| •
कदी |
 |
इतिहासमा
तातापानी पुग्ने पुरानो बाटो
आजको प्रकरण
वास्तवमा नै इतिहासमा हुन्छ कि भन्ने लाग्छ। किनभने पैलेपैले अर्थात्
डेढ सय वर्षअघि 'त्यस'लाई के भन्थे नेपालीहरू भनेर घोत्लिने छौँ हामी।
तर फेरि, यो घोत्ल्याइँ इतिहासमा भन्दा पनि भौगोलिक वस्तुतातिर ढल्कन्छ
कि भन्ने पनि डर छ। जस्तो भनूँ न– हामी अचेल जल्लाई कोदारी जाने दुलालघाटको
बाटो भन्छौँ त्यसलाई ऊबेला त्यसो भन्दैनथे। त्यो त 'चौतारा हुँदै तातापानी
जाने बाटो' रहेछ। र, तातापानी जान पनि धारापानी हुँदै जानुपर्ने! ऐले
कहाँ छ यो धारापानी- ऊबेलामा यो धारापानी फाल्डुबाट ५ कोस पर पर्दोरहेछ।
र फाल्डु- कहाँ थियो त्यो- सुन्ने- लौ सुन्नोस्– “पैर्या पौवाबाट.
फाल्डुमा वास ४ कोस्मा छ. बाटोमा
पैर्याबाट उकालो २ पाउ चढि. ताहादेषी जंगल ३ कोस्
छ. तेर्छो उकालो ढुंग्यान् हिडि भंज्याङ निस्कि भंज्याङबाट वह्रालो
तेर्सो हिडि जंगलदेषी बाहिर।। (आधा) कोस् गै फालडुमा वास पुग्छ”
काठमाडौँ शहरबाट २३ कोस् परको फाल्डुको नाम के छ ऐले,
कि त्यो गाउँ नै बेपत्ता भैसक्यो- ऐलेको सिन्धुपाल्चोक जिल्लाका जिविसका
पदाधिकारीले बताउन सक्लान्-
यस दफामा परेको त्यो नाम फाल्डुभन्दा पनि अर्को नामले
बढी आकर्षित गर्छ 'पैर्या पौवा' ले। यहाँको यो पैर्या भनेको अचेलको
भाषामा पैरे हो जस्तो लाग्छ, र पैर्या पौवा भनेको त्यसबेला निकै पैरो
जाने कुनै पहाडको फेदमा रहेको पौवा या सत्तल हुनुपर्छ। जस्तो काठमाण्डूबाट
पश्चिम जाने बाटोमा पहिलो बास चतुर आलेको पौवा थियो। निकै मान्छे हिँड्ने
चल्तीको बाटोमा बीचबीचमा कुनै धर्मात्माले पाटीपौवा सत्तल बनाइदिन्थे।
ककनीभन्दा तल कुनै चतुर आले भन्ने मगरले बनाइदिएको पौवा थियो त्यो।
ऐले पौवा छैन चतुर आले मात्र बाँकी रह्यो, अनि चतुर आले पनि सन्धि
भएर चतुराले भयो ऐले, चतुराले गाविस! त्यस्तै त्यो पैरे गाउँमा पनि
कसैले पौवा बनाइदिएको थियो होला। त्यो ठाउँको नाउँ नै पैरे पौवा भैहाल्यो।
ऐले पैरे पौवा कुन गाविसमा पर्छ, थाहा पाए रमाइलै हुन्थ्यो। अर्को
रमाइलो हुन्थ्यो भाजुराम को थिए भन्ने थाहा पाउन सके। किनभने पश्चिम
१ नम्बरमा पौवा बनाइदिने एकजना चतुर आले थिए भने पूर्व १ नम्बरमा पनि
रहेछन् अर्का एकजना, पौवाले गर्दा नाम चलाउने मान्छे– 'भाजुराम'। साँखुबाट
साढे तीन कोस पर दुई तीन कोस् उकालोओरालो गरेपछि ओरालोका आधाआधीमा
भाजुरामले एउटा पौवा बनाइदिएका रहेछन्। त्यस ठाउँको नाम नै 'भाजुराम
पौवा' कहलाएछ। लेखेको छ–
“... साषुबाट उकालो अढाइकोस चढि. वह्रालो १ कोस् गै.
वह्रालाका अधभारामा भाजुरां पौवामा वास हुन्छ. कोस्―७।।” अर्थात् काठमाण्डूबाट
साढे सात कोसपर पर्थ्यो त्यो भाजुराम पौवा दोस्रो बास।
अचेल काठमाण्डूबाट गाडीमा सररर ३/४ घण्टामै पुगिने
तातापानी भन्सार पुग्न, उसबेला 'मुनामदन' का मदनहरूलाई ठ्याक्कै आठ
दिन लाग्थ्यो भन्ने कल्पना गर्न पनि मुश्किल पर्छ हामीलाई। तर वास्तविकता
यही हो। ऐलेको तातापानीको बाटामा पर्ने कुनै नामसँग हाम्रो जम्काभेट
हुँदैन यसमा। बलेफी, बाह्रबिसे कुनै आउँदैनन् बाटामा। आउँछन् त भोट्सिपा,
चौताराहरू। काठमाण्डूबाट चौथो दिन बास बस्न 'मदनहरू' चौतारा पुग्छन्
बल्लबल्ल यसरी-
“भोट्सिपाबाट चौतारामा वास ३।। (साढे तीन) कोसमा छ.
भोटे सिपाबाट १ कोस् वह्राला गै. फलाम् साघु तरी उकालो १ कोस् चढी
तेर्छो बाटो १।। कोस् गै. चौतारामा वास पुग्छ-१५”
यहाँ हामीले मदनहरू भनी बारम्बार भने पनि साँच्चै चाहिँ
महाकविका मदन यसै बाटो गरी ल्हासा गएका थिए भन्ने कुनै प्रमाण छैन।
यहाँ त सजिलाका लागि र लेखमा अलिकति साहित्यिक बास्ना आओस् भनेर मात्र
मदनको नामोल्लेख गरिएको हो। साँच्चै चाहिँ बाटाका यी विवरणहरू पनि
उही जङ्गबहादुरकालीन बेलाइती कापीकै पृष्ठहरूबाट उतारिएका हुन्।
यस लेखमा पौवाहरूको नाम व्यक्ति र भौगोलिक परिवेशले
जन्माएको देखेर हामीले यति चर्चा गर्यौँ। त्यसभन्दा पनि चाख लाग्ने
एउटा नाम छ। तातापानी पुग्नेअघिको त्यो नाम हो 'डुगाना भीर' या ढुंगानाभीर।
लेख्न त यहाँ डुगाना नै लेखिएको छ तर त्यो ढुंगाना भीर हो कि भन्ने
शङ्का लाग्छ। कारण डुगानाको कुनै अर्थ लागेन मलाई। त्यो ढुंगाना हो
भने त्यस भीरबाट कुनै बेला कुनै ढुंगाना भन्ने मान्छे खसेको थियो कि-
यो कुरा हामी त्यतैका कोही वडाध्यक्षलाई जिम्मा लगाई अघि बढ्छौँ। हामीलाई
अब हतारहतार तातापानी पुग्नुछ बास बस्नलाई। बाटो यसरी बढ्छ-
“धारापानीबाट तातापानीमा वास ४ कोस्मा छ. धारापानीबाट
ठूलो भीरको काषबाट घोडा लैजान हुँदैन. येक विसौनि गै उकालो अलि कति
चढि. डुंगाना भीर पुग्छ, डुगाना भीरको तल्लो बाटो गया. फलाम साघु तर्नुपर्छ.
माथिल्लो बाटो गया भीरको काषबाट गै वह्राला पाउभर जान्या वित्तिकै
सानु षोल्सो तरि. तातापानीमा वास् पुग्छ. सजिला बाटो फलाम् साघु जान्या
कोस् ५।। (साढे पाँच). पर्छ नजीकका बाटो भीर्को काषबाट जान्या तफावत्
(फरक) १।। कोसको छ– ३२”
बाटो र बासका नाम ठामको फरकबाहेक आजको प्रकरणमा वातावरणवादीहरूलाई
सारै चाखलाग्ने एउटा कुरा आयो– फाल्डु पुग्नुअघि 'जंगल ३ कोस छ' भन्ने।
काठमाण्डूबाट २०/२२ कोस पर उत्तरमा ढुङ्ग्यान पहाडमा पनि तीन कोस्
चौडा जंगल विद्यमान रहेछ त्यसकालमा। ऐले छ त्यो फाल्डु पुग्ने अगाडिको
तीनकोसे जङ्गल- नभए, किन छैन?
|