चिठी
• राजतन्त्रलाई
अन्तिम मौका
हिमाल आवरण (१–१५ वैशाख, २०६३) मा छापिएको राजतन्त्रको
भविष्य निकै सान्दर्भिक लाग्यो। किनभने यो अङ्क हिमाल बजारमा आउँदा
नेपाली राजतन्त्रको विरोधमा देशभरिका लाखौँ लाख जनता शान्तिपूर्ण रूपमा
लोकतन्त्रको माग राखेर सडकमा उत्रिएका थिए।
मुलुकको कार्यकारी छोड्न र संसद पुनःस्थापना गर्न राजालाई
अन्तिम अवसर दिइरहेका थिए। 'विवादित राजतन्त्र' अन्तर्गत राजनीतिशास्त्री
ध्रुवकुमारको आवरण विश्लेषणलाई मनन गर्ने हो भने दलहरूको राजा रिझाउने
प्रवृत्तिका कारण नै हामी चुक्यौँ। र, २०४७ को संविधानमा राजालाई राष्ट्रिय
एकताको प्रतीक र संविधानको संरक्षककै रूपमा व्याख्या गर्नु, सेनालाई
नेपाली सेना नभनी शाही सेना नै राख्नु, राष्ट्रिय गान राजाको प्रशस्तिगानकै
रूपमा राख्नु, प्रस्तावित जनमतसङ्ग्रहको प्रावधान हटाउनु र बाधा–अड्चन
फुकाउने कार्यभार प्रधानन्यायाधीशलाई दिइएकोमा राजालाई दिनु र श्री
'५' को पदवी यथावत् राख्नुलाई दलहरूको भूल थियो भनी ध्रुवकुमारले औँल्याउनुभएको
तथ्यसित म पूर्ण रूपमा सहमत छु। र, विवादित राजतन्त्रलाई सच्चिने यो
अन्तिम मौका हो भन्ने मलाई लाग्छ। त्यतिबेलाको वास्तविकतालाई जनआन्दोलन
चलिरहेको बेला जनसमक्ष प्रस्तुत गरिदिनुभएकोमा उहाँलाई बधाइ र धन्यवाद
दिन चाहन्छु।
मदनराज शर्मा
भरतपुर–९, चितवन
• नेपालको
सही अडान
हिमाल खबरपत्रिका (१६–३१ चैत, २०६२) मा छापिएको 'माधव
नेपाल नै किन थुनिए?' भन्ने समाचार पढ्दा सत्य बोल्नेले यहाँ सित्तैँमा
दुःख झेल्नु पर्दो रहेछ भन्ने प्रस्ट भयो। एमाले महासचिव माधवकुमार
नेपाललाई विनाकारण थुन्नु तत्कालीन शाही सरकारको निकृष्ट कार्य थियो।
दरबार हत्याकाण्डको लगत्तैपछि एमाले महासचिव नेपालले
त्यसको जाँच आयोग गठन गरिनुपर्ने माग राख्दा तत्कालीन राजसभा स्थायी
समितिका सभापति डा. केशरजङ्ग रायमाझीले राजाले भनेपछि पुगिहाल्छ नि,
के को जाँचसाँच भन्ने जवाफ दिएका थिए। यो रायमाझीले मालिकलाई रिझाउन
गरेको चाटुकारीबाहेक केही थिएन। यस्तै धूर्त र कुटिल भएका कारण यिनले
मनमोहन अधिकारीबाट महासचिवको पद हत्याएका थिए र २०१७ सालको 'कु' पछि
कम्युनिष्ट पार्टीको आदर्श विपरीत राजाको तावेदारी गर्न पुगेका थिए।
वर्तमान महासचिव नेपाल र पूर्व महासचिव रायमाझीबीच तुलना
गर्नै मिल्दैन। किनभने नेपाल सत्य र निष्ठामा अडिग छन् भने रायमाझी
चाप्लुसी, अवसरवादिता र सिद्धान्त च्युतको रूपमा चिनिएका छन्। निरङ्कुशतालाई
समर्थन गर्नभन्दा त थुनिएरै बस्न रुचाउने महासचिव नेपाललाई जनताले
साथ दिइरहने छ।
रामहृदयप्रसाद
जनकपुरधाम–५
• प्रशंसायोग्य
मत–सर्वेक्षण
हिमाल (१६–३१ चैत, २०६२) को आवरणमा प्रकाशित मत सर्वेक्षणले
सबैलाई मुलुकको वर्तमान वस्तुस्थितिबारे जानकारी दिएकोले प्रशंसायोग्य
छ। सर्वेक्षणले देखाएको मत परिणाम अत्यन्त उचित लाग्यो। किनभने उक्त
मत–सर्वेक्षण पूर्णतः सत्यमा आधारित छ। तर पनि राजाको शासन ठीक छ भन्नेहरू
२५ प्रतिशत देखाइएको छ जुन १५ प्रतिशतभन्दा पनि कम हुनुपर्ने हो भन्ने
लाग्छ। अर्को नगर निर्वाचनको (नाटक) ठीक छ भन्नेहरू २६ प्रतिशत देखाइएको
छ जुन १५ प्रतिशतभन्दा कम छ। नगर निर्वाचनको उक्त नाटकमा ५ प्रतिशतभन्दा
बढीले मत खसालेका थिएनन्। यसको सवुद प्रमाण त सरकारी समाचारमाध्यमले
समेत अघिल्लो दिन २० प्रतिशत मतदान गरिएको भनियो तर भोलिपल्टै त्यसलाई
बढाएर फेरि २१ प्रतिशत भनियो।
डा. जी. आर. अर्याल
ग्वार्को–१७, ललितपुर
• विद्यालय
शान्तिक्षेत्र बनाइयोस्
हिमाल (१६–३१ चैत, २०६२) मा जेबी पुन मगरको 'सपनामा
पनि तर्सिन्छन्' शीर्षकको स्थलगत रिपोर्ट पढेपछि विद्यालयलाई युद्धरत्
पक्षले युद्धको दुन्दुभिमा परिणत गर्न खोजेजस्तो लाग्यो। दैलेखमा एस्एल्सी
केन्द्रमा माओवादीले बम बिष्फोटन गराएर आफ्नो निकृष्ट नमूना प्रदर्शन
गरेका छन्। यो अत्यन्तै निन्दनीय कार्य हो।
यस्तै १८ माघको पाल्पा आक्रमणका बेला सुरक्षाकर्मी
र माओवादी दुवै पक्षबाट सर्वसाधारणको घर, सार्वजनिक स्थल र विद्यालयहरू
प्रयोग भएको पाइयो। बन्दुकधारी माओवादी विद्यालयभित्र प्रवेश गरेपछि
विद्यार्थीहरू कसरी सुरक्षित हुने? त्यस्तै सुरक्षाफौजले विद्यार्थीलाई
आतङ्ककारी देख्ने प्रवृत्ति खराब छ। चित्रेभञ्ज्याङ्गको एक विद्यालयमा
माओवादी बसेको आशङ्कामा कक्षा कोठामा हेलिकप्टरबाट गोली प्रहार गरेको
थियो। यसरी माओवादी र सुरक्षाफौज दुवैले विद्यालयलाई प्रयोग गरेको
पाइएको छ। तसर्थ दुवै द्वन्द्वरत् पक्षबाट विद्यालयलाई शान्तिक्षेत्र
घोषित गरी द्वन्द्वमुक्त बनाउनु वेश हुन्छ।
देवेन्द्र पौडेल
बडहरे–३, खोटाङ
|