| शहर–बजार
ट्याङ्करको पानी
दैनिक २० लाखको व्यापार
खानेपानी संस्थानले उपत्यकामा मागअनुरुप पानी
उपलब्ध गराउन नसक्दा निजी ट्याङ्करबाट पानी आपूर्ति गर्ने व्यवसाय
फस्टाएको छ। अहिले करीब २५० ट्याङ्करले दैनिक रु.२० लाखको पानी बेच्छन्।

डम्बरकृष्ण श्रेष्ठ |
ट्याङ्करको पानीले उपत्यकामा
खानेपानीको अभावलाई पूरा गर्न सघाउ पुर्याएको छ। ट्याङ्कर व्यवसायीहरूले
यहाँका विभिन्न स्रोतहरूबाट पानी आपूर्ति गर्ने गरेका छन्। सतह र बोरिङ
दुवै स्रोतको पानी सङ्कलन गरेर उपभोक्ताको घरमा पुर्याउने काम हुँदै
आएको छ। गोदावरी, टौदह र मातातीर्थ सतही स्रोतका रूपमा र जोरपाटी एवं
त्यस आसपासका क्षेत्रहरूलाई बोरिङका लागि प्रमुख स्रोतको रूपमा प्रयोग
गरिएको छ।
उपत्यकामा पानी आपूर्ति गरिरहेका ट्याङ्करकोे सङ्ख्या
कति छ भन्ने बारेमा यकिन तथ्याङ्क स्वयंं यातायात व्यवस्था कार्यालयसँग
पनि छैन। कार्यालयका एक अधिकृत भन्छन्, “यहाँ दर्ता गर्दा ट्याङ्कर
भनिएको हुन्छ तर तिनीहरू पेट्रोलियम पदार्थ, पानी वा दूध के ढुवानी
गर्नमा प्रयोग भएका छन्, खुलाउने गरिन्न।” यतिमात्र होइन, पानी व्यवसायीहरू
कुनै निकायमा दर्ता गरेर चलाउनुपर्ने प्रावधान नराखिएकाले सोको बारेमा
कुनै तथ्याङ्क नभएको हो। तर, व्यवसायीका भनाइमा, साना–ठूला गरी २५०
ट्याङ्कर अहिले सञ्चालनमा छन्।
सिद्धार्थ खानेपानी कलङ्कीका चालक लक्ष्मण लामा भन्छन्,
“एउटा ट्याङ्करले दिनमा ६ देखि १० पटकसम्म पानी ढुवानी गर्दै आएको
छ। तर, दिउँसोको लोडसेडिङले बोरिङको पानी भर्न घण्टौँ लाइनमा बस्नुपर्ने
भएकोले अलिक समस्या थपिएको छ।” जोरपाटीस्थित त्रिशूली खानेपानीका सञ्चालक
दानबहादुर गुरुङका भनाइमा, “राजधानीमा लगभग २५० वटा ट्याङ्करले दिनमा
कम्तीमा ६ पटक पानी ढुवानी गर्छन्। यसले कम्तीमा पनि दैनिक १५ सय ट्याङ्कर
पानी आपूर्ति भइरहेको देखाउँछ।” गुरुङको भनाइलाई थप पुष्टि हुनेगरी
बालाजु ड्रिङकिङ वाटरका देवेन्द्र गजुरेल थप्छन्, 'सुक्खायाममा त दिनमा
१० पटकसम्म पानि ल्याउँदा पनि माग धान्न मुश्किल पर्छ।”
पानी आपूर्ति गर्ने ट्याङ्करहरू १० हजार लिटर र ६ हजार
लिटरका हुन्छन्। व्यवसायीका भाषामा १० हजार लिटरकोलाई 'ठूलो' र ६ हजार
लिटरकोलाई 'सानो' भनिन्छ। पानीको स्रोतदेखि उपभोक्ताको निवासको दूरी
हेरेर सानो ट्याङ्करले ८ देखि १२ सयसम्म र ठूलोले १४ सयदेखि १६ सयसम्म
लिने 'खाङ्सार ड्रिङकिङ वाटर' स्वयम्भूका ट्याङ्कर चालक रामकुमार सुब्बा
बताउँछन्।
पानी ढुवानी साना ट्याङ्करको सङ्ख्या एकसयको हाराहारीमा
छ भने अरू सबै ठूला छन्। सानो ट्याङ्करले प्रति टि्रप सरदर १ हजारमा
र ठूलाले १५ सय रुपैयाँमा प्रत्येक दिन सरदर ६ ट्याङ्कर पानी बिक्री
गरेको आधारमा साना ट्याङ्करले दैनिक रु.६ लाखको पानी व्यापार गर्छ
भने ठूलाको १३ लाख ५० हजार गरी दैनिक रु.१९ लाख ५० हजार बराबरको कारोबार
भइरहेको देखिन्छ।
आपूर्तिकर्ताले पनि पानी निःशुल्क पाउँदैन। बोरिङको
पानी भए एकपटकमा सानो ट्याङ्करले ५० देखि ८५ रुपैयाँसम्म र ठूलो ट्याङ्कर
भए १ सयदेखि १५० रुपैयाँसम्म हाल्नुपर्छ। तर, सतहको पानी चाहिँ टौदहमा
सानोलाई ७५ र ठूलोलाई १५० रुपैयाँ तथा गोदावरीमा सानोलाई १२५ र ठूलोलाई
१७५ रुपैयाँ तिर्नुपर्छ। गोदावरीको पानीमा गाविसले निकासी करको रूपमा
सानो ट्याङ्करले ५० र ठूलोले ७५ रुपैयाँ तिर्नुपर्छ। त्यसैले अन्यत्रको
भन्दा गोदावरीको पानी महँगो हुने व्यवसायीहरू बताउँछन्। बोरिङ व्यवसायीहरूको
कमाइ पनि आकर्षक छ। दैनिक रु.१० हजारसम्मको कारोबार गर्ने बोरिङ व्यवसायीको
सङ्ख्या २० भन्दा बढी छ। यस अलावा सतहको पानी सङ्कलन गरेर ठेक्कामा
लगाउने नमूना गाविस, गोदावरीबाट दैनिक न्यूनतम् १ सय ट्याङ्कर र कीर्तिपुरको
टौदहमा सञ्चालित तीन वटा निजी प्लान्टबाट न्यूनतम् १ सय ट्याङ्कर पानी
उपलब्ध गराइरहेको छ। गोदावरीका दुई वटा स्रोतबाट बिक्री भएको पानीको
निकासी कर उठाउन विगत वर्षदेखि नै विकास नेपाललाई गाविसले वार्षिक
२ लाख ७१ हजार ५ सय रुपैयाँमा ठेक्का दिएको छ भने कीर्तिपुर नगरपालिकाले
यही चैत महिनादेखि लागू हुनेगरी सानो ट्याङ्करलाई मासिक १ हजार र ठूलालाई
१३ सय व्यावसायिक कर तोकेको छ। टौदहबाट पानी ढुवानी गर्ने व्यवसायीका
१७ वटा ठूला र १७ वटा साना ट्याङ्कर सञ्चालनमा छन्। कर बाहेक टौदहबाट
पानी ढुवानी गर्ने सानो ट्याङ्करले ७५ र ठूलाले १५० रुपैयाँ सङ्कलकलाई
तिर्नुपर्ने नियम छ।
विगतमा सतही पानीको लागि नाम चलेको ग्वालिन दहमा स्थानीय
बासिन्दाको विरोधका कारण यो वर्ष पानी झ्िक्न बन्देज लगाइएको छ। बालाजु
रानीवनको पानीमा सेनाले कब्जा जमाएको छ।
उपत्यकामा पानीको व्यापार वृद्धि भइरहेको स्थितिसँग
अनभिज्ञ नरहे पनि सरकारी संस्था नेपाल खानेपानी संस्थानले मागअनुरुप
पानी आपूर्ति गर्न सकिरहेको छैन। तीब्र शहरीकरण र बसाइँ सराइका कारण
जनघनत्व बढ्न गई माग अनुसारको आपूर्ति गर्न संस्थान असमर्थ भएको संस्थानको
उच्च निकायको तर्क छ। अहिले उपत्यकामा दैनिक २२ करोड ४० लाख लिटर पानीको
माग भए पनि १० करोड लिटरभन्दा बढी आपूर्ति गर्न संस्थान असमर्थ रहेको
महाप्रबन्धक लवकुमार थापा बताउँछन्। थापा भन्छन्, “बर्खायाममा यो अङ्क
१४–१५ करोडमा पुगे पनि नपुग पानी आपूर्ति गर्न निजी ट्याङ्करहरूको
मह140वपूर्ण योगदान छ।” तर, त्यसरी उपलब्ध गराइने भूमिगत वा सतही स्रोतको
पानी उपभोग्य गुणस्तरको छ वा छैन भनी अनुगमन गर्ने जिम्मेवारी हालसम्म
कसैलाई पनि नदिइएकोले उपभोक्ताले सोच्नुपर्ने उहाँको सुझ्ाव छ। संस्थानले
थप पानी उपलब्ध गराउन कस्तो रणनीति अपनाउँदैछ? महाप्रबन्धक थापा भन्छन्,
“मनोहरा र बागमतीमा 'डगवेल' खनेर सतही स्रोतबाट दैनिक थप १ करोड लिटर
पानी आपूर्ति गर्ने रणनीतिमा छौँ र यो काम यसै वर्ष पूरा हुन्छ।”
डिप बोरिङ गरी निकालिएको पानी विना प्रशोधन उपभोक्तामा
पुग्छ भने कतिपयले बालुवा राखेर फिल्टर गर्ने गरेको बताएका छन्। तर,
डिप बोरिङ गरी निकालिएको पानी बेच्दै आएको पवित्र पानीका निराजन न्यौपानेले
आफूहरूले नापतौल तथा गुणस्तर विभागले तोकेको मापदण्डको पानी उपलब्ध
गराउँदै आएको बताएका छन्। न्यौपानेको दाबी छ, “हामी खानेपानी संस्थानका
माइक्रोबायोलोजिष्टबाट प्रत्येक महिना पानीको गुणस्तर परीक्षण गर्छौँ।”
यस अलावा काठमाडौँ उपत्यकाको पानी आपूर्तिमा ढुङ्गेधाराहरूको
उत्तिकै मह140वपूर्ण स्थान छ। पानीविज्ञ प्रयागलाल जोशीका अनुसार उपत्यकामा
जम्मा २६१ वटा ढुङ्गेधाराहरू छन् जसमध्ये १५१ वटा अहिले पनि सञ्चालनमा
छन्। यो सुक्खायाममा पनि ती ढुङ्गेधाराहरूबाट दैनिक ५ करोड ५२ लाख
लिटर पानी आपूर्ति भइरहेको पाइन्छ। यस प्रकार सरकारले सम्पूर्ण शक्ति
लगाएर दैनिक १० करोड लिटर पानी उपभोक्तालाई पुर्याउन सङ्घर्ष गरिरहनु
परेकोमा ढुङ्गेधाराहरूबाट मात्र अपुगको झ्ण्डै आधा भाग पूरा भएको पाइन्छ।
बाँकी झ्ण्डै त्यति नै लिटर पानी ट्याङ्करबाट आपूर्ति भइरहेको उपरोक्त
तथ्यबाट थाहा पाइन्छ। समग्रमा काठमाडौँ उपत्यकामा दैनिक बीसौँ लाख
रुपैयाँ बराबरको व्यापार भइरहेको छ। स्मरणीय छ, पानीको ढुवानी गर्ने
ट्याङ्करहरूलाई उपत्यकामा चौबीसै घण्टा गाडी चलाउने छुट दिइएको छ।
•
गोपाल काफ्ले
२५ लाख लिटर चुहिन्छ
दिनहुँ सरदर
हुने ५ घण्टाको लोडसेडिङले काठमाडौँ सुन्दरीजलबाट मात्रै दैनिक २५
लाख लिटर पानी वितरणमा घाटा भइरहेको छ। लोडसेडिङका कारण सुन्दरीजल
पावरहाउस सञ्चालनमा अवरोध आएका कारण यो समस्या उत्पन्न भएको हो। नेपाल
खानेपानी संस्थान महाँकालचौर शाखाका प्लान्ट अधिकृत जुजुकाजी श्रेष्ठ
भन्छन्, “पावरहाउस नचन्दा सुन्दरीजल पोखरीबाट ओभरफ्लो भएर झ्रेको पानी
दुई किलोमिटर तल बोक्सीदहबाट मात्रै पुनः प्रणालीमा आवद्ध हुन्छ। यसरी
ओभरफ्लो भएर बोक्सी दहसम्म आउँदा दैनिक २५ लाख लिटर पानी चुहिएर खेर
जान्छ।”
सुन्दरीजल पावरहाउसको बिजुली चाबहिल सब–स्टेशनमा जोडिएकोले
चाबहिल सब–स्टेशनले लोडसेडिङ गर्दा पावरहाउस बन्द हुन पुग्छ। हिउँदमा
दैनिक २ करोड २० लाख र बर्खायाममा दैनिक ४ करोड २६ लाख पानी उत्पादन
गर्ने सुन्दरीजलबाट राजधानीका घनावस्ती भएका क्षेत्रहरूमा पानी आपूर्ति
गर्ने गरिन्छ। चाबहिल, बत्तीसपुतली, नयाँ र पुरानो बानेश्वर, कोटेश्वर,
थापाथली, डिल्लीबजार, मैतीदेवी, कमलपोखरी, नक्साल, टङ्गाल, पुतलीसडक,
त्रिपुरेश्वर नयाँसडक, इन्द्रचोक, मख्खन आदि क्षेत्रमा सुन्दरीजलको
पानी वितरण हुँदै आएको छ।
•
रामहरि पौडेल
|