हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता


तस्बिरहरूः मीन बज्राचार्ये

२०४६


२०६३

सोह्र वर्षपछि पनि उस्तै जोश

'समय फरक– ठाउँ उही, जनआन्दोलन– भाग दुई!' वर्तमान आन्दोलनमा एउटा यस्तो नारा पनि लागेको थियो। २०४६ र २०६३ साल, अर्थात् १६ वर्षअघि र अहिलेको जनआन्दोलनमा धेरै कुरा बीच समानता छ। उसबेला जनआन्दोलनमा सहभागी भएकाहरू धेरै जना यसपटक पनि पुनः गुमेको जनअधिकार फिर्ता गर्न लोकतन्त्रका लागि सडकमा उत्रिए। तिनैमध्ये एक हुन्– दुर्गा थापा।

दुर्गा यसपटक पनि उही जोशका साथ जनआन्दोलनमा सरिक भएकी थिइन्। कर्फ्यू तोडेर लाखाँै जनतासँगै निरङ्कुशता विरुद्ध सडकमा ओर्लिएकी थापा दमन र जनहत्या विरुद्ध खुलेरै लागिन्, घाइतेहरूलाई अस्पताल पुर्‍याउने काम गरिन्। २०४६ र २०६३ सालको आन्दोलनमा के फरक छ? लोकतन्त्रका लागि यसपटक उर्लिएको जनलहर ०४६ को भन्दा धेरै ठूलो र भिन्न रहेको उनको अनुभव छ। दुर्गा भन्छिन् “अहिले जनता धेरै सचेत छन्।”

२०४६ सालमा पद्मकन्या क्याम्पसकी छात्रा रहेकी दुर्गा २२ वर्षीय युवा जोशका साथ आन्दोलनमा सरिक भएकी थिइन्। प्रजातन्त्र प्राप्तिको घोषणापछि २७ चैत २०४६ मा राजधानीको खुलामञ्चमा विजयोत्सव मनाइरहेका जनतामाझ् उन्मुक्त खुशी व्यक्त गरिरहेकी दुर्गाको तस्बिर फोटो पत्रकार मीन बज्राचार्यले खिचेपछि उनी सबैको नजरमा छाइन्। यो डेढ दशकमा दुर्गासँग व्यापारी श्रीमान किशोर थापा, एक छोरा र अनि महालेखा नियन्त्रक कार्यालयको जागिर थपिएको छ। दुई–दुई पटकको आन्दोलनमा किन सक्रिय छिन् उनी? दुर्गा भन्छिन् “एउटा नागरिकको रुपमा राज्यप्रतिको आफ्नो दायित्व पूरा गरेकी हुँ, केही पाउँछु भनेर होइन।”