हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
प्रा. विद्यानाथ उपाध्याय

आवरण/विश्लेषण राजतन्त्रको भविष्य

शास्त्रमा राजाको कर्तव्य

जुन राजाले आफू प्रभावशाली बनेर सबै प्रजाजनलाई उपभोग गर्न पोषणयुक्त पदार्थ प्रदान गर्दछ, त्यही प्राणी–प्रजाको अधिपति (राजा) हुन्छ। तर राजाले राज्यको अनुमति लिएर मात्र राज्य सञ्चालन गर्नुपर्दछ।

वैदिक वाङ्‌मयमा 'समुद्रपर्यन्तायाः पृथिव्या एकराट्' भन्ने वचन पाइन्छ। यसको आशय समस्त भूमण्डल एउटै राज्य र यसको व्यवस्थापन एउटै राजाबाट होस् भन्ने हो। धेरै राज्य र अनेक राजा हुँदा हुनसक्ने पारस्परिक सङ्घर्षलाई रोक्न यस्तो कल्पना भएको हुनसक्छ। यो परिकल्पना आजको परिवेशमा असम्भव लाग्छ, तापनि 'संयुक्त राष्ट्रसंघ' त्यसै परिकल्पनाको आधुनिकतम रूप होइन भन्न सकिँदैन।

वैदिक साहित्यमा स्वयं शक्ति (त्यो राष्ट्रशक्ति, जनशक्ति वा प्रजाशक्ति जेपनि हुनसक्तछ) ले भन्छ 'अहं सुबे पितरम् अस्य मूर्धन्'। अर्थात् 'म आफैँ राष्ट्र शक्ति आफ्नो इच्छा अनुसार पृथ्वीको पालन गर्ने पृथ्वीपति नियुक्त गर्दछु।' राजा भनेको प्रजाको उत्तम संरक्षक, आफ्नै शक्तिले सब काम गर्न सक्ने, प्रजालाई सुख दिनसक्ने, धन र ज्ञान दुवैबाट समृद्ध भई शत्रुबाट राष्ट्रलाई बचाएर जनतालाई निर्भयता दिनसक्ने हुनुपर्दछ, जसले गर्दा प्रजा उत्तम पराक्रम र धनका स्वामी बनेर जीवन निर्वाह गर्न सकून्– यो वेदको आशय हो। राजा आफ्नो कर्तव्यमा स्थिर हुन्, शत्रुको नाश गर्न सकुन्, सबै राष्ट्रका निवासी उत्तम विचारयुक्त हुन्, राजालाई स्थिर बनाएर राख्न एउटा समिति बनोस् भन्ने पनि वेदकै कथन हो।

वैदिक समयमा राजा चुनावद्वारा छानिन्थे। शासक/प्रशासक र गाउँका नेताहरू आदिले राजा छान्दथे र उनीहरूको 'समिति' ले नै राजालाई सक्रिय र स्थिर अर्थात् सन्तुलित राख्दथ्यो।

राजाले समाजमा उपद्रव मच्चाउने, सोझासाझा जनतालाई दुःखकष्ट दिने, अर्काको कमाई खाइदिने आदि दुष्टहरूको विनाश गर्नुपर्दछ। राज्यलाई बलशाली बनाएर आक्रमणको प्रतिरोध गर्नसक्ने, जनताको धनजनको सुरक्षा गर्नसक्ने, असल व्यक्तिलाई संरक्षित गर्ने काम राजाका हुन् भनेर वैदिक साहित्यमा यत्रतत्र वर्णन गरिएको छ।

अथर्ववेदको काण्ड ७ का सूक्तहरूमा– राजाका कर्तव्यहरूको वर्णन यसरी गरिएको छः

– जातवेद– राजाले स्वयं ज्ञान प्राप्त गरेर राष्ट्रमा ज्ञानको प्रसार गर्नुपर्दछ।
– अनाधृष्य– राजाले स्वयं सामर्थ्यवान् बनेर शत्रुहरूको आक्रमणलाई निरस्त गर्नुपर्दछ।
– वि–राट्– राजा विशिष्ट किसिमको राज्य सञ्चालक हुनुपर्दछ।
– क्षत्रभृद्– क्षत्रीय र क्षात्रगुण (रक्षा गर्ने व्यक्ति वा रक्षा गर्ने गुण)को संरक्षण राजाले गर्नुपर्दछ।
– अमर्त्य– अग्निःइह दीदिहि– अमर अग्नि जस्तै राष्ट्रमा प्रकाशित भइरहनुपर्दछ।
– विश्वाः अमीवाः प्रमुञ्चन्– राष्ट्रका सबै बासिन्दा निरोगी रहने वातावरण राजाले बनाउनुपर्दछ।
– मानुषिभिः शिवाभिः– उत्तम र कल्याण गर्ने मानिसहरू सङ्ग्रह गरेर राजाले उनीहरूद्वारा काम लिनुपर्दछ।
– गयं परिपाहि– राष्ट्रका प्रत्येक घरको रक्षा राजाले गर्नुपर्दछ।
– चर्षणीनां वृषभः– राजा मनुष्यहरूमा श्रेष्ठ हुनुपर्दछ।
– वामंक्षत्रं ओजः– राजामा उत्तम क्षात्र बल आउनुपर्दछ।
– अभित्रायन्तं जनं अपनुद– शत्रुता गर्नेहरूलाई राष्ट्रबाट टाढा राख्नुपर्दछ।
– देवेभ्य पुरुं लोकं अकृणोः– सज्जनहरूलाई आकर्षित गर्न राजाले राष्ट्रमा विस्तृत स्थान दिनुपर्दछ।
– सृकं पविं संशाय– राजाले आफ्ना हतियार र सुरक्षा संयन्त्र सधैँ तयार राख्नुपर्दछ।

यसरी अथर्ववेदमा जनकल्याणकारी, सशक्त, प्रजापरायण राजाको परिकल्पना गरिएको छ। त्यस्तै राजाले स्वयं साधनस्रोत सम्पन्न भएर राज्यको व्यवस्थापन, प्रजाको संरक्षण र प्रजाको उन्नति गर्ने कर्तव्य पालना गर्नुपर्ने निर्देश गरिएको पाइन्छ।

यहाँ वैदिक कालका परिवेश र साधनको प्रकृतिको आजको वस्तुस्थिति र साधनसँग ताल मिलोस् भनेर वैदिक सूक्तहरूको भावनाको युगीन विश्लेषण गर्नु आवश्यक हुन्छ।

अथर्ववेदको काण्ड ६ सूक्त ८८ मा–

स्वर्ग, पृथ्वी, विश्व, जगत्, पर्वत सधैँ स्थिर भएजस्तै प्रजाका रञ्जन गर्ने राजा पनि स्थिर हुनुपर्दछ भनिएको छ– 'ध्रुवो राजा विशामयम्।' समस्त देवदेवताले राजालाई धु्रव (स्थिर) बनाउन्। राजा आफ्ना कर्तव्यबाट च्यूत नहोउन्। शत्रु आइलाग्दा सतर्क भएर तिनको निराकरण गर्न सकून्। यसका लागि राजाले समर्थ, विचारवान्, सहयोगी व्यक्तिहरूको समिति बनाएर उनीहरूको विचार, सल्लाह र सहयोग लिनुपर्दछ भन्ने पनि बताइएको पाइन्छ।

राज्याभिषेकका विषयमा पनि अथर्ववेदको काण्ड ४ सूक्त ८ मा निर्देश पाइन्छ–

जुन राजाले आफू प्रभावशाली बनेर सबै प्रजाजनलाई उपभोग गर्न दूध (अमृत समान पोषणयुक्त पदार्थ) प्रदान गर्दछ, त्यही प्राणी–प्रजाको अधिपति (राजा) हुन्छ। त्यस्ता राजाका राज्यको संरक्षण गर्न स्वयं मृत्यु (काल) नै सतर्क भएर पहरा दिइरहेको हुन्छ। तर राजाले राज्यको अनुमति लिएर मात्र राज्य सञ्चालन गर्नुपर्दछ।

'स राजा राज्यमनुमन्यतामिदम्'– यो वेद वचनको आशय राजाले आफ्ना मित्र बढाउनुपर्दछ, प्रजाको चेतनाको स्तरमा वृद्धि गराएर तथा शत्रुमाथि विजय गरेर राज्य सञ्चालन गर्नुपर्दछ, आफ्नो कर्तव्यबाट पछि हट्नुहुँदैन, स्थिर रहनुपर्दछ, विद्वान् सल्लाहकारले राजालाई सधैँ यस्तै सल्लाह–मन्त्रणा दिने गर्नुपर्छ भन्ने हो।

राजगद्दीमा आसीन राजालाई प्रजाले पनि समृद्ध गर्नु आवश्यक हुन्छ, किनभने समृद्ध राजाले नै परेका बेला आफ्ना प्रजाको आवश्यकता पूर्ण गर्ने क्षमता राख्दछन्।

शास्त्रोक्त गुण राजामा आउन् भनेर राजाको राज्याभिषेक गरिन्छ। 'आयो वै जीवनम्'– जल अमृत हो। जीवनदायी अमृतले राजालाई अभिषिक्त गरेर राज्याभिषेकमा राष्ट्रवासीले राजालाई जीवन्त, अमृत, सबल, तेजस्वी बनाउँदछन् र तिनै सद्गुणहरूद्वारा राजाले प्रजाको अनुरञ्जन गर्दछन्। यही राज्याभिषेकको मर्म हो।

वेदका यिनै मर्महरूलाई आत्मसात् गरेर मानवधर्मका प्रवर्तक भनौँ वा व्यवस्थापक मनुले पनि आफ्ना स्मृतिमा राजाको सृजन र उनका कर्तव्यहरू विस्तारित गरेका छन्। मनु भन्छन्–

अराजके हि लोकेे152स्मिन् सर्वतो विद्रुते भयात्।
रक्षार्थमस्य सर्वस्य राजानमसृजत् प्रभुः।।

यो संसार अराजक हुनाले यहाँ सर्वत्र अनाचार फैलियो र सर्वत्र डरै डर देखिन थाल्यो। जनताको कतैबाट रक्षा भएन। यो देखेर स्वयं प्रभु ब्रह्माले राजाको सिर्जना गरे। सबै देव–देवता दश दिक्पालका जति पनि गुणहरू छन्, ती सम्पूर्ण तेजका रूपमा राजामा सम्पूर्ण गरिदिए। यसरी नै तेजस्वी भएर राजाले जगत्को पालनपोषण गरे।

वस्तुतः राजालाई देवताको प्रतिरुप नै मानिएको छ। स्वरुपतः शरीरले सानै उमेरको भए पनि राजालाई बालक होइन, देवतातत्व निहित भएको प्रजापालक सम्झ्नुपर्ने निर्देश स्मृतिकारले गरेको देखिन्छ–

वालो पि नावमन्तव्यो मनुष्य इति भूमिपः।
महती देवता ह्येषा नररुपेण तिष्ठति।।

विष्णु पुराण, ब्रह्मवैवर्त पुराण, पद्य पुराण, मार्कण्डेय पुराण, गरुड पुराण आदि धेरै पौराणिक साहित्यमा पनि राजाको प्रयोजन, धर्म र कर्तव्यहरूको विस्तृत विवरण पाइन्छ। सबैले एकैस्वरमा राजालाई धर्मको संरक्षक, धर्मद्वारा प्रजाको पालन गर्ने र लोकको कल्याणार्थ आफ्नो जीवन पनि उत्सर्ग गर्ने दैवी पुरुष मानेका छन्।

समष्टिमा आफ्ना प्रजाको संरक्षण नै राजाको कर्तव्य मानिन्छ।

(उपाध्याय न्यायदर्शन र तन्त्रशास्त्रका विज्ञ हुन्।)