हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

 

साथी विकल गयो, निरङ्कुशतन्त्र गएन


रविन

गोविन्द गयो। यति चाँडै, यही उमेरमा, यसरी गइहाल्छ जस्तो लागेको थिएन। अप्रत्यासित र अनपेक्षित बज्र प्रहार जस्तो आएको थियो, उसको मृत्युको समाचार। वास्तवमा समाचार पनि बन्न सकेन उसको मृत्यु। शायद एकताका ऊ काम गर्ने धरानको दैनिक 'ब्लास्ट टाइम्स्' ले चाहिँ छाप्यो होला उसको मृत्युको खबर। तर राष्ट्रियस्तरका समाचारपत्रमा भने उसको मृत्यु समाचार बन्न सकेन। यद्यपि, धरानले जन्माएको राष्ट्रियस्तरको कवि थियो ऊ। गोविन्द माने गोविन्द विकल। जो मेरो बालसखा थियो र थियो मेरो लँगौटिया यार।

सिगरेटको खोलको कित्तादेखि रुद्राक्ष दाना र हाडेओखरको खोपी, गुच्चा, डण्डिबियो अनि काठको तरबार खेल्दाको दिनदेखि सँगै स्कूल र कलेज जाँदासम्मका अनेकन् स्मृतिहरू गाँसिएका छन् ऊसित मेरा। हामीले सँगै मिलेर के मात्रै गरेनौँ? आफूले मिलेर खोलेको पुस्तकालयलाई चन्दा उठाउन देउसी, भैलो खेलेनौँ कि, नाचेनौँ कि, साहित्य–गोष्ठी गरेनौँ कि, कलेजमा नाटक खेलेनौँ कि, जुलुसमा भाग लिएनौँ कि!

हामीभन्दा ठूला दाइहरूले खोलेका 'लक्ष्मी वाचनालय' को देखासिखी गरेर 'बाल पुस्तकालय' खोल्ने हाम्रो टीमको आधारस्तम्भमध्ये गोविन्द एक थियो। हस्तलिखित 'बाल–पत्रिका' निकाल्ने मुख्य भार त उसैले उठाएको थियो। हामी त सघाउँथ्यौँ मात्र। एसएलसी सकेर 'लोकनृत्य संघ'मा लागेपछि ऊ र मेरो हल बाँधिएको थियो, तारे र मालेजस्तो। हामी पुरुष युगल नृत्य गर्थ्यौँ, जसरी उसबेला बच्चु कैलाश र पुष्प नेपाली युगल गीत गाउँथे रेडियोमा।

नाउँपछाडि 'विकल' थपिनुअघि ऊ गोविन्दबहादुर बोहरा थियो। कविता लेख्ने लत उसले बाल–पत्रिका हातले लेखेर निकाल्दादेखि नै बसालेको थियो। त्यसबेला नाउँपछाडि 'विद्रोही', 'उत्साही', 'उत्सुक' जस्ता उपनाम थपेर कवित्व झ्ल्काउने चलन आएको थियो। उसले पनि किन हो 'विकल' नाम रोज्यो! शायद, कथाकार रमेश 'विकल' को लेखनीको प्रभावले होला!

तरपछि उसले त्यो दोष मेरा टाउकोमा खन्याएको थियो– 'तैँले त हो नि त्यो नाम सुझ्ाएको' भनेर। जेहोस्, जसले गरेको भए पनि त्यो नराम्रो काम थिएन। छिट्टै ऊ 'विकल' भनेर चिनिन थाल्यो, साथीभाइमाझ् र केही परतिर पनि। उसको त्यो चिनारी फैल्याउने माध्यम उसका कविता बने। हात धोएर लागेको थियो ऊ कविताका पछाडि। जतिखेर जहाँ पनि मौका पायो कि ऊ घुँडा धसेर लेख्न बसिहाल्थ्यो। कहिलेकाहीँ त म भित्र भात टिपेर बाहिर पिँढीमा निस्कँदा साथीले दुई वटा कविता तयार पारेको हुन्थ्यो मलाई सुनाउन।

धेरैभन्दा धेरै कविता लेख्ने हतारमा रहेको जस्तो देखिन्थ्यो ऊ, एक पटक लेखेको कवितालाई सच्याउने, उजिल्याउने वा परिस्कृत गर्ने उसको बानी थिएन। उसको यही बानीले गर्दा 'डोके कवि' भनी जिस्क्याउनेहरू पनि थिए उसलाई। अर्थात् उसका कविता डोकामा राखे पनि भारी पुग्थ्यो। त्यस्ता व्यङ्ग्य–बाणप्रति बेखबर उसले लेख्न छाडेन र कविका रूपमा स्थापित भइकन छाड्यो ऊ।

राजनीतिक रूपमा पनि ऊ त्यतिकै सक्रिय थियो। छिन्ताङ काण्डमा समेत मुछिएको थियो ऊ। भूमिगत पनि रह्यो धेरै वर्ष। एक त कवि त्यसमाथि राजनीतिक छवि! त्यस्तो व्यक्तिको घरबार भताभुङ्ग हुनु र भौतिक अवस्था बलियो नहुनु नौलो कुरा होइन। हदै हण्डर खायो उसले। दुई छाक भात खान पाएकै भरमा उसले कैयौँ पत्रिकाहरूमा काम गर्‍यो।

यसो त हाम्रो बाटो छुट्टिएको म काठमाडौँ हानिएदेखि नै हो। धरान पुगेको बेला जहिले पनि उसलाई खोज्ने गर्थेँ म। उसको रासो–बासो धरानबाट चकरघट्टी सरेकाले सधैँ भेट हुँदैनथ्यो। अस्ति पिताजीको काममा पनि उसलाई नसम्झ्ेको होइन। साथीहरूले चकरघट्टीमा भएको र उसको स्वास्थ्य राम्रो नभएको कुरा गरेका थिए। तर यति खराब होला भन्ने के थाहा? बरा विकलले २०६३ को नयाँ साल पनि देख्न पाएन। छिट्टै र असमयमै गयो। त्यस कुराले मेरो मन विकल हुन्छ। भन्नेहरू त मुलुकको निरङ्कुशतन्त्रले पनि २०६३ साल देख्दैन भन्थे तर निरङ्कुशतन्त्र गएन, साथी विकल चाहिँ गयो। राम्रोको आयु छोटो र नराम्रोको चाहिँ लामो किन हुन्छ हँ?

फोनको लाइन र लोकतन्त्र

बाह्र वर्षमा त खोलो पनि फर्किन्छ भन्थे साँच्चै हो रहेछ। यस बबुरोले २०४९ साल चैत महिनाको ३० गते एउटा टेलिफोन लाइन पाउन ५० रुपैयाँको दस्तुर तिरेर नेपाल दूरसञ्चार संस्थानमा दरखास्त हालेको थियो, त्यसको ८–९ वर्षपछि 'सम्पर्क गर्न आउनू' भन्ने सूचना पत्रिकामा निस्कियो। सम्पर्क त गरियो, लाइन भने मिलेन, पर्खनुपर्ने सल्लाह मात्रै मिल्यो। यसबीच संस्थान कम्पनी बन्यो र आफूलाई नेपाल टेलिकम भन्न थाल्यो। तर टेलिफोन लाइन पाउने आफ्नो पालो आएन। प्रतीक्षाको पनि एउटा सीमा हुन्छ, कति पर्खने? पूरै आशा मारिसकिएको थियो टेलिफोन पाउने।

तर के अचम्म! दरखास्त हालेको १३ वर्षपछि दूरसञ्चार कम्पनीले बोलायो पत्रिकामा सूचना दिएर पुराना दरखास्तवालाहरूलाई। १३ वर्षअघि यही चैत महिनामा दरखास्त हालेको थिएँ, अहिले १३ वर्षपछि यही चैत महिनामा टेलिफोन लाइन पाएँ। धन्य हो! नेपाल टेलिकममा 'देर रहेछ, अँधेर रहेनछ!' बरु मैले तार तानेर जोड्नुपर्ने पुरानै प्रविधिको टेलिफोन मागेको थिएँ, अहिले विना तारको झ्न् उच्च प्रविधिको सीडीएमए टेलिफोन पो पाएँ। प्रतिनिधिसभा माग्दा संविधानसभा पाएजस्तो भयो।

अहिले सात दलको गठबन्धन सडकमा लड्डी गरिरहेछ लोकतन्त्रका लागि। कुर्न सके त टेलिफोन लाइनसमेत आउँदो रहेछ भने लोकतन्त्र भन्ने कुरा पनि अवश्य आउला, खाली कुर्न चाहिँ सक्नु पर्‍यो। पर्खिँदा अझ्ै ठूलै कुरो पो पाइन्छ कि मैले नयाँ सीडीएमए फोन पाएजस्तो?!

अन्त्यमा...

लगातारको कर्फ्यूबाट हैरान भएका एक सज्जन भन्दै थिए– “सधैँको यो कर्फ्यू। कर्फ्यूलाई सरकारले दालभात बनाइसक्यो।” अर्का सज्जनले भने, “अब सरकारले दिएको त्यही दालभात खाएर बस्नुस्।”