हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट | माओवादी र बालबालिका

कानमा फोन, हातमा पेस्तोल


सञ्चारसेटमा अन्य माओवादीसँग कुरा गर्दै ११ वर्षीय माओवादी कार्यकर्ता 'सम्मेलन'।

अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकारवादीसमक्ष जे–जस्ता प्रतिज्ञा गरेपनि माओवादीले आफ्नो सैन्य दस्ताभित्र बालबालिका प्रयोग गर्न छाडेका छैनन्। भोजपुर जिल्लाको ग्रामीण भेगमा रिपोर्टिङको क्रममा पुग्दा माओवादीमा संलग्न बालसैन्यहरू कोही पानी बोकिरहेका भेटिए भने कोही पेस्तोल र सञ्चार सेट भिरेर माओवादी नेताहरूले पठाएको सञ्चार म्यासेज टिपिरहेका थिए। कोही भने भाँडा माझ्िरहेको अवस्थामा समेत भेटिए।

घरको आर्थिक अवस्था कमजोर भएकोले र पढ्न नपाएकोले ६ महिनाअघिदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बनेको बताउँछन् खोटाङको च्यानडाँडा गाविस–९ का १३ वर्षीय भीम परियार (राजु)। राजुले आफ्नो विवशता लुकाएनन्। उनी भन्छन्, “घरमा पढ्न सकिनँ, बुबाआमालाई पाल्न पनि गाह्रो, त्यही भएर जनयुद्धमा लागेँ।” शुरुमा उनी माओवादीको १६ औँ बटालियनको कम्पनीमा भर्ती भए। उनलाई कम्पनीले युद्ध–पोशाक (कम्ब्याक्ट ड्रेस) पनि दियो। तर अहिले उनलाई सेनामा होइन पार्टी काममा लगाइएको छ।

गीत गाउन र कविता लेख्न इच्छुक राजुलाई गीत गाउन मन लाग्छ। राजु भन्छन्, “मलाई गीत गाउन साह्रै रहर लाग्छ। कलाकारको टोलीमा जान पाइनँ। नत्र म कलाकार भएर जनयुद्धलाई धेरै सहयोग गर्ने थिएँ।” तर उनले अहिले पनि कठोर काम गरिरहेको कुरा लुकाएनन्। उनी भन्छन्, “पार्टीमा लागेपछि बम पनि बोक्नै पर्‍यो। दुश्मनको बङ्करमा पड्काउन पनि तयार हुनुपर्ने आफूले चाहे जस्तो नहुने।”


१३ वर्षीय विवेक पोख्रेल (पेस्तोल चलाउन अभ्यास गर्दै।

भोजपुरको सिन्द्राङ गाविस–९ का १३ वर्षीय सम्मेलन किराँती पनि माओवादीमा लागेको धेरै भएको छैन। उनी स्थानीय सगरमाथा उच्च मावि घोडेटारमा कक्षा ८ मा पढ्दापढ्दै गत मङ्सिरदेखि जनयुद्धमा लागेका हुन्। तत्कालीन भोजपुर जिल्ला जनसरकार प्रमुख तथा बटालियन सहकमाण्डर जमिनले उनलाई माओवादीमा भर्ती गरेका थिए। जमिन १४ पुसको घोडेटार आक्रमणमा मारिए। सम्मेलन भन्छन्, “मामाले मलाई जनयुद्धमा लगाउनुभएको हो। अहिले म 'दुश्मन' ले मारेका शहीद परिवारलाई सम्झाउने काममा लागेको छु। पुरानो सत्तालाई जसरी पनि घुँडा टेकाउने लक्ष्यका साथ जनयुद्धमा लागेको हुँ। मेरो मामा मार्नेहरूको म एक दिन बदला लिइछाड्छु, चाहे मेरो ज्यान जाओस्।”

उदयपुरको त्रियुगा नगरपालिका जलजलेका १३ वर्षीय विवश पोख्रेल जनयुद्धमा लागेको तीन महिना बित्यो। उनी माओवादी खोटाङ–भोजपुर जिल्ला पार्टीका सबैभन्दा विश्वासिला बाल माओवादी कार्यकर्ता हुन्। माओवादी शैलीमा विवश भन्छन्, “बुर्जुवा शिक्षा पढ्नुभन्दा जनयुद्धमा लागेर सर्वहारा जनतालाई मुक्त पार्न म माओवादीमा लागेको हुँ।” भात पकाउने, पानी ओसार्ने, भाँडा माझने तथा सेन्ट्री बस्नेलगायतका काम पर्छन् विवशको भागमा। त्यस बाहेक माओवादीको सेक्रेटरी विप्लवलाई अन्य माओवादी नेताले पठाएका सूचना टिपेर दिनु पनि उनको दिनचर्यामा पर्छ।


११ वर्षीय माओवादी कार्यकर्ता राजु
(पेस्तोल ताक्दै)।

तर, बालसैन्यको प्रयोगबारे माओवादी नेतृत्व त्यति गम्भीर देखिन्न। माओवादीका खोटाङ–भोजपुर सेक्रेटरी विप्लव पार्टीले युद्धमा जबरजस्ती प्रयोग गरेको नभई 'उनीहरू आफैँ लागेको' बताउँछन्। विप्लव भन्छन्, “उनीहरूलाई पटकपटक घर फर्काउने प्रयास गर्‍यौँ, फर्केर आइहाल्छन्। तर, हामीले उनीहरूलाई जटिल काममा लगाएका छैनौँ।”

सम्मेलन, राजु तथा विवशलगायत अन्य माओवादी बाल कार्यकर्ता यसअघि माओवादीको सैन्य फाँटमा काम गर्दा रहेछन्। ८ कक्षा पढ्दा पढ्दै माओवादीमा लागेका सम्मेलन भन्छन्, “कम्पनीमा बसेर म दुश्मनलाई एके ४७ ले ढाल्ने थिएँ, तर मानवअधिकारवादीले मलाई बस्नै दिएनन्। नत्र म यतिखेर के के गरिसक्थेँ।” यसो भनिरहँदा उनी कम्मरमा पेस्तोल भिरेर सञ्चारसेटमा कुरा गरिरहेका थिए। विप्लव भन्छन्, “उनीहरू रहरले आएका हुन्, फकाएर घर पुर्‍याए पनि पछ्याउन नछोडेपछि हामीले साथमा हिँडाएका हौँ।” तर, माओवादी संरक्षणमा पेस्तोल चलाउन सिक्ने र सञ्चारसेट प्रयोग गर्नेसम्मका काम कारबाही गरिरहेको देख्दा विप्लवको भनाइ विश्वासिलो लाग्दैन।

ज्ञानेन्द्र खड्का, भोजपुर