हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट | जनआन्दोलन

जताततै चोटैचोट

आन्दोलनकारीका साथै कैयौँ वृद्ध, बालक र बटुवाहरूलाई निर्ममतापूर्वक पिटेर घाइते बनाइएको छ र धेरैलाई गोली समेत हानिएको छ।

शरद के.सी.

२५ चैत, कीर्तिपुर
हजारौँ आन्दोलनकारी र सयौँ प्रहरीबीच दिनभरि जसो झ्डप भयो। कीर्तिपुरमा छिर्न सकेनन्, सुरक्षाकर्मीहरू। साँझ् ढल्किँदै जाँदा आन्दोलनकारीको भीड पातलिएपछि सुरक्षाकर्मीहरू एक्कासी विद्यार्थी छात्राबासमा पसेर अन्धाधुन्द लाठी प्रहार गरे। प्रहरीले विद्यार्थी मात्र नभई १० वर्षीय सुशान्त तामाङको पनि टाउको फुटाए।


रमेश कार्की
सुरक्षाकर्मीको प्रहारबाट घाइते ९ वर्षीय बालक।

२८ चैत, सामाखुसी
चारदिनअघि सुत्केरी भएकी श्रीमतीलाई खाना पुर्‍याएर बेलुकाको खाना पकाउन झोलामा तरकारी लिएर शिक्षण अस्पतालबाट फर्किँदै थिए, धादिङका दीपकराज क्षेत्री। आन्दोलनकारीलाई लखेट्दै गएका सुरक्षाकर्मीहरू उनीमाथि जाइलागे। टाउकोमा सात वटा टाँका लगाउनु पर्‍यो। गोङ्गबुको विनायक अस्पतालमा उपचार गराएका दीपकलाई एकजना मानवअधिकारकर्मीको जिज्ञासाले गम्भीर बनायो। “रगताम्य कपडा र टाउकोमा सेतो पट्टी लगाएको देख्दा श्रीमतीलाई कस्तो होला? म (आन्दोलनकारी) होइन भन्दाभन्दै कुटे”, अँध्यारो अनुहार बनाएर उनले सुनाए, “एकजना सईले नजोगाएको भए मार्थे होला।” नजिकैको होटलमा काम गर्ने अन्य तीनजनाको पनि टाउको फुटेको थियो। तीमध्ये एकजना भन्छन्, “म सुतेको थिएँ, अरू साथीहरू तास खेल्दैथिए। जबरजस्ती ढोका खोल्न लगाएर कुटे।”

अश्रुग्याँसको असर कम गर्न सडकछेउको घरमाथिबाट आन्दोलनकारीलाई पानी हालिदिएको रिस पोख्न गोङ्गबुमा २८ चैतमा सशस्त्र प्रहरीले दर्जनौँ निजी घरका सिसा फोडेर जङ्गली व्यवहार देखाएका थिए। सशस्त्रका उपरीक्षक (एसएसपी) ले नै त्यसो गर्न जवानहरूलाई उक्साएका थिए।

प्रहरी ज्यादतीका यस्ता उदाहरणहरू गनिसाध्य छैनन्। नियन्त्रणमा लिन सकिने अवस्था हुँदाहुँदै वा लिइसकेपछि पनि निर्घात कुटेका उदाहरण थुप्रै छन्। एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) को भनाइ विश्वास गर्ने हो भने, लाठी प्रहार गर्नै परेपनि सकेसम्म खुट्टामा हान्ने आदेश दिइएको हुन्छ। स्वास्थ्यकर्मीहरू चाहिँ अधिकांश घाइतेको टाउकोमा प्रहार गरिएको बताउँछन्। “एउटालाई समातेपछि प्रहरीहरूले घेरेर पिट्ने गरेका छन्।” आन्दोलन अनुगमनकर्ता मानवअधिकारकर्मी शोभाकर बुढाथोकी भन्छन्, “प्रहरीहरू घरभित्र पसेर निर्दोषहरूमाथि जथाभावी जाइलागेका उदाहरण पनि थुप्रै छन्।”

चितवनका पत्रकार एकल सिलवालका अनुसार, २६ चैतमा प्रहरीको पिटाइबाट विद्यार्थी खडानन्द भुसालको तीन वटा दाँत झ्रेका छन्। शौचालयभित्र–बाट सात–आठ जना प्रहरीले तानेर बाहिर ल्याई लाठीले हान्दा दाँत झ्रेको भुसालले बताएका छन्। प्रहरीले समातेर पेटमा बुटले टेकिदिएपछि गणेश पौडेलको आन्द्रा फुटेको छ। प्रहरीको लाठी प्रहारबाट अर्जुन पोख्रेलको नाकको हाड भाँचिएको छ। शङ्कर भट्टराईको पिठ्यूँमा लठ्ठीका डामहरू प्रस्ट देखिन्छन्। त्यस्तै वीरगञ्जमा आफ्नो घरमा बसिरहेको बेला प्रहरीले दोस्रो तलाबाट तल खसालिदिँदा २५ वर्षीय राजु बस्नेतको बायाँ हात र ढाड भाँच्चिएको छ।


एकल सिलवाल
सुरक्षाकर्मीको कुटाइबाट घाइते चितवनका शङ्कर भट्टराई ।

'सिउँडी' बने 'कमल'
शान्तिपूर्ण आन्दोलनमा हतियारको चरम दुरुपयोग काठमाडौँको गोङ्गबुमा देखियो। चक्रपथ बाहिरको गोङ्गबुमा न कर्फ्यू थियो, न निषेधाज्ञा। तर त्यहाँ आन्दोलनकारीमाथि दर्जनौँ राउण्ड गोली बर्साइयो, २९ चैतको साँझ्। २४ जना आन्दोलनकारीलाई गोली लाग्यो। घरभित्र बसेका धेरै जना निर्मम ढङ्गले कुटिए। करीब पाँच सयको सङ्ख्यामा सुरक्षाकर्मी हुँदाहुँदै शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरू माथि 'बाध्य भई गोली चलाइएको' दाबी आफैँमा हास्यास्पद लाग्छ।

आन्दोलनमा माओवादी घुसपैठको पुष्टि गर्न 'गोङ्गबुमा भूपू प्रहरीको घरमा गोली हानिएको' भन्ने गृहमन्त्री कमल थापाको केही दिनअघिको अभिव्यक्ति घटनाको कारण बन्यो। आन्दोलनकारीको भनाइमा माओवादीले नभई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) रुपसागर मोक्तानको घरको सुरक्षार्थ तैनाथ प्रहरीले गोली चलाएका हुन्। सो कुरा पत्ता लगाएपछि आन्दोलनकारीले मोक्तानको घरमा आगो लगाउने प्रयास गरेका थिए। त्यस क्रममा एआईजीपी मोक्तानको घरको गेटमा आगो बालेपछि त्यहाँ रहेका सुरक्षाकर्मीले घरभित्रबाट लगातार डेढ घण्टा अन्धाधुन्द गोली चलाएका थिए। गोलीले छिमेकका घरहरूका सिसा फुटेका छन्।

आन्दोलनकारीले गोङ्गबुचोक उत्तरको बाटो कब्जा गरेर बसेकोले अघि बढ्न नसकेका चक्रपथमा रहेका सेना, सशस्त्र र नेपाल प्रहरीले गोलीको आवाज सुनेपछि माओवादीले चलाएको भन्ठाने र सडक वरिपरि लम्पसार सुतेर मोर्चा कसे। त्यो भयानक युद्धको तयारी जस्तो लाग्दथ्यो।

मानवअधिकारकर्मी र पत्रकारहरूको मध्यस्थतामा आन्दोलनकारीले बाटो दिएपछि केही सशस्त्र प्रहरी र सैनिक अधिकृतहरू एआईजीपी मोक्तानको घरमा पुग्दा डेढ घण्टा लामो आशङ्कापूर्ण त्रासदी सकिएको थियो। तर, त्यसपछि पुगेको नेपाल प्रहरीको थप बलले प्रदर्शनकारीमाथि फेरि पेस्तोल, सटगन र प्लाष्टिकका गोली बर्साएर छिनमै रक्तपात सृजना गर्‍यो। त्यहाँ गोली लागेका केहीलाई सशस्त्र प्रहरीले आफ्नो गाडीमा लगेको थियो। उनीहरूको अवस्था अज्ञात छ।

२६ चैतमा चितवनमा घरभित्र गोली लागि घाइते भएका प्रमिला के.सी. र प्रतिक्षा अधिकारीलाई उपचार गर्न सुरक्षा निकायले हेलिकोप्टरमा काठमाडौँ त पुर्‍यायो, एयरपोर्टमा लिन भने कोही आएन। आफँै शिक्षण अस्पतालमा भर्ना भई उनीहरूले अहिले सरसापटी गरेर उपचारको खर्च जोहो गर्दैछन्।

प्रहरीले आन्दोलनको समाचार सङ्कलन गर्न गएका पत्रकारहरूलाई चिनेर पनि निर्घात कुटेका छन्। सुरक्षा निकायको यस्तो संवेदनहीन कार्यको देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय जगतबाट पनि निकै आलोचना भएको छ। एमनेष्टी इन्टरनेशनल र संयुक्त राष्ट्रसंघलगायतले अत्यधिक बल प्रयोग गर्नुको कारण पुष्टि गर्न खोज्नुको साटो संयम अपनाउन सरकारलाई आग्रह गरेका छन्।

विज्ञहरूको अध्ययनमा दण्डहीनता, माओवादी घुसपैठको हल्ला, जति दमन गरेपनि राजनीतिक आड पाउने भर वा सैनिकीकरण, साङ्गठनिक अनुशासनहीनता र आफूप्रति विपक्षीको आक्रोशपूर्ण रवैयाले सुरक्षाकर्मीको व्यवहार बर्बर भएको हुनसक्छ। कीर्तिपुरमा आन्दोलनकारीले एकजना नायव उपरीक्षक (डीएसपी)लाई रगताम्य हुनेगरी कुटेको भोलिपल्ट मङ्गलबजारमा एक प्रहरी जवान भन्दैथिए, “डीएसपी सापलाई कुटेको देख्दा यी आन्दोलनकारीलाई मार्नुपर्ने हो।”

त्यस्तै माओवादी घुसपैठको प्रचारले पनि सुरक्षाकर्मीमा आक्रोश थप गर्न सहयोग गरेको देखिन्छ। आन्दोलनको मैदानमा खटिएका अधिकांश प्रहरीले माओवादी प्रशस्त रहेको खुलेरै बताउँछन्। हाकिमहरूबाट उनीहरूलाई त्यसतर्फ विशेष सतर्क रहन भनिएको बताइएको छ। संदिग्ध 'आतङ्ककारी'को नजिक उभिएर उनीहरूलाई नियन्त्रण गर्ने जिम्मा पाएको सुरक्षाकर्मीको मानसिकता सहजै अनुमान गर्न सकिन्छ।


किरण पाण्डे
सुत्केरी श्रीमतीलाई खाना पुर्‍याएर फर्किएका दीपकराज क्षेत्री र होटलका कामदारहरू ।

घातक असहिष्णुता
आन्दोलनकारीले धनगढी नगरपालिकाका उप–प्रमुखलाई कालोमोसो र जुत्ताको माला लगाइदिए। नेपालगञ्ज १ नं वडा अध्यक्षलाई त्यस्तै गराएर 'राजिनामा दिई लोकतान्त्रिक आन्दोलनमा सहभागी हुने' वाचा गराई छोडेका थिए। कतिपय जिल्ला र नगर पदाधिकारीहरूका घर तथा सरकारी भवनमा क्षति पुर्‍याएका छन्। हिजो माओवादीका यस्ता काम गर्दा आलोचना गर्ने आन्दोलनकारीहरूलाई यसो गर्न कसरी छुट मिल्छ? एकजना नेता त्यसलाई नियोजित नभई आक्रोशित कदमको रूपमा बुझिदिन आग्रह गर्छन्। त्यसैगरी आन्दोलनकारीले गृहमन्त्रीको पार्टीको कार्यालय र राष्ट्रिय पत्रकार महासंघको कार्यालयमा तोडफोड गरेको भन्दै सम्बन्धितहरूले त्यसको भर्त्सना गरे। तर त्यसको आलोचना उनीहरू बाहेक अरू कसैले गर्न आवश्यक ठानेन। आन्दोलनको रफ्तारमा आँच पुग्ने ठानेर त्यसलाई आलोचनायोग्य नठानिएको हो भने यसबाट आन्दोलनका पक्षपातीहरूको मर्यादा र नैतिकतामा प्रश्न गर्ने ठाउँ बन्ने चिन्ता पनि आन्दोलनकारीभित्रै पाइन्छ।

यद्यपि यस्ता आक्रामक क्रियाकलापमा आन्दोलनकारीको मात्रै हात होला भनेर विश्वस्त हुने अवस्था देखिँदैन। किनकि कतिपय ठाउँमा आन्दोलन भड्काउन सरकारी घुसपैठ भएको फेला परेको छ। त्रिवि शिक्षण अस्पतालको छात्राबासमा राति गएर कुटपिट गर्ने सुरक्षाकर्मीले अघिल्लो दिनको आन्दोलनमा सादा पोशाकमा आई चिकित्सक र विद्यार्थीको पछाडि ईँटाहरू थुपारिदिएर हान्न उक्साउने गरेको घाइतेहरूले बताएका छन्।

बाराको सिमरामा २८ चैतमा त्यस्तै 'भिजिलान्ते'लाई आन्दोलनकारीले पहिचान गरेका छन्। 'पथलैयास्थित अञ्चल प्रशासन कार्यालय र सशस्त्र प्रहरी बलको वाहिनीमा आक्रमण गर्नुपर्ने' आफ्नो भनाइअनुसार नगरिएपछि एक आन्दोलनकारीले आन्दोलनकारीकै विरुद्ध नाराबाजी गरे। वीरगञ्जस्थित पत्रकार गोविन्द देवकोटाका अनुसार, ती व्यक्ति सशस्त्र प्रहरीको लेखापाल (नायव निरीक्षक) सूर्यभक्त लम्साल रहेको पहिचान भएपछि आन्दोलनकारीले लखेटेका थिए।

यसरी आन्दोलनलाई शान्तिपूर्ण बनाउन सात दलले प्रतिबद्धता जाहेर गर्दागर्दै पनि सरकारका कारण आन्दोलनमा रगत बग्न थालेको छ। आपसी राजनीतिक असहिष्णुता बढ्दै गए आन्दोलन थप निर्मम र बर्बर हुने निश्चित छ। तर, ३० साँझ्सम्म आइपुग्दा गृहमन्त्री कमल थापाको बोली लचिलो सुनिन थालेको छ। राजादेखि मन्त्रीबाट समेत दलसँग सम्वादको प्रसङ्ग उठाइन थालेकोले चौतर्फी दबाब थेग्न नसकेर सरकार गल्दै गएको अनुमान गरिँदैछ।