हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

खनालले कोरे नयाँ बाटो


किरण पाण्डे

मुलुकलाई सबै हिसाबले अधोगतितर्फ डोर्‍याउने राजा ज्ञानेन्द्रको शील न शैलीको निरङ्कुश शासन धेरैलाई मन परेको छैन। तर सँगसँगै, माओवादीको बन्दूके क्रान्ति र शान्तिपूर्ण भन्ने गरिएको दलहरूको ढुङ्गा–मुढा र टायरको धूँवा फाल्ने शहरी–सडक आन्दोलन पचाउन नसक्नेहरू पनि थुप्रै छन्। यस्तो स्थितिमा के गर्ने?

उपाय निकालेका छन् राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल ले– विशुद्ध गान्धीवादी शैलीमा आफैँ सडकमा उत्रने। नेपाली काङ्ग्रेसको महासमिति सदस्य हुँदाहुँदै पनि हाल चलिरहेको लोकतान्त्रिक आन्दोलनमा नागरिक समाजको अगुवाका रूपमा सहभागी हुँदै आएका प्रा. खनालले अपनाएको शान्तिपूर्ण अवज्ञाको शैली प्रभावकारी त छँदैछ, त्यसले विस्तारै अन्य राजनीतिकर्मीहरू र मिडियाको पनि ध्यान खिच्न थालेको छ। २८ चैतमा कर्फ्यूको समयमा प्रहरी र सेनाका बख्तरबन्द गाडीलाई शहर बाहिरै रोक्न प्रा. खनाल समेत हजारौँ कीर्तिपुरवासीहरू अत्यन्त शान्त भएर सडकमा पलेँटी कसेर बसिदिए। सेना–प्रहरी हेरेका हेर्‍यै भए। त्यसपछि त विरोधको यो शैली जहाँ त्यहीँ दोहोरिन थालेको छ।

२७ वर्ष राजनीतिशास्त्र पढाएका ५३ वर्षीय यी शिक्षक राजनीतिक दलहरूको आन्दोलनको आलोचना त गर्दैनन् तर आन्दोलन भन्ने वित्तिकै ढुङ्गा–मुढा बर्साउने र टायर बाल्ने प्रचलन उनलाई पटक्कै मन पर्दैन। त्यसै भएर आफूजस्ता भलाद्मीहरूलाई लोकतान्त्रिक आन्दोलनमा सहभागी गराउन उनी आफैँ अगुवा आन्दोलनकारी बनेर सडकमा उत्रिएका हुन्। यसबारेमा उनी यति मात्र भन्छन्, “म आफ्नै स्वतन्त्रता र मुलुकको लोकतान्त्रिक भविष्यका निम्ति एउटा नागरिकले पूरा गर्नुपर्ने दायित्व निर्वाह गरिरहेको छु।”


साइकल पसलको उन्नति


प्रकाश शाह

धनगढीको तुलसी साइकल पसल पुग्ने जो कोही आश्चर्यमा पर्छ, श्रीमती धना बटाला लाई देखेर। साइकलको पंचर टाल्ने, पार्टपुर्जा फेर्ने र नयाँ साइकल बिक्री गर्ने काममा तल्लीन बटाला आफ्नो काममा खुसी र सन्तुष्ट छिन्। २०५० सालमा साइकल पसल थाल्दा कतिपय लोग्नेमान्छेले भनेका थिए– 'यस्तो पनि दिन आयो, आइमाईलाई साइकल बनाउन लगाउनुपर्ने।'

तर, ४० वर्षीया यी महिलाले साइकल पसल चलाएरै बजारमा दुईतले घर बनाइन्, रिक्सा किनेर भाडामा लगाएकी छन्। एउटी छोरीलाई क्याम्पस पढाउँदै छिन् भने छोरालाई राम्रो स्कूलमा पढाएकी छन्। बिरामी श्रीमानको उपचार गर्दा भर्खरै मात्र दुई लाख रुपैयाँ खर्च भएपनि उनले ऋण काढेकी छैनन्।

एउटा 'जाबो' साइकल पसलको यो उन्नति देखेर धनगढीमा जिब्रो टोक्नेहरू थुप्रै छन्। पहिले–पहिले साइकल बनाउने, तरकारी, माछा, फलफूल, आदि बेच्ने काम भारतीयहरूको हो भन्ने भावना थियो। तर, अहिले यस्ता सबै काम नेपालीले, तिनमा पनि महिलाहरूले समेत गर्न थालेका छन्। धना भन्छिन्, “सबैले यसको जस मलाई दिन्छन्, खुसी लाग्छ।”