| •
कदी |
 |
इतिहासमा
विनम्र जङ्गबहादुर!
भोटमा युद्धमा
जाने आफ्नो फौजलाई मार्गदर्शन गराउन जङ्गबहादुर आफैँले एउटा ऐन तर्जुमा
गरेर दिएका थिए भनेर यस स्तम्भमा बारम्बार भनियो। त्यो ऐन वास्तवमा
नै जङ्गबहादुर स्वयंले तजवीज गरी बनाएका हुन् भने आज हामी जङ्गबहादुरको
एउटा नचिनिएको पक्षको चर्चा गर्छौँ।
एकपटक सम्झूँ त्यस जङ्गी ऐनको शिरबेहोरामा यस्तो लेखिएको
थियो–
“... भोटसँग लडाञि गर्नाको उद्योग उठाई श्री प्राइम्
हरु हरूमिनिष्टर यान् कम्यांडर इन चीफ जनरल जङ्गबहादूर कुँवर राणाजीले
आफ्ना जमामर्दि राषि वाफ् ज्यादाको नाउ समझि निमकको सोझो चिताई आफ्ना
मुलुकको इज्जत मजफ् तरोबार ठाडो राषना निमित्त फौजले बुझून् भनि आफ्ना
वुद्धिले तजवीज गरी १९११ साल मिति ज्येष्ठ सुदि ७ रोज ७ मा वन्याको
अैन–”
यसरी यहाँ स्पष्टैसँग भनिएको छ, यो समग्र ऐन जङ्गबहादुरले
आफ्नै बुद्धिले बनाएका हुन् भनेर। उनी आफैँले मैले बनाएँ भनेपछि त्यसमा
शङ्का गर्ने ठाउँ रहँदैन तापनि त्यस ऐनका शुरुका ४४ दफासम्म हालिएका
नीति र पुराणका कुराहरू 'कमाण्डरइनचिफ' जङ्गबहादुरले स्वयंले जान्ने
कुरा होइनन्, अतः ती संस्कृतज्ञ पण्डितहरूबाट लेखाइएको होला भन्ने
अनुमान पनि गरिसकियो। त्यस्तै तोप–बन्दुक, हतियारका कुरा पनि उनले
सबै आफैँ जानेर होइन, त्यस विषयका विशेषज्ञहरूसँग सोधपुछ गरेरै लेखियो
होला भन्ने लख काट्न सकिन्छ। यसबारेमा यसभन्दा अघिका प्रकरणहरूमा चर्चा
भएको छ।
आजको प्रसङ्ग अलि भिन्न छ– जङ्गबहादुरको स्वीकारोक्ति
अथवा उनको 'विनयशीलता' को चर्चा। झ्ट्ट सुन्दा 'जङ्गबहादुर' र 'विनयशीलता'
यी दुई शब्द एकआपसमा र्याङ्ठ्याङ नमिल्ने खालका हुन्। हामीले ऐलेसम्म
पढेका जङ्गबहादुरका कथाहरूले उनलाई कस्तो चित्रण गर्छ भने उनी ठर्रो,
कडा, अरूलाई केही नगन्ने दम्भी थिए। हुन त 'जङ्गगीता' (२०४०) ले उजिल्याएको
जङ्गबहादुरको छवि अलि मानवीय र बुद्धि–विवेकवान् छ, तापनि त्यो कुरा
यहाँ सान्दर्भिक छैन। यो ऐनमा देखिएका जङ्गबहादुर भने एकदमै विनयशील
देखिन्छन्, दम्भी होइन। जस्तै, उनी भन्छन्, “मैले भनेको मात्र ठीक
हो भन्ने छैन, मैले अन्दाजका भरमा यो ऐन बनाएँ, लडाइँको वास्तविकता
अर्कै हुनसक्छ। त्यसै हुँदा यसमा लेखिएको कुरा गलत देखियो भने या समयोचित
देखिएन भने यसमा तिमीहरू, अफिसरहरूले बसी फेरफार, थपघट गर्नू, संशोधन
गर्नू” इत्यादि। यो अहिलेको भाषा भयो। जङ्गबहादुरको भाषामा यसरी लेखिएको
छ–
“लडाञि नदेषि लडाञी नगरी मनकोे अडकलले तजवीज गरि बनायाको अैन हो अफीसरले
यो कागजमा लेषियाको काम जो छ लडाञि भयापछि फैदा भयाको र काम लाग्याको
कुरो राषनु. वेफाइदाको लेषियाको जो छ गैह्र अफिसर बसी कौसल गरी मेटन्या
कुरा मेटनु थपन्या कुरो थपनु तिमीहरूलाई कमान दिएको छ―१४”
आफूले भनेको मात्र ठीक हुने, आफूले जे भन्यो त्यसलाई
सबैले वेदवाक्य मान्नुपर्छ भन्ने राजा–महाराजा देखिआएका हामी नेपालीहरूलाई
डेढ सय वर्षअघिका अधिनायक (डिटेक्टर) महाराज जङ्गबहादुरले 'म गलत पनि
हुन सक्छु, मैले भनेकै जस्तो गर्नुपर्दैन...' भनेको पाउनु एउटा सुखद्
आश्चर्यकै विषय हो। यो सानो कुरा होइन। जङ्गी ऐनमा संशोधन र थपघट गर्ने
पूर्ण अधिकार लडाइँका मैदानमा पुगेका अफिसर कमाण्डरहरूलाई दिन सक्ने
जमामर्द रहेछन् जङ्गबहादुर भन्न मन लाग्छ मलाई।
यो कदी जङ्गबहादुरलाई अलि बढ्तै मान्छ, अलि बढ्तै प्रशंसा
गर्छ भन्ने अखानो पनि सुन्नुपरेको छ मैले। तर म जङ्गबहादुरको अन्धप्रशंसक
भने होइन। उनले गराएको नरहत्याको म समर्थन गर्दिनँ। प्राइममिनिष्टरको
रोल भाइछोरामा बाँड्ने उनको तजबिजको पनि म आलोचक नै हुँ। तर मानवीय
भावना, भनूँभने मानवअधिकार रक्षामा उनी संवेदनशील थिए भन्ने कुराको
प्रमाण भेट्टाएको बेला म निश्चय नै जङ्गबहादुरको प्रशंसक देखिएको हुँला।
जस्तो 'नेपाली' पूणाङ्क ५२ को एउटा रुक्काको प्रसङ्ग। त्यहाँ देखिएको
'जङ्गबहादुरको अन्यायविरोधी पक्ष' या रामु आलेको ज्यानमुद्दाको प्रसङ्ग
(जङ्गगीता) मा उनको निष्पक्षताको पक्षको प्रशंसा नगरे पक्षपात गरेको
ठहरिन्छ भन्ने मेरो मान्यता हो।
त्यसै सिलसिलामा यो बेलाइती कापीमा पाइएको जङ्गबहादुरको
जङ्गी ऐनको त्यो १० औँ दफा अत्यन्त मार्मिक छ भन्ने मेरो धारणा छ।
एकपटक फेरि गौर गरिहेरौँ– नेपालका त्यसबेलाका सर्वश्रेष्ठ शक्तिशाली,
स्वेच्छाचारी कहलिएका सर्वोच्च कमाण्डर श्री ३ महाराज भएका व्यक्ति
कति नम्र भएर देखा परेका छन् यहाँ। भन्छन्, “मैले लडाइँ नदेखी लडाइँ
नगरी मनका अड्कलले बनाएको हूँ यो ऐन, यसमा कमीकमजोरी छन् नै, तिनलाई
वास्तविकता हेरी फेरफार गर्नु, मेरो मञ्जुरी छ।” यो महानता नै हो भन्न
मन लाग्छ मलाई।
|