हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
प्रा.श्रीकृष्ण आचार्य

आवरण/विश्लेषण राजतन्त्रको भविष्य

सनातन हिन्दू मान्यता र राजा

शुरु शुरुमा जनताका प्रतिनिधिद्वारा निर्वाचित राजाहरुले निश्चित अवधि मात्र शासन गर्न पाउँथे। पछि एकपटक निर्वाचित भएपछि जीवनकालभर शासन गर्न पाउने प्रथा बस्यो। कालान्तरमा वंशाणुक्रममै राजाको पद प्राप्त हुनथाल्यो।

संस्कृत भाषाको व्युत्पत्तिअनुसार 'राजृ द्योतने' अर्थात् 'प्रकाशित/उज्ज्वल हुनु' अर्थ बोकेको 'राजृ' धातुबाट 'राजा' वा 'राजन्' शब्द बनेको मानिन्छ। महाभारत ले भने 'राजा' शब्दको मूल स्रोत 'रञ्ज' धातुलाई मानेको छ। यस अनुसार 'राजन्' वा 'राजा' शब्दको अर्थ हुन्छ– रञ्जन गराउनु अर्थात् प्रसन्न तुल्याउनु। 'राजा'को निमित्त संस्कृत भाषामा 'राट्', 'पार्थिव', 'क्षमाभृत्', 'नृप', 'भूप' तथा 'महीक्षित्' आदि नामहरू प्रचलित छन्।

महाकवि कालिदासले रघुवंश महाकाव्य (१४/६७) मा 'रञ्जन' शब्दकै आशय व्यक्त गरेका छन्― “राजा प्रकृतिरञ्जनात्”। अर्थात्, आफ्नो राम्रो चरित्र र सुशासनद्वारा जनतालाई खुसी पार्ने व्यक्तिलाई नै 'राजा' भनिएको हो। चोर, डाँका आदिका साथसाथै बाहिरी शत्रुहरूबाट पनि सर्वसाधारण जनताको जीउ–धनको सुरक्षा गर्नु राजाको प्रमुख कर्तव्य मानिएको छ। आफ्नो कर्तव्य पालना गर्न नसक्ने राजाको हिन्दुसमाजमा कुनै स्थान छैन। भनिएको पनि छः

“दुष्टदण्डः सतां पूजा धर्मेण च धनार्जनम्
राष्ट्ररक्षा समत्वं च व्यवहारेषु पञ्चकम्।
भूमिपानां महायज्ञाः सर्वकल्मषनाशना।।”
– विष्णुधर्मोत्तर पुराण

यस्तै आचार्य कौटिल्यले आफ्नो अर्थशास्त्र (१/१४/१८) मा भनेका छन्:

“प्रजासुखे सुखं राज्ञः प्रजानां च हिते हितम्
नात्मप्रियं हितं राज्ञः प्रजानां तु प्रियं हितम्।”

अर्थात् प्रजाको सुखमा नै राजाको सुख र प्रजाको हितमा नै राजाको हित हुने हुनुपर्दछ। आफूलाई मात्र राम्रो लाग्ने काम गर्नु राजाको हितमा कदापि हुनसक्दैन।

यसैको मिल्दोजुल्दो उक्ति आचार्य कामन्दकको पनि छ। कामन्दकीय–नीतिशास्त्र (५/८२–८३) मा भनिएको छः

“आयुक्तकेभ्यश्चौरेभ्यः परेभ्यो राजबल्लभात्
पृथ्वीपतिलोभाच्च प्रजानां पञ्चधा भयम्।।”

अर्थात्― जनतालाई राजाका प्रमुख कर्मचारीहरूबाट, चोरहरूबाट, शत्रुहरूबाट, राजाका प्रियपात्रहरूबाट र स्वयं राजाको लोभबाट पनि भय उत्पन्न हुने हुन्छ। जनतालाई यस्ता भयहरूबाट बचाउनु नै राजाको प्रमुख कर्तव्य हो।

कौटिल्यको अर्थशास्त्र (१/१/४)मा नै उल्लेख छः

“विद्याविनीतो राजा हि प्रजानां विनये रतः।
अनन्यां पृथिवीं भुङ्क्ते सर्वभूतहिते रतः।।”

अर्थात् विद्याद्वारा विनीत (नम्र) भएका र जनताको हितमा सर्वदा संलग्न रहने राजाले मात्र चिरकालसम्म निर्वाध रूपमा राज्यको शासन गर्न पाउँछन्।

महाभारत को शान्तिपर्वको एउटा प्रसङ्गमा युधिष्ठिर प्रश्न गर्छन्, “राजा किन सबैभन्दा श्रेष्ठ व्यक्ति मानिन्छन्?” त्यसको उत्तर शरशैय्यामा सुतिरहेका भीष्मपितामहले यसरी दिएका छन् : “सत्य–युगमा न कुनै राजा थिए, न राज्य थियो, न कुनै दण्ड थियो, न त दण्ड दिने कुनै व्यक्तिको नै त्यतिवेला खाँचो परेको थियो। लोकका सबै व्यवहारहरू सत्यबाट नै चल्दै आइरहेका थिए। तर पछि मानिसहरूमा क्रमशः मोह उत्पन्न हुन थाल्यो र त्यसबाट लोभ तथा दुराचारहरू बढ्न थाले। धर्मको नाश हुन थाल्यो। फलतः देवताहरूले आफूले प्राप्त गर्नुपर्ने आहुतिहरू पनि प्राप्त गर्न छोडे। यसले गर्दा देवताहरू ब्रह्माजीकहाँ गुहार माग्न पुगे। ब्रह्माजीले एउटा महान् ग्रन्थको सृष्टि गरिदिनुभयो। यही ग्रन्थलाई 'धर्मशास्त्र' वा 'नीतिशास्त्र' भनियो। यसपछि देवताहरू भगवान् विष्णुकहाँ गएर मानिसहरूमध्ये जो श्रेष्ठ छ तिनैलाई राजा बनाइदिन आग्रह गरे। भगवान् विष्णुले 'विराज' नामक मानस–पुत्र पैदा गरेर उनलाई मानिसहरूको राजा बनिदिनका निमित्त आग्रह गर्नुभयो। तर 'विराज'ले त्यो आग्रह अस्वीकार गरिदिए। यिनै विराजको पाँचौँ पुस्तामा 'वेन' पैदा भए। यिनले धर्म नष्ट गरिदिए। यसबाट रिसाएका ब्राह्मणहरूले वेनको हत्या गरिदिए। ब्राह्मणहरूले यिनै 'वेन' को बायाँ हात मन्थन गरी सुन्दर तेज भएका, वेद तथा वेदाङ्गहरूमा पारङ्गत 'पृथु' लाई जन्म दिए। यिनी नै मानिसहरूका पहिला राजा भए। यिनले शासन गरेको भूभाग नै 'पृथ्वी' को नामले प्रसिद्ध भएको हो।”

ऐतरेय–ब्राह्मण (१/१४) अनुसार “आरम्भमा देवताहरूका पनि कुनै राजा थिएनन्। त्यसैले असुर (राक्षस) हरूसँगको युद्धमा प्रायः सधैँ नै उनीहरूको हार हुने गर्दथ्यो। यसबाट उनीहरूले अनुमान लगाए― व्यक्तिविशेषको नेतृत्वमा युद्ध गर्ने भएकाले नै लडाइँमा असुरहरूको जित भएको हो। यसैले हामीले पनि आफूहरूमध्येबाट कसैलाई राजाको रूपमा चयन गर्नुपर्दछ। यसै अनुसार देवताहरूका राजाका रूपमा इन्द्रको चयन भएको हो।”

माथि उल्लेख भएका उक्ति मिथक वा उपाख्यानहरू हुन्। यथार्थमा चाहिँ सशक्त नेताको अभावमा मानव–समाजमा अव्यवस्थाहरू फैलन थालेपछि सामाजिक सुव्यवस्थाको निमित्त आफूले छनौट गरेका प्रतिनिधिहरूद्वारा एक जना योग्यतम व्यक्तिलाई निश्चित शर्त तथा सुविधाहरूका साथ 'राजा'को रूपमा चयन गर्ने परम्परा आरम्भ भएको हो।

सनातन हिन्दू–समाजमा पनि यसै मान्यताअनुसार 'राजा'को चयन वा छनौट गर्ने परम्परा आरम्भ भएको मानिन्छ। यसरी निर्वाचित भएका राजालाई निश्चित शर्त वा प्रतिज्ञाहरू पूरा गर्ने वाचा गराएर मात्र राज्यारोहण वा राज्याभिषेक गराउने गरिएको पाइन्छ। शुरु–शुरुमा जनताका प्रतिनिधिद्वारा निर्वाचित राजाहरूले निश्चित अवधि मात्र शासन गर्न पाउँथे। पछि गएर एकपटक निर्वाचित भएपछि जीवनकालभर शासन गर्न पाउने प्रथा बस्यो। कालान्तरमा आएर वंशाणुक्रममै कसैलाई राजाको पद प्राप्त हुनथाल्यो।

सनातनधर्मावलम्बी हिन्दूहरूको मानक–धर्मशास्त्र मनुस्मृति अनुसार― “राजाको सृष्टि गर्दा भगवान्ले इन्द्र, अनिल (वायु), यम, सूर्य, अग्नि, वरुण, चन्द्र तथा कुवेर गरी आठै दिक्पालका अंशहरूलाई ग्रहण गरी सृष्टि गर्नु भएकोले आफ्नो तेजले गर्दा राजा सबै प्राणीहरूमध्ये विशिष्ट मानिन्छन्।”

राजसंस्था वंशाणुक्रमअनुसार चल्न थालेपछि पनि नयाँ राजाको राज्याभिषेक सम्पन्न हुँदा उनलाई नयाँ निर्वाचित राजालाई जस्तै वाचा वा प्रतिज्ञाहरू गराउने परम्परा कायमै रहेको छ। यस अर्थमा राजाको निर्वाचन वा छनौट जनप्रतिनिधि (राजकृत) तथा राजाका बीचमा आपसी सहमति वा समझ्दारीअनुसार हुने गरेको स्पष्टरूपमा नै देखिन्छ। राजा भइदिएबापत जनताले आफ्नो नगद आम्दानीको ६ भागको एक भाग र जिन्सी आम्दानीको ५ भागको एक भाग राजालाई राज्य–सञ्चालनको निमित्त शुल्क वा करको रूपमा बुझ्ाउनुपर्ने र राजाले यसबापत दक्षता तथा इमान्दारीपूर्वक राज्यसञ्चालन गर्ने प्रचलन प्राचीनकालदेखि चलिआएको पाइन्छ।

प्राचीनकालमा राजाको निर्वाचन 'समिति'मा सहभागी गराइएका जनप्रतिनिधि (राजकृत) हरूद्वारा गरिने गरेको पाइन्छ। उदाहरणको रूपमा ऋग्वेद (१०/१७/३) अनुसार राज्याभिषेक सम्पन्न हुँदा समितिका सदस्यहरूले राजाको निमित्त निम्नानुसार आह्वान गर्नुपर्ने हुन्छ :
“ध्रुवो च्युतः प्रमृणीहि शत्रूञ्छत्रूयतो152धरान् पादयस्व।
सर्वा दिशः संमनसः सघ्रीचीर्ध्रुवाय ते समिति कल्पतामिह।”

अर्थात्― दृढता तथा विश्वासपूर्वक तिमी आफ्ना शत्रुहरूमाथि विजय प्राप्त गर र आफूमाथि शत्रुको व्यवहार गर्ने व्यक्तिहरूलाई पदाक्रान्त तुल्याइदेऊ। यसै उद्देश्यको निमित्त दशै दिशाहरू एकमत भएर तिमीप्रति श्रद्धा व्यक्त गर्दछन् र स्थिरताको निमित्त यो समिति तिमीलाई कल्पना (नियुक्ति) गर्दछ।

अथर्ववेद (३/४/२) मा पनि भनिएको छः

“त्वां विशो वृणतां राज्याय, त्वामिमाः प्रदिशः पञ्च देवी।”

अर्थात् राज्यसञ्चालन गर्नको निमित्त जनता (विशः) तिमीलाई चयन गर्दछन्217 यी दिशाहरू तथा पञ्चदेवीहरू पनि तिमीलाई चयन गर्दछन्।

तैत्तरीय–ब्राह्मण मा राजा चयन गर्ने व्यक्ति (राजकर्ता) हरूलाई 'रत्निन्' भनिएको पाइन्छ। राज्याभिषेकको कृत्य सम्पन्न हुँदा 'राजकर्ता' वा 'रत्निन्'हरूबाट राजाले राज्याधिकारको प्रतीकस्वरूप 'मणि' प्राप्त गर्ने गर्दथे। विशिष्ट किसिमको काठबाट बनाइएको 'मणि' सामान्यतया पाखुरामा बाँधिने प्रचलन चलिआएको थियो। मणि धारण गर्दा राजाले 'राजकर्ता'हरू समक्ष प्रतिज्ञा गर्दै भन्ने गर्दथेः

“राजानो राजकृतः सूता ग्रामण्यश्च ये
उपस्तीन् पर्ण मह्यं त्वं सर्वान् कृण्वमितो जनान्”

अर्थात् हे राजाहरू, राजकर्ताहरू, सूत (सारथि) हरू, ग्रामणी (गाउँका प्रधान) हरू र अन्य जति पनि विशिष्ट व्यक्तिहरू अहिले मेरो सामुमा हुनुहुन्छ, सबैले राज्यसञ्चालन गर्नको निमित्त मलाई सहायता गर्नुहोस्।

कौटिल्यको अर्थशास्त्र (१/१२/१६)मा भनिएको छः

“रक्षितो राजा राज्यं रक्षत्यासन्नेभ्यः परेभ्यश्च
पूर्वं दारेभ्यः पुत्रेभ्यश्च।।..
..पुत्ररक्षणं जन्मप्रभृति राजपुत्रान् रक्षेत्।
कर्कटकसमानधर्माणो हि जनकभक्षा राजपुत्रा।।”

अर्थात् आफ्ना निकटसम्बन्धी तथा शत्रुहरूबाट सुरक्षित रहेका राजाले मात्र आफ्नो राज्यको रक्षा गर्न सक्दछन्। यसैले राजाले सर्वप्रथम आफ्ना रानीहरूबाट र आफ्नै छोराहरूबाट सुरक्षित रहनु आवश्यक छ। आत्मरक्षा गर्नको निमित्त राजाहरूले आफ्ना छोराहरूलाई जन्मेदेखि नै कडा निगरानीमा राख्नुपर्ने हुन्छ। राजाका छोराहरू गँगटाको बच्चाका स्वभाव भएका हुन्छन्।

महाभारत शान्तिपर्व (१०७) मा लोकतन्त्रात्मक राज्यहरूको सम्बन्धमा भनिएको छ– “लोकतन्त्रात्मक राज्यहरू नष्ट हुनाको मूल–कारण आन्तरिक कलह नै हो। एउटै राज्यमा जहाँ धेरै जना प्रमुख–प्रशासकहरू हुने हुन्छन् त्यहाँ स्वभावतः राज्यका नीतिहरू गुप्त रहन सक्दैनन्। सबै प्रमुख–प्रशासकहरू नीतिका रहस्यहरूलाई बुझन पनि सक्दैनन्। यसैले लोकतन्त्रात्मक राज्यहरूको सुरक्षाका निम्ति राज्यका प्रमुख–प्रशासकहरू बीच सधैँ नै आपसी विचार–विमर्शहरू हुँदै रहनु अत्यावश्यक छ।”

लोकतन्त्रात्मक राज्यभित्रका विभिन्न कुल वा गूटहरू बीच आपसी कलह पैदा भयो र कुल वा गूटका प्रमुखहरूले आपसमा छलफल गरेर यस्ता विवादहरूलाई सुल्झ्ाउन सकेनन् भने राज्यमा अव्यवस्था पैदा हुन्छ। बाहिरी देशहरूसँगको कलह जति गम्भीर हुन्छ, त्यसभन्दा बढी गम्भीर आन्तरिक कलह हुन्छ। लोकतन्त्रात्मक राज्यहरूमा हक तथा अधिकारको दृष्टिले सबै जनप्रतिनिधिहरू समान हुन्छन्, तर शौर्य, मेधा, शारीरिक गठन तथा आर्थिक हैसियत भने सबैको बराबर हुन सक्दैन। यही स्थितिमा बाहिरी शत्रुहरूले आन्तरिक कलह उत्पन्न गराई लोकतन्त्रात्मक राज्यहरूलाई छिन्नभिन्न पारिदिने गर्दछन्। तसर्थ आपसी एकतामा नै लोकतन्त्रात्मक राज्यहरूको सुरक्षा सम्भव हुने हुन्छ ।

(ज्योतिषाचार्य प्रा. आचार्य महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति हुन्।)