खेलकुद
नेपाली मैदानमा अफ्रिकी राज

आनन्द कोइराला |
| धरानको मैदानमा एयुसी |
काठमाडौँको शहीद
स्मारक लिग होस् या राजधानी बाहिरका ठूला प्रतियोगिताहरू, गत वर्ष
अफ्रिकी फूटबल खेलाडीहरूले नेपाली मैदानमा एकछत्र राज गरे। एक मैत्रीपूर्ण
खेलमा नेपाली राष्ट्रिय टोलीलाई बराबरीमा रोकिदिएर एएफसी च्यालेन्ज
कपको तयारीमाथि पनि प्रश्नचिह्न लगाइदिए। अफ्रिकन युनाइटेड क्लब (एयुसी)को
नाममा प्ाोखराको आहा गोल्डकप र धरानको बूढासुब्बा गोल्डकप प्रतियोगिताको
उपाधि नै कब्जा गरेर एकसेएक टिमलाई जिल्ल पारिदिने यी खेलाडी कसरी
नेपाल भित्रिएर घरेलु टोलीमा छिरे भन्ने कुरा चासोको विषय बनेको छ।
२०६२ सालको 'ए' डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगितामा
२८ जना अफ्रिकी खेलाडीहरू देखापरेका थिए। एमएमसीलाई लिग उपाधि जिताउने
श्रेय केही हदसम्म अफ्रिकी खेलाडीलाई नै जान्छ भने केही क्लबलाई उनीहरूले
लिग बाहिर हुनबाट जोगाइदिएका छन्। एकान्तकुनामा बस्ने नाइजेरियन खेलाडी
सिजुओकेको माध्यमबाट सर्वप्रथम जावलाखेल क्लबमा जुड र अब्दुल घानी,
ब्रिगेड ब्वाइजमा ओमाग बेमीरो जुनियर, थ्रीस्टारमा हेनरी इटुक र मनाङमर्स्याङ्दी
(एमएमसी)मा फेलिक्सले प्रवेश गरेका थिए। लिग चल्दाचल्दै बीचमा प्रशिक्षक
श्याम थापाको सम्पर्कबाट ब्वाइज युनियनले थप तीन अफ्रिकी खेलाडी भि156यायो।
एमएमसीमा पनि वेबसाइट मार्फत् सम्पर्क भएर अरू केही खेलाडी आइपुगे।
एमएमसीबाट खेल्ने पाँच अफ्रिकी खेलाडी प्रत्येकले मासिक २५० अमेरिकी
डलर पारिश्रमिक पाएका छन् भने ब्वाइज युनियन क्लबले हरेकलाई प्रतिखेल
भारु.५ हजार दिएको छ।
अफ्रिकी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद र शिक्षा
मन्त्रालयको सिफारिसमा अध्यागमन विभागले एक वर्षको गैर–पर्यटकीय भीसा
दिएको छ। लिगको दौरान उनीहरूको मासिक ६० अमेरिकी डलरको भीसा शुल्क
सम्बन्धित क्लबहरूले तिरेका थिए।
अफ्रिकी खेलाडीका साथमा गैरखेलाडीहरू पनि छन्, तर उनीहरू
नेपाल पस्नुको प्रयोजन खुल्न सकेको छैन। खोलाडीहरूले पनि 'व्यावसायिक
फूटबल' खेल्न नेपाल जस्तो विपन्न मुलुक रोज्नु आफैँमा अस्वाभाविक देखिन्छ।
जावलाखेल क्लबका जुड भारत र बाङ्लादेशमा लिग खेल्न आउने क्रममा नेपाल
घुम्न आएको बताउँछन्। तर थुप्रै खेलाडी त्यहाँ लीग शुरु भइसक्दा पनि
नेपालमै रहनुले उनीहरूको बसाइमा शङ्का उब्जिएको छ।
तैपनि नेपाली खेल पदाधिकारीहरूले खेलका न्यूनतम अन्तर्राष्ट्रिय
मान्यतालाई समेत बेवास्ता गर्दै विदेशी खेलाडीहरूलाई नेपालको घरेलु
लिगमा र घरेलु टोलीको रूपमा स्थापित गराउन खोजेका छन्। यसले प्रतियोगिताको
आकर्षण र स्तरीयतालाई बढाए पनि जायज मान्न नसकिने खेल क्षेत्रका मानिसहरू
बताउँछन्। अखिल नेपाल फुटबल संघका प्रवक्ता ललितकृष्ण श्रेष्ठ पनि
उनीहरूको सहभागिताको प्रक्रियामा सहमत देखिँदैनन्। उनी भन्छन्, “अन्तर्राष्ट्रिय
अनुबन्ध–पत्र बिना खेल्न दिनु हदैसम्मको अपरिपक्व निर्णय हो।” एन्फाले
यसरी खेल्न आउने खेलाडी र समूहलाई दर्ता गर्नुपर्ने प्रावधान बनाएको
छ।
•
मनोज घिमिरे
अर्को निराशाजनक परिणाम
एसियाली फूटबल संघका
'सी' श्रेणीका टीमहरूबीच बाङ्लादेशको चटगाउँमा सञ्चालित एफसी च्याम्पिअनसीपमा
नेपाल सेमिफाइनलमा रोकिएको छ। श्रीलङ्काविरुद्धको उक्त खेलमा नेपाल
५–३ ले पराजित भयो। निर्धारित खेल अवधि १–१ गोलको बराबरीमा टुङ्गिएपछि
टाइबे्रकरमा प्रदीप महर्जनले गोल गर्न नसक्दा नेपाल प्रतियोगिताबाट
बाहिरिएको थियो। लिग चरणमा भुटानलाई जितेर ब्रुनाइसँग पराजित नेपाली
टोली श्रीलङ्कालाई बराबरीमा रोकेर क्वार्टर फाइनलमा र भारतीय 'अण्डर–२०'
टोलीलाई ३–० ले पराजित गरेर सेमीफाइनलमा पुगेको थियो। तर कमजोर
रणनीति र सुझ्बुझ्को अभावका कारण सन् १९९५ मा बाङ्लादेशमै सम्पन्न
छैटौँ साफमा स्वर्ण जितेको नेपाल अर्को अन्तर्राष्ट्रिय सफलता पाउने
अवसरबाट वञ्चित भयो।
बलियाहरू छानिए
दोस्रो पूर्वाञ्चलस्तरीय
शारीरिक सुगठन प्रतियोगितामा मेजेस्टी जीम धरानका हर्कराज लिम्बू 'मिस्टर
पूर्वाञ्चल' तथा फिजिकल फिटनेस धरानका कविरभगत प्रधानाङ्ग 'मिस्टर
धरान' भएका छन्। धरानको एलाइनेट जीम तथा सुनसरी क्युकोशिन कराते
डोजो संघको आयोजनामा १९ चैतमा धरान सभागृहमा सम्पन्न प्रतियोगिताको
फस्ट रनर अप उपाधि फिजिकल फिटनेस धरानका मनकुमार गुरुङले हात पारेका
छन्। युनिक हेल्थ क्लबका सुमन श्रेष्ठ मिष्टर धरानको फस्ट रनरअप
घोषित भए।
•
आनन्द कोइराला
|