हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
प्रा. डिल्लीराम दाहाल

आवरण/विश्लेषण राजतन्त्रको भविष्य

देशः जनताको पनि हो

१९२ वटा मुलुकको विश्व–मानचित्र केलाउँदा आज २६ वटा मुलुकमा मात्र राजतन्त्र रहेको पाइन्छ। यीमध्ये ६ वटा मुलुकमा परम्परागत राजतन्त्र छ भने अन्य २० वटामा संवैधानिक राजतन्त्र। दक्षिण एशियाका दुई वटा मुलुकहरूमा मात्र राजतन्त्र छ― नेपाल र भुटान। भुटानको राजतन्त्र 'परम्परागत राजतन्त्र' हो भने नेपालको राजतन्त्र २०४७ देखि २०६१ माघसम्म 'संवैधानिक' हैसियतमा रहेको देखिन्छ।

नेपालको राजतन्त्र हिन्दू परम्परामा आधारित छ। हिन्दू धर्मशास्त्रले राजामा एउटा कुशल शासक र प्रजापालक दुवै गुण हुनुपर्ने कुरालाई जोड दिएको छ। विश्वमा एउटै मात्र हिन्दू मुलुक भनेर चिनिएको मुलुक नेपालमा अहिले आएर राजतन्त्रबारे प्रशस्त प्रश्नहरू उठ्न थालेका छन्। हिजो राजालाई भगवान विष्णुको अवतारको रूपमा र देशको आस्थाको रूपमा मान्दै आएका नेपालीहरू आज राजतन्त्र नै राख्ने कि नराख्ने भन्ने प्रश्नमा बहस गर्न थालेका छन्। हालसालै हिमाल खबरपत्रिका ले गरेको सर्वेक्षण (१६–३१ चैत, २०६२) मा नेपालमा ६५% जनताले 'राजाको शासन ठीक छैन' भनी उल्लेख गरेको पाइएको छ।

राजसंस्थाप्रतिको घट्दो सम्मान र जनविश्वास किन भन्ने बुझन नेपाली राजतन्त्रको सिङ्गो इतिहास नै छोटकरीमा केलाउनु आवश्यक हुन्छ। तर यो सानो लेख, आज राजतन्त्रको वैधता र राजाको शासनमाथि किन प्रश्न उठ्न थाले र के गर्दा राजसंस्था पुनः मर्यादित हुनसक्छ भन्ने विषयमा मात्र सीमित छ।

आजको नेपाल ढुङ्गेयुगमा नभएर २१ औँ शताब्दीको 'हाइटेक युग'मा छ। हिजोभन्दा आजका नेपाली पुरुष, महिलाहरू धेरै पढेलेखेका छन् र कहाँ के भइरहेछ तुरुन्त थाहा पाउन सक्छन्। त्यसैले हुनसक्छ हाम्रा प्राचीन मूल्यमान्यताहरू पनि क्रमशः परिवर्तन भइरहेका छन्। हाम्रा चाहना र आवश्यकताहरू बढ्नुको साथै नेपालीहरू आफ्नो नैसर्गिक हक, अधिकारप्रति बढी सचेत भएका छन्। विकसित राष्ट्रहरूको देखासिकी गरी नेपाली जनताको जीवनशैलीमा पनि त्यसै अनुसार परिवर्तन आइरहेको देखिन्छ। आज लाखौँ नेपाली विदेश गई त्यहाँ काम गरेर आफ्नो परिवारको आर्थिक स्थितिमा सुधार मात्र नगरी देशकै राजस्व आम्दानी र विकासमा समेत ठूलो योगदान पुर्‍याइरहेका छन्। थुप्रै नेपालीहरू आफ्नो देश र अन्य देशको तुलनात्मक रूपले राजनीतिक र आर्थिक विश्लेषण गर्नसक्ने भएका छन्।

हिजोको राजतन्त्र र खासगरी राणाहरूको शासनकालमा (सन् १८४६–१९५०) देशको सम्पूर्ण आम्दानीे 'निजी ढुकुटी'को रूपमा प्रयोग भयो, देश विकासमा खर्च गरिएन। त्यसपछिका शाह राजाहरूले पनि आफ्नो निजी सम्पत्ति बढाउन मात्र ध्यान दिए र जनताको इच्छा र आकांक्षा बुझने कमै प्रयत्न गरे। त्यसैले आज राजतन्त्र एउटा सामन्ती व्यवस्थाको जरो र निरङ्कुश हुकुमी शासनको रूपमा चित्रित हुनु र नेपाली जनताले त्यसलाई शङ्काको दृष्टिले हेर्नु आश्चर्यको कुरा होइन। यस्तै कारणहरुले गर्दा हुनसक्छ तीन दशकभित्रै अफगानिस्तानका जाहिर शाह, इरानका राजा मोहम्मद रेजा जाहिर पहलवी आदि राजाहरुको पतन भयो, तिनले देश छोडेर भाग्नु पर्‍यो। सन् १९७० को दशकमा कम्बोडियाका राजा नरोत्तम सिंहानुकले केही समय देश नै छोड्नु पर्‍यो। आज एकदमै विकसित केही युरोपेली मुलुकहरू (जस्तो डेनमार्क, लक्जेम्वर्ग, नर्वे, स्पेन, बेलायत आदि) मा राजसंस्था एउटा सांस्कृतिक धरोहर र 'सेरेमोनियल' (थपना) को रूपमा मात्र रहेको इतिहासलाई भुल्नुहुँदैन। अर्कोतर्फ बुद्धमार्गी जापान र थाइल्याण्डका राजाहरू जनताबीच प्रिय छन्। यी सबै प्रसङ्गहरूबाट नेपालको राजसंस्थाले पाठ सिक्न सक्छ। यसले भोलि राजसंस्थालाई बढी सम्मानित गराउनलाई प्रेरित गर्छ।

एउटा व्यक्तिको व्यक्तित्वको निर्माण सामाजिक संस्कारबाट, अर्थात् समाजमा ऊ जसरी हुर्कन्छ र बढ्छ त्यही अनुरुप हुन्छ। समाजका अरू व्यक्तिलाई व्यवहार गर्ने उसको आधार वा शैली ऊ हुर्किएको संस्कार अनुरुपकै हुन्छ। नेपाली समाज आफैँमा एउटा वर्गीकृत सामाजिक संरचनामा आधारित छ र यहाँ जन्मने बित्तिकै कुनै व्यक्ति ठूलो र सानो भनेर छुट्टिन्छ, कामको आधारमा होइन। त्यसैले दरबार भित्र हुर्केका व्यक्तिहरू जन्मनेवित्तिकै 'ठूला मान्छे' हुने हुनालेे उनीहरू जनताको रहनसहन, खानपिन तथा बसोवास आदिबारे बुझन र सिक्न आवश्यक ठान्दैनन्। राजा र प्रजाबीचको समझ्दारी बढ्नुभन्दा दूरी बढ्दै जानुको कारण राजदरबार भित्रको यस्तै संस्कार पनि हो। राजाले जनतालाई 'तिमी' नै भनी सम्बोधन गर्नुपर्ने र दरबारियाहरूले अरूलाई होच्याउने प्रवृत्ति नै आज राजतन्त्रको मानमर्दन गर्ने एउटा प्रमुख कारण हो। अर्कोतर्फ बहुसङ्ख्यक नेपालीहरू 'चाकडी प्रथा'मा माहिर छन् र आफूभन्दा ठूला मान्छेले गरेका गलत कुराहरूलाई काट्दैनन्। यही चाकडी प्रथाले यस्ता व्यक्तिहरूको दालरोटी चल्ने गर्छ र तिनले मानसम्मान पनि पाएका छन्। राजसंस्था पनि यस्तो चाकडी प्रथाबाट मुक्त छैन। यस्ता चाकडीवाजबाट सदैव घेरिएको राजसंस्थाले यी व्यक्तिहरूबाट बारम्बार धोका पाएको कुरा इतिहासले समेत पुष्टि गरेको छ। यस्ता व्यक्तिहरू जहिले पनि आफ्नो फाइदाका लागि बेठीक कुरालाई पनि ठीक भन्छन् र राजसंस्थालाई दिनहुँ नङ्ग्याउँदै गइरहेका हुन्छन्। भोलि राजसंस्थालाई यिनले अझ् बढी खतरामा पार्ने कुरा प्रस्ट छ।

मन्दिर, मठ, गुम्बाहरूमा जाने परम्पराले राजा धर्मात्मा भन्ने कुरो आउला, तर राजाले धर्मले सिकाएका पाठहरू जबसम्म व्यवहारमा उतार्दैनन् त्यस्ता कार्यहरू धर्मसङ्गत ठहर्दैनन्। आजका राजाको धर्म भनेको नै जनताको शान्ति, सुरक्षा र गाँसबासको राम्रो प्रबन्ध गर्नु हो। आज राजाको भ्रमण वा राजपरिवारको कुनै सदस्यको कुनै ठाउँको उद्घाटन गर्ने कार्यक्रम भए सुरक्षाको नाम दिएर घण्टौँ बाटो रोकिन्छ, कहिलेकाहीँ आकाशमार्ग समेत बन्द गर्न थालिएको छ। यस्ता क्रियाकलापहरूले जनताको सुख बढ्नुको साटो उनीहरु झ्न् बढी चिढिने प्रस्ट छ। देशमा महङ्गी र अशान्ति बढिरहेको छ, जिल्लाको सदरमुकामदेखि बाहिर जाने स्थिति छैन, त्यस्तो समयमा 'देशमा अमनचयन छ' भनेर आफ्ना शुभचिन्तकहरूबाट भाषण गर्न लगाउँदा राजाको सम्मान बढ्नुको साटो झ्न् घट्छ। आजका जनतालाई ढाँटेर शासन चलाउन सकिँदैन। देशको विकास राज्यले गर्ने हो। तर विकास जहिले पनि शक्तिसँग गाँसिएको हुन्छ। त्यो राज्यशक्तिको केन्द्रबिन्दु राजा वा जनतामध्ये को हुने भन्ने विषय नै आज राजसंस्थाको स्थायित्वको लागि मुख्य चुनौती हो।

अन्त्यमा, राजसंस्था वा राजतन्त्रलाई मर्यादित बनाउने कुरामा पृथ्वीनारायण शाहको पाठलाई आज पनि भुल्नुहुँदैन। यो देश सबै नेपालीहरूको पनि हो, यो कुरा “सबैलाई चेतना भया”।