खेलकुद
खेलाडीहरु पनि जनआन्दोलनमा

कमल रिमाल |
नेपालको इतिहासमा सधैँजसो
दरबारियाहरूको हालीमुहाली रहेको खेलकुद क्षेत्रका केही खेलाडी र संघसंस्था
पनि निरङ्कुशता विरुद्ध सडकमा आए। विगतमा प्रजातन्त्रवादीलाई दबाउनका
लागि प्रयोग गरिने गरेका मार्सल आर्ट खेलाडी नै यस पटक शाही सत्ता
विरुद्ध सबैभन्दा बढी सक्रिय रहे। विराटनगरमा क्रिकेट खेलाडीहरूलाई
प्रहरीले कुटपिट गरेपछि शुरु भएको खेलाडीहरूको विद्रोह देशभरि नै फैलियो।
२८ चैतमा अभ्यास गरेर फर्किएका खेलाडीहरूको समूहलाई
कुटपिट गरेपछि यसले नेपाल क्रिकेट संघका पदाधिकारीको मन त छोएन, तर
मोरङ क्रिकेट संघ भने तुरुन्तै आन्दोलनमा ओर्लियो। मोरङका क्रिकेट
खेलाडी ब्याट र औजार बोकेर आन्दोलनमा होमिए।। “प्रहरी दमनले हामीलाई
आन्दोलनकारी बनायो” द टच स्टोन क्रिकेट क्लबका खेलाडी गोपाल झ्ा भन्छन्।
खेलाडीमाथि कुटपिटको विषयमा क्लब भित्रै विवाद भएर क्षेत्रीय क्रिकेट
संघका सचिव मोहमद साद (बाबु), सहसचिव अशोक रेग्मी र कोषाध्यक्ष अनुज
लाखेले राजिनामा समेत दिए।
विराटनगरमा लोकतान्त्रिक आन्दोलनमा क्रिकेटका अन्तर्राष्ट्रिय
खेलाडी युनिल श्रेष्ठ, राष्ट्रिय एम्पायर भाष्कर अर्याल, प्रशिक्षक
महेश रिजाल मात्रै हैन क्रिकेट संघका पूर्व केन्द्रीय सदस्य नरेश श्रेष्ठ,
फूटबल संघका केन्द्रीय सदस्य बसन्त अर्याल, जिल्ला फूटबल संघका अध्यक्ष
सन्तोष बानियाँ, कराते प्रशिक्षक विमल पोख्रेललगायतकोे सक्रिय सहभागीता
रह्यो। इनरुवाको एलभेन एरोज क्लब मात्र होइन कोशी अञ्चलमै फूटबल विकासमा
मह140वपूर्ण योगदान पुर्याएका दिलीप राई र दीपक राई आन्दोलन अवधिभर
सक्रिय रहे। निरज ढुङ्गेलको नेतृत्वमा कुस्ती खेलाडीहरूको टोली पनि
उत्रियो।
नेपालको प्रजातान्त्रिक आन्दोलन तथा कराते खेलमा अग्रणी
ललितपुर जिल्लामा भने आन्दोलनको प्रभाव अलि अगाडि नै देखिएको थियो।
सितेरियो करातेका खेलाडी तथा मध्यमाञ्चल ब्ल्याकबेल्ट कमिटिका अध्यक्ष
मीनकृष्ण महर्जन सहित आठौँ साफ खेलकुदका स्वर्णपदक विजेता रवि महर्जन
सात दलले आमहड्ताल शुरु गरेदेखि नै लगातार आन्दोलनमा सक्रिय रहेका
थिए भने नेपाल कराते महासंघका सचिव पुरेन्द्र लाखेले ललितपुरमा भएका
आन्दोलनका धेरै गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरे। सोतोकान
करातेका वरिष्ठ प्रशिक्षक निवास गोपाल वैद्य आम हड्तालको समयभर व्यस्त
रहे। किक बक्सिङ खेलाडी मुक्ति संग्राम विष्टले आन्दोलनलाई पूर्ण रूपले
सहयोग गरे।
आन्दोलनले नेपाल ओलम्पिक समितिलाई पनि छोयो। ओलम्पिक
कमिटिका १२ जना सदस्यले रङ्गशालालाई बन्दीगृह बनाउन गरिएको निर्णयको
खुलेर विरोध गरे। समितिका त्यतिका सदस्यहरूको वक्तव्य आउँदा पनि अध्यक्ष
रुक्म शमशेर राणा वक्तव्यमा हस्ताक्षर गर्न डराउनुलाई भने आश्चर्यजनक
रूपमा हेरिएको छ। राणाले आफ्ना बाबु तथा नेपाली काङ्ग्रेसका संस्थापक
नेता सुवर्ण शमशेरको नाममा राजनीतिक नियुक्ति पाएका हुन्।
अखिल नेपाल तेक्वान्दो संघ (एन्टा) र इण्टरनेशनल तेक्वान्दो
फेडरेसन (आईटीएफ)को नेपाल च्याप्टरले पनि आन्दोलनलाई सक्रिय रूपले
सहयोग गरे। एन्टा कोषाध्यक्ष अनुयाज गौतम र आईटीएफ महासचिव गिरीप्रसाद
बुढाथोकीले आन्दोलनको क्रममा खेलकुद परिषद्ले गुण्डाहरूको प्रयोग गर्न
सक्ने सम्भावनाबाट सबैलाई सचेत तुल्याउनुका साथै आन्दोलनको क्रममा
प्रयोग गरिने सरकारी भिजिलान्तेमाथि पनि निगरानी राखेका थिए। शासन
जनतामा निहित नभए खेलकुदको पनि विकास नहुने ठहर गर्दै गौतम भन्छन्,
“तानाशाही शासनकालमा खेलकुदको पनि विकास हुँदैन भन्ने कुरामा हामी
प्रस्ट थियौँ।”
पोखरामा पनि खेलकर्मीहरू आन्दोलनमा होमिएका थिए। कराते
प्रशिक्षक मोहन राई र फूटबल विज्ञ सञ्जीव मिश्रले आन्दोलन अवधि भर
आफूलाई सक्रिय राखेे। यस्तै अरू थुप्रै नाम छन् जो आन्दोलनको क्रममा
सक्रिय रहे।
धेरै खेलकर्मीहरू भने आन्दोलनप्रति समर्थन भए पनि खुला
रूपमा प्रस्तुत हुन सकेनन्। राष्ट्रिय खेलकुद परिषद्मा जागिरे रहेका
कारण पनि उनीहरूले आन्दोलनमा समाहित हुने हिम्मत नगरेका हुन्। नेपाली
खेलकुदमा प्रहरी र सेनाको प्रभावको कारण पनि उनीहरूलाई आन्दोलनमा उत्रिन
अप्ठ्यारो परेको देखियो। आसन्न साफ खेलकुद र एसियाली खेलकुदलगायत अन्य
अन्तर्राष्ट्रिय प्रतियोगितामा हुनसक्ने पूर्वाग्रहको कारण पनि कतिले
आन्दोलनमा सहभागिता जनाएनन्। थुप्रै खेलकर्मी जनआन्दोलनमा समाहित नभए
पनि जति सडकमा उत्रिए तिनले सरकारी गुण्डागर्दी गर्ने अखडाको रूपमा
बिग्रिएको खेल क्षेत्रको पुरानो छवि भने यस पटक सुधि्रएको आभास दिए।
नेपाल ओलम्पिक समितिका सदस्य उपेन्द्रकेशरी न्यौपाने पनि राजावादीहरूको
एकलौटी रहेको खेलकुद क्षेत्रको छविलाई यो आन्दोलनले सुधार्न सहयोग
गर्ने कुरामा विश्वस्त छन्।
•
मनोज घिमिरे/कमल रिमाल
|