रमझम
फेरि विवाह गर्न पनि सक्छु
- मौसमी मल्ल, नायिका

अनुपप्रकाश |
झुमा, देउकी, तिलहरी, पृथ्वी लगायतका ४५ वटा चलचित्रमा
अभिनय गरेपछि दश वर्षअघि एकाएक लोप भएकी नायिका
मौसमी मल्ल अहिले एकल महिला नामक 'डकुड्रामा' लिएर
देखा परेकी छिन्। मूलतः विधवा पतिबाट अलग्गिएका महिलाहरू माथि केन्द्रित
एकल महिलाले नारी–शोषण र तिनका समस्याहरूलाई उजागर गर्ने प्रयास गरेको
मौसमीको कथन छ। 'मौसमी मल्ल' को सट्टा पुनः 'मौसमी सेन' (पैतृक नाम–थर)
बाटै चिनिन रुचाउने मौसमी हाल स्वयं पनि एकल महिलाको श्रेणीमा पर्छिन्।
पूर्व श्रीमानका कारण जोडिएको 'मल्ल' थर हटाउन उनी अदालतसम्म पुगेकी
थिइन्।
दश–दश वर्षसम्म विलाउनुभयो नि? के के गर्नुभयो?
घरायसी समस्याले गर्दा चलचित्रतिर लाग्न पाइनँ। श्रीमानसँग सम्बन्धबिच्छेदको
प्रक्रिया पनि लामै चल्यो। दुई वर्षजति बेल्जियम बसेँ। यहाँ अहिले
अगरबत्ती उद्योग र ब्युटिपार्लर सञ्चालन गरिरहेकी छु। विगत दुई वर्षयता
निजी खर्चमा दश वृद्ध–वृद्धाका लागि वृद्धाश्रम सञ्चालन गरिरहेकी छु।
डकुड्रामा निर्माणको सोच कसरी
आयो?
म पनि 'एकल महिला' नै हुँ। एक्लो हुँदाको पीडा आफूले पनि भोग्दै आएकोले
म यता सक्रिय भएकी हुँ। दुई जना हुँदा कति सजिलो थियो, एक्लो हुँदा
समाजमा कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा आफैँले भोगेपछि थाहा भयो।
तर यो मेरो आफ्नै कथामा बनाएको भने हैन।
'एक्लो' हुनुको पीडा कस्तो
हुँदोरहेछ?
पीडा भन्नाले जोडी नपाएर पीडा हैन, हाम्रो समाजमा सङ्कुचित भावनाले
अझै जरा गाडिरहेको छ। समाजमा अविवाहित महिलाले पाएजस्तो इज्जत लोग्ने
मरेका, लोग्नेले छाडेकाहरूले पाएका छैनन्। लोग्ने मर्यो भने श्रीमतीलाई
नै पोई टोक्वी, अलच्छिनी भनिन्छ भने 'डिभोर्स' भएकालाई यसको चरित्र
राम्रो थिएन, 'घर गरेर खान सकिनँ अनि लोग्नेले छाड्यो' भनेर आरोप लगाउने
गरिन्छ। समाजबाट अपहेलित भएर आफ्नै माइती वा आफन्तकहाँ पुग्दा पनि
एक्ली महिलाले साथ र सहानुभूति पाउँदिनँ।
तपाईँको आफ्नै अनुभव चाहिँ?
मेरो पनि १५ वर्षमै विवाह भएको हो। आफ्नै जिन्दगी बुझन नपाई अर्काको
घर जानु परेकोले धेरै पीडा महसूस गरेकी छु। श्रीमानसँग परिवारमा बस्दा
र अहिले परिवार भित्रैकाले हेर्ने नजरमा आकास–पातालको फरक छ। श्रीमान्
मरेर गयो भने कतिपय पीडाहरू प्रत्यक्ष देखिन्छ तर 'डिभोर्स' भएपछिका
कतिपय पीडा प्रकट गर्न पनि मिल्दैन। त्यस्तो पीडा खेप्नु पर्दा 'मेरो
पनि श्रीमान भइदिएको भए कसैले हेप्दैन थिए, घरबार सुखी परिवार भइदिएको
भए हुन्थ्यो' जस्तो लाग्छ।

अनुपप्रकाश |
तपाईँ र श्रीमानको सम्बन्ध टुट्नुको
कारण सोध्न मिल्छ?
कतिपय भित्री कुराहरू खुलाउन पनि मिल्दैन। आपसी मनमुटाव भएरै भन्नु
पर्यो। श्रीमानले अर्की श्रीमती ल्याएपछि मैले त्यसलाई 'डाइजेष्ट'
गर्न सकिनँ। सँगै बस्नुपर्छ दुवैजना भनियो तर मैले 'सेयर' गर्न सकिनँ।
म आफू स्वाभिमानी भएकाले आफ्नै खुट्टामा उभिनसक्ने महिलाले किन त्यो
सहेर बस्ने? भन्ने लाग्यो। कतिपय महिला ३/४ जना श्रीमती ल्याएर पनि
'सेयर' गरेर बसेका छन् तर मैले त्यसरी लोग्ने बाँड्न सकिनँ, बरु छाडिदिएँ।
तपाईँ अहिले आफूलाई एक्लो ठान्नुहुन्छ?
वैवाहिक जीवनको हिसाबले हेर्दा मान्छेले मलाई ठप्पा लगाउँछन् 'एकल
महिला' भनेर र सरसर्ती हेर्दा म 'एकल' नै हुँ, जोडी मिलेकोलाई पो जोडी
भन्नुपर्यो। तर, म एक्लो चाहिँ ठान्दिनँ, किनभने मेरो आमा हुनुहुन्छ,
छोराहरू छन्, परिवार छ।
किन 'एकल' नि? फेरि जोडी बनाए
हुँदैन र?
हुन्छ, किन नहुनु! 'डकुड्रामा'मा मैले देखाउन खोजेको कुरा नै त्यही
हो। यहाँ पुरुषहरूले श्रीमती मरेको १३ दिन पनि बित्न नपाई अर्को विवाह
गर्छन् भने हामी महिलाले किन गर्न नपाउने? एक्लै बस्न चाहन्छ भने स्वतन्त्र
छाडिदिनुपर्छ तर अर्को विवाह गर्ने इच्छा छ भने आकांक्षा मारेर बस्नुहुँदैन
र गर्नेलाई कसैले रोक्नु पनि हुँदैन। तर, विधवा र पारपाचुके गरेका
महिलाले कहिल्यै पनि पुरुषले जस्तो बाजा बजाएरै विवाह गर्न सकेका छैनन्।
मैले अर्को विवाह गर्दा पनि धेरै कुराहरू आए तर त्यसको सामना गरिरहेकी
छु। मेरो एक पछि अर्को पारपाचुके भनेर सबैलाई अचम्म लागिरहेको छ तर
मैले पनि चाहेको छु घरजम होस्, कसैको श्रीमती भएर बसूँ भनेर।
अब फेरि विवाह गर्नुहुन्छ कि?
यो समयको कुरा हो। मेरो विचारमा विवाह नै ठूलो कुरा पनि हैन। म एकल
महिलाले विवाह गर्नुपर्छ भनेर नै लागिरहेकी छु। भोलि मैले फेरि विवाह
गर्ने दिन पनि आउला, विवाह गर्न पनि सक्छु। पछि एक्लो बस्न नसक्ने
अवस्था आउला, साथीको जरुरत पर्ला त्यो वेला कसैको साथ हुनसक्छ। अब
त्यो साथ भोलि लोग्नेको रूपमा पनि आउन सक्छ, साथी या दाजु–भाइको रूपमा
पनि।
अब चलचित्रमा पनि फर्कने कि?
त्यो पनि समयकै कुरा हो। यो 'डकुड्रामा' बनाएपछि चलचित्रका लागि प्रस्ताव
आउन थालिसकेका छन्। कला भन्दा बाहिर
जान नसकेरै यो 'डकुड्रामा' लिएर आएकी हुँ। त्यसैले चलचित्रमा फर्कन
सक्छु।
•
डम्बरकृष्ण श्रेष्ठ
डायरी
आदिवासी गीति सम्मान

तस्बिरहरु: डम्बरकृष्ण |
आदिवासी गीतकार समाज नेपालले १८ चैतमा प्रज्ञा भवनमा
आयोजित कार्यक्रममा कवि एवं गीतकार प्राज्ञ बैरागी काइँला (तिलविक्रम
नेम्बाङ)लाई आदिवासी गीति सम्मान प्रदान गर्यो। प्रमुख अतिथि बरिष्ठ
सङ्गीतकार अम्बर गुरुङले साहित्यकार बैरागी काइँलालाई सम्मान पत्र,
दश हजार रुपैयाँ नगद प्रदान गर्दै दोसल्ला ओढाउनुभयो। त्यसैगरी धरान
निवासी गीतकार शशी थापा (सुब्बा) लाई ५ हजार पुरस्कार राशीको आदिवासी
गीति प्रतिभा पुरस्कार प्रदान गरिएको थियो।
सर्वनाम को २५ वर्ष
चर्चित नाट्य समूह सर्वनाम २५ औ वर्षमा प्रवेश गरेको
अवसरमा १८ चैतमा रजत वर्ष मनाउने क्रममा रसियन कल्चर सेण्टरमा अशेष
मल्लद्वारा लिखित तथा निर्देर्शित प्रतिबन्धित पात्रहरू नामक प्रयोगात्मक
नाटक मञ्चन गरिएको थियो। 'प्रतिबन्धित पात्रहरू' ले सिर्जना प्रतिबन्धित
हुनुको पीडाले आक्रन्त समयको कथा निर्धक्क बोलेको थियोे। सो अवसरमा
मोफसलमा रहेर रङ्गकर्ममा निरन्तर लागिपरेका सुनिल मिश्रलाई सर्वनाम
पुरस्कार २०६२ बाट सम्मान गरियो भने दुर्घटनामा परी अपाङ्ग भएका कलाकार
अर्जुन तिम्सिनालाई पनि सम्मान गरिएको थियो।
स्रष्टाहरु सम्मानित
लुनकरणदास–गङ्गादेवी चौधरी साहित्य कलामन्दिर स्थापनाको
एक दशकका अवसरमा २२ चैतमा तीन जना स्रष्टाहरू सम्मानित भएका छन्। सो
अवसरमा इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान बाट अन्वेषक तथा नियात्रा
सर्जक पूर्ण प्रकाश नेपाल 'यात्री', सरस्वती सम्मान बाट बाल साहित्यकार
तथा पत्रकार जनकप्रसाद हुमागाई र नारायणगोपाल सम्मानबाट सङ्गीतकार
शम्भुजित बाँसकोटा सम्मानित भएका हुन्। संस्थाका संरक्षक लुनकरणदास
चौधरीले प्रमाणपत्रसहित जनही ५१ हजार एक रुपैयाँ नगदसहित दोसल्ला ओढाएर
सम्मान गर्नुभएको थियो। सो अवसरमा प्रमुख अतिथि ईश्वर वल्लभले संस्थाका
अध्यक्ष वसन्तकुमार चौधरीद्वारा लिखित लेख रचनाहरूको सँगालो संवाद
को विमोचन गर्नुभएको थियो।
वृत्तचित्र पेरिसमा सफल
 |
केसाङ्ग छेतेन लामाको वृत्तचित्र 'अन् द रोड विद् द
रेड गडः मच्छेन्द्रनाथ' ले फ्रान्सको पेरिसमा आयोजित २५ औँ विलान डु
इथ्नोग्राफिक फिल्म उत्सवमा नानूक–जिन रउच पुरस्कार जित्न सफल भएको
छ। ७–११ चैतमा आयोजना गरिएको यो उत्सव ख्यातिप्राप्त फ्रेञ्च दृश्य
मानवशास्त्री जिन रउचले सन् १९८२ मा स्थापना गरेका हुन्। वृत्तचित्रले
३५ टन तौल भएको रथ घिसारेर हजारौँ श्रद्धालुहरूले भक्ति प्रकट गरेको
देखि रथ जात्राले व्यक्ति र समाजबीच सेतुको काम गरेको कुरालाई समेटेको
छ। विलान डु फिल्म इथ्नोग्राफिकले हरेक वर्ष यस्ता ४० वटा वृत्तचित्रहरू
देखाउने गर्छ जसले मानवभित्रका जटिल कर्मकाण्डीय विषयवस्तुलाई समेट्छ।
फोटो पत्रकार माथि वृत्तचित्र
यूनेस्कोको एशिया प्यासेफिक हेरिटेज अवार्डबाट सम्मानित
घर भक्तपुर, दत्तात्रेयको नमूना घर र यसका अभियन्ता रवीन्द्र पुरी
माथि बनाइएको वृत्तचित्र मचानायोः द लीडर पछि रङ्ग पत्रकार दिपक रौनियार
२०४६ सालका जन–आन्दोलनका चर्चित फोटो पत्रकार मीन बज्राचार्य र हालको
जनआन्दोलनमाथि वृत्तचित्र बनाउन व्यस्त छन्। हिमाल मिडिया का फोटो
पत्रकार समेत रहेका बज्राचार्यलाई क्यामराले पछ्याउँदै ०४६ को जनआन्दोलन
र हाल भइरहेको जन आन्दोलनमा उनको अनुभव र साहसलाई वृत्तचित्रमा प्रस्तुत
गरिने निर्देशक रौनियारले बताए। वृत्तचित्रको निर्माता केदार शर्मा
रहेकाछन् भने छायाङ्कन दीपक बज्राचार्यले गरिरहेका छन्।
रिपोर्ट
गाउँ–गाउँबाट उठ...

मीन बज्राचार्य
|
लोकतन्त्रका लागि
कर्फ्यू समेत तोडेर भइरहेको जनआन्दोलनमा कलाकर्मीहरू समेत उत्रिएका
छन्। २०४६ सालको जनआन्दोलनमा ३ चैतमा कलाकर्मी र सर्जकहरू कालोपट्टी
बाँधेर उत्रिएपछि जनआन्दोलनले चर्को रूप लिएको थियो। यसपटक ३० चैतबाट
आन्दोलनमा उत्रिएकामध्ये १० कलाकर्मी पक्राउ परेका छन्।
साहित्य, कला र रङ्गकर्म सम्बन्धी ४० संघ–संस्थाको
सक्रियतामा ३०० स्रष्टाहरूको सहभागितामा गुरुकुलको सम नाटकघरबाट शुरु
भएको लोकतान्त्रिक सृजना यात्राका क्रममा पुरानो बानेश्वर सडकमा सर्जकहरूले
कविता, गीत प्रस्तुत गर्दै गर्दा प्रहरी हस्तक्षेप भएको थियो। जनगायक
रामेशले सडकमै “गाउँ गाउँबाट उठ...” गीत गाउने तयारी गरिरहेकै बेला
प्रहरीले लाठी र रबरका गोली प्रहार शुरु गरेका थिए। “नेपालको इतिहासमा
यो परिवर्तनको सङ्क्रमणकाल हो।” जनगायक रामेश भन्छन्, “यो समयले खोजेको
परिवर्तन हो। कोही पनि रहरले सडकमा आएका छैनन्, बाध्यता र आवश्यकताले
भएको जनआन्दोलन हो।” अहिलेको आन्दोलन ०४६ सालको भन्दा उच्च तहमा रहेको
बताउँदै रामेशले हिमाल सँग भने “जनता देशका मालिक हुन्, अहिलेको आन्दोलनमा
जनताको चेतना र नेतृत्वमा पार्टी र नेता सञ्चालित छन्। पार्टीले फेरि
पनि झ्ुक्याए जनताले त्यसै छाड्ने छैनन्।”
गुरुकुलमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)ले
पञ्चायतको सराद्धे प्रहसन प्रस्तुत गरेका थिए। त्यसअघि मह, नायिका
विपना थापा आदिलाई लिएर रिपोर्टस् क्लबले पुतलीसडकमा गर्न लागेको कार्यक्रममा
प्रहरीले हस्तक्षेप गरेको थियो। प्रजातन्त्र नै खोसिने स्थिति आएकाले
आफूहरू ०४६ सालको जस्तै जनआन्दोलनमा उत्रिएको मह बताउँछन्। भन्छन्,
“प्रजातन्त्र नै समाप्त हुने स्थिति आउनु सानो कुरा हैन, आन्दोलनमा
नउत्री नहुने बेला भएकोले हामी सडकमा आएका हौँ।” जनआन्दोलनमा सम्पूर्ण
जनतालाई सहभागी हुन अनुरोध गर्दै महले भने “२१ औँ शताब्दी लोकतन्त्रको
पक्षमा छ, कसैले खोस्दैमा जनताले खोस्न दिँदैनन्।”

अनुशील |
हरेक क्षेत्र र व्यवसायमा रहेका जनताद्वारा नै देश चलिरहेकोले
सरकार पनि जनताले नै चलाउन पाउनुपर्ने मदनकृष्ण बताउँछन्। भन्छन्,
“शाही सम्बोधनमा राजतन्त्र जनताद्वारा निर्देशित हुन्छ भन्ने राजाले
जनताले पूर्ण लोकतन्त्र चाहेको कुरा बुझनु पर्यो, निर्ममतापूर्वक
जनता पिटाउन र कुटिएको हेरिरहन हँुदैन।” लोकतन्त्र संसारकै उत्कृष्ट
पद्धति भएको र यसमा भएका गल्ती पनि सुधार्न सकिने ठाउँ भएको बताउँदै
हरिवंशले भने “केही नेताले गल्ती गरे भन्दैमा बहुदलीय व्यवस्थालाई
नै गलत भनेर जनअधिकार खोस्न पाइँदैन।”
महको सक्रियतामा आन्दोलनका घाइतेहरूको उपचारका लागि
काठमाडौँ मोडल अस्पतालमा २९ चैतमा स्थापना गरिएको कोषमा दुई दिन नबित्दै
११ लाख सङ्कलन भइसकेको छ। उनीहरूले भने “देश विदेशबाट सहयोग रकम धमाधम
प्राप्त हुन थालेको छ, यो रकम पारदर्शी रूपमा हामी जनआन्दोलनका घाइतेहरूको
उपचारमा खर्चने छौँ।”
३० चैतमा पक्राउ पर्नेहरूमा डा. तुलसी भट्टराई, देशभक्त
खनाल, हरि गोविन्द लुइँटेलसहित १० रहेका छन्। आरोहणका घिमिरे युवराज
र भोलाराज सापकोटालाई गुरुकुलबाटै सुरक्षाकर्मीले कुटपिट गर्दै लगेका
थिए। सृजनाकर्मीका ४० संघ–संस्थाले प्रदर्शनमाथि हस्तक्षेप र पक्राउको
विरोध गरेका छन्। यसैगरी नेपाल चलचित्र कलाकार संघले एक विज्ञप्ति
जारी गर्दै सम्पूर्ण कलाकार र कलाकार संघ नेपाली जनताको आवाजका पक्षमा
रहेको जनाएको छ।
•
अनुशील
सङ्गीत
जनता ब्यूँझाउने
सङ्गीत
एक जुगमा एक दिन, एक चोटि
आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ
लाटासुधा बोल्न थाल्छन्, चल्छ ओठ दुःखको...।
...आऊ मिलाऊ हाम्रा हातहरू...।
गाउँ गाउँबाट उठ, वस्ती वस्तीबाट उठ...
देशले नयाँ परिवर्तन चाहिरहेको अवस्थामा
लोकतान्त्रिक आन्दोलनलाई उर्जा दिने पुराना जनगीतहरूको नयाँ सङ्ग्रह
आऊ मिलाऊ हाम्रा हातहरू (भाग–१) बजारमा आएको छ। गायक रामेश श्रेष्ठ,
ओम श्रेष्ठ, आभास र प्रतिमा राजभण्डारीको स्वर रहेको यस अल्बममा ११
वटा गीत सङ्गृहीत छन्।
यसमा रक्तक्रान्तिको ज्वालामुखीमा..,
रोक्ने को हो दूरदर्शी विचारका धारा?.., बिहानीको आभासमा.., मुट्ठी
उचालि..., सङ्घर्ष हो जीवन..., रगतको टीका..., हिँड मेरा दाइ हो...,
अन्तिम विजय हाम्रै हो... जस्ता दुईदशकदेखि निरन्तर लोकप्रियताको शिखरमा
रहेका गीतहरू छन्। गाउँ गाउँबाट उठ, वस्ती वस्तीबाट उठ... बोलको गीत
भने नेपाली, नेवार, तामाङ र भोजपुरी गरी चार भाषामा सुन्न सकिनेछ।
युद्धप्रसाद मिश्र, गोकुल जोशी, गोपालप्रसाद
रिमाल, श्याम तमोट, चन्द्र भण्डारी, प्रमोद हमाल र गोविन्द विकलका
गीतहरू रहेको यो सङ्ग्रहको सङ्गीत रामेश, प्रमोद हमाल, श्याम तमोट,
चन्द्र भण्डारी, रामकृष्ण दुवाल, रमेश श्रेष्ठले सृजना गरेका हुन्।
म्युजिक नेपालद्वारा प्रस्तुत यो अल्बमको उत्पादक चाहिँ भृकुटी एकेडेमिक
पब्लिकेसन्स् हो। २०४७ सालमा अल्ट्रा साउण्ड स्टुडियोमा रेकर्ड भई
रक्त क्रान्तिको ज्वालामुखीमा नामक अल्बममा आइसकेको यी गीतहरूको माग
बढेपछि मेलोडी स्टुडियोमा रि–रेकर्ड गरिएको हो।
रङ्गमञ्च
गतिशील रङ्गकर्म २०६२
नेपाली रङ्गमञ्चको लागि २०६२ साल उत्साहले भरिएको
वर्ष रह्योभने युवा रङ्गकर्मीहरूको सक्रिय सहभागिताले नेपाली रङ्गमञ्चमा
सम्भावनाका सुखद् सङ्केतहरू समेत छाडेर गएको छ।

कृष्ण शाह यात्री |
२०६२ साल
नेपाली रङ्गमञ्चका लागि पछिल्ला वर्षहरू भन्दा गतिशील देखियो। साठीको
दशकको आरम्भदेखि नै केही उम्दा रङ्गकर्महरू देखिएका छन्। निजीस्तरमा
खोलिएका रङ्गसंस्थाहरूको सक्रियता र सरकारीस्तरहरूबाट भएका कामहरू
पनि रङ्गमञ्चको क्षेत्रका लागि उपलब्धिमूलक देखिएका छन्।
१–७ वैशाखमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय
नाटक महोत्सव २०६२ को आयोजना गरेको थियो। महोत्सवमा राजधानीका ९ र
बाहिरका १० नाट्य समूहहरू सहभागी भएका थिए। महोत्सवमा मसान, मुर्दाहरूको
महाभोज, अभिशप्त आँखाहरू, कथा सारङ्गी गाउँको जस्ता नाटकहरूले प्रस्तुतिका
दृष्टिले राम्रो छाप छोड्न सफल भएका थिए। त्यसबेला धेरै वर्षपछि एकेडेमीको
प्रेक्षालय खचाखच दर्शकहरूले भरिएको बताउँदै प्राज्ञ सरुभक्त श्रेष्ठ
सम्झ्न्छन्, “महोत्सवका हरेक जसो नाटकमा दर्शक र रङ्गकर्मीहरूको उत्साहप्रद
सहभागिताले यो साँच्चैको महोत्सव बनेको थियो। यसैबाट हौसिएर हामीले
यो वर्ष पनि गर्न लागेको महोत्सव देशको असहज परिस्थितिका कारण वैशाख
तेस्रो साता मात्र आयोजना गर्ने तयारीमा छौँ।”
वैशाख महिनामा नै आई.टी.आई. नेपाल शाखाले नेपाल, भारत
र बङ्गलादेशका नाट्य समूहहरू सम्मिलित त्रि–देशीय नाटक उत्सवको आयोजना
गरेको थियो। गुरुकुलको सम नाटकघरमा आयोजित यो उत्सव पनि वर्षका उल्लेख्य
रङ्ग गतिविधिमा पर्छ। उत्सवमा तपस्वी ओ तरङ्गिनी, मेघावती, अग्निको
कथा, निर्वासित मनहरू, अघोषित, तृतीय युद्ध, ठमेलको जात्रा नाटकले
विशेष प्रभाव छोड्न सफल भएका थिए।
यसैगरी सांस्कृतिक संस्थानले नारायणघाटमा गरेको मध्यमाञ्चलस्तरीय
क्षेत्रीय नाटक उत्सवमा ८ वटा नाटकहरू मञ्चन भएका थिए। उत्सवमा विजय
मल्लको नाटक कङ्काल ले प्रथम, कृष्ण शाह यात्रीको नाटक निर्वासित मनहरू
दोस्रो र सरुभक्तको नाटक मनभित्रको खलङ्गा ले तेस्रो अवार्ड जितेको
थियो। संस्थानका महाप्रबन्धक हरिहर शर्मा २०६३ सालका निम्ति जेठको
तेस्रो हप्ता पोखरामा पश्चिमाञ्चलस्तरीय नाटक प्रतियोगिता गर्न लागिएको
बताउँदै भन्छन्, “विगतका वर्षहरूमा संस्थानको यस्ता प्रतियोगिताबाट
उत्कृष्ट रङ्गकर्म गरेर पुरस्कृत हुनेहरू राष्ट्रियस्तरमा सम्भावनायुक्त
रङ्गकर्मीका रूपमा स्थापित भएका छन्।” गएको वर्षमा सर्वनाम नाट्य समूहले
२५ वर्षअघि मञ्चन गरेको नाटक हामी वसन्त खोजिरहेछौँ लाई देशव्यापी
रूपमा मञ्चन गर्यो भने वर्षान्तमा अशेष मल्लको निर्देशनमा नाटक प्रतिबन्धित
पात्रहरू मञ्चन गर्यो। मल्ल भन्छन्, “प्रतिकूल अवस्थामा पनि गएको
वर्ष रङ्गमञ्चमा कामहरू भएका छन्।”
त्यस्तै आरोहणले वर्षभरि नै गुरुकुलमा विभिन्न नाटकहरू
प्रदर्शन गरी नै रह्यो। यसरी मञ्चन हुने नाटकहरूमा सत्यमोहन जोशीको
नाटक बाघ भैरव सर्वाधिक सफल रह्यो। गुरुकुलमा जात सोध्नु जोगीको, ठमेलको
जात्रा, अग्निको कथा, मायादेवीको सपना, ताराबाजी लै लै, कङ्गाल, बरी
लै लगायत नाटकहरू मञ्चन भए। गएको वर्ष प्रज्ञा–प्रतिष्ठान र राजधानीमा
सक्रिय ६ नाट्य समूहहरू सान, मातृभूमि रङ्गमञ्च, ज्योतिपुञ्ज साइन
थियटर, साथसाथ थियटर, किन्स थियटर र ललित सांस्कृतिक कला समूह सम्मिलित
'सामूहिक रङ्गकर्म संयोजन समिति'को संयुक्त आयोजनामा प्रज्ञा डबलीमा
पुस महिनादेखि हरेक महिनाको पहिलो शनिबार सामूहिक रङ्गकर्म अभियान
२०६२ अन्तर्गत ३/३ वटा नाटकहरूको मञ्चन आरम्भ गरेको छ।
यो वर्ष राजधानीमा सक्रिय अन्य नाट्य संस्थाहरूमा रङ्गसारथि,
स्टुडियो सेभेन, पम्पकिन थियटर आदि रहेका छन्। राजधानी बाहिर भने जनकपुरको
आकृति र मिनाप, धरानको सृष्टि समूह, सुर्खेतको बागिना समूह विशेष सक्रिय
देखियो। नेपाली रङ्गमञ्चको लागि २०६२ उत्साहले भरिएको वर्ष रह्यो।
असहज वातावरण, प्रतिकूल समयमा पनि नाटकहरू मञ्चन भई नै रहे। मल्लको
शब्दमा “गएको वर्ष युवा रङ्गकर्मीहरूको सक्रिय सहभागिताको वर्ष हो।
यसले आउने दिनहरूमा नेपाली रङ्गमञ्चमा सम्भावनाका सुखद् सङ्केतहरू
समेत छाडेर गएको छ।”
•
कृष्ण शाह यात्री
|