफ्ना दर्शकहरूको अधिकार खोसिएको अवस्थामा कलाकार चुप
लागेर बस्न नसक्ने बताउँदै निखिल भन्छन्,“कलाकारले जनअधिकारको बारेमा
बोलेर राजनीति गर्यो भन्नु गरीब मानसिकताको उपज हो। जनताका पक्षमा
नबोल्नेहरूले दासत्व स्वीकार गरेका छन्। तिनलाई अहिले पछुतो भइरहेको
हुनुपर्छ।” विपनाले थपिन्, “लोकतन्त्र, शान्ति र स्वतन्त्रता आओस्
र जनताको चाहना पूरा होस् भनेर लागेकी हुँ।”
लोकतान्त्रिक चलचित्र मञ्च स्थापना गरेर आन्दोलनमा
लागेका नविन सुब्बा, देशभक्त खनाल, तीर्थ थापा, श्याम सापकोटा, अशोक
शर्माहरूले जनआन्दोलनलाई क्यामरामा पनि कैद गरेका छन्। मञ्चले आवाज
नामक चलचित्र निर्माण गरेको छ। जनआन्दोलनमा खिचिएका दृश्य र तस्बिरहरूको
छुट्टै सङ्ग्रहालय खडा गर्ने योजना छ नविन सुब्बाको। हिंसा विरोध अभियानले
लोकतान्त्रिक आन्दोलन शुरु हुनु केही समय अघिदेखि नेपालकै जस्तो द्वन्द्वरत
अवस्थामा रहेको पेरुका घटनामा आधारित शान्तिपूर्ण जनआन्दोलनको सामर्थ्य
झ्ल्काउने वृत्तचित्र स्टेट अफ फियर लाई नेपालीमा रुपान्तरण गरेको
भयको रजाइँ प्रदर्शन गरेको थियो।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रमेश बुढाथोकीले
एक विज्ञप्ति जारी गरेर सम्पूर्ण कलाकार र कलाकार संघ नेपाली जनताको
पक्षमा रहेको जनाए पनि सबै चलचित्रकर्मीको प्रतिनिधित्व जनआन्दोलनमा
देखिएन। राजा महेन्द्रले पञ्चायती शासनको पक्षमा समर्थन बटुल्न शाही
नोपाली चलचित्र संस्थान गठन गरेपछि चलचित्र निर्माण हुनथालेको नेपालमा
धेरै चलचित्रकर्मीहरू दरबारकै नजिक छन्।
सडकमै उत्र्यो पप–ब्याण्ड ग्लुमी–गाइज
मेचीदेखि महाकाली जलिरहेछ
मुक्तिका आवाजहरू गुञ्जिरहेछ
अझै कति ठोक्छौ ठोक, बुट, लाठी, गोली
ल्याइछाड्छौ लोकतन्त्र, आज होस् या भोलि....

बनेपाको सडकमा पप ब्याण्ड ग्लुमी गाइजका
सुजेश, निर्मल, हरि र मित्र (बायाँबाट क्रमशः)। |
बनेपामा आन्दोलन
शुरु भएको एक सातापछि २ वैशाखमा मादल र गितार बोकेर लोक–पप शैलीमा
यस्तो गीत गाउँदै ग्लुमी गाइज नामक पपब्याण्डका हरि श्रेष्ठ, निर्मल
सैंजु, मित्र भोछिभोय र सुजेश वैद्य सडकमा उत्रिए। त्यसअघिसम्म धेरैजसो
शहर बाहिरबाट आएका मानिसहरूले आन्दोलन गरिरहेका बनेपामा त्यसपछि स्थानीय
जनसहभागिता एक्कासी बढ्यो।
शुरुमा आन्दोलनप्रति त्यति चासो नदेखाई बसेका यी युवाहरू
देशव्यापी प्रहरी दमन देख्न नसकेर सडकमा आएका हुन्। हरि भन्छन्, “२७
चैतसम्म हामीले आन्दोलनलाई वास्तै गरेका थिएनौँ। तर प्रहरी दमन देख्न
नसकेर चुप लागेर बस्न हुँदैन, आफ्नो ठाउँबाट केही गर्नुपर्छ भनेर सडकमा
आयौँ।” सडकमा आएपछि उनीहरूले चोक–चोकमा जनतालाई जनआन्दोलनमा सरिक हुन
आह्वान गर्दै गीत गाए। ३ र ११ वैशाखमा अरू कलाकर्मीलाई समेत भेला गरेर
सडकमै सङ्गीत सम्मेलन गरे।
युवापुस्तामाझ् बढी चर्चित नेपाली पपब्याण्डहरू मध्ये
जनआन्दोलनको समर्थनमा सडकमै उत्रने एक मात्र ब्याण्ड बन्यो– ग्लुमी
गाइज। यसपटकको आन्दोलनमा बनेपाका यी चार युवा पपगायकको सक्रियता अन्य
पप समुह र कलाकारहरूका लागि समेत पाठ बनेको छ। रविन तामाङ, निमा रुम्बा,
दीपेशकिशोर भट्टराई, सुगम पोखरेल, लोचन रिजाल, अभया सुब्बा, १९७४ एडी,
कर्मा ब्याण्ड, द युनिटी, द स्याडोजलगायत काठमाडाँैका केही पप गायकहरूले
स्वयम्भूमा भेला भई शान्ति र लोकतन्त्रको लागि सेतोपट्टी बाँधेर बत्ती
बाल्नेबाहेक राजधानीका दर्जनौँ पप ब्याण्ड र तिनका कलाकारहरू लोकतन्त्रको
पक्षमा खुलेर देखा परेनन्, बरु विराटनगरका केही पपगायकहरू जनतासँगै
आन्दोलनमा उत्रिएका थिए (हे.बक्स)। राजधानीका केही पप ब्याण्ड र गायक–गायिकाहरूलाई
लोकतान्त्रिक आन्दोलनमा ल्याउन चलचित्रकर्मीहरूले गरेको अनुरोध त्यसै
खेर गएको नविन सुब्बा बताउँछन्। उनले भने, “केही पपगायक र ब्याण्डहरूलाई
ल्याउन तीन–चार दिन कोशिश गर्यौँ, तर कसैले सडकमा आउने मन गरेनन्।”
काठमाडाैँका सडकमा पप कलाकारहरू नउत्रिएको देखेर ११
वैशाखको बनेपाको कार्यक्रममा ग्लुमी गाइज ले भोलिपल्ट कर्फ्यूको वास्ता
नगरी राजधानी जाने घोषणा गरेका थिए। हरि भन्छन्, “तर १२ गते काठमाडौँ
आउने तयारी गरिरहेकै बेला राजाले संसद पुनःस्थापनाको घोषणा गरिहाले।”
जन–गायकदेखि मोडलसम्म

कमल रिमाल
|
| विराटनगरमा जेबी टुहुर |
आमा दिदीबहिनी हो कति बस्छौ
दासी भै
सुखको सधैँ प्यासी भएर...
विराटनगरमा भएका लोकतान्त्रिक जनसभामा जनगायक जेवी
टुहुरेदेखि लोक–पप गायक श्रीकृष्ण लुइँटेलसम्म सडकमा उत्रिए। उनीहरूले
निरङ्कुशता विरुद्ध गीतहरू गाउँदै जनताको मन जितेका थिए।
तातेको आन्दोलनमा टुहुरेको जनता सबै मिलेर भन्छन् लोकतन्त्र
जिन्दावाद, निरङ्कुशतन्त्र ढालेरै छोड्छौ लोकतन्त्र जिन्दावाद....
गीत गुञ्जँदा श्रोता सडकमै नाचिदिन्थे। लोकतन्त्रका लागि सक्रिय टुहुरे
नमरुञ्जेलसम्म समाज परिवर्तनका लागि जनताकै गीत गाइरहने बताउँछन्।
भन्छन्, “माया, प्रेम, पिरतीका गीत गाउँदिनँ, चेतनामूलक, सन्देशमूलक,
राष्ट्रिय तथा जनताका गीत मात्रै गाउँछु।”
श्रीकृष्ण लुइँटेल देशमा पूर्ण लोकतन्त्र नआउन्जेल सडकबाट राजतन्त्र
विरोधी गीत गाइरहने बताउँछन्। लुइँटेलले राजतन्त्र विरुद्ध व्यङ्ग्य
गर्दै प्यारोडी बनाएर आफ्नै चर्चित गीतहरू गाएका थिए। विराटनगर, इटहरी,
धरान, तरहरा जस्ता ठाउँमा लुइँटेललाई बोलाएर विरोधसभामा गाउनै लगाइएको
थियो।
विराटनगरमा कलाकारहरू माधव सापकोटा, मुकुन्द श्रेष्ठ,
कुशेश्वर राई, केशव रायमाझ्ी, विनोद श्रेष्ठ, आदि सडकमा उत्रिए। पप
गायकहरू सुमित खड्का, फुर्वा शेर्पा, एमआर रिजनलगायतको पनि सहभागिता
रह्योे। हास्यव्यङ्ग्य कलाकार पारस थापाले आन्दोलन अवधिमा थाकेका प्रदर्शनकारीलाई
पेट मिचिमिची हँसाए। विराटनगरका सयौँ कलाकारले जुलुस प्रदर्शन समेत
गरेका थिए।
मोडलहरू पनि सडकमा
उता धरानमा भने मोडल, डिजाइनर, कोरियोग्राफर, प्राविधिकहरू
लोकतन्त्रको पक्षमा ब्यानर लिएर सडकमा निस्किए। पूर्व मिस पूर्वाञ्चल
कृति श्रेष्ठ, मिष्टर धरान कविर भगत प्रधानाङ्गसहित डिजाइनर उत्तम
बनेपाली, कोरियोग्राफर वीरेन सुब्बा, तारा चाम्लिङ, फोटोग्राफर प्रेम
शाक्य, मोडलहरू रोमी श्रेष्ठ, सरस्वती ताम्राकार आदिको र्यालीले नगर
परिक्रमा गर्यो। त्यसैगरी धरानका साहित्यकार, रङ्गकर्मी, चित्रकार,
कार्टुनिष्ट, सङ्गीतकर्मीले लोकतान्त्रिक कलायात्रा गरेका थिए भने
सृष्टि नाट्य समूहले लोकतन्त्रको पक्षमा कविता मञ्चन गरेको थियो।
•
कमल रिमाल/रविन गिरी
|