हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट | खोज

उपचारको नाममा ज्यान र धन स्वाहा

आफ्नो क्षेत्रमा एका–दुई रोगको उपचार उपलब्ध नहुँदा सबैजसो रोगका विरामीलाई सिलीगुडी लगेर त्यहाँका निजी नर्सिङ होम र अस्पतालहरूको 'दुहुना गाई' बन्दै आएका पूर्वी क्षेत्रका नेपालीहरू अब धरानमै न्युरोसर्जरीको समेत उपचार शुरु भएकोले त्यता जान छोड्लान् कि?

डम्बरकृष्ण श्रेष्ठ, सिलीगुडीमा


तस्विरहरूः डम्बरकृष्ण श्रेष्ठ
सिलीगुडी

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५५० शैयाको अस्पताल, आकस्मिक सेवा, जनरल ओपीडी र सुपर स्पेशलिष्ट क्लिनिकहरू छन्। ३३३ शैया क्षमताको क्षेत्रीय अस्पताल बन्ने सुरसार गरिरहेको विराटनगरको कोशी अञ्चल अस्पतालमा पनि राम्रो स्वास्थ्य सेवा उपलब्ध छ। तैपनि पूर्वका धेरै नेपालीहरू भारतको पश्चिम बङ्गाल, सिलीगुडी स्थित निजी नर्सिङ होम र अस्पतालहरूका 'दुहुना गाई' बन्ने गरेका छन्, जहाँ एक पटक भर्ना हुने बिरामीको रु.१ लाखदेखि ६ लाखसम्म खर्च हुन्छ र त्यति गर्दा पनि कतिको शव मात्रै नेपाल फर्किन्छ।

कलेजोसम्बन्धी रोगको उपचार गर्न २८ माघमा सिलीगुडीको डा. चाङ डाइग्नोसिस एण्ड एमआरआई सेण्टरमा भर्ना भएका धरान–१५ का ६० वर्षीय थामबहादुर राईको अवस्था झ्न्–झ्न् चिन्ताजनक भयो। आफन्तहरूले नर्थ बङ्गाल क्लिनिकमा लगेर स्वास्थ्यमा केही सुधार भएपछि ८ चैतमा घर ल्याए। बिरामीकी बहिनी गीता भन्छिन्, “चाङका कुरा मानेर उसको क्लिनिकमा राखिरहेको भए बिरामी ज्यूँदै नफर्कने रहेछन्।”

करीब डेढ वर्षअघि सिलीगुडीको प्यारामाउण्ट नर्सिङ होममा कलेजोकै उपचार गर्न गएका धरानका तुइलाल खड्गी र गोमा गिरी जिउँदो फर्केनन्। परिवारले उनीहरूको 'उपचार'मा क्रमशः अढाइ लाख र डेढ लाख रुपैयाँ सिद्ध्याएका थिए। दुई वर्षअघि बे्रन ट्युमरको उपचारमा डाक्टर चाङको क्लिनिकमा साढे ६ लाख रुपैयाँ सिद्ध्याएका धनकुटा–७ का ६१ वर्षीय डम्बरसिं लिम्बू पनि जीवित फर्केनन्। त्यतिबेला, लिम्बूलाई आफ्नो क्षेत्रमा ब्रेन ट्युमरको उपचार उपलब्ध नभएकोले सिलीगुडी लगिएको थियो, तर कलेजोको उपचार गर्न गएका खड्गी र गिरीले आफ्नै क्षेत्रमा राम्रो र सस्तो उपचार पाउन सक्दथे भारत जानु जरुरी थिएन। अहिले त बीपी प्रतिष्ठानले धरानमै न्यूरो सर्जरीका साथै टाउकोको उपचार पनि शुरु गरिसकेको छ। तर धरान र विराटनगरका अस्पतालमा 'राम्रा डाक्टर छैनन्', 'सिकारुले हेर्छन्', 'लापर्वाही हुन्छ' भन्ने अनेकथरी हल्ला सुनेका भरमा सबैजसो रोगका बिरामीलाई सिलीगुडी लैजाने क्रम व्यापक छ। बढ्दो सडक दुर्घटनाका ६० प्रतिशत गम्भीर घाइतेहरूलाई पनि सोझ्ै वा शुरुमा धरान वा विराटनगर लगेर पछि सिलीगुडीतिरै लैजाने चलन छ। यातायात व्यवसायीले खर्च व्यहोर्ने हुनाले पनि घाइतेहरूलाई सिलीगुडी लैजाने प्रवृत्ति देखिन्छ। प्रतिष्ठानको सिटीस्क्यान मेशिन बरोबर बिग्रिनु भारत लैजाने अर्को कारण बन्ने गरेको छ।\


जो बाँचेनन्: डम्बरसिं, इन्द्रबहादुर र सुरेशकुमार

“हामीकहाँ अहिले सबै रोगको राम्रो उपचार हुन्छ”, बीपी प्रतिष्ठानका प्रमुख डा. प्रह्लाद कार्की भन्छन्, “एमआरआई र ब्रेष्ट क्यान्सरको मेमोग्राफी सेवा काठमाडाँै बाहिर यहीँ मात्र छ। जेनेटिक क्लिनिक काठमाडौँमा समेत छैन। हाडजोर्नीको राम्रो उपचार यहीँ हुन्छ। नसा र टाउकोको उपचार शुरु भएको छ। तर यहीँ उपचार हुनसक्ने बिरामीलाई पनि अनाहक सिलीगुडी लगेर मानिसहरू दुःख पाइरहेका छन्।” कोशी अञ्चल अस्पताल प्रमुख डा. गणेश गुरुङ पनि पूर्वका मानिसहरू लहैलहैमा लागेर सिलीगुडी जाने गरेको बताउँछन्। “हामीले ती नर्सिङ होमको जस्तो विज्ञापन गर्ने र दलालहरू राख्ने काम गरेका छैनौँ। कतिपय मान्छेहरू तिनको हल्ला सुनेर पनि भारततिर गइरहेका छन्”, डा. गुरुङ भन्छन्।

भारतीय नर्सिङ होमहरूले बिरामी तान्न धरान र विराटनगरका अस्पतालहरूमा एजेण्ट राख्ने तथा सिलीगुडीका एम्बुलेन्स र रिक्सा चालकलाई समेत कमिशन दिने गरेका छन्। धरानकी गीता राई सुनाउँछिन्, “बीपी प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना हुनेवित्तिकै केही मान्छेहरू आएर 'यहाँ ठीक हुँदैन, राम्रा डाक्टर छैनन्, बिरामी मर्छ सिलीगुडी नै लानु राम्रो' भन्न थाल्छन्।”

'सुनको फुल दिने मुर्गा'
पूर्वका नेपाली तथा सिक्किम र दार्जीलिङबाट आउने नेपाली मूलका बिरामीलाई सिलीगुडीका नर्सिङ होमहरूले 'सुनको फुल दिने मुर्गा' मान्ने गरेको स्थानीय समाजसेवी राजन सुवेदी (शर्मा) बताउँछन्। उनी भन्छन्, “यी नर्सिङ होमको भन्दा राम्रो उपचार त सरकारी अस्पतालमा हुन्छ। यस्तो खर्चिलो र खत्तम उपचारका लागि पनि नेपालीहरू किन ओइरिएका हुन्, अचम्मै लाग्छ।” मृतकका कतिपय आफन्त बिल तिर्न नसकेर घटाइदिन उनलाई गुहार्छन्, तर उपचार गर्नुअघि सोध्न चाहिँ आउँदैनन्। “म त नेपालीहरूलाई यहाँ उपचार गर्नै नआउन सल्लाह दिन्छु”, उनले भने।

सिलीगुडीमा नेपालीहरूलाई 'दुहुना गाई' बनाएर चम्किएका नर्सिङ होमहरू एक दर्जन जति छन्। नेपालीहरू सबैभन्दा बढी डा. चाङको डाइग्नोसिस एण्ड एमआरआई सेण्टरमा जान्छन्। शान्ति, आनन्दलोक, सनराइज, मित्र, प्यारामाउण्ट, मदनगङ्गा, नाइट र आशीर्वाद नर्सिङ होम तथा नर्थ बङ्गाल र वासु क्लिनिकमा पनि नेपालीहरूको ठूलै भीड लाग्छ। उनीहरू यी नर्सिङ होमभन्दा सस्तो र राम्रो उपचार गर्ने सिलीगुडी सदर अस्पताल र नर्थ बङ्गाल मेडिकल कलेजतिर प्रायः जाँदैनन्। निजी नर्सिङ होमहरू जनरल बेड शुल्क नै दैनिक भारु.८०० र आईसीयुको बेडको भारु.२ हजारसम्म लिन्छन्।

खोज पत्रकारिता केन्द्र


'अब सिलीगुडी जानै पर्दैन'
डा. लोकविक्रम थापा, उपकुलपति– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान


उपकुलपति थापा

पूर्वी क्षेत्रका धेरै मानिस यहीँ अस्पताल हुँदाहँुदै सिलीगुडी जान्छन् नि?
हाम्रा सेवाहरूको पर्याप्त प्रचार र जनचेतना नहुनुको फाइदा त्यहाँका निजी स्वास्थ्य केन्द्रहरूले उठाएका छन्। जनता सोझा छन्, बुझदैनन् र हामीकहाँ सस्तो उपचार भए पनि सिलीगुडी गएर लाखौँ–लाख खर्च गर्छन्। नर्सिङ होमका एजेण्टहरूले डर–त्रास देखाएर र हाम्रोबारे नकारात्मक हल्ला फैलाएर पनि लैजान्छन्।

तपाईँहरूको अस्पतालको सिटीस्क्यान जहिले पनि बिग्रेको हुन्छ रे!
सिटीस्क्यान एक पटक बिग्रिँदा तेस्रो दिन बनिसकेको हुन्छ। तर त्यही एक पटक बिग्रिएको सिटीस्क्यान सधैँ बिगे्रको हल्ला चलाइन्छ। हामीले गरेको हजार उपचारमध्ये एउटामा केही खराबी भयो भने त्यसको बढाइँचढाइ हल्ला गरिन्छ। उनीहरूको एउटा केस सफल भयो भने वर्षौँ प्रचार हुन्छ।

१२–१२ वर्षसम्म एउटा न्यूरोसर्जन राख्न सक्नुभएन!
हो, यहाँ न्यूरोसर्जन नहुनुको पनि फाइदा उठाए उनीहरूले। तर, अहिले भारतका न्यूरोसर्जन डा. अमित अग्रवाललाई ल्याएर सेवा शुरु गरेका र एक जना आफ्नै चिकित्सकलाई पढ्न पठाएका छौँ। अब हेड इञ्जुरी, ट्रमालगायत सबै बिरामीको अप्रेसन यहीँँ हुन्छ, नेपालीहरूले सिलीगुडी गएर दुःख पाउनुपर्दैन।


डा. चाङ र नेपाली बिरामी


डा.चाङ

खाटबाट लड्दा टाउकोमा सानो चोट लागेर डा. चाङको नर्सिङ होम पुर्‍याइएका धरान–१३ का इन्द्रबहादुर थापा जीवित फर्किएनन्। नौ वर्षदेखि पक्षघातका बिरामी रहेका थापा अस्पताल पुग्नुअघिसम्म चिया–बिस्कुट खाइरहेका थिए, आईसीयुमा राखेपछि बेहोस भए र दुई हप्तापछि ३ मङ्सिरमा उनको मृत शरीर त्यहाँबाट निस्कियो।

मृत्युपछि शव पाउन पनि परिवारले ठूलो कष्ट व्यहोर्नु पर्‍यो। उनका भाइ शिवशङ्कर थापा भन्छन्, “नर्सिङ होमले लडेको बिरामी भनेर प्रहरी थानामा शव पठाइदियो र पैसाको मोलमोलाइ गर्न थाल्यो। मेडिकल कलेजको मूर्दाघरका कर्मचारीहरू समेत पैसा माग्न थाले। सबैलाई रुपैयाँ बाँड्दा–बाँड्दा हैरानी र सास्ती खाएर बल्लतल्ल पाइयो।” बिरामीको सास रहुञ्जेल नर्सिङ होमले रकम दुहुने अनि मरेपछि अरूलाई लुछाचुँडी गर्न दिने गरेको अनुभव गर्‍यो थापा परिवारले सिलीगुडीमा। मृतकका छोरा बसन्त थापा भन्छन्, “डाक्टर चाङले छुनासाथ बिरामी ठीक हुन्छ भन्ने हल्लाको भरमा लागेर जाँदा सास्ती खेप्नु पर्‍यो, यस्तो गल्ती अरूले नगरुन्।”


सिलीगुडी स्थित उनको क्लिनिक

२०५६–५७ सालतिर धरान नर्सिङ होममा साताको एक पटक आउने गरेकाले पनि धरानेहरूबीच परिचित डा. चाङ चिनियाँ मूलका भारतीय हुन्। उनले सिलीगुडीको प्रधान नगरमा 'डा. चाङ डाइग्नोसिस एण्ड एमआरआई सेण्टर' भन्ने नर्सिङ होम चलाएका छन्। 'न्यूरो विशेषज्ञ' भनिए पनि उनको नर्सिङ होममा सबै किसिमका बिरामी पुग्छन्।

गएको साउनमा ब्रेन ह्यामरेज भएर ल्याइएका विराटनगर, रामपुरका ३० वर्षीय मुकेश साहलाई ३८ दिन राखेर थप खर्च गर्न नसक्ने देखेपछि अरूतिर लैजान भनियो। मुकेशका ससुरा सुकदेव साह भन्छन्, “पहिले किन राखेको त भनेर पैसा तिर्न नमान्दा प्रहरी थानामा पैसा तिरेर आउनू र बिरामी लैजानू भनेर पुलिसको डर देखायो। बिरामी लिएर सिलीगुडी जाने हो भने घरजग्गा नै बेचेर गए हुन्छ।” सिलीगुडीमा दुई लाख खर्च गरेर जिउँदो लाशको रूपमा फर्काइएका मुकेशलाई सत्य साई हेल्थ इन्स्टिच्युट, बैङ्गलोरमा निको हुन भारु.२० हजार पनि लागेन।


पीडित रोगीहरूःथामबहादुर राई, मुकेश साह र सरु तामाङ

९ माघ ०५९ मा मोटरसाइकल दुर्घटनामा परेका इटहरीका सुरेशकुमार राईको २३ दिनपछि मृत्युहुँदा रु.५ लाख सकियो। राईकी श्रीमती हेमकुमारी भन्छिन्, “जस्तो बिरामीलाई पनि ठीक हुन्छ भनेर राख्ने र पैसा असुलिने रहेछ। हामीलाई बिरामी भएको ठाउँमा बस्न दिँदैनथे। बिरामीका लागि भनेर हरेक दिन भारु.१५–१६ सयको औषधि लिन लगाउँथे र आफैँ लिएर जान्थे।”

सधैँ टाउको दुखिरहने समस्याले गर्दा डा. चाङकहाँ लगिएकी धरान, ज्ञानचक्षु मार्गकी १२ वर्षीया सरु तामाङकी हजुरआमा देवीमाया तामाङ भन्छिन्, “शुरुमा पिनास, पछि ब्रेनट्युमर र पानी जमेको छ भनेर दुईवटा अप्रेसन गरे। पहिले एकदमै चञ्चले थिई, त्यसपछि सुस्ताएकी छ। टाउको अझ्ै दुखिरहन्छ।” सरुको टाउकोबाट शरीरको पानी निकाल्न घाँटी हुँदै पेटसम्म लगिएको पाइप शरीर भित्रै छ। एक महिना राखेर उपचार गराउँदा रु.२ लाख ऋणमा डुबेको उनको परिवारलाई छोरीलाई फेरि अस्पताल लैजाने आँट छैन। बाबु बमबहादुर तामाङ त्यही ऋण तिर्ने पैसा कमाउन साउदी अरब पुगेका छन्।