| अर्थ | रिपोर्ट
पूँजी पलायन
भारतीय शहर मालामाल
•
रामेश्वर बोहरा, नेपालगन्जमा

भारतीय बैंकमा नेपालीहरूको भीड। |
नेपालगञ्जकी विनिता
शाहीले केही समयअघि नेपाल बङ्गलादेश ब्याङ्कबाट रु.१२ लाख झिकेर सीमापारि
रुपैडियाको सेन्ट्रल ब्याङ्कमा राखिन्।ब्याङ्कका शाखा प्रबन्धक हरि
कोइराला धेरै ग्राहकले यसरी ठूलो परिमाणमा पैसा निकालिरहेका जानकारी
दिन्छन्। पैसा निकाल्नेहरू मुलुकको बिगँरदो शान्तिसुरक्षा, तरल राजनीति,
अनिश्चित अवस्था, आदिले असुरक्षित ठानेर यसो गरेको बताउँछन्।
केही वर्षदेखि चल्दै आएको नेपालगञ्ज क्षेत्रबाट भारतमा
पूँजी पलायन हुने क्रम पछिल्ला दिनहरूमा बढेको छ। नेपाली व्यापारी–व्यवसायी,
कर्मचारी र सर्वसाधारणको ठूलो भीड नेपालगञ्ज र वरपरका ब्याङ्कहरूबाट
पैसा निकालेर सीमापारि रुपैडियाका सेन्ट्रल ब्याङ्क, लखनऊ क्षेत्रीय
ग्रामीण ब्याङ्क, इलाहावाद ब्याङ्क र सहारा फाइनान्समा जम्मा गरिरहेका
देखिन्छ। २० हजार निक्षेपकर्तामध्ये ९० प्रतिशत नेपाली रहेका बताइने
सेन्ट्रल ब्याङ्कको रुपैडिया शाखामा दैनिक भारु.१२–२० लाखभन्दा बढीको
निक्षेप सङ्कलन हुनेगरेको ब्याङ्कका प्रबन्धक एस.पी. शुक्ल बताउँछन्।
लर्डबुद्ध एजुकेशन एकेडेमीद्वारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेजले
मात्रै यो ब्याङ्कमा करोडौँको कारोबार गर्छ। लखनऊ क्षेत्रीय ग्रामीण
ब्याङ्कमा जम्मा हुने ७० प्रतिशत, अर्थात् भारु.२० लाखभन्दा बढी रकमको
कारोबार नेपालीसँगै हुनेगरेको बताउँदै प्रबन्धक वाइ.के. त्रिपाठी भन्छन्,
“नेपाली नआए हाम्रो कारोवारै हुँदैन।” इलाहावाद ब्याङ्कमा पनि नेपालीको
ठूलै कारोबार हुने गरेको छ।
सहाराले आफ्नो कारोबार नबताए पनि उसका बीमा पोलिसीलगायतका
धेरै आकर्षणले नेपालीलाई तानेका छन्। सहारा एजेण्ट सुनिल भण्डारी नेपालगञ्जबाट
मात्रै आफूले मासिक भारु.६० हजारभन्दा बढी उठाउने गरेको बताउँछन्।
वरपरका गाउँबजार र अन्य जिल्लासम्म पुग्ने यसका दुई सयभन्दा बढी एजेण्टले
वार्षिक भारु.१४ करोड ४० लाख (रु.२३ करोड) भन्दा बढी रकम उठाउँछन्।
नेपालीबाट सीधै जम्मा हुने रकम योभन्दा बढी हुने गरेको छ।
ब्याङ्क तथा वित्तीय संस्थाहरूले दिने कारोवारको विवरण
कमै हुने हुँदा यथार्थ रकम धेरै हुनसक्ने बताइन्छ। नेपालगञ्ज र यसको
वरिपरिबाट मात्रै वर्षको एक अर्बभन्दा बढी नेपाली रुपैयाँ बाहिरिने
गरेको व्यापारी–व्यवसायीहरूको अनुमान छ। यसरी पलायन भइरहेको नेपाली
पूँजीको ठोस परिमाणको अध्ययन भएको छैन। नेपाल राष्ट्र ब्याङ्कका नेपालगन्ज
शाखा प्रबन्धक चिन्तामणि सिवाकोटी जनशक्तिको कमीले गर्दा यसो गर्न
नसकिएको बताउँछन्।
रुपैडियाका ब्याङ्क र वित्तीय संस्थाले त नेपालगञ्जबाट
बाहिरिने रकमको एकचौथाइभन्दा कम हिस्सा मात्र ओगटेका छन्। व्यापारी
अवनिश अग्रवाल भन्छन्, “रुपैडिया त केही होइन, भारतमा रकम नराख्ने
नेपालगन्जका व्यापारी नै छैनन्र ठूला व्यापारीका खाता बहराइच, लखनऊ
र दिल्लीका ब्याङ्कहरूमा छन्।” सरकारी अधिकृतहरूका खाता पनि नेपालभन्दा
भारतीय ब्याङ्कमै बढी भएको बताइने गरेको छ। अख्तियारले समाउन थालेपछि
धेरैले भ्रष्टाचार गरी कमाएको अकुत सम्पत्ति लुकाउन उतै खाता खोल्ने
गरेका राष्ट्र ब्याङ्कका प्रबन्धक सिवाकोटी बताउँछन्। भारतका गाउँगाउँका
ब्याङ्कमा समेत पैसा राख्ने चलन बढेको उनको दावी छ।
कति नेपालीहरूले भारतमा घरजग्गा र व्यापार–व्यवसाय
पनि जोडेका छन्। नेपालगन्जका ७० भन्दा बढी व्यापारीका रुपैडियामा पसल
छन्। रुपैडिया व्यापार मण्डलका अध्यक्ष छेदीलाल मदेशियाका अनुसार,
एउटा सामान्य पसल खोल्न भारु.५–१५ लाख चाहिन्छ। रुपैडियामा झ्ण्डै
डेढसय नेपालीले घरजग्गा किनेका र घर बनाइरहेका छन्। नेपालगन्जका एक
धनाढ्य भन्छन्, “शान्तिसँग बस्न पाइने आशले यसो गरेको हो। आफ्नै घरभित्र
चैनले निदाउन सकिन्न। अनि के गर्ने।” भारतमा काम गर्न जाने नेपालीहरू
पनि आफ्नो कमाइ लिएर घर फर्किनुको साटो उतै घरजग्गा किनेर बस्ने र
यता भएको सम्पत्ति बेचेर परिवार समेत उतै लैजाने गरिरहेका छन्। उनीहरूको
जवाफ पनि “उतै शान्तिसँग बस्न पाइन्छ” भन्ने छ। सामान्यतया भारतमा
ब्याङ्क खाता खोल्न, घरजग्गा खरीद गर्न र व्यापार–व्यवसाय चलाउन भारतीय
नागरिकता चाहिँदैन।
शैक्षिक हड्ताल, स्तरीय शिक्षाको कमी र बालबालिकाको
असुरक्षाले गर्दा छोराछोरीलाई भारतीय शिक्षण संस्थाहरूमा पढाउने क्रम
बढेकोले पनि पूँजी पलायन बढेको छ। गत वर्ष माओवादीले शिक्षणसंस्था
बन्द गर्दा नेपालगन्जका अभिभावकले मात्रै झ्ण्डै चार सय बालबालिकालाई
भारत पठाएका थिए। रुपैडियाका शिक्षण संस्थामा ८० प्रतिशत नेपाली विद्यार्थी
छन्।
ब्याङ्किङ क्षेत्रमा बढिरहेको पूँजी पलायनका कारणहरूमध्ये
कम व्याजदर पनि मानिएको छ। नेपालका ब्याङ्कमा औसत व्याजदर २–३ प्रतिशतभन्दा
बढी छैन, तर भारतमा ६–८ प्रतिशत छ। असुरक्षाले गर्दा नेपालका ब्याङ्कहरू
शहरमा खुम्चिँदै गएका र शहरमै पनि ब्याङ्क लुटिएका छन्। ब्याङ्कमै
राखेको धन पनि आफ्नो नहोला भन्ने त्रास छ। देशका धेरै उद्योगधन्दा
बन्द र रुग्ण छन्। बन्द, हड्ताल, कच्चापदार्थको अभावले उत्पादन घटेको
र भएको थोरबहुत उत्पादन पनि बजार पुग्न तथा बिक्री हुन नसकेकोले औद्योगिक
र व्यापारिक लगानी सीमापारि पुगेको छ। उद्योग र व्यापारमा लगानी गर्ने
त्यसै पनि भारतीय नै धेरै छन्, अव नेपालीहरू पनि भारतमै लगानी गर्न
थालेका छन्। यस्ताको सङ्ख्या सयौँ रहेको बताउँदै नेपालगञ्ज उद्योग
बाणिज्य संघका अध्यक्ष सतीशचन्द्र अग्रवाल भन्छन्, “भोलि के होला भन्ने
डरले भएको पूँजी पनि विदेशिँदैछ।”
पूँजी पलायनका असरहरू पनि देखिइसकेका छन्। निक्षेप
सङ्कलन र लगानी घटेको त छ नै, भारु फालाफाल हुने नेपालगन्जमा पछिल्लो
केही महिना यसको हाहाकार भइरहेको छ। एक व्यापारी यतिसम्म भन्छन्, “कसैले
भारु.१० लाख मिलाइदियो भने १० हजार कमिशन पाउँछ।” राष्ट्र ब्याङ्कको
नेपालगन्ज शाखाले वितरण गर्ने दैनिक ५० लाखभन्दा बढी र वार्षिक २ अर्ब
भारुले बजारको माग पूरा गर्न सकेको छैन। ब्याङ्क प्रबन्धक सिवाकोटी
भन्छन्, “पहिले नेपाली रुपैयाँसँग साटिएकै भारुले पुग्थ्यो, अहिले
डलरले किन्नुपर्छ। डलरले किनेको भारु दिन विचार गर्नैपर्यो नि?” भारतमा
ब्याङ्कमा वचत, घरजग्गा खरिद, व्यापार–व्यवसाय, छोराछोरीको पठनपाठन
जे गर्दा पनि भारु चाहिन्छ, जसको असर अत्यावश्यक सामानको आयातमा परेको
छ।
उद्योगधन्दा र लगानी बन्द हुनाले नेपालतर्फका आर्थिक
गतिविधि ठप्प छन्। यसले गर्दा विकास निर्माण, रोजगारी, आर्थिक वृद्धि,
ब्याङ्किङ, शिक्षा सबै क्षेत्रमा नकारात्मक असर पारेको छ। राष्ट्र
ब्याङ्कका अधिकृत दीर्घ रावल भन्छन्, “यसबाट राष्ट्रिय उत्पादन घटेको,
निर्यात ठप्प भएको, आयात बढेको छ। परनिर्भरता बढ्नेछ र अर्थतन्त्र
खत्तम हुन्छ, देश कङ्गाल बन्छ।” यो स्थिति कसरी बदलिएला त? राष्ट्र
ब्याङ्कका प्रबन्धक सिवाकोटी भन्छन्, “उद्योग–व्यापार चल्ने, आफ्नो
लगानीमा निर्धक्क हुने परिस्थिति बन्नुपर्यो। स्वदेशी पूँजी बाहिरिन
रोकिने मात्र होइन, विदेशी पूँजी समेत आकर्षित हुन्छ।”
ठगिए पनि मोह घटेन
भागेको अवस्थामा बाहेक नेपालका कुनै ब्याङ्क वा वित्तीय संस्थाले ग्राहक
ठगेका घटना विरलै होलान्। तर, भारतीय ब्याङ्कमा रकम जम्मा गर्ने नेपाली
ठगिन्छन् पनि। नेपालगन्जका व्यापारी अवनिश अग्रवालले आठ वर्षअघि सहारा
फाइनान्समा जम्मा गरेको भारु.८ हजार फिर्ता पाएनन्। रकम लिन पुगेका
उनलाई ब्याङ्कले जवाफ दियो, “तपाईंको पैसा अर्कैले लिइसकेछ।”
मुद्दती खाता खोल्ने नेपालीहरूलाई अवधि पूरा भएपछि
पनि सकेसम्म ब्याङ्कले रकम दिन मान्दैन, जम्मा गरिराखोस् भन्छ। अति
नै जरुरी भए आधा मात्र दिन्छ। एक नेपाली ग्राहक भन्छन्, “आफ्नै रकम
निकाल्नलाई पनि हातपाउ ढोग्नुपर्छ।”
यस्तो अवस्था हुँदाहुँदै पनि नेपालीहरू भारतीय ब्याङ्क
नै ताकिरहेका छन्।
|