हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

चिसो पेयका साथ 'फन आइल्याण्ड'

वोट्लर्स नेपालले यस वर्षको ग्रीष्म ऋतुमा ५० जोडी भाग्यशाली विजेतालाई सम्पूर्ण खर्च व्यहोर्दै थाइल्याण्डको एक टापु ('फन आइल्याण्ड') लैजाने योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत हरियो बिर्को भएको वोट्लर्स नेपालको पेयपदार्थ खरीद गरी बिर्कोमा रहेको हवाईजहाज अङ्कित तीन 'लाइनर' पठाएपछि गोलाप्रथाद्वारा विजयी सार्वजनिक गरिने कम्पनीले जनाएको छ। जेठको मध्यसम्म चालू रहने भनिएको यस योजनामा सान्त्वना पुरस्कारस्वरुप रु.१ सयदेखि १० हजार नगद पनि राखिएको बताइएको छ।

'टू पीएम' र 'रमपम' को योजना

एशियन थाई फुड्स प्रालिले 'टू पीएम सेन्टर सक, लाग्छ मज्जाले' र 'चक्कर रमपमको' नामक दुई छुट्टाछुट्टै 'स्क्र्याच' योजना सार्वजनिक गरको छ। 'टू पीएम' चाउचाउभित्र रहेको कुपन कोट्याउँदा रु.१ देखि मारुति कारसम्म प्राप्त गर्न सकिने र हरेक कुपनमा पुरस्कार राखिएको उत्पादकको दाबी छ। त्यसैगरी, रमपम चाउचाउमा शुरु गरिएको 'चक्कर रमपम'को योजनाअन्तर्गत हरेक दोस्रो दिनमा एकजना विजयीलाई रु.५० हजार नगद प्रदान गरिने बताइएको छ। यसबाहेक प्याकेटमा रु.१ देखि रु.५०० सम्म पुरस्कार राशी बराबरको कुपनलगायत सित्तैँमा एक प्याकेट चाउचाउ उपहार पनि रहेको छ। यी दुवै योजना नेपाल अधिराज्यभर लागू गरिएको जानकारी कम्पनीले दिएको छ।

यूटीएलको मोबाइल फोन

युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले अन्ततः राजधानीमा मोबाइल फोन सञ्चालन गर्ने अनुमति पाएको छ। सीडीएमए प्रविधिको उक्त फोन हाललाई काठमाडौँ उपत्यकामा मात्र चलाउन सकिने कम्पनीले जनाएको छ। शुरुमा रु.२,४९९ बुझ्ाए ग्राहकले २४ महिने किस्ताबन्दीमा एलजी कम्पनीको मोबाइल सेटसहित यो फोन सेवा प्राप्त गर्न सक्नेछन्। कम्पनीले मोबाइल सेट मूल्य रु.६,९९९ तथा मासिक न्यूनतम सेवा शुल्क रु.३०० तोकेको छ। उक्त फोनबाट यूटीएल तथा नेपाल टेलिकमका फोनमा सम्पर्क गर्दा प्रतिमिनेट रु.१ र स्पाइस नेपालको फोनमा सम्पर्क गर्दा प्रतिमिनेट रु.२ शुल्क निर्धारण गरिएको छ। हाललाई यस सेवामा आगमन कल निःशुल्क गरेको कम्पनीले जनाएको छ।

आकार सानो काम ठूलो

कम्प्युटर सम्बन्धी उपकरण बिक्रीवितरण गर्दै आएको कास ट्रेडिङ हाउस प्रालिले अमेरिकी कम्पनी लासी द्वारा निर्मित बाहिरी हार्डडिस्क, मल्टिमिडिया ड्राइभ, नेटवर्क ड्राइभजस्ता कम्प्युटर उपकरण नेपाली बजारमा भि156याएको छ। यी उपकरणहरू सबै प्रकारका कम्प्युटरमा सहजै जडान गर्न सकिन्छ। ४ गिगाबाइटदेखि २.५ टेराबाइटसम्म भण्डारण क्षमता रहेको यी उपकरण साना तथा हल्का भएकोले विशेषतः धेरै सूचना भण्डारण गरी एक ठाउँबाट अर्को ठाउँ हिँडिरहनुपर्ने व्यक्तिलाई निकै उपयोगी हुने विश्वास कम्पनीको छ।

नियोटेरिकले ल्यायो यूम्याक्स

गोल्छा समूहअन्तर्गतको नियोटेरिक नेपालले ताइवानमा निर्मित यूम्याक्स ब्राण्डका कम्प्युटर नेपालको बजारमा ल्याएको छ। क्यान इन्फोटेक २००६ को अवसर पारेर सार्वजनिक गरिएको उक्त कम्प्युटरमा सामसुङ, ओमेगा, इन्टेल जस्ता विश्वप्रसिद्ध कम्पनीका सामान जडान गरिएको बताइएको छ। तीन वर्षसम्मको ग्यारेन्टी प्रदान गरिने यूम्याक्स कम्प्युटरको उपभोक्ता मूल्य रु.२२,९९० तोकिएको छ भने हरेक कम्प्युटरको खरीदमा वैध 'एकाउन्टिङ सफ्टवेयर' निःशुल्क प्रदान गरिने पनि कम्पनीले बताएको छ।

नयाँ औषधि कम्पनी सञ्चालनमा

नवलपरासीको मुकुन्दपुरमा रु.२९ करोडको अधिकृत पूँजीमा स्थापित सुमी फर्मास्यूटिकल्स प्रालिले विभिन्न २१ थरीको औषधिको उत्पादन शुरु गरेको छ। विशेषगरी प्राणघातक रोगका औषधिहरू निर्माणलाई प्रधानता दिने प्रतिबद्धता गरेको यस कम्पनीले निकट भविष्यमै उत्पादन सङ्ख्या १०० पुर्‍याउने लक्ष्य राखेको छ।

नयाँ फाइनान्स कम्पनी

रु.१० करोड अधिकृत पूँजी र रु.५ करोड चालु पूँजी रहेको कुबेर मर्चेन्ट वित्तीय संस्थाले काठमाडौँ पुतलीसडकस्थित प्रधान कार्यालयबाट कारोबार शुरु गरेको छ। संस्थागत बचतमा मासिक ६ प्रतिशत, व्यक्तिगत बचतमा मासिक ७ प्रतिशत र मुद्दती खातामा ५ देखि ११ प्रतिशत व्याज प्रदान गर्ने संस्थाले जनाएको छ। संस्थाको रु.२ करोड ७५ लाखको ५५ प्रतिशत अंश संस्थापकहरूबाट र बाँकी ४५ प्रतिशत रकम सर्वसाधारणलाई बिक्री गरी उठाइने बताइएको छ।

बोक्न मिल्ने पौडी पोखरी

पानी र पैसा हुनेले यस वर्षको गर्मीमा पौडी खेल्न पोखरी खोज्दै हिँड्नुपर्ने छैन। काठमाडौँको निल वाटर टि्रटमेन्ट्सले अमेरिकामा निर्मित 'मोबाइल स्वीमिङ पुल' बजारमा ल्याएको छ। हावा भरेर चाहेको ठाउँमा जडान गर्न मिल्ने प्लास्टिकको यो पोखरी सजिलै बोकेर पनि हिँड्न सकिन्छ। आकार अनुसार यसको उपभोक्ता मूल्य रु.७५ हजारदेखि रु.३ लाख ९० हजार तोकिएको छ।